लघुवित्तको नाफा ३४ प्रतिशत घट्यो, ३ लघुवित्त नोक्सानीमा हुँदा ४ को बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १८ वटा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुको नाफा ३३.८४ प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा १८ वटा लघुवित्तहरुले ६१ करोड १५ लाख ८९ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरुले ९२ करोड ४४ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष लघुवित्तहरुको ३३.८४ प्रतिशत नाफा घटेको हो । तीन महिनाको अवधिमा वटा लघुवित्तको नाफा बढेको छ भने अन्य सबै लघुवित्तको नाफा घटेको छ । उपकार लघुवित्तको ३.८९ प्रतिशत, छिमेक लघुवित्तको ५३.७१ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ६१.७९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ११.३० प्रतिशत नाफा बढेको हो । यस्तै, समिक्षा अवधिमा विभिन्न तीन वटा लघुवित्त संस्थाहरु नोक्सानीमा छन् । जसमध्ये ग्रामीण विकास लघुवित्त १ करोड १८ लाख रुपैयाँ, गुराँस लघुवित्त ६० लाख २२ हजार रुपैयाँ र युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा छन् । हालसम्म समीट लघुवित्तको ५२.८१ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ६८ प्रतिशत, आँधिखोला लघुवित्तको ७८.७१ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५८.१४ प्रतिशत, सिभिल लघुवित्तको ४९.४९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ४४.७२ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६९.४५ प्रतिशत, कालिका लघुवित्तको ७२.५७ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ५५ प्रतिशत, आशा लघुवित्तको ६३.७४ प्रतिशत र आदर्श लघुवित्तको ४७.८३ प्रतिशत नाफा घटेको छ । ‘लघुवित्तको ब्याज बैंकको भन्दा सस्तो छ, नेपालमा ३० वटा माइक्रोफाइनान्स भए पुग्छ’
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
बझाङ । बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बसे । फर्कने बेलामा कोसेलीका लागि भन्दै उनले निरन्तर स्याउ खोजे, त्यसमा पनि साइपालमै फलेको । दिनमा एक पटक बजार डुलिरहे । घर जान लागेकै दिन संयोगवस मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेटे र सबै खरिद गरेर घरतर्फ लागे । ‘उनले लगातार साइपालकै स्याउ किन खोजे ?’ धेरैको मनमा प्रश्न उब्जन सक्छ । बोहरालाई साइपाल बसेको लामो अनुभव छ । दशैं तिहारको समयबाहेक उनी साइपालमै बस्छन् । घर आउँदा विशेष गरी उनको कोसेली नै स्याउ हुन्छ । उनका छिमेकीले समेत साइपाले स्याउको स्वाद चाखेका छन् । बोहोरा घर आउन लागेको थाहा पाएपछि साइपाले स्याउकै माग हुन्छ । बजारमा जतिसुकै स्याउ आए पनि साइपालको जस्तो मीठो अन्त नहुने भन्दै चैनपुर आएको मौकामा स्याउ खोजेको उनले बताए । उनले भने, ‘बजारमा धेरै प्रकारको स्याउ आउँछ । हाम्रै बझाङमा पनि विभिन्न क्षेत्रको स्याउ पर्याप्त हुन्छ तर, स्वादिलो भने साइपालकै हुन्छ ।’ ‘बुङ्गलको स्याउको लोकप्रियता पनि कम छैन’, उनले भने, ‘साइपालको स्याउ धेरैजसो धेरै पटक खाएको हुँदा बुंली बुङ्गली स्याउको स्वादै लाग्दैन । स्याउ खानु पर्यो भने साइपालेकै याद आइहाल्छ ।’ साइपालको स्याउले बजार पाए दिनमै लाखौँको बिक्री हुने उनले अनुमान गरे । ‘साइपाले स्याउको बजार टाढा भएर मात्रै हो । नत्र त यो स्याउ तराईसम्म पुग्ने हो भने दैनिक दसौँ क्विन्टल बिक्री हुन्थ्यो ।’ उनी भन्छन् । खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी पनि साइपालको स्याउ सम्झिने बित्तिकै मुख रसाउने बताउँछन् । साइपालका विभिन्न वडामा स्याउ सिजनमा नै धेरै पटक गएको हुँदा साइपाले स्याउ जतिको मीठो अन्य ठाउँको नलाग्ने उनले बताए । ‘म जति पटक साइपाल गएँ, त्यति पटक नै एक/एक झोला साइपाले स्याउनै ल्याएँ ।’ चिसोका कारण साइपालमा स्याउ मीठो हुने गरेको उनले बताए । ‘साइपालको स्याउ सबैका लागि ‘डाँडापारि सुन छ’, भनेजस्तै छ’, उनले भने, ‘तर, खच्चरमा ढुवानी गरेर सदरमुकामसम्म ल्याएको स्याउ संसारभर उत्पादन हुने स्याउसँग दाँज्ने हो भने पनि उत्कृष्टमा पर्न सक्छ ।’ साइपालको स्याउको स्वाद चाख्नेले कहिल्यै नबिर्सिने गरेको उनले बताए । ‘पछिल्लो दुई वर्ष भने साइपालबाटै एक/दुई झोला स्याउ खच्चरमार्फत मगाएँ’, उनले भने, ‘साइपालको स्याउ आयातभन्दा सस्तो पनि मीठो पनि ।’ भारत तथा अन्य जिल्लामा आउने स्याउभन्दा २०/३० रुपैयाँ सस्तो पर्ने गरेको उनले बताए । साइपालमा स्याउ उत्पादन बढ्दै गएको छ । सुरूमा आफैँलाई खानका लागि लगाउने कृषक अहिले व्यावसायिक रूपमै गर्न थालेका छन् । साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले मात्रै सयौँ बोट स्याउ लगाएका छन् । ‘सुरूमा आफैँलाई खानका लागि दुई बोट लगाएको थिएँ । अहिले चार/पाँच सय बोट लगाएको छु । पन्ध्र/बीस बोट त फल्न लागिसके ।’ उनले भने । धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौँ बिरुवा रोपेका छन् । ‘उत्पादन पनि भइरहेको छ तर, बजार नपाउँदा सस्तोमै गाउँमा बिक्री गरिरहेका छौँ ।’ उनले भने । गाउँमा ६०/७० रुपैयाँमै बिक्री गर्ने गरेको उनले बताए । ‘स्याउ ढुवानी गर्न निकै कठिन छ’, उनले भने, ‘बिरुवा रोपेको तीन वर्षमै फल्न सुरू भइसक्यो । बिक्रीका लागि बजारमा ल्याउन बाटो नै छैन । बोकेर सम्भव नै हुँदैन । थोरै थोरै सामान बोकेर फर्कने खच्चरमा पठाइरहेका छौँ । हिउँ परेपछि खच्चर ढुवानी पनि बन्द हुन्छ ।’ साइपालमा राजेन्द्र धामीजस्तै एक दर्जन किसानले स्याउ फलाउन सुरू गरेका छन् । वडा नम्बर ४ को धुली, गजेरा, धलौन, लातडी, ज्यापी, सोगौली, सैनगाउँ र गजेरा, वडा नम्बर ५ को तिउना, पलौडी, काकरकोटमा स्याउको उत्पादन फस्टाउँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए । जोशीका अनुसार कृषि शाखाबाट लिएर स्याउको बिरूवाहरू कृषकले बढी रोप्न थालेका छन् । ‘कतिपयले उत्पादन गरेर बिक्रीसमेत गर्न थालिसके । कृषकले उत्पादन गरेको स्याउको बजारीकरणका लागि ढुवानी गर्न पालिकाले बजेट छुट्याएको छ । ढुवानीको लागि पैसा पर्दैन । कृषकले उत्पादन गरे पनि निकै फाइदा हुन्छ ।’ उनले भने । यता कृषि ज्ञान केन्द्रले पनि साइपालमा स्याउ उत्पादन गर्नका लागि १५ लाख रुपैयाँ अनुदान दिएको बताएको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले उच्च घनत्व स्याउ संरक्षणका लागि साइपालमा १५ लाख दिएको बताए । उनले भने, ‘बझाङका विभिन्न ठाउँमा स्याउको सम्भावना भए पनि साइपालमा चिसो हुने हुँदा हामीले बढी जोड दिएका छौँ । त्यसैमाथि साइपालमा फल्ने स्याउ बजारको रोजाईमा पनि पर्न थालेको हो ।’ विष्टले स्याउका लागि सबैभन्दा चिसो ठाउँ भयो भने स्याउ स्वादिष्ट हुने बताए । ‘चिसो ठाउँको उत्पादन स्वादिष्ट पनि हुन्छ, बजार पनि पाउँछ । त्यसैले हाम्रो पहिलो रोजाई पनि बर्सेनि हिमपात हुने क्षेत्र साइपाल परेको हो । अन्य पालिकामा पनि केन्द्रले सहयोग गर्दै आएको छ ।’ विष्टका अनुसार बझाङमा सबैभन्दा बढी स्याउ साइपाल, थलारा, खप्तडछान्ना, तल्कोट तथा बुङ्गलको सिरानीमा उत्पादन हुने गरेको छ । अन्य पालिकामा पनि स्याउको उत्पादन बढ्दै गएको उनले बताए । यो सिजनमा मात्रै बझाङबाट डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको विष्टले बताए । ‘विभिन्न पालिकाबाट करिब डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको छ भने जिल्लामै दुई/तीन मेट्रिक टन बराबर खपत भएको अनुमान गरेका छौँ ।’ उनले भने । जिल्लामै प्रति किलो सय रुपैयाँ बिक्री हुने स्याउ तराईंका जिल्लासम्म पुग्दा डेढ रुपैयाँदेखि दुई सयसम्म बिक्री हुने गरेको उनले बताए । स्याउ बोकेरै कृषक खप्तडछान्ना गाउँपालिका–६ पुजारीगाउँका डबलबहादुर खड्का उमेरले ७० वर्ष कटिसकेका छन् । उनी युवा उमेरदेखि नै भारतको सिम्ला पहाडमा सिजनअनुसार धेरै पटक स्याउ बोक्न गए । आफ्नै भूमिजस्तो ठाउँमा पर्याप्त स्याउ फलेको देखेपछि डेढ दशकअघि नै उहाँले खालिगडामा करिब पाँच सय बिरुवा रोपे । ‘अहिलेको जस्तो अनुदान केही थिएन’, खड्काले भने, ‘सिम्ला पहाडमा स्याउ बोकेर कमाएको पैसाले नै स्याउका बिरुवा खरिद गरेँ र आठ/नौ फिटको अन्तरमा खाल्डो खन्दै रोपेँ । त्यसले तीन वर्षमै फल दिन थाल्यो । अहिले त्यसैबाट वार्षिक पाँच लाख रुपैयाँ बराबर आम्दानी भइरहेको छ ।’ खड्काको स्याउ बारीमा अहिले ५० क्विन्टलको हाराहारीमा स्याउ फल्छ । बैतडीमा तालिम लिएर स्याउ खेती गरेका खड्काले व्यावसायिक रूपमा खेती गर्न थालेको दशकपछि मात्रै छान्नामा अन्य कृषकले व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए । ‘मैले सुरूमा खालिगडामा स्याउ रोप्न जाँदा अन्न उत्पादन हुने जमिनमा स्याउ लगाएर जङ्गल बनाउन थाल्यो भन्नेहरू तीन/चार वर्षदेखि नै स्याउ माग्न थाले । पछि मेरै सल्लाहअनुसार नै धेरैले स्याउ खेती गरेका छन्’, उनले भने । रासस
देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन्। बिहीबार नेपाली काँग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए। उनले भने, ‘आगामी मंसिर ४ गतेको निर्वाचन जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्न चाहेका छौँ।’ उनले काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए। उनले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्नपनि आग्रह गर्नुभयो। ‘काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले चुनावी मैदानमा हामी छौँ त्यसको नतिजाले देखाउँछ’ उनले भने, ‘सबैले मतदान गर्न अनुरोध गर्दछु। भविष्यको भलाइको लागि चुन्नुपर्छ। मताधिकारको सदुपयोग गरौँ।’ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न गठबन्धन लाग्ने बताए। संघर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अघि बढाउनु नै गणेशमान सिंहप्रतिको सच्च श्रद्धाञ्जली हुने बताए। नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उनका कामहरुलाई व्यवहारमा उतार्न आवश्यक्ता रहेको बताए। काँग्रेस संस्थापक नेता सिंहको आज विभिन्न कार्यक्रम गरेर देशभर १०८ औं जन्मजयन्ती मनाइँदै छ।
