विकासन्युज

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ११औं वर्षमा प्रवेश

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकहरुको अगाध माया, बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनीहरुको भरोसा तथा कर्मचारीको अतुलनिय योगदानले संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेको बताए । संस्थाले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेको समेत बताए । देशका ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ । संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पुर्याएको संस्थाले नवौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ । त्यसैगरी हालसम्म ३ अर्ब ४५ करोड बराबर निक्षेप संकलन गरी १६ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ । संस्थाले यसरी आफ्नो कारोबार बृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग र १५ वटा अनुगमन तथा असूली स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको छ ।

गुल्मी मदाने गाउँपालिका पुर्कोटका बासिन्दाको पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने बाध्यता

गुल्मी । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन्। उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् । विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लाग्नु भयो । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनीलगायतकाको समस्या समधानका लागि आश्वासन धेरै आएपछि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै उहाँले गुनासो गरिन् । विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताका बीच उनको घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपर्ने बाध्यता छ । जिल्लाभर चुनावी रौनकताले छोएका बेला उनी भने गिट्टै कुट्न मै व्यस्त छन् । ‘हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौँ”, गिट्टी कुट्दै गरेकी उहाँले भन्नुभयो, ‘चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।’ उनीहरु कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने बताउँछन्। पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने कामना गर्दै आएका छन् । ‘म जान्ने भएदेखि नै खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन’, उनले भने, यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।’ उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी–ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार छन् । थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गरे । उनले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पु¥याउन लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेकाले केही दिनमै समाधान हुने जिकिर गरे ।

तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए । मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे । कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक

सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते हुने निर्वाचनको प्रचार–प्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन’, उनले भने, ‘मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टा अगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकर जस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।’ उक्त निर्णयको पूर्ण परिपालना गर्न गर्न/गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको प्रजिअ रिजालले बताए ।

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिय वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याएका हुन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे । थापाले कोभिड महामारीमा राजनेताको छवी बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गरे । अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजादा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताउनु । थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उनले थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए । अव पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो । उनले भने, ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामर्थ्य ठूलो हुुनुपर्छ भन्ने छ । यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं ।’ अर्थविद् वाग्लेले ०६२/६३ सालको आन्दोलनको नेतृत्व नै गगन थापाले थामेको बताए । ‘उनी आन्दोलनबाट खारिएका आएका नेता हुन । २०६२/०६३ को आन्दोलनमा गगन थापा, प्रदिप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन । काठमाडौंका सडकहरु तताएका हुन । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ ।’ गगन थापामा देश हाँक्ने क्षमता भएको समेत उनले बताए । ‘एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो’, उनले भने, ‘धान्न सकिन्छ किअव हामीले अवस्था परिवर्तनको एजेण्डाका लागि नयाँ खालको पुराना नेताहरुलाई ससम्मान विदाई गर्ने, उहाँहरुले जहाँसम्म नेपाललाई लिएर आएर छोडनु भएको छ । त्यसका निम्ति पनि धन्यवाद दिने र अवको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं । र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हुन ।’ थापाले बनाएको मास्टरप्लानमा नै मुलुक हिँडिरहेको समेत अर्थविद् वाग्लेको दावी छ । ‘उनी रेडी छन, उनी तयार छन । उनी क्वालिफाईड छन । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनले यो मुलुकलाई युनिफाईड हेल्थ सिष्टममा कसरी बाँध्न सकिन्छ भन्ने बारे यति गहिरो होमवर्क गरे । उनले बनाएको माष्टर प्लानमै मुलुक हिँडीरहेको छ’, उनले भने । अर्थविद् वाग्लेले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले मुलुक पछि पर्नुमा राजनीतिनै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए ।

पोखरा विश्वविद्यालमा बिएएलएलबी पढाई शुरु हुने

पोखरा । पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन शुरु गरेको छ । एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने र शिक्षण शुल्क करिब चार लाख रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबीमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बनेको छ । यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानूनी अध्ययनका लागि विष्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने विश्वास लिइएको छ । यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिक, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन् । यसमा अध्ययन गर्न चाहने विद्यार्थीले २०७९ मङ्सिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्ने र प्रवेश परीक्षा मङ्सिर २३ गते हुने जनाइएको छ । यस कार्यक्रमको अध्ययन–अध्यापन विश्वविद्यालयको शैक्षिक प्राङ्गण, पोखरा–३०, ढुङ्गेपाटनमा सञ्चालन हुने ढकालले जानकारी दिए ।

क्रिप्टोमा लगानी जोखिम : एफटिएस ट्रेडिङ कम्पनीबाट १ बिलियन भन्दा धेरै फण्ड गाएब

एजेन्सी । एफटिएस ट्रेडिङमार्फत १ बिलियन डलर भन्दा धेरैको फण्ड गायब भएको छ । एफटिएक्स ट्रेडिङका संस्थापक सैम बैंकमैन फ्राइडले आफ्नै कम्पनी अल्मेडा रिसर्चमा ग्राहकको १० बिलियन डलर बराबरको फण्ड गोप्य रुपमा ट्रान्सफर गरेको रोयटर्समा लेखिएको छ । सोही क्रममा सो फण्ड गायब भएको बताइएको छ । सो फण्ड १ देखि २ बिलियन डलरको बीचमा हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो बुधबार फ्राइडले आफ्ना अधिकारीहरुसँग सेयर गरेको सूचनाबाट उनको वित्तीय छलकपट बाहिर आएको हो । सो सूचना बाहिर ल्याउनेहरुले फ्राइडको कम्पनीको उच्च तहमा रहेर काम गर्ने गरेको बताइएको छ । रोयटर्ससँग टेक्स म्यासेजमा गरेको कुराकानीमा भने फ्राइडले गोप्य रुपमा आँफूले फण्ड ट्रान्सफर गरेको अस्विकार गरेको उल्लेख गरिएको छ । एफटिएक्स र अल्मेडाले भने सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए । उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताए । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।