काठमाडौं क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ । नेकपा (एमाले)ले पनि आवश्यकतानुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेस प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् । केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकापसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । काठमाडौं निर्वाचन नं ७ मा गठबन्धन एकातिर र अर्कातिर पूर्वसहकर्मी एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह (मानुषी) यमी भट्टराई छिन् । नेकपा (एमाले)का तर्फबाट श्याम घिमिरे छन् । काठमाडौंमा एमालेको सशक्त नेताका रूपमा अघि बढ्नुभएका र अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा पूर्वएमाले नेता तथा हालका जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठको पनि उम्मेदवारी छ । उनीहरू राष्ट्रिय राजनीतिका परिरिचत व्यक्तित्व हुन् । श्रेष्ठ र मानन्धर पूर्वमन्त्री भइसकेका छन् । पहिलोपटक निर्वाचनमा होमिएकी यमी गठबन्धन दलहरूको पूर्ण समर्थन पाउनेमा विश्वस्त छन् । घरदैलो अभियानका क्रममा मतदाताले दिएको हौसलाबाट आफू सहज जितको पर्खाइमा रहेको उनको भनाइ छ । यसअघि सो क्षेत्रबाट विजयी भएका जनप्रतिनिधिसँग असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा पार्न उनी क्रियाशील भएका छन् । ‘विगतका कुराबाट शिक्षा लिँदै म नयाँ युगको प्रतिनिधि पात्रका रूपमा अघि आएको छु’, उनले भनिन्, ‘विगतका राम्रा कामलाई निरन्तरता दिने, गल्तीलाई नदोहो¥याउने र भाविष्यलाई केन्द्रमा राखेर काम गर्नेछु ।’ संविधान निर्माणपछि नयाँ कानून निर्माण गर्नुपर्ने भए पनि अझै महत्वपूर्ण कानून बन्न बाँकी रहेकाले ती कानून निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । ‘सार्वजनिक निकाय प्रभावकारी छैनन्, तिनलाई सबल बनाउने र विद्यमान आर्थिक सङ्कटलाई समाधान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नेछु’, उनले भनिन् । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी विजयी भएकी थिइन् । निर्वाचित भएपछि नेताहरू आफ्नो क्षेत्र नफर्कने, मतदातासँग प्रत्यक्ष अन्तक्रिया नगर्ने विद्यमान प्रवृत्तिलाई चिर्दै उनले आफू निर्वाचित भएपछि आममतदातासँग सहज र सरल पहुँच कायम गर्ने प्रतिबद्धता व्यक्त गर्छिन् । एमाले उम्मेदवार श्याम घिमिरे सुखी नेपाली, समृद्ध नेपाल बनाउने उद्देश्यका साथ आफू निर्वाचनको मैदानमा उत्रिएको बताउँछन् । जनताको समस्या समाधानमा आफ्नो ध्यान जाने उनको भनाइ छ । ‘ऐतिहासिक सहरका रूपमा रहेको काठमाडौंको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्ने नीति निर्माणमा लाग्नेछु’, उनले भने, ‘तीन तहको सरकारमार्फत जनअपेक्षाअनुसार विकास निर्माणका योजना सञ्चालन गरिनेछ ।’ घरदैलो अभियानका क्रममा मतदाताले देखाएको माया र सद्भावबाट आफू निकै उत्साहित भएको उनको भनाइ छ । काठमाडाैं क्षेत्र नं ७ मा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता रामवीर मानन्धरले ‘रूपान्तरणको आधार सुशासन र सदाचार, भ्रष्टाचारमुक्त समाज’ नारा अघि सारेका छन् । सो क्षेत्रको समग्र विकासका लागि आफूले स्वन्त्ररूपमा उम्मेदवारी दिएको उनको भनाइ छ । आफू अन्तिमपटक निर्वाचन लड्न लागेको स्पष्ट पार्दै उनले आगामी पाँच वर्षभित्र यसअघि सुरु भएका काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो अन्तिम निर्वाचन भएका उनले सडक व्यवस्थापन, महिला सशक्तीकरण, उद्यमशील रोजगार, सम्पदा संरक्षण, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिएका छन् । ‘म दुई–दुई पटक निर्वाचित भएर मन्त्री पनि भएँ, मैले सुरु गरेको विकासको अभियानबाट यहाँको मतदाता सन्तुष्ट हुनुहुन्छ’, उनले भने । एमालेबाट छुट्टिएर जनता समाजवादी पार्टीमा लाग्नुभएका नेता राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । एमाले र जसपाबीच केही निर्वाचन क्षेत्रमा तालमेल भए पनि सो क्षेत्रमा भने जसपा नेता श्रेष्ठ एक्लै चुनावी मैदानमा छन् । एमालेको आधिकारिक उम्मदेवार, एमाले नेता रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी सोही स्थानमा रहेको अवस्थामा जसपा नेता श्रेष्ठ एक्लो परेका छन् । रासस
नेप्सेमा ङादी ग्रुपको एक करोड कित्ता सेयर सुचिकृत
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर कम्पनी कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेकाे अनुसार कम्पनीको १५० प्रतिशत हकप्रद सेयर बापतको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले श्रावण १८ गतेदेखि १ः१.५ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेको थियो ।
एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : ओली
काठमाडौं । चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’ दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उनको भनाइ थियो । उनले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गरे । ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’ ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए । उहाँले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताएका छन् । एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताए । उनले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गरे । उहाँलेमङ्सिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनःमन्त्री बन्ने सङ्केत पनि गरे । ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीनवटा अवसर रहेको बताए । कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने । ओलीले मङ्सिर ४ पछि सर्भे सुरु गर्ने जानकारी दिए । ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ’, उनले भने, ‘पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मङ्सिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, स्थायी ढङ्गले, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’ अध्यक्ष ओलीले एमाले विचार, सङ्गठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने बताए । सो अवसरमा सुनसरी क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले एमाले कार्यकर्तालाई अनुरोध गर्दै छातामा मत हाल्नु खर्च गर्नु नभई लगानी हुने बताए । सुनसरी–१ मा एमालेजनले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उनले प्रतिबद्धता व्यक्त गरे । सुनसरी–१ एमाले–जसपा संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा एमाले स्थायी कमिटी सदस्य डा शिवमाया तुम्बाहाम्फेले समेत सम्बोधन गरेकी थिइन् । रासस
बीमितहरुले समयमै किन पाउँदैनन् बीमाको पैसा ? यस्ता छन् ६ कारणहरु