नारायणी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै
नवलपुर । दशैं, तिहार र छठको बिदासँगै नवलपरासी बर्दघाट–सुस्तापूर्वको नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् । जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । ‘दशैं, तिहार र छठको बिदासँगै यहाँका होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ’, उनले भने, ‘अघिल्ला वर्षहरुको यो समयमा होटलको अकुपेन्सी मुस्किलले ४० प्रतिशत पुग्ने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुगेको छ ।’ नारायणी नदी किनारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक नदी किनारका होटलमा केन्द्रित हुने गरेको पराजुलीको भनाइ छ । ‘जिल्लामा विभिन्न ठूला कार्यक्रम हुने गरेका छन्, उनीहरुको रोजाइमा पनि नदी किनारका होटल नै परेका छन्’, पराजुलीले भने, ‘नदी किनारबाट देखिने सूर्यास्त, मोटरबोट सयरलगायत विभिन्न कारण नदी किनारको होटलमा आकर्षण बढेको हुनसक्छ ।’ चितवनको सौराहा केन्द्रित हुने पर्यटक अहिले नारायणी नदी किनारका होटलमा विस्तार भइरहेका पराजुलीको भनाइ छ । यहाँ आउने पर्यटक पवित्र तीर्थस्थल देवघाटधाम, ऐतिहासिक महत्वको मौलाकालिका मन्दिरलगायतका ठाउँमा घुम्ने गरेका पराजुलीले बताए । होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष रानामगरले जङ्गल सफारी, जीप सफारी, डुङ्गा सफारीलगायतका लागि पर्यटक आउने हुँदा नारायणी नदी किनारका होटल उनीहरुको रोजाइमा पर्ने गरेको बताए । ‘नारायणी नदी वारि रहेका अमलटारी, पिठुवासहितका सामुदायिक वनमा जीप सफारी, ट्रेकिङ, नारायणीमा डुङ्गा सफारीजस्ता पर्यटकीय गतिविधि हुने गरेका छन्’, रानामगरले भने, ‘दुर्लभ एकसिङ्गे गैँडा, मयुर, भालु, मृगजस्ता जनावर जङ्गल सफारीमा सहजै देख्न पाइने हुँदा अहिले पर्यटकको आगमन राम्रो छ ।’ नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाको विकल्पका रुपमा नवलपुर क्षेत्र उदाउँदै जँदा नारायणी नदी किनारका होटलमा आकर्षण बढेको राना मगरले बताउनुभयो । ‘केही हप्ताअघि राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नवलपुरमा आयोजना हुँदा यहाँको पर्यटन क्षेत्रलाई थप बल पुगेको छ’, रानामगरले भने, “अहिले जिल्लामा आउने पर्यटक दुईतीन दिनको बसाइँमा आउने गरेका छन् उनीहरुलाई एक हप्तासम्म राख्ने गरी हामीले प्याकेज बनाउँदै छौँ ।” जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरुलाई समेटेर व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लैजाने योजना रहेको रानामगरले बताए । ‘नवलपुरमा बसुन्जेल आन्तरिक पर्यटक खुलेर रमाइलो गरुन् भन्ने तरिकाले हामीले यहाँको पर्यटनलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ’, रानामगरले भने, ‘हामीकहाँ आउने पर्यटकले यहाँ खाँदा बस्दा पैसा सकिएको अवस्थामा उनीहरुलाई हामी आफैँ गाडीभाडा हालेर घर पठाउने व्यवस्था गर्ने गरी छलफल अघि बढाएका छौँ, त्यस्तो गर्न सकियो भने नेपालमै नवीन पर्यटकीय ठाउँ बन्नेछ नवलपुर ।’ नवलपुरमा तीन प्रकारको हावापानी पाइने भन्दै उनले राजमार्गबाट उत्तरतर्फ पाँच किलोमिटरको दूरीमा चिसो हावापानी, राजमार्ग क्षेत्र र राजमार्गबाट दक्षिणतर्फ सिमसार छुट्टै हावापानी पाइने उनको भनाइ छ । नवलपुरको त्रिवेणीधाम, दाउन्नेदेवी मन्दिर, धौवादीको फलाम खानी, देवचुली डाँडा, शाश्वत धाम, मौलाकालिका मन्दिर, देवघाटधाम, चितवन राष्ट्रिय निकुञ्जका सामुदायिक वनलाई पर्यटनसँग जोडेर प्याकेज बनाउने तयारी भइरहेको राना मगरको भनाइ छ । यहाँको पहाडी क्षेत्रमा गुरुङ, मगरको तथा तराईमा थारु समुदायको संस्कृति, परम्परागत खानपानमा पर्यटकलाई रम्ने वातावरण बनाउँदै नदी केन्द्रित पर्यटनको क्षेत्र विस्तार गरिने उनको भनाइ छ । जिल्लामा रहेका करिब आठ सय होटलमध्ये नारायणी किनारमा मात्रै अहिले दुई सयको हाराहारीमा होटल सञ्चालनमा रहेका राना मगरले बताए । यो समयमा नारायणी किनारका सबै होलटमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको राना मगरले बताए । जिल्लाका सानाठूला होटलमा गरी करिब तीन हजार कोठा रहेका राना मगरको भनाइ छ । होटल व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले नारायणी नदी किनार पर्यटकीय दृष्टिकोणले आकर्षित बन्दै जाँदा यहाँ आउने पर्यटक बढेका बताए । ‘भारतको गोवा तथा मुम्बईको समुद्री तटको झल्को दिने गरी नारायणी नदी किनार विकास भइरहेको छ’, चुकेले भने, ‘त्यसैको प्रभावले यहाँको नदी किनारका होटलमा पर्यटकको आकर्षण बढेको हो ।’ नदी किनारका होटलमा बास बस्दा नारायणी गङ्गा आरतीको अवलोकन, मोटर बोटमा सयर, मनोरम सूर्यास्तको दृश्यावलोकनजस्ता क्रियाकलाप गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा नदी किनार पर्ने गरेको चुकेले बताए । ‘गैँडाकोटका नदी किनारका होटलमा बस्ने पर्यटक बिहान उठेर सहजै मौलाकालिका मन्दिरको दर्शन गर्दै देवघाटधाममा जान सक्छन्’, वरिष्ठ उपाध्यक्ष चुकले भने, ‘नदी किनार देशकै केन्द्र भागमा पर्ने हुँदा यातायातको सजह व्यवस्था भएकाले यहाँ पर्यटकको आकर्षण बढ्नु स्वभाविक हो ।’ यहाँ आउने पर्यटकमध्ये अधिकांश छुट्टी मनाउन तथा घुम्न आउने भएकाले उनीहरुको बसाइँ लम्बाउने गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्नसकेमा आर्थिक क्रियाकलाप बढ्ने चुकेले बताए । रासस
कम्पनी नवीकरणमा सरकारले छुट दिएपनि व्यवसायीले दिएनन् चासो, राजश्वमा पनि गिरावट
काठमाडौं । उद्योगीले सरकारले दिएको छुटमा कम्पनी विवरण अद्यावधिक (नवीकरण) मा चासो नदेखाएको पाइएको छ । चालू आर्थिक वर्षको आर्थिक ऐन २०७९ जारी गर्दै सरकारले लामो समयदेखि नवीकरण नभएका कम्पनीलाई ५ प्रतिशत रकम बुझाएर नवीकरणको समय दिएपनि त्यसमा उद्योगीहरुले चासो नदेखाएका हुन् । सरकारले आगामी पुस मसान्तसम्म अवधि तोक्दै समय दिए पनि उद्योगी व्यवसायीले कम्पनी विवरण नवीकरणमा खासै चासो नदेखाएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । कार्यालयका रजिष्ट्रार महेश बराल गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनी विवरण नवीकरण गर्नेको संख्या न्यून रहेको बताउँछन् । ‘गत आर्थिक वर्षमा ४० हजारभन्दा