विकासन्युज

म्यानमारमा तीन करोड ७० हजार नागरिकले कोभिड १९ विरुद्धको खोप लिए

काठमाडौं । म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती मध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि रहेका र छ लाख ७० हजार व्यक्ति १८ वर्ष भन्दा कम उमेरका रहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना सङ्क्रमित थपिएपछि म्यान्मारमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६ लाख ३२ हजार चार सय ६१ पुगेको छ ।स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा ९ हजार नौ सय ४३ जनामा कोभिड–१९ परीक्षण भएको र दैनिक पोजिटिभ दर ०।७ प्रतिशत रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि मृत्यु नभएको जनाइएको छ । कोरोना शुरुभएबाट हालसम्म कोरोना सङ्क्रमणको कारण १९ हजार चार सय ८६ व्यक्तिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला १० ले ओरालो लागेको महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २८५ रुपैयाँ तोकिएको छ ।

मच्छेगाउँमा तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ । वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजार रुपैयाँसहित पदक प्रदान गरिनेछ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् । प्रतियोगिताको मुख्य प्रायोजन चन्द्रागिरि नगरपालिकाले गरेको छ । प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भने, ‘फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोगसमेत गर्नेछ ।’ खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लबले खेलकूदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएको छ । चन्द्रागिरि नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ । नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकुदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्न सहयोग गरेको जानकारी दिए । उनले भने, ‘युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ । रासस

अब एकीकृत कारोबार पछि सेयर रोक्का हुने, आजदेखि निर्देशिका लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनको बुधबार बसेको सञ्चालक समिति बैठकले संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ पारित गरेसँगै बिहीबारदेखि लागू भएको हो । ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिका लागू हुनेछ ।’ बोर्डले भनेको छ । यो निर्देशिका लागू भएसँगै मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवा हुनेछ । निर्देशिका लागूभएसँगै गाभ्ने र गाभिने तथा प्राप्तिमा गएका कम्पनीहरुको सेयर कारोबार १५ दिन बढी भन्दा बढी समय रोक्का हुनेछ । अब मर्जर तथा एक्विजिसन पश्चात् कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ । ‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ । यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था निर्देशिकामा छ । [pdf id=363410]

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

काठमाडौं । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई २५ हजार रुपैयाँ शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सो रक्ततत्व आज हस्तान्तरण गरेका हुन् । बिरामीको अवस्थाबारे जानकारी गराइ अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले सो रगत निःशुल्क उपलबध गराउन रेडक्रससँग सहजीकरण गरेका थिए । ‘पहिला राजीव गान्धी अस्तपताल भारतमा छोरालाई लगेँ, बोनम्यारो फेरियो, त्यसको एक वर्षपछि बारम्बार समस्या आइरह्यो, यहाँ अस्पतालमा आइसकेपछि पनि उपचारका लागि प्लेटलेट धेरै चाहिरहेको र पाउन मुस्किल भइरहेका बेला आज यो नयाँ खालको प्लेटलेट अस्पतालमा ल्याइदिनुभएकामा वरदान नै पाएजस्तो भएको छ’, केशवले भने । डेङ्गुको प्रभाव बढेको समयमा केन्द्रीय रक्तसञ्चार सेवाले एफेरेसिस प्रविधिबाट सिङ्गल डोनर प्लेटलेट उत्पादनलाई गति दिएको रक्तसञ्चार निर्देशक पौडेलले जानकारी दिए । नेपालका थोरै स्थानमा मात्रै यो सेवा रहेको छ र यो प्रविधि महँगो छ । डेङ्गु र क्यान्सरपीडितका लागि बढी चाहिनसक्ने भएकाले शुल्कमा सहुलियत गर्न सङ्घीय सरकार, स्थानीय निकायको सहयोगको अपेक्षा रहेको निर्देशक पौडेलले बताए । के हो सिङ्गल डोनर प्लेटलेट ? रक्तदानका क्रममा दाताको शरीरबाट रक्तथैलीमा जम्मा भएको रगतमध्ये प्लेटलेट तत्व मात्र थैलीमा राखी बाँकी सबै रगत दाताको शरीरमा अत्याधुनिक एफरेसिस प्रविधिको मेशिनले फिर्ता पठाइदिन्छ । जुन तत्व चाहिएको हो त्यही तत्वमात्र दाताको शरीरबाट निकालिने र बिरामीलाई पनि चाहिएको तत्वमात्रै दिइने भएकाले यो प्रभावकारी हुने चिकित्सकले जनाएका छन् । प्लेटलेट तत्व मात्रै पोकामा हुने भएकाले डाक्टरको अनिवार्य सिफारिसमा इमरजेन्सी अवस्थामा जुनसुकै रक्तसमूहका बिरामीलाई पनि यो दिन सकिने हुन्छ । अर्को दान गर्न दाताले तीन महिना कुर्नु नपर्ने यो एफरेसिस प्रविधिको अर्को फाइदा हो । यो प्रविधिबाट हरेक एक/एक महिनामा रक्तदान गर्न सकिन्छ । यो रक्तदानमा ८० देखि १०० मिनेट लाग्दछ । दातालाइ क्याल्सियम कम नहोस् भनेर दानका क्रममा चक्की र अतिरिक्त पोषिलो खानेकुरा दिइन्छ । धेरै रगत चढाउनुपर्ने गम्भीर बिरामीका लागि साइटइफेक्ट नहुने र आठ युनिट बराबरको काम एकै पोकाले गर्ने भएकाले सिङ्गल डोनर प्लेटलेट अत्यन्तै लाभदायक हुने चिकित्सक डा प्रकाश यादव बताउँछन् । सिङ्गल डोनर प्लेटलेटको समय तीनदेखि पाँच दिनमात्रै हुने भएकाले बिरामीका लागि माग आएपछिमात्रै उपयुक्त डोनर खोजी गरी केन्द्रीय रक्तसञ्चार सेवामा यो प्रविधि सञ्चालन भइरहेको छ । रक्तसञ्चार सेवाका चिकित्सकबाट बिरामी र दाताले यसबारे थप जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ । रासस

