क्रिप्टोमा लगानी जोखिम : एफटिएस ट्रेडिङ कम्पनीबाट १ बिलियन भन्दा धेरै फण्ड गाएब
एजेन्सी । एफटिएस ट्रेडिङमार्फत १ बिलियन डलर भन्दा धेरैको फण्ड गायब भएको छ । एफटिएक्स ट्रेडिङका संस्थापक सैम बैंकमैन फ्राइडले आफ्नै कम्पनी अल्मेडा रिसर्चमा ग्राहकको १० बिलियन डलर बराबरको फण्ड गोप्य रुपमा ट्रान्सफर गरेको रोयटर्समा लेखिएको छ । सोही क्रममा सो फण्ड गायब भएको बताइएको छ । सो फण्ड १ देखि २ बिलियन डलरको बीचमा हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो बुधबार फ्राइडले आफ्ना अधिकारीहरुसँग सेयर गरेको सूचनाबाट उनको वित्तीय छलकपट बाहिर आएको हो । सो सूचना बाहिर ल्याउनेहरुले फ्राइडको कम्पनीको उच्च तहमा रहेर काम गर्ने गरेको बताइएको छ । रोयटर्ससँग टेक्स म्यासेजमा गरेको कुराकानीमा भने फ्राइडले गोप्य रुपमा आँफूले फण्ड ट्रान्सफर गरेको अस्विकार गरेको उल्लेख गरिएको छ । एफटिएक्स र अल्मेडाले भने सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए । उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताए । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।
सगरमाथा पदमार्गमा बन्यो हिमालयन शेर्पा अस्पताल, अब पर्यटकलाई यात्रा सहज हुने
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटोभरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ । स्थानीयलाई झनै सकस हुन्छ । पर्यटक र स्थानीयवासी उपचार अभावमा ज्यान गुमाउन बाध्य हुन्छन् । बिरामी भइहाले उनीहरु नाम्चे र लुक्लाको सामान्य अस्पतालको भर पर्दछन् । तर बिरामी घण्टौँ हिँड्नुपर्दा बाटोमै ज्यान गुमाएका अनेकन उदाहरण छन् । अब अवस्था फेरिएला जस्तो छ । यही सातादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ शै्ययाको अस्पताल सञ्चालनमा आएको छ । यहाँ अस्पतालसँगै दक्ष चिकित्सकको व्यवस्था गरिएको छ । रु २० करोडको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । लुक्ला र नाम्चेको बीचमा अवस्थित फाक्दिङमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा ४० कोठा छन् । अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा रहेका छन् । उनी हिमालयन शेर्पा फाउण्डेशनको अध्यक्षसमेत हुन् । शेर्पाको होटल व्यवसाय पनि छ । बिरामीको अवस्था देखेर व्यवसायी शेर्पाको मन पोल्थ्यो । स्थानीयवासीको अवस्था दयनीय थियो । आर्थिक अवस्था एकदमै कमजोर । बिरामी पर्दा आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोबाटै आफ्नो गन्तव्य त्याग्न बाध्य हुन्थे । यि सबै कुराले शेर्पा बेचैन भए । जसरी नि यो क्षेत्रमा एउटा अस्पताल बनाउनैपर्ने निष्कर्षमा उनी पुगे। ‘अस्पताल बनाउन सजिलो थिएन’, शेर्पाले भने, ‘मेरा सामु ठूलो चुनौती थियो, अन्ततः म सफल भए ।’ विसं २०७२ वैशाखमा गएको भूकम्पले सोलुखुम्बु पनि प्रभावित बन्यो । घर भत्किएपछि यहाँका सर्वसाधारण बिचल्लीमा परे । शेर्पा यस्तो अवस्था देखेर बेचैन भए । उनले सहयोग अभियान चलाए । स्वदेशी तथा विदेशी नागरिकले सहयोग गर्दा झण्डै डेढ करोड सङ्कलन भयो । उनी राहत सामग्री बाकेर गाउँ गाउँ पुगे । ‘साथीहरुले भूकम्प पीडितको अवस्था झल्किने तस्बिर सामाजिक सञ्जालमा राखेका रहेछन्, यसबाट मन पग्लेर विदेशमा रहेका स्थानीय तथा विदेशी नागरिकले सहयोगको इच्छा देखाए, उनले भने, ‘दैनिक रुपमा सहयोग रकम सङ्कलन हुँदै गयो ।’ रकम सङ्कलन हुँदै गएपछि शेर्पाको मन फाउण्डेशन स्थापनार्फ मोडियो । श्रीमती र छोरीको साथले उनले हिमालयन शेर्पा फाउण्डेशन स्थापना गरे । योसँगै शेर्पाले फाक्दिङमा भएको १५ रोपनी जग्गाा फाउण्डेशनका नाममा जोडे । त्यहीँ जग्गामा अस्पताल निर्माण गरिएको छ । ‘सुरुआतमा फाउण्डेशनको खातामा मैले दैनिनक १० डलर जम्मा गर्न थाले’ उनले भने, ‘पछि दैनिक एक सय डलरसम्म खातामा जम्मा गर्न सफल भए ।’ फउण्डेशनलाई विदेशमा रहेका नेपालीका साथै शेर्पासँँग जोडिएका सयौँ व्यक्तिले सहयोग गरे । यसरी सङ्कलन भएको रकमबाट सात वर्षअघि शेर्पाले तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण थालेका हुन्। ‘जब म भूकम्पपछि राहत सामग्री लिएर गाउँगाउँ पुगे, सबैले यो ठाउँँमा अस्पताल बनाइदिन आग्रह गरे, उनले भने, ‘बिरामीको अवस्था देखेरै अस्पताल बनाउने अभियान थालेको हो ।’ हिमालयन शेर्पा अस्पतालको यही कात्तिक १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । यही ठाउँमा शेर्पाले सात वर्षअघि स्थानीयको पीडा देखेर स्वास्थ्य क्लीनिकसमेत सञ्चालन गरेका थिए । उक्त क्लीनिकबाट स्थानीयले निःशुल्क उपचार पाएका थिए । ‘कोरोना महामारीका कारण अस्पताल बन्न ढिला भयो’, उनले भने। दुई हजार छ सय १० मिटर उचाइमा तीन महिनाअघि अस्पताल बनेको हो । सगरमथा पदमार्गको लुक्ला र नाम्चेमा अस्पताल छ । तर ती दुवै अस्पताल सुविधा सम्पन्न भने छैन । जटिल रोगका बिरामीले उपचार गर्न सक्ने अवस्था छैन । उपचारका लागि उनीहरु हेलिकप्टर चार्टर गरी काठमाडौँँ नै फर्किनुपर्ने अवस्था छ । ‘नेपाल घुम्न आउने पर्यटक बढीजसो मध्यम आर्थिक अवस्थाका हुन्छन्’, शेर्पा भन्छन्, ‘धेरै पैसा खर्च गर्न र पदयात्रामा ज्यानको जोखिम मोल्न उनीहरु चाहँदैनन् ।’ स्थानीय र आन्तरिक पर्यटकलाई त हेलिकप्टर चार्टर गरेर उपचार गर्न असम्भव जस्तै छ । ‘जेनतेन जोगाएको पैसोका भरमा घुम्न आइन्छ, हेलिकप्टर चढेर उपचार गराउन काठमाडौँ जाने कुरा त कल्पना गर्नै सकिन्न’, लुक्लामा भेटिएका जुम्लाका पदयात्री टङ्क महत भन्छन्, ‘अरु सबै कुरा ठीक छ, बिरामी परे उपचार गराउन धेरै समस्या रहेछ ।’ पदमार्गमा सामान्य औषधिसमेत पाउन नसकेको उनको गुनासो छ । सगरमाथा क्षेत्रमा पर्यटक भित्र्याउन सबैभन्दा पहिला सुविधासम्पन्न अस्पताल आवश्यक भएको महतको भनाइ छ । लुक्लादेखि फाकदिङ पुग्न पैदल चार घण्टा लाग्छ । बिरामीलाई लुक्ला अस्पताल पुग्न सातदेखि आठ घण्टासम्म लाग्छ । ‘उपचार गराउन लुक्ला गएका बिरामी बाटोमै मरेका धेरै घट्ना छन्’, हिमालयन शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले भने । डोकोमा बोकेर अस्पताल लैजानुपर्ने उनी बताउँछन् । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ११ गाउँ छन् । गाउँँका सबैजसो पुरुष टे«किङमा जान्छन् । उनीहरु कोही भरिया, कतिपय गाइडको काम गर्छन् । महिला र बालबालिका घरमै हुन्छन् । बालबालिका बिरामी भए महिला आफैँले बोकेर अस्पताल लैजान्छन् । लुक्लाबाहेक उनीहरु उपचार गर्न जाने ठाउँ नाम्चे हो । त्यहाँ पनि उपचार गराउन सात आठ घण्टा हिँड्नुपर्छ । ‘सुत्केरीलाई उपचार गराउन बढी दुःख छ’, शेर्पा भन्छन्, ‘हेलिकप्टर चढेर अन्यत्र लैजान आर्थिक अभावले सम्भव नै हुन्न ।’ यहाँँको मुख्य खाना भनेको आलु र भात नै हो । अधिकांश मधुमेह, हृदयघात र रक्तचापबाट पीडित छन् । ‘बिरामी स्वास्थ्य जचाउन खाली पेट जानुपर्छ, यसरी घण्टौं हिंडेर जाँदा बाटोमै ज्यान जाने जोखिम हुन्छ’, उनले भने। यहाँका बासिन्दा सामान्य रोग लाग्दा सहेरै घरमा बस्न बाध्य हुन्छन् । हिमालयन शेर्पा अस्पतालले हाल १५ शै्ययाका लागि मात्र अनुमति पाएको छ । भविष्यमा शै्यया थप्ने योजना रहेको सञ्चालक शेर्पा बताउँछन् । ‘स्थानीयलाई निःशुल्क उपचारको व्यवस्था गरेको छु’, उनले भने। शेर्पा नेपाल पर्यटन बोर्डको सदस्यसमेत हुन्। उनले बोर्डमा हुँदा बजेट ल्याएर पर्यटक लक्षित विकासका काम गरे । विदेशी पर्यटकलाई हिमालमा पदयात्रा गर्न जाँदा, हिमाल आरोहणमा जाँदा धेरै समस्या हुने गरेकोप्रति उनी सधैँ सचेत छन् । ‘बिरामी भएका पर्यटकलाई फाक्दिङसम्म ल्याएर उपचार गरी पुनः आरोहण र पदयात्रामै फर्काउन चाहन्छु’, शेर्पाले भने, ‘उनीहरुलाई उद्धार गरेर काठमडौं पठाउने होइन् । यहीँँ उपचार गरी गन्तव्यमा पठाउन सके विश्वभर राम्रो सन्देश जान्छ ।’ पर्यटकले धेरै दुःख गरी पैसा बचत गरेर नेपाल घुम्न आएका हुन्छन् । उनीहरु गन्तव्यसम्म पुग्न नपाइ फर्किनु परे उनीहरुले चाहेको सपना पुरा हुन् सक्दैन् । यो कुरालाई ध्यानमा राख्दै अस्पताल निर्माण गरेको शेर्पा बताउँछन् । अस्पताल बनाउन जर्मनीका नागरिक डा मथेस बाउमेनले पाँच करोड तथा अन्य दाताबाट थप दुई करोड सहयोग प्राप्त भएको शेर्पाले जानकारी दिए। हाल अस्पतालमा एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने योजना छ । त्यसका लागि रु ५० लाखभन्दा बढी खर्च हुने बताइन्छ । राज्यको तर्फबाट यस क्षेत्रमा अस्पताल बनाउन चासो दिइएको छैन । तर शेर्पा भने, ‘सबैथोकका लागि राज्यका निकायमाथि निर्भर नरहन सबैलाई सुझाव दिनुहुन्छ । ‘हामी आँफैले केही गर्ने प्रयास गर्ने हो, किन सरकारमाथि नै निर्भर रहनु ?’ अस्पताल बनाउन सरकारी निकायले सहयोग नगरेको प्रति उनको गुनासो छैन । पर्यटन व्यवसायी शेर्पा परिवारले अन्य व्यावसायिक तथा सामाजिक कामसमेत गर्दै आएको छ । उनीहरुले यहाँ गुम्बा तथा विद्यालय आफ्नै खर्चमाा निर्माण गरेका छन् ।
अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा
एजेन्सी । तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी सङ्कटको सामना गरिरहेका छन् । लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् दुई करोड २८ लाख मानिस प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एशिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले देशमा आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । काबुलका बासिन्दा रहमानुल्लाले भने, ‘खाद्यान्नको मूल्य बढेको छ । मानिसहरूले मासिक एक बोरा पीठो पनि किन्न पनि कठिनाई भइरहेको छ ।’ यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । भूकम्प र बाढीजस्ता अभूतपूर्व आर्थिक कठिनाइ र वातावरणीय विपत्तिको एक वर्षको सङ्घर्षपछि अफगानिस्तानका जनता अर्को कडा जाडोको सामना गर्न पहिलेभन्दा कम तयार रहेको डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डब्लुएफपीको मूल्याङ्कनअनुसार १० घरधुरीमध्ये नौ घरधुरीले आफ्नो खाद्य आवश्यकता पूरा गर्न सक्दैनन् । ‘यो अफगानिस्तानका लागि तत्काल आवश्यकताको समय हो । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड–१९ र सामाजिक–आर्थिक सङकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट बञ्चित भएका छन्’, अफगानिस्तानका लागि इयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले भने। ‘पहिले सहजरूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न संघर्ष गरिरहेका छन् र यस नयाँ वास्तविकतामा उनीहरूलाई स्थिर राख्न मद्दत गर्न मानवीय एजेन्सीहरूमा फर्किरहेका छन् । हामी विशेष गरी अति जोखिममा रहेको अफगानिस्तानको जनसङ्ख्या जोखिममा रहेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध छौं ।’ अफगानिस्तानमा बढ्दो सङ्कटले साना उद्यमहरूलाई सबैभन्दा बढी असर पारेको छ र निजी कम्पनीहरूले बिक्रीमा कमी र उत्पादनहरूको लागि उपभोक्ताको मागमा भारी गिरावटको कारण आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई कामबाट निकालेका छन् ।
मत बदरको संख्या घटाउने उदेश्यले ट्रिटन कलेजमा गरियो नमुना मतदान
काठमाडौं । मतदाता शिक्षा कार्यक्रमअन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो । क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहं आर. सि.ले बताए । नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो । नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँ बानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्त श्रीवास्तवले बताए । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उनको भनाई छ ।
डेङ्गुले अस्पताल भरिभराउ
महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ । कात्तिक महिनामा मात्रै हालसम्म (कात्तिक २५ गते मध्याह्नसम्म) १२६ जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । ‘दैनिक डेङ्गु जाँच गर्न आउनेको चाप छ, सङ्क्रमण पुष्टि भएका पनि बाक्लै भेटिएका छन्’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले अस्पताल परिसरमा सञ्चारकर्मीसँग भने, ‘हामीलाई जाँच गर्न र उपचार दिन भ्याइनभ्याइ छ ।’ गत साउनदेखि नै बर्दिबास नगरक्षेत्रमा डेङ्गुको सङ्क्रमण भेटिएको हो । गत साउनमा जाँच गर्न आएका २७ जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी भदौमा जाँच गरिएका १२४ मध्ये २४ जना, असोजमा जाँच गरिएका २३९ मध्ये ९४ जना र जारी कात्तिकको हालसम्म जाँच गरिएका २७५ मध्ये १२६ जनामा सङ्क्रमण पुष्टि भएको डा महर्जनले जानकारी दिए । साउनदेखि हालसम्म २४६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएको छ । ‘अहिले अस्पतालमा जाँचका लागि दिनहुँ मान्छेको चाप बढ्दो छ, सङ्क्रमित पनि थपिँदा छन्’ बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा भन्छन्, ‘हामीलाई डेङ्गु जाँचका लागि किटको पनि अभाव छ, बर्दिबास नगरपालिकाले अहिलेसम्म ६० वटामात्र किट उपलब्ध गराएको छ, हामीले ६६५ जनाको जाँच गरिसकेका छौँ ।’ विभिन्न सङ्घसंस्थासँग मागजाँच गरेर किट व्यवस्था गरिएको शर्माको भनाइ छ । पछिल्लो पटक डेङ्गु सङ्क्रमण बढ्दै गएपछि आसन्न निर्वाचनमा खटाइएका स्वास्थ्य क्षेत्रका कर्मचारी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेर फिर्ता बोलाइएको शर्माले जानकारी दिए । अस्पतालमा अहिले जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । यता बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भने डेङ्गु नियन्त्रणका लागि प्रभावकारी काम गरिएको दाबी गर्छन् । ‘हामीले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज गरेर लार्भा नष्ट गर्ने अभियान नै चलाएका छौँ’, उनी भन्छन्, ‘नगर बस्तीमा डेङ्गुविरुद्धको औषधि छर्कने काम गरिएको छ, सरसफाई सचेतनासम्बन्धी सघन काम गरिएका छन् ।’ डेङ्गु सार्ने ‘आडेस’ नाउँको लामखुट्टेको बासस्थान खोज गरी लार्भा नष्ट गर्ने र घरपरिवेश सरसफाइ गर्ने यस अभियानका मुख्य काम भएको पासवानको भनाइ छ । सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टे अझै वृद्धि भएर सङ्क्रमण बढ्नसक्ने चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको पूरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केहीकेही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या २४६ पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख पासवान बताउँछन् । पछिल्लोपटक नगरक्षेत्रमा डेङगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखिएको जनाएको छ । नगरका सबै (१४ वडा) वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउँछन् । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् । आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा पूmल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घरप्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जन बताउँछन् । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेङ्गु नियन्त्रणमा सङ्गठित प्रयत्न हुनपर्ने चिकित्सकहरूको भनाइ छ । यसैबीच डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख क्षत्रीले नगरवासीसँग अपिल गरेका छन् । भीडभाड बढ्ने आसन्न निर्वाचनका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ । रासस
त्रिवि अन्तर्गतका सबै क्याम्पस र कार्यालय ५ दिन विदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सबै क्याम्पस तथा कार्यलयहरु पाँच दिन विदा हुने भएको छ । विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै सबै क्याम्पस तथा कार्यालयहरु लगातार पाँच दिन विदा दिने निर्णग गरेको जानकारी दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा अधिकांश कर्मचारीहरु खटिने भएकाले ५ दिन विदा दिने निर्णय गरेको त्रिविले जनाएको छ । निर्वाचन लक्षित त्रिविले दिएको विदा मंसिर १ देखि ५ गतेसम्म रहेको छ ।
काठमाडौं क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ । नेकपा (एमाले)ले पनि आवश्यकतानुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेस प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् । केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकापसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । काठमाडौं निर्वाचन नं ७ मा गठबन्धन एकातिर र अर्कातिर पूर्वसहकर्मी एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह (मानुषी) यमी भट्टराई छिन् । नेकपा (एमाले)का तर्फबाट श्याम घिमिरे छन् । काठमाडौंमा एमालेको सशक्त नेताका रूपमा अघि बढ्नुभएका र अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा पूर्वएमाले नेता तथा हालका जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठको पनि उम्मेदवारी छ । उनीहरू