बढी कम्पनीले विवरण अद्यावधिक गरेका थिए तर हाल अद्यावधिक गर्नेहरु न्यून मात्रामा देखिएका छन्’, उनले भने, ‘असारमसान्तमा केही भीड नै थियो, त्यसपछि ठूला चाडपर्व तथा निर्वाचनका कारण कम्पनी विवरण अध्यावधिक गर्नेहरु देखिएका छैनन्, नियमित रुपमा कम्पनीका विवरणहरु अद्यावधिक भैरहेको छ, हरेक वर्ष करिब ९० हजार हाराहारीका कम्पनीहरु अद्यावधिक हुने गरेका छन् तर छुटमा अद्यावधिक गर्नेहरु खासै छैनन्, यकिन तथ्यांक आइसकेको छैन ।’ आवश्यक पर्नेहरुले गत वर्ष नै छुटमा कम्पनी नवीकरण गर्दा यस वर्ष न्यून भएको हुन सक्ने उनको अनुमान छ । उनले कम्पनी विवरण अद्यावधिक गर्न सरकारले छुटको घोषणा गरेता पनि कम्पनी नै बन्द गर्नेका लागि करमा छुट नदिँदा खासै चासो नदेखिएको पाइएको छ । ‘कम्पनी विवरण नवीकरणमा छुट भएपनि करमा छुट छैन, कम्पनी नै बचाउँछु भन्नेहरुले छुटमा नवीकरण गरिसक्नु भयो, हैन कम्पनी नै खारेज गर्छु भन्नेहरुका लागि करमा छुट नहुँदा खारेज भएनन्’, उनले भने । यसअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् २०७८ को पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था लागु गरेका थिए । गत वर्ष सरकारले पुराना कम्पनी नवीकरणमा छुट दिँदा ४० वर्ष पुराना करिब ४० हजार कम्पनीले छुटमा कम्पनी विवरण अद्यावधिक गरेका थिए । गत वर्ष छुट दिएको सरकारले यस वर्ष पनि पुराना कम्पनी नवीकरणमा छुट दिएको हो । तोकिएका विवरण तोकिएको समयमा नबुझाएमा कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिस्ट्रारले कम्पनीको पुँजी र बिलम्ब भएको समय हेरी न्यूनतम एक हजार रुपैयाँदेखि वार्षिक २० हजारसम्म नगद जरिवाना गर्ने व्यवस्था छ । व्यवसायीले कम्पनी नवीकरणमा चासो ददिँदा सरकारले धेरै राजश्व पनि गुमाएको उनको भनाइ छ । ऐनको दफा १३६ मा लगातार ३ वर्षसम्म कम्पनीहरूले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट पास भएको ३० दिनभित्र रजिस्ट्रारको कार्यालयमा नबुझाएमा वा विवरण नबुझाएबापत तिर्नुपर्ने जरिवाना नतिरेमा कम्पनी खारेज गर्ने व्यवस्था छ । तर रजिस्ट्रारको कार्यालय कम्पनीको खारेज नगर्दा धेरै कम्पनीहरूले लामो समयदेखि जरिवाना रकम तिरेका थिएनन् ।
राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन् । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरेका थिए । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो । उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो । त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गरेका थिए । सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने पर्वतारोही महिलाहरुले भेट गरे । यसैगरी आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ को कार्यक्रममा सहभागी हुन दुई दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी हुन् । उनी विभिन्न कार्यक्रममा सहभागी भएर यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ । सबै भेटघाटमा परराष्ट्र सचिव भरतराज पौडेल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, राष्ट्रपतिका सञ्चारविज्ञ ढकाललगायतका अधिकारी सहभागी थिए ।
कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै ?