५२ करोड ९६ लाख लागतमा बेँसीसहर–चामे सडक सुस्त गतिमा बन्दै

डुम्रे । बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य यहाँ सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुपोत्तम अधिकारीले भने, ‘दशैं तिहार र चुनावका कारण कामले तीव्रता लिन सकेको छैन ।’ वर्षायाममा वर्षाले यस सडकको विभिन्न ठाउँमा पहिराले खस्दासमेत काममा अवरोध आउँदा समय लागिरहेको उनको भनाइ छ । हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने एकमात्र यस सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ । अब नाली बनाउने र केही संचरना निर्माण गर्नेलगायतका काम बाँकी रहेको र यतिबेला ती काम भइरहेको इन्जिनियर अधिकारीले बताए । यतिबेलासम्म आधाभन्दा बढी निर्माण कार्य हुनुपर्ने भए पनि अधिकांश काम अझै बाँकी रहेको बताइएको छ । काम सुस्त गतिमा हुँदा निर्धारित समयमा सम्पन्न नहुने होकी भन्ने आशंका स्थानीयले गर्न थालेका छन् । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले २०५१ सालमा यसखण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्रयाक खोलेको थियो । उक्त खण्डमा स्तरोन्नतिको काम अघि बढ्दा स्थानीय उत्साहित भए पनि कामको गतिले भने निरास बनाएको स्थानीय कृष्णबहादुर आलेले बताए । सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ । ट्रयाक खोलेको करिब २७ वर्षमा बेँसीसहर–चामे सडक कालोपत्रको काम अघि बढेको छ । पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिका कालोपत्र गरिने भएको छ । त्यस्तै, तेस्रो चरणमा रोड फर्निचर पेन्टिङ गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने कार्य हुने उनको भनाइ छ । पहिलो चरणको निर्माण कार्य गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ बढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन । आशिष अनेस्ट चितवनले २०८० असार मसान्तसम्म कालोपत्र गर्ने गरी २०७८ असार मसान्तमा सम्झौता गरेर काम अघि बढाईएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कूल ५२ करोड ९६ लाख रुपैयाँको लागत अनुमान गरिएको उक्त सडक २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्र गर्ने सम्झौता छ । विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण निर्माण भने २०७८ असोजदेखि मात्र सुरु भएको थियो । यस सडकको बेँसीसहरदेखि खुदीसम्मअर्थात् करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित तीन सय मिटर लामो खरखरभिरको लागि सो रकमबाहेक टेण्डर आह्वान गरेर २० करोड रुपैयाँ स्टेमेन्ट गरेकामा करिब १६ करोड रुपैयाँ र सोही नजिकै एक सय २० मिटरको करिब चार करोड रुपैयाँमा पुल तथा बाटो निर्माण हुने उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १६ करोड रुपैयाँ लागत्तको काम खरीढुङ्गा गोल्मेस्वर जेभीले र चार करोड रुपैयाँको काम सानो खरीढुङ्गा निर्माण सेवाले गर्ने भएको छ । बेँसीसहरमा रहेको नेपाली सेनाले २०६९ सालमा पूरा गर्दै डिभिजन सडक कार्यालय दमौली तनहुँलाई यस सडक हस्तान्तरण गरेको थियो । अघिल्लो वर्षदेखि उक्त डिभिजन सडक कार्यालय मार्फत डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले यस सडकको काम हेर्दै आएको छ । पैसठ्ठी किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर पर्छ । रासस

