विकासन्युज

एभरेष्ट बैंकद्वारा धुलाबारी झापामा १२१ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका छन् । यो संगै प्रदेश नं. १ मा एभरेष्ट बैंकको शाखा सञ्जाल १८ पुगेको छ । बैंकले सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ । यस बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२१ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५६ एटिएमसहित बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । य स बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

निर्वाचन नजिकिँदै गर्दा जुम्लामा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

जुम्ला । पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ । जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगत्को मत्वपूर्ण भूमिका छ । सङ्घ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ । इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ । भ्वाइसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन् । भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने टु जी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् । असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ । सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा फोर जी सेवा सञ्चालन भए पनि टु जी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटकपटक अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथाशक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।’ प्रमुख जिल्ला अधिकारी केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकाले सुधारका लागि पहल भइरहेको बताए । क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकाले चिमारा र माइथाप्लामा क्षमता वृद्धिका लागि काम भइरहेको उनले बताए । पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको जानकारी दिए । सार्वजनिक चासोका विषयलाई उजागर गर्न महासङ्घले ध्यानाकर्षण गराएका छौँ । चाँडै सुधार नभए अन्य दबावका कार्यक्रम अघि बढाउने अध्यक्ष उनले बताए । नेपाल टेलिकम कार्यालयका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियु र ओडियु प्रणालीमा समस्या आएको बताए । नयाँ मेसिन जडानको काम भइरहेको टेलिकमले जनाएको छ ।

बिना धितो साढे पाँच हजारले लिए ३ अर्ब कर्जा, ब्याज अनुदानमा १९ अर्ब खर्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ महिनासम्म १९ अर्ब भन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्च गरेको हो । उक्त रकम ऋणीलाई ब्याज अनुदानमा प्रदान गरिएको हो । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिने ब्यवस्था गरेको छ । सोही अनुसार गत भदौमा १९ अर्ब ३२ करोड रुपैयाँ सहुलियत कर्जामा ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, बिना धितो, धितो सहितको, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्र्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम, युवा वर्ग स्वरोजगार कर्जा लगायत १० वटा शिर्षकमा दिइने कर्जामा ब्याज अनुदान दिने गरेको छ । गत भदौमसान्तसम्ममा १ लाख ४७ हजार ९२६ जना ऋणीलाई २ खर्ब ५८ अर्ब ३९ करोड १८ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ । जसमा वाणिज्य बैंकहरुले १ लाख २६ हजार ३४५ ऋणीलाई २ खर्ब २५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ, विकास बैंकहरुले १९ हजार ५७४ ऋणीलाई २९ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुले १ हजार ९०४ ऋणीलाई ३ अर्ब २६ करोड ३२ लाख रुपैयाँ र लघुवित्त संस्थाहरुले १०३ ऋणीलाई १० करोड २१ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो । राष्ट्र बैंकका अनुसार ६० हजार ३०२ ऋणीलाई १ खर्ब ६३ अर्ब ६४ कोड रुपैयाँ बराबरको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत गरेको छ । यस्तै, बिना धितो ५ हजार ५७२ ऋणीलाई ३ अर्ब २५ करोड रुपैयाँ, धितो सहितको ५४ हजार ७३० ऋणीलाई १ खर्ब ६० अर्ब ३९ करोड रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जा १५६ ऋणीलाई ८ करोड रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा ९४७ ऋणीलाई ७७ करोड रुपैयाँ, महिला उद्यमशील कर्जा ८४ हजार ७९० ऋणीलाई ८९ अर्ब २९ करोड रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा १ हजार ८६ ऋणीलाई ७५ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको छ । यस्तै, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १४६ ऋणीलाई ४ करोड रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा २०५ ऋणीलाई ५ करोड रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि २५८ ऋणीलाई ३ अर्ब ७१ करोड रुपैयाँ, प्र्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम २ ऋणीलाई ४ लाख रुपैयाँ र युवा वर्ग स्वरोजगार कर्जा ३४ ऋणीलाई १ करोड १४ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो ।