कुनै पनि घटना घटि आर्थिक क्षति भएमा क्षतिको क्षतिपूर्तिको प्राप्तिको माध्यम बीमा हो । मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन् । व्यक्तिगत जीवन, रोजगारी, व्यवसायिक कारोवार सबैमा जोखिम व्याप्त छ । दुर्घटना भई क्षति हुन सक्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । समान प्रकृतिको अनिश्चित जोखिमले ग्रस्त भएका व्यक्ति वा समुदायले आफ्नो जोखिम अनुरुप बीमाशुल्क बुझाई करारको माध्यमबाट घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । घटना सधै अनिश्चित नै हुने भएकोले सबैका लागि क्षतिपूर्ति दिने नभई जम्मा भएको बीमाशुल्क कोषबाट क्षति हुने वर्गलाई भुक्तानी दिने व्यवस्था बीमाले गर्दछ । अर्थात यसमा सहकारीताको सिद्धान्त ‘धेरैबाट योगदान र थोरैलाई क्षतिपूर्ति’ अनुसार क्षतिको क्षतिपूर्ति प्रदान गरिन्छ । बीमा दुई पक्षका बीच हुने करार हो । बीमा गर्दा बीमक (बीमा कम्पनी) र बीमित (बीमा गर्ने व्यक्ति) बीचमा करार गरिन्छ । यस करारमा बीमाको विषयवस्तुमा हुने जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा सार्ने गरिन्छ । यसका लागि बीमा कम्पनीले बीमाशुल्क लिन्छ । यसरी बीमा करार पश्चात बीमाको विषयवस्तुमा तोकिएको जोखिमबाट हानी नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्यांकनमा तोकिएको हदमा नबढ्ने गरी बीमा कम्पनीले क्षति व्यहोर्ने गर्दछ । यस करारमा दुई पक्षबीच हुने हुँदा एकअर्काको धारणा स्पष्ट हुने गरी बीमा सुरक्षण माग्ने र क्षतिपूर्ति दिने । व्याख्या गरी करार सम्पन्न हुन्छ । बीमा करारको रुपमा बीमालेख जारी गरिन्छ । बीमा गरिएको व्यक्ति वा वस्तुमा क्षति भएमा यही बीमालेखको आधारमा क्षतिको क्षतिपूर्ति प्रदान गरिन्छ । बीमाको दावी बीमाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको दावी हो । बीमाको दावी भन्नाले बीमालेखमा उल्लेखित घटनाबाट भएको क्षतिको क्षतिपूर्तिको लागि बीमितबाट बीमक समक्ष पेश गरको अनुरोध वा निवेदन हो । बीमामा बीमितको बीमा गरिएको व्यक्ति, वस्तु तथा सम्पत्तिमा कुनै घटना घटी क्षतिको क्षतिपूर्ति दिने कार्य नै दावी भुक्तानी हो । बीमाको मुख्य उद्देश्य नै दावी भुक्तानी लिनु वा दिनु हो । बीमाको प्रभावकारिता यसको दावी भुक्तानीसँग सम्बन्धित रहन्छ । बीमा दुःखको सारथी हो, त्यसैले बीमालेखमा दावी परेमा यथासिघ्र बीमितलाई मर्का नपर्ने गरी यसको दावी भुक्तानी गर्नु पर्दछ । बीमालेखमा दावी परेमा यसको यथासिघ्र दावी भुक्तानी नहुने हो भने बीमाको औचित्य नै रहँदैन साथै, जनमानसमा बीमा प्रतिको विश्वसनियता पनि घट्दछ । ढिला गरी गरिएको दावी भुक्तानीले बीमितले बीमाबाट जे अपेक्षा गरिएका हुन्छन् त्यो अपेक्षा पुरा गर्न सकिँदैन । बीमाबाट जे अपेक्षा गरिएका हुन्छन् त्यो अपेक्षा पुरा गर्न सकिदैन । हाल नेपाली बीमा बजारमा दावी भुक्तानी ढिला गरी हुने गरेकोले बीमा कम्पनी प्रिमियम लिन मात्र जानेका छन् । क्षतिको दावी भुक्तानी दिन तयार छैनन् भन्ने आपेक्ष लाग्ने गरेको छ । यी र यस्तै जनगुनासाको सम्बोधन गर्दै बीमा समितिले आर्थिक वर्ष २०७८/७९ लाई दावी भुक्तानी वर्षको रुपमा मनाएको थियो । नेपालको बीमा बजारमा ठूलो मात्रामा परेको कारोना बीमाको दावी भुक्तानी हुन नसक्दा बीमा प्रति मानिसहरुमा नकरात्मक प्रभाव परि बीमा उद्योग कै बदनामा भएको छ । बीमाको दावी भुक्तानी प्रकृया बीमाको दावी भुक्तानीको लागि निश्चित प्रक्रिया हुन्छन् । बीमा ऐन, बीमा नियमावली बीमा समितिबाट बीमा दावी सम्बन्धमा जारी गरेको दावी सम्बन्धी निर्देशन र बीमा कम्पनीहरुको दावी भक्तानी सम्बन्धी दिग्दर्शनका आधारमा बीमा कम्पनीहरुले दावी भुक्तनी गर्ने गर्दछन् । बीमाको दावी भक्तानी गर्न सर्वप्रथम बीमितले बीमा दावी परेको पछि जतिसक्दो छिटो बीमकलाई यसको जानकारी गराउन पर्दछ । यस्तो जानकारी लिखित निवेदन, ईमेलवाट अथवा फोनबाट पनि गर्न सकिन्छ । बीमाको दावी भक्तानी सम्बन्धमा बीमा नियमावली २०४९ को परिच्छेद ६ मा व्यवस्था गरिएको छ । जीवन बीमाको दावी भुक्तानी प्रकृया जीवन बीमामा दावी भुक्तानी दुई अवस्थामा हुन सक्छ । एक बीमाको अवधि समाप्त भएपछि अर्थात परिपक्व भएपछि जीवन बीमाको दावी भुक्तानी हुन्छ भने अर्को बीमा अवधि समाप्त हुन अगाडि दावी पर्न सक्दछ । बीमा नियमावली २०४९ को नियम ३१ (१) अनुसार जीवन बीमाको परिपक्व अवधि समाप्त भएपछि दावी भुक्तानी प्रकृया यसप्रकार छ : बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरी सकेका बीमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बीमाको दावी भुक्तानी गर्नको लागि चाहिने बीमालेख आदि कागजातहरु समेत संलग्न राखी दावी भुक्तानी गर्न आउनको निमित्त भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्नु पर्नेछ । उपनियम (१) बमोजिम बीमितले जीवन बीमाको दावी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरु र भुक्तानी पूर्जी समेत बीमक समक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बीमाको दावी भुक्तानी दिनुपर्ने छ । जीवन बीमामा परिपक्व अवधिभन्दा अगाडि पनि दावी पर्न सक्दछ । बीमालेख अवधि अगाडि पर्ने दावी पनि दुई प्रकारका छन् । बीमा अवधिभित्र पर्न सक्ने एक प्रकारको दावी बीमालेखको समर्पण हो भने अर्को प्रकारको दावी मृत्यु वा औषधोपचार वा पूर्ण अशक्तता दावी हो । बीमा लिने व्यक्तिले कम्तिमा दुई वर्षको बीमाशुल्क तिरिसकेपछि बीमालाई निरन्तरता दिन नसक्ने भएमा बीमक समक्ष निवेदन दिई बीमा करारको अन्त्य गर्न सक्दछ । यसलाई बीमाको समर्पण (सरेन्डर) भनिन्छ । यसरी बीमाको समर्पण गरेको अवस्थामा बीमकले बीमितलाई उसले तिरेको बीमाशुल्कको किस्ता र बोनसको हिसाव गरी कुल समर्पण मूल्य दावी भुक्तानी गर्दछ । बीमा अवधि समाप्त हुनु पूर्व पर्न सक्ने अर्को दावी भनेको मृत्यु तथा दुर्घटना दावी हो । जीवन बीमाको मुख्य उद्देश्य भनेको नै व्यक्तिको जीवनको सम्बन्धमा आइपर्न सक्ने दुर्घटना तथा मृत्युबाट आईपर्न सक्ने आर्थिक क्षतिको रक्षवरण गर्नु हो । यस्तो दुर्घटना भई औषधी उपचार गर्न परेमा वा बिरामी परि औषधी उपचार गर्न परेमा वा पूर्ण असक्त भएमा र त्यस्तो जोखिमको रक्षवरण गरेको अवस्थामा आवश्यक कागजपत्रसहित बीमक समक्ष दावीको लागि निवेदन गरेमा त्यस्तो दावीको दावी भुक्तानी बीमकले बीमितलाई दिनु पर्नेछ । जीवन बीमालेख लिने व्यक्तिको बीमालेख अवधि समाप्त हुन अगावै मृत्यु भएमा हुने दावी भुक्तानी सम्बन्धी प्रक्रियाको व्यवस्था बीमा नियमावली २०४९ को नियम ३१ (३) मा गरिएको छ । कुनै जीवन बीमालेखको अवधि समाप्त हुनु अगावै सो बीमालेख लिने बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए ऐनको दफा ३८ को उपदफा (१) मा उल्लिखित व्यक्तिहरुमध्ये सबैभन्दा नजिकको हकवालले त्यस्तो जीवन बीमाको रकम लिनको लागि देहायका विवरणहरु खुलाई दावी भुक्तानीको निवेदन बीमकसमक्ष पेश गर्नुपर्ने छ : (क) दावी सम्बन्धी विवरण (ख) बीमितको मृत्यु प्रमाणपत्र (ग) दुर्घटनाबाट बीमितको मृत्यु भएको र त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको भए बीमितको मृत्युको कारण सम्बन्धमा सरकारी चिकित्सकद्धारा गरिएको शब परिक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन (घ) बीमितसँगको नाता प्रमाणपत्र (ङ) उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरु (च) समितिद्वारा तोकिएका अन्य विवरणहरु यसरी उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएपछि बीमकले जीवन दावीको सम्बन्धमा पेश भएका कागजात समेतका विवरणहरु छानवीन गरी आवश्यक