विकासन्युज

सिटिजन्स बैंक‍मा काम गर्ने अवसर, यी दश पदका लागि माग्यो कर्मचारी

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।    

नेपाली कम्पनीको दुईवटा भिटामिनका औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । नेपाली कम्पनीले उत्पादन गरेको दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई  औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न आदेश दिएको छ । आइतबार सूचना जारी गर्दै विभागले काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेट र रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ लाई फिर्ता गर्न आदेश दिएको हो । बजार अनुगमनको क्रममा ती औषधि नमुना परिक्षण गर्दा न्युन गुणस्तरको देखिएको बताउँदै विभागले बजारबाट उक्त औषधीको ब्याच फिर्ता गर्न भनेको जनाएको छ । विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन अनुरोध गरेको छ ।      

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा छ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

बैंक बिग मर्जर : चार बैंकको डीडीए रिपोर्ट तयार, कुनको प्रोग्रेस कति ?

काठमाडौं । मर्जरको सम्झौता गरेका १० वटा वाणिज्य बैंक अहिले डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट तयार पार्नमा व्यस्त भएका छन् । अधिकांश बैंकहरु डीडीए रिपोर्ट तयारमा अन्तिम अवस्थामा पुगेका छन् भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र ग्लोबल आइएमई–बिओके बैंकको डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् । खनालका अनुसार यी दुवै बैंकको डीडीए रिपोर्ट तयार भइसकेको छ । उनले वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना रहेकाे बताए । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनले बताए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै, मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पनि डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए रिपोर्टमा १:१ को स्वाप रेसियो आएको छ । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । मर्जरपछि बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्य हुने सहमति भएको छ । यस्तै, प्रभु बैंक र सेञ्चुरी बैंकबीचपुस मसान्तभित्र एकीकृत कारोबार हुने बताइएको छ । सोही अनुसार डीडीए रिपोर्ट बनिरहेको मर्जर कमिटीका सदस्य मन बहादुर राई बताउँछन् । ‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष्य हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्षदिन पछि पनि भएका थिए,’ उनले भने । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । यस्तै, हिमालयन र सिभिल बैंकले पनि एक साताभित्रै डीडीए रिपोर्ट तयार पार्ने किसिमले काम गरिरहेका छन् । दुवै बैंकको सम्झौता अनुसार स्वाप रेसियो आउने बताइएको छ । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । मर्जर पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । यस्तै, कुमारी र एनससीसी बैंकले पनि असार मसान्तसम्म एकीकृत गर्ने किसिमले काम गरिरहेका छन् । बैंकले आगामी पुस १७ गतेभित्र एकीकृत कारोबार गर्ने किसिमले काम गरिरहेका छन् ।

चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ ले जित्यो, ८० हजारसहित ट्रफी र पदक

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै  ८० हजार रुपैयाँसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई ४० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारेको छ । चन्द्रागिरि–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स्य फुटसल एरिनामा शनिबार साँझ भएको कडा प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरि– १५ ले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । का तर्फबाट खेलाडी समिर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय पुरी, अभय खड्का, सुजित रावत, प्रज्ज्वल कार्की, रोहित थापा र सुशन घिमिरे मैदानमा उत्रिएका थिए । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं ९ का तर्फबाट अजय महर्जन, सञ्जीव महजर्न, निकेश श्रेष्ठ, गौरव श्रेष्ठ, राजकुमार श्रेष्ठ, रितेश श्रेष्ठ, रफि श्रेष्ठ, ईश्वर थापामगर र राजीव मान्धर मैदानमा उत्रिएका थिए । पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा प्रयोजित सो प्रतियोगितामा नगरका १५ वडाका २२ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त टिमलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगप्रवक्ता कृष्णकुमार खड्गी र क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गरे । सोही अवसरमा उनीहरूले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच–पाँच हजारसहित ट्रफी र पदक प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलकर्ता सविन महर्जन र उत्कृष्ट गोलकिपर प्रकट रिजालले प्राप्त गरेका थिए । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनउने बताए । उनले भने, ‘नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् ।’ क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अगामी दिनमा खेल क्षेत्रमा सरकारले लगानी बढाउन जरुरी छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र युवाको सशक्तीकरण हुन्छ ।’ क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताए ।

चुनाव जित्नेमा ढुक्क छु, मलाई डर छैन : पम्फा भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छिन् । आईतवार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् । उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताइन् । ‘यो क्षेत्रमा राम्रा कामहरु गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्तो मलाई डर छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमा झैँ यस पटक पनि आम मतदाताहरु खुशी हुनुहुन्छ, सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ,’ उनले भनिन् ।

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गरेका थिए ।  

झापामा पुलबाट खसेर साइकल यात्रीको मृत्यु

झापा । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ । दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।