जुम्लामा स्याउ उत्पादन बढ्यो, उचित मूल्य नपाएको किसानको गुनासो

जुम्ला । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ । व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौँसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे । ‘मैले प्रतिकेजी ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी ६० रुपैयाँमा नेपालगञ्ज पुर्याए’, उनले भने, ‘तर प्रतिकेजी ३० रुपैयाँमा बिक्री गर्न बाध्य भएँ ।’ कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ । यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका बीरेन्द्र डाँगीले बताए । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ । सिञ्जा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पुर्याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ । उनले भने, ‘हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।’

सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् : अध्यक्ष कँडेल

काभ्रे । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या विस्तारै कम हुँदै गएको बताएका हुन् । तर, बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उनको भनाइ छ । उनले सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेको पनि बताए । ‘केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखियो, अब विस्तारै ती समस्याहरु न्यूनीकरण हुँदै गएका छन्, पछिल्लो समय सहकारीमा तरलताको समस्याका कारण केही संकट देखिएको हो, अब ती समस्या कम हुँदै गएका हुन् कि भन्ने हाम्रो बुझाइ छ,’ उनले कार्यक्रममा भने । उनले अब गल्तिहरुलाई औंल्याएर अगाडि बढ्नु पर्ने बताए । यस्तै, उनले सहकारी क्षेत्रका विषयवस्तुलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिनका लागि सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सम्बन्ध मजबुद बनाउन आवश्यक रहेको धारणा राखे । राष्ट्रिय सहकारी महासंघ १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै उनले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । उनले सहकारी संस्थाहरु पनि अहिले वित्तीय विवरण सार्वजनिक गर्नमा ध्यान दिएको बताउँदै अब विस्तारै सहकारी संस्थाहरुको वास्तविक अवस्था थाहा पाउन सहयोग पुग्ने बताए । यस्तै, कार्यक्रममा नेपाल सहकारी समाजका अध्यक्ष काजी श्रेष्ठले पछिल्लो समय सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाउँदै गएको बताउँदै अझै यो गतिलाई बढाउँदै लैजानु पर्ने धारणा राखे । उनले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रमको आवश्यक पर्ने बताउँदै यस विषयमा सहकारी क्षेत्रमा काम गर्ने निकायले ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष डिल्ली प्रसाद सापकोटाले प्रस्तुति दिँदै सहकारी क्षेत्रको वर्तमान विषयवस्तुको विषयमा प्रकाश पारे । उनले पनि सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन नसकेको बताउँदै यस विषयमा प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनको राय छ । ‘नेपाल सहकारी समाज स्थापनापछि सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाएको देखिन्छ, अझैँ पनि सहकारी क्षेत्र र सञ्चार क्षेत्रबीच दोहोरो सञ्चार हुन सकेको छैन, सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन सकेको छैन, यस विषयमा अभियानकर्मीले ध्यान दिन जुरुरी छ,’ उनले भने । सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजना भएको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

कलंकीमा खुल्यो यात्रु प्रतिक्षालय, इन्टरनेटदेखि नि:शुल्क खानेपानीको सुविधा लिँदै बस कुर्न सकिने

काठमाडाैं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवाले कलंकीस्थित ढुंङ्गे अड्डामा अत्याधुनिक किसिमको यात्रु प्रतिक्षालय सञ्चालनमा ल्याएको छ । हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलो पटक यस किसिमिको प्रतिक्षालय निर्माण गरिएको हो । यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झन्झट नहोस् भन्ने उदेश्यले बससेवाले लाउञ्ज प्रतिक्षालय ल्याइएकाे कम्पनीले जनाएकाे छ । प्रतिक्षालयको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे । प्रतिक्षालयमा यात्रुहरूलाई वाइफाइ, नि: शुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएको छ । प्रतिक्षालयको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् । प्रतिक्षालय सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रतिक्षालयको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए ।  ‘सार्वजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित् गरि बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन, बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ, देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्जिथत् बन्दै जानेछ, चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ,’ उनले भने । यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठुलो भूमिका हुने बताए । यसैगरी चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले यात्रुलाई सहज हुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए । यस्तै, बससेवा डटकमका सीइओ पिआर खनालले एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरीरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै लाउन्जकाे व्यवस्था गरेकाे बताए । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महानगरले सहयोग गर्नेछ : बालेन