एमालेले गरेको भ्रष्टाचारको पैसा निर्वाचनमा खोलो जसरी बगेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् । बिहीवार विभिन्न पार्टी परित्याग गरी नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन् । उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । ‘अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेका छन्, अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि मैले विद्रोह गर्नुपरेको हो, नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको छ, आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट हो,’ उनले भने । यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पु¥याउने बताए । ‘हाम्रो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको छ, ६० हजार परिवारलाई जग्गा बाँड्न काम हामीले गरेको हो, यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले गरेको छैन,’ उनले भने ।

सर्वसाधारणले सेयर किन्न हिम्मतै नगर्ने ५ कम्पनी, बैंक, बीमा र फाइनान्समाथि पनि भारी

काठमाडौं । सेयर बजारमा प्रवेश गर्नेहरुको संख्या दैनिक बढ्दो छ । कम्पनीको साधारण सेयर (आईपीओ) खरिद गर्नकै लागि भएपनि लगानीकर्ताहरु पुँजी बजारमा आकर्षित भइरहेका छन् । सुरुमा धेरैले आईपीओ खरिद गरेर पछि दोस्रो बजारमा प्रवेश गर्छन् । तर, दोस्रो बजारमा धेरै यस्ता कम्पनी पनि छन् कि जसको सेयर उनीहरुको पहुँचभन्दा टाढा छन् । कम्पनीको सेयर मूल्य नै बढी भएका कारण सर्वसाधारणहरु महँगो सेयर खरिद गर्न चाहँदैनन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहका १९ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये विभिन्न कारणले १३ वटा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ भने ६ वटा कम्पनीहरुको मात्रै सेयर कारोबार भइरहेको छ । बोटलर्स नेपाल बालाजु, नेपाल ल्युब आयल, युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र बोटलर्स नेपाल तराई गरी ६ वटा कम्पनीको दोस्रो बजारमा सेयर कारोबार भइरहेको छ । नेप्सेमा सबैभन्दा बढी सेयर मूल्य भएका कम्पनीहरु उत्पादन तथा प्रशोधन समूहका नै रहेका छन् । बोटलर्स नेपाल बालाजु १९ लाख ४८ हजार ८८७ कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १९ करोड ४८ लाख ८८ हजार ७ सय रुपैयाँ रहेको छ । बुधबारकाे सेयर बजारको तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २२२.२० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम प्रतिकित्ता २ हजार २२२.२० रुपैयाँ र न्युनतम प्रतिकित्ता १ हजार ९०३.९० रुपैयाँ रहेको यस कम्पनीको बुधबारकाे सेयर मूल्य अनुसार बजार पूँजीकरण ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिएको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ । बोटलर्स नेपाल तराईको दोस्रो बजारमा १२ लाख १० हजार कित्ता सेयर मात्रै सूचीकृत छन् भने चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ हजार ८०७ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १७ हजार ६७० रुपैयाँ र न्युनतम प्रतिकित्ता १० हजार ५ सय रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १४ अर्ब २८ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिने गरेको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ । युनिलिभर नेपालको दोस्रो बजारमा ९ लाख २० हजार ७ सय कित्ता सेयर मात्रै सूचीकृत छन् भने चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ४९० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता २० हजार ६ सय रुपैयाँ र न्युनतम प्रतिकित्ता १६ हजार ५५६ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १७ अर्ब ९४ करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिने गरेको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ । हिमालयन डिस्टिलरी दोस्रो बजारमा १ करोड ५१ लाख ८४ हजार ७९१ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५४० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७ हजार २६९ रुपैयाँ र न्युनतम प्रतिकित्ता २ हजार ८२५ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले विगत ३ वर्षयता बोनस सेयरमा जोड दिइरहेको छ । गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्न भने बाँकी छ । शिवम् सिमेन्टको दोस्रो बजारमा ४ करोड ४० लाख कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । बिहीबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार ६७१.८० रुपैयाँ र न्युनतम प्रतिकित्ता ५९२ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण २८ अर्ब ३८ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापक समूहको ८८ प्रतिशत र सर्वसाधारण समूहको १२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्न भने बाँकी छ । नेपाल ल्युब आयलको दोस्रो बजारमा ४ लाख ८५ हजार ७४९ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ करोड ८५ लाख ७४ हजार रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७.३६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता २८४.३६ रुपैयाँ र न्युनतम प्रतिकित्ता २२७.३६ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ११ करोड ४ लाख रुपैयाँ छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी ३० सय प्रतिशत लाभांश वितरण गरेको हो ।