डुम्रे । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन् । ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैन’, उनी भन्छन्, ‘पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ ।’ कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउँछन् । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ । ‘पहिले रासायनिक मल भन्ने नै थाहा थिएन । गोठ नै खेतबारीमा राखिन्थ्यो । प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो । स्वादिलो हुन्थ्यो’, उनी भन्छन्, ‘ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ ।’ ‘अहिले खेतीपाती गर्न खर्चिलो छ । रासायनिक मलको प्रयोग गरिन्छ । त्यो किन्नै पर्यो । अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ । अनि कसरी राम्रो उत्पादन होस् । यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ । केको दुःख गर्नु अहिलेकाले’, ओझा भन्छन्, ‘भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल । दुःख किन गर्छन् र ?’ आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छन्, ‘अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ ।’ ‘अहिले तीन भकारी धान भए पनि वर्षभरलाई खान पुग्दैन’, ओझा भन्छन्, ‘रासायनिक मलकै कारण पहिलेको जस्तो आटिलो हुँदैन ।’ विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए । केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन् । उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ । उनले अहिले पनि केही खेतमा धान रोप्ने गरेका छन् तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आएका छन् । खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उनी बताउँछन् । यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए । ‘खेतीपाती गर्न सकिदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ’, शाहीले भने । बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ । आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उनीहरुको भनाइ छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए । ‘धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन । जसले गर्दा धान खेतीमा युवाको चासो छैन’, उनले भने । साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाइ छ । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उनको भनाइ छ । ‘जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन । तबसम्म बाँझो जमिन बढ्दै जान्छ । यसको न्यूनीकरणका लागि कम्पनी मोडेलतर्फ सरकारले योजना बनाउनुपर्छ’, उनले भने । कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताए । ‘कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छ’, उनले भने । कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ । धान उत्पादन वृद्धि चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ’, उनले भने । गत वर्ष आठ हजार हेक्टरमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए । यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनले बताए । कृषि पेसाबाट विमुख कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने कृषक बढ्दै गएका छन् । आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन् । उनी भन्छन्, ‘पुरानो परम्परागत खेतीपाती गर्ने चलन छैन । पूर्णरुपमा परम्परागत खेतपाती गर्ने चलन हराएको पनि छैन र पूर्णरुपमा आधुनिक प्रविधिको उपयोगबाट खेतीपाती गर्न सकिएको छैन । यसले गर्दा उत्पादनमा समस्या भएको हो ।’ स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्णरुपमा आयातित मल, बीउबिजन हुने भएकाले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए । धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन् । तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनी बताउँछन् । ‘पहिले पहिले जस्तो खेताला पाइँदैन । मेसिनको प्रयोग गरिन्छ तर पूर्णरुपमा होइन । आधाआधी मेसिन त्यो चलाउन आफैँले काम गर्नुपर्छ । महँगो पर्न जान्छ यसले युवा विमुख भएको हुनसक्छ’, उनले भने । रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने उनीहरुको बुझाइ छ । विगतमा आफ्नै खेतबारीबाट उत्पादित खाद्यान्न खाएर स्वस्थ्य रहने गरेको अगुवा किसानको भनाइ छ । विगतमा तनहुँ जिल्ला करिब करिब धान उत्पादनमा आत्मनिर्भर रहेको अगुवा किसान बताउँछन् । यहाँबाट अन्यत्र निर्यातसमेत हुने गरे पनि हाल जिल्लामा आयात हुने गरेको उनीहरु बताउँछन् । खेती गर्नुभन्दा चामल किन्दा कम मूल्य पर्ने भएर पनि युवा कृषि पेसाबाट विमुख भएको पाइएको वरिष्ठ कृषि विकास अधिकृत तिवारी बताउँछन् । ‘चामल र घर चलाउनकै लागि विदेशिएर आयआर्जन गर्न पुग्ने गरेका छन् । यहीँ उत्पादन वृद्धि र सहज मूल्यको वातावरण बनाउन सरकार र राजनीतिक दलको मुख्य भूमिका रहन्छ । त्यसैले युवालाई कृषि र कृषकले मूल्य पाउने गरी बिक्री नभए सरकार वा कुनै कम्पनीले खरिद गर्ने तथा प्रोत्साहन गर्न जरुरी छ’, उनले भने । तनहुँको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, शिशाघाट, सत्रसय, घाँसीकुँवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँटमा धान उत्पादन हुन्छ । त्यस्तै देवघाट गाउँपालिकाको वेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने क्षेत्रमा नै खेतीपाती गर्न कम हुँदा उत्पादन घट्दै गएको छ ।
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई माग्यो स्पष्टीकरण
काठमाडौं । प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको भनाइ छ । आयोगले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।