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताएका छन् । आज वडा १२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको अवलोकन निरीक्षणका क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी दिए । नमूना विद्यालयहरुले आफ्ना शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलाप तथा बाल विकासका लागि सञ्चालन गरेका कार्यक्रमको नतिजा जानकारी लिन विद्यालयको अवलोकन गरेका हुन् । ‘पाठ्यक्रम अतिरिक्त क्रियाकलापहरुमा खेलकुद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ्, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ । यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ । प्रमुख शाहले भने, ‘अहिले हामी खेलकुदका लागि स्थान नभएका विद्यालय नजिक रहेका सार्वजनिक स्थलहरुलाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा नक्साङ्कन गरिरहेका छौँ । यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ ।’ अवलोकनका क्रममा उनले, विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लव स्टीम क्लब्का विद्यार्थीहरुले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए । अवलोकनका विद्यालयको समग्र स्थितिका विषयमा प्रधानाध्यापक रविना महर्जनले जानकारी गराएका थिए । त्यस्तै विद्यार्थीहरुले आविष्कारका विषयमा जानकारी गराएका थिए । भूकम्प अलर्म, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, उर्जाको उत्पादन प्रयोग र प्रविधि प्रयोगमा रुपान्तरण, केवल कारलगायत प्रविधि, पीन बललगायतका खेल प्रविधि प्रदर्शन गरेका थिए । प्रमुख शाह आएर हामीलाई  दिए । विद्यार्थीहरुले अवलोकनपछि प्रतिक्रिया दिए । ‘नमूना विद्यालयमा नमूना कार्यक्रम सञ्चालन गर्न विद्यालय नेतृत्वको ठूलो भूमिका रहन्छ । उपलब्ध थोरै भौतिक संरचनामा धेरै कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सामुदायिक विद्यालयमा यो सम्भव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट प्राप्त स्रोतको उच्चतम उपयोग गर्न सकिन्छ । सरस्वती विद्यालय यसको उदाहरण बनेको हो ।’ अवलोकनका क्रममा महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले प्रतिक्रिया दिए । ‘शिक्षकहरुको क्षमता विकासका लागि तालिमकर्ताहरुलाई सामुदायिक विद्यालयमा ल्याउने र विद्यालयको अवस्थिति र आवश्यकताका आधारमा तालिम उपलब्ध गराउने क्रियाकलाप सञ्चालन गर्ने तयारीमा छौँ ।’ अर्यालले भने, ‘महानगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब संस्थागतसँग प्रतिस्पर्धी बनाउँछौँ ।’ प्राथमिक शिक्षाका लागि शैक्षिक योग्यता भएका शिक्षकहरुलाई विश्वविद्यालय पठाउन सकिँदैन । त्यसैले अब विश्वविद्यालयलाई विद्यालयमा ल्याउनु पर्छ । यो संयोजनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । विद्यालयका प्रधानाध्यापक रविना महर्जनको भनाइ छ । यसका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य प्रयास भइरहेको उनको भनाइ छ । यो विद्यालय ३ आना ३ पैसा जमिनमा रहेको ५ तले भवनमा छ । भवनका १८ वटा कोठामा कक्षा सञ्चालन छ । विद्यालयमा स्टीम क्लव, किशोरी क्लव, साहित्यिक क्लव, डिजास्टर रिक्स रिडक्सन डीआरआर क्लव, इको क्लव, बाल क्लव छन् । यसैगरी आईसीटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र ईलर्निङ्गलगायत कक्ष छन् । विद्यालयमा खेल मैदान उपलब्ध नहुनु विद्यालयको सबैभन्दा ठूलो समस्या हो । प्रधानाध्यापक महर्जनले  शाहसँग खेल मैदान प्राप्त भए विद्यार्थीहरुको शारीरिक विकासका लागि ठूलो सहयोग हुने बताए ।

