विकासन्युज

मतदाता भन्छन् : ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

भरतपुर । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ । भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गरिन् । ‘भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन’, उनले गुनासो गरिन् । ‘रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने’, भनिन् । उनले ठेलामा मकै पोलेर परिवार पाल्दै आएकि छिन् । उनले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएका थिए । ‘पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन’, उनले भनिन्, ‘हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।’ उनले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताइन् । भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउँछिन् । ‘यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन’, उनले भनिन् । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उनले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गरिन् । ‘महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?’ उनले प्रश्न गर्दै भनिन् । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उनका श्रीमान्ले ज्याला मजदुरी गर्छन् । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उनले बताइन् । भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताइन् । उनी भन्छिन्, ‘हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।’ उनले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भनिन् । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उनले भनिन्, ‘अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।’ अटो चलाउँदै आएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउँछन् । ‘निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ’, उनले भने । भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पु¥याउनुपर्ने बताए । ‘फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्’, उनले भने, ‘देशको अवस्था हेरेर सोचविचार गरेर मत दिने ।’ दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् । रासस

बझाङमा भूकम्प गएपछि प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ

बझाङ । खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो । ‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ’, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् । खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए । जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन । रासस

समता घरेलु लघुवित्तको नाफा ६३.७२ प्रतिशत घट्यो

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६३.७२ प्रतिशत घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५.७२ प्रतिशत घटेर ४ करोड ९० लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष १ करोड ८० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको लघुवित्त यस वर्ष भने २५ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर ३४ करोड २७ लाख रुपैयाँ, जगेडा कोष २८ प्रतिशत बढेर २३ करोड ९९ लाख रुपैयाँ, सापटि २ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ, निक्षेप १६ प्रतिशत बढेर १ अर्ब १५ करोड ३२ लाख रुपैयाँ र कर्जा ७.७७ प्रतिशत बढेर ३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९७ पैसा रहेको छ । लघुवित्तको कस्ट कफ फण्ड ७.९६ प्रतिशत र खराब कर्जा ४.८६ प्रतिशत छ ।

गणपति लघुवित्तको नाफामा १५४ प्रतिशत छलाङ, ईपीएस पनि बढ्यो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १५४.६८ प्रतिशत बढेर ६८ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २७ लाख ६ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १.६२ प्रतिशत घटेर ३ करोड ५६ लाख ३४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको ३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पहिलो त्रैमाससम्म लघुवित्तको सञ्चालन मुनाफा १५४.६६ प्रतिशत बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३८ लाख ६६ हजार रूपैयाँ रहेको थियो । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशत बढेर ३ करोड ६ लाख ३४ हजार रुपैयाँ, सापटि ६.२२ प्रतिशत बढेर १ अर्ब ५५ करोड रुपैयाँ, निक्षेप ०.६२ प्रतिशत घटेर ५६ करोड ९६ लाख रुपैयाँ र कर्जा ३.३९ प्रतिशत बढेर २ अर्ब २७ करोड ५२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.७६ रुपैयाँ बढेर ४.५५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ । लघुवित्तको कस्ट अफ फण्ड ८.४६ प्रतिशत, बेस रेट १३.७१ प्रतिशत र खराब कर्जा २.१९ प्रतिशत रहेको छ ।

स्वाभिमान लघुवित्त नोक्सानमा, ईपीएस ऋणात्मक

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६८.२९ प्रतिशत घटेर ६७ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४८ लाख ९६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यस वर्ष ६७ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशत बढेर १२ करोड १७ लाख रुपैयाँ, जगेडा कोष ६०.४२ प्रतिशत बढेर ११ करोड २७ लाख रुपैयाँ, सापटि ५.३२ प्रतिशत बढेर १ अर्ब ३४ करोड ११ लाख रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर ६९ करोड ६२ लाख रुपैयाँ र कर्जा २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड १ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत आपूर्ति प्रभावित

काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ । यसबाट करिब ५ हजार ग्राहककोमा विद्युत आपूर्ति समस्या देखिएको हो । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमश : थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको छ । प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ । प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५/४५ एमभिएले प्रतिस्थापन गर्दै छ । त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ ।

निर्वाचनको दिन क-कसले सवारी चलाउन पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ । अपाङ्गता भई आफैं हिँड्डुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ । अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ । मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्न मिल्नेछ । यस्तै दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्र्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनका लागि अनुमति लिनुनपर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन । मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्नेछ ।

मिर्मिरे लघुवित्तको नाफा ४९.३८ प्रतिशत गिरावट, बेसरेट १५.१८ प्रतिशत

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९.३८ प्रतिशत घटेर २ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्मा लघुवित्तको खुद ब्याज आम्दानी ३.६० प्रतिशत बढेर १२ करोड ६१ लाख रुपैयाँ, सञ्चालन नाफा ४९.३९ प्रतिशत घटेर ४ करोड ३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २२.१० प्रतिशत बढेर ५३ करोड १२ लाख रुपैयाँ, जगेडा कोष ३७.२४ प्रतिशत बढेर ३० करोड ३१ लाख रुपैयाँ, सापटि १.३५ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ, निक्षेप २९.८२ प्रतिशत बढेर २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ र कर्जा १०.१७ प्रतिशत बढेर ८ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ रहेको छ । तीन महिनाको अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५८ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.१७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९९.०१ गुणा रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ३.४७ प्रतिशत, बेस रेट १५.१८ प्रतिशत र कस्ट अफ फण्ड ११.०८ प्रतिशत रहेको छ ।