राष्ट्रिय राजनीतिका परिरिचत व्यक्तित्व हुन् । श्रेष्ठ र मानन्धर पूर्वमन्त्री भइसकेका छन् । पहिलोपटक निर्वाचनमा होमिएकी यमी गठबन्धन दलहरूको पूर्ण समर्थन पाउनेमा विश्वस्त छन् । घरदैलो अभियानका क्रममा मतदाताले दिएको हौसलाबाट आफू सहज जितको पर्खाइमा रहेको उनको भनाइ छ । यसअघि सो क्षेत्रबाट विजयी भएका जनप्रतिनिधिसँग असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा पार्न उनी क्रियाशील भएका छन् । ‘विगतका कुराबाट शिक्षा लिँदै म नयाँ युगको प्रतिनिधि पात्रका रूपमा अघि आएको छु’, उनले भनिन्, ‘विगतका राम्रा कामलाई निरन्तरता दिने, गल्तीलाई नदोहो¥याउने र भाविष्यलाई केन्द्रमा राखेर काम गर्नेछु ।’ संविधान निर्माणपछि नयाँ कानून निर्माण गर्नुपर्ने भए पनि अझै महत्वपूर्ण कानून बन्न बाँकी रहेकाले ती कानून निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । ‘सार्वजनिक निकाय प्रभावकारी छैनन्, तिनलाई सबल बनाउने र विद्यमान आर्थिक सङ्कटलाई समाधान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नेछु’, उनले भनिन् । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी विजयी भएकी थिइन् । निर्वाचित भएपछि नेताहरू आफ्नो क्षेत्र नफर्कने, मतदातासँग प्रत्यक्ष अन्तक्रिया नगर्ने विद्यमान प्रवृत्तिलाई चिर्दै उनले आफू निर्वाचित भएपछि आममतदातासँग सहज र सरल पहुँच कायम गर्ने प्रतिबद्धता व्यक्त गर्छिन् । एमाले उम्मेदवार श्याम घिमिरे सुखी नेपाली, समृद्ध नेपाल बनाउने उद्देश्यका साथ आफू निर्वाचनको मैदानमा उत्रिएको बताउँछन् । जनताको समस्या समाधानमा आफ्नो ध्यान जाने उनको भनाइ छ । ‘ऐतिहासिक सहरका रूपमा रहेको काठमाडौंको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्ने नीति निर्माणमा लाग्नेछु’, उनले भने, ‘तीन तहको सरकारमार्फत जनअपेक्षाअनुसार विकास निर्माणका योजना सञ्चालन गरिनेछ ।’ घरदैलो अभियानका क्रममा मतदाताले देखाएको माया र सद्भावबाट आफू निकै उत्साहित भएको उनको भनाइ छ । काठमाडाैं क्षेत्र नं ७ मा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता रामवीर मानन्धरले ‘रूपान्तरणको आधार सुशासन र सदाचार, भ्रष्टाचारमुक्त समाज’ नारा अघि सारेका छन् । सो क्षेत्रको समग्र विकासका लागि आफूले स्वन्त्ररूपमा उम्मेदवारी दिएको उनको भनाइ छ । आफू अन्तिमपटक निर्वाचन लड्न लागेको स्पष्ट पार्दै उनले आगामी पाँच वर्षभित्र यसअघि सुरु भएका काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो अन्तिम निर्वाचन भएका उनले सडक व्यवस्थापन, महिला सशक्तीकरण, उद्यमशील रोजगार, सम्पदा संरक्षण, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिएका छन् । ‘म दुई–दुई पटक निर्वाचित भएर मन्त्री पनि भएँ, मैले सुरु गरेको विकासको अभियानबाट यहाँको मतदाता सन्तुष्ट हुनुहुन्छ’, उनले भने । एमालेबाट छुट्टिएर जनता समाजवादी पार्टीमा लाग्नुभएका नेता राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । एमाले र जसपाबीच केही निर्वाचन क्षेत्रमा तालमेल भए पनि सो क्षेत्रमा भने जसपा नेता श्रेष्ठ एक्लै चुनावी मैदानमा छन् । एमालेको आधिकारिक उम्मदेवार, एमाले नेता रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी सोही स्थानमा रहेको अवस्थामा जसपा नेता श्रेष्ठ एक्लो परेका छन् । रासस