पर्यटन उद्योगमा थपियो साढे ८ अर्ब बढी लगानी, एक हजारले रोजगारी पाउने

काठमाडौं । पर्यटन उद्योगमा साढे ८ अर्ब बढीको स्वदेशी लगानी थपिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) पर्यटन क्षेत्रका ८ उद्योगका लागि ८ अर्ब ६१ करोड ४७ लाख ७१ हजार ९७५ रुपैयाँ बराबरको लगानी प्रस्ताव (थपिएको) हो । विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी बुढानिलकण्ठ हेरिटेज होटलका लागि थपिएको छ । तथ्यांक अनुसार उक्त होटलका लागि २ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत भएको छ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका १ मा निर्माण उक्त होटलले १५०० किलोवाट क्षमताको विद्युत खपत गर्नेछ भने २२० जनालाई रोजगारी दिईने उल्लेख गरेको छ । यस्तै, झापाको मेचिनगर १० मा निर्माण हुने होटल ईष्टर्न नेपाल प्रालिले एक अर्ब ६९ करोड ७७ लाख बराबरको होटल निर्माणको स्वीकृृति पाएको छ । उक्त होटलमा ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ भने १७० जनालाई रोजगारी दिने उल्लेख छ । झापाकै मंचीनगरमा होटल आयुष्मानका लागि २ अर्ब ५१ करोड १० लाखको लगानी स्वीकृत भएको छ । ३०० जनालाई रोजगारी दिने उक्त होटलले एक हजार किलोवाट विद्युत प्रयोग गर्नेछ । सुनसरीमा निर्माण गर्नेगरी ग्राण्ड सेन्ट्रल होटलका लागि ६० करोड बढीको लगानी स्वीकृत भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिकामा निर्माण हुने उक्त होटलले ५०० किलोवाट विद्युत खपत गर्नेछ भने ४० जनालाई रोजगारी दिने उल्लेख छ । ५५ करोड लगानीमा कास्कीमा दोर्जेज् फार्म रिसोर्टले लगानीको स्वीकृत पाएको छ । ७० जनालाई रोजगारी र ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ । यस्तैगरी, तनहुँको बन्दिपुरमा निर्माण हुने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले ८६ करोड ४० लाख बढीको लगानी स्वीकृत पाएको छ । एक हजार विद्युत खपत गर्ने उक्त होटलले १७२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । तीन महिनामा ८८ अर्ब लगानी विभागको तथ्यांक अनुसार तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीका ८८ अर्ब बराबरको लगानी स्वीकृत भएकोे छ । उक्त अवधिमा विभिन्न ८६ उद्योगका लागि ८७ अर्ब ८५ करोड बढीकोे लगानी स्वीकृत भएको हो । यस्तैगरी, उक्त अवधिमा १९ विदेशी लगानीका उद्योगमा २ अर्ब २४ करोड बराबरको लगानी प्रस्वात आएको छ । उक्त उद्योगमा १ हजार ४३ जनालाई रोजगारी दिईने प्रस्ताव पेश गरेको उद्योगले जनाएको छ । २ अर्ब ३५ करोडको औषधि उद्योग दर्ता मोरङ र चितवनमा करिब साढे २ अर्ब बराबरको लगानीमा दुई औषधि उद्योग विभागमा दर्ता भएका छन् । विभागको तथ्यांक अनुसार मोरङको कटहरी गाउँपालिका ६ मा १ अर्ब ५० करोड बराबरको लगानीमा जानकी पोलिकेम प्रालि दर्ता भएको छ । उत साउनमा विभागमा दर्ता भएको उक्त उद्योगले १४० जनालाई रोजगारी दिनेछ भने एक हजार ६ सय मेटावाग विद्युत खपत गर्नेछ । यस्तैगरी चितवनकोे भरतपुर महानगरपालिका १७ मा उद्योग रहनेगरी जेनेरिका फर्मास्युटिकल्स दर्ता भएको छ । ८५ करोड ५३ लाख १८ हजार बराबरको लगानी रहने उक्त उद्योगले ९४ जनालाई रोजगारी दिनेछन् भने ६२५ किलोवाट विद्युत खपत गर्ने उल्लेख छ ।