भए अन्य कुराहरु समेत बझि आफूसमक्ष त्यस्ता कागजातहरु प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दायित्व निर्धारण गरी दावी भुक्तानी लिन आउनको निमित्त निवेदकको नाममा भुक्तानी पुर्जी (डिस्चार्ज भाउचर) जारी गर्नु पर्नेछ । यसरी जारी गरेको भुक्तानी पूर्जी निवेदकबाट प्राप्त भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दावी भुक्तानी गर्नुपर्ने छ । तर यसरी बीमकले विवरणहरु छानविन गर्दा दायित्व निर्धारण गरी बीमा दावी भुक्तानी गर्नु नपर्ने देखेमा सो को कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्ने छ । निर्जीवन बीमाको दावी भुक्तानी प्रकृया निर्जीवन बीमामा बीमालेख अवधिभित्र दुर्घटना घटेमा र त्यस्तो दुर्घटना सम्बन्धी जोखिमको रक्षावरण बीमालेखले गरेमा मात्र त्यसको दावी भुक्तानी हुने गर्दछ । अर्थात निर्जीवन बीमामा जीवन बीमामा जस्तो घटना नै नघटेपनि दावी भुक्तानी हुने भन्ने हुँदैन । अर्थात निर्जीवन बीमामा दावी भुक्तानी हुन दुई शर्त अनिवार्य रुपमा पुरा हुन पर्दछ । एक घटना घटी बीमा गरिएको वस्तु तथा सम्पत्तिमा क्षति भएको हुनुपर्दछ भने अर्को घटना घट्नुको मुख्य कारणको रक्षवरण हुनेगरी बीमा गरिएको हुुनुपर्दछ । निर्जीवन बीमाको दावी भुक्तानी प्रकृया सम्बन्धी व्यवस्था बीमा नियमावलीको नियम ३२ मा गरिएको छ । बीमा नियमावली अनुसार निर्जीवन बीमाको दावी भुक्तानी प्रकृया यसप्रकार छ । १) निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दावी भुक्तानी गर्नुपर्ने भएमा तत्सम्बन्धी सम्पूर्ण विवरणहरु खुलाई बीमक समक्ष निवेदन दिइनुपर्नेछ । (२) उपनियम (१) बमोजिम निर्जीवन बीमाको दावी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्तर सर्भेयर खटाउन सक्नेछ । (३) उपनियम (२) बमोजिम खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने छ । र, त्यसबोर बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनुपर्ने छ । (४) उपनियम (३) बमोजिम सर्भेयरले बीमकसमक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दावी भुक्तानी गर्नुपर्ने छ । यसरी जीवन बीमा तथा निर्जीवन बीमामा दावी भुक्तानी हुने गर्दछ । तर बीमकले बीमितलाई दावी भुक्तानी गरेपनि बीमितलाई मर्का पर्ने गरी दावी भुक्तानी गरेमा बीमितले दिएको उजुरी विरुद्ध बीमा समितिमा उजुरी गर्न सक्ने छ । बीमा समितिले बीमक विरुद्ध बीमितले दिएको उजरी उपर आवश्यक जाँचबुझ गरी बीमकले दायित्व निर्धारण गर्नुपर्नेमा दायित्व निर्धारण नगरेको देखिएमा दायित्व निर्धारण गर्न वा पुन दायित्व निर्धारण गर्न आदेश दिन सक्नेछ । साथै बीमकले निर्धारण गरेको दायित्वमा कुनै कैफियत नभएमा बीमकले निर्धारण गरेको दायित्वलाई सदर गर्न सक्नेछ । यसरी बीमा समितिले गरेको निर्णयमा चित्त नबुझेमा बीमित तथा बीमकले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ । दावी भुक्तानी सम्बन्धी समस्याहरु बीमकको दावी भुक्तानी कार्य चुस्त र दुरुस्त हुनुपर्दछ । यति हुदाँ हुदै पनि दावी भुक्तानी सम्बन्धमा बेला बेलामा विभिन्न समस्याहरु देखापर्ने गर्दछन् । यस्ता समस्याहरुबाट बीमित र बीमकबीच विवाद हुने गर्दछ । बीमाका केही सर्वमान्य सिद्धान्तहरु छन् जस्तै बीमायोग्य हितको सिद्धान्त, पूर्ण सद्विश्वासको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, क्षतिपर्तिको सिद्धान्त आदि । यी सिद्धान्तहरुको पूर्ण पालना भएको अवस्थामा बीमा दावी भुक्तानीमा कुनै समस्या वा झमेला पर्दैन । तर यी सिद्धान्तहरुको पूर्ण पालना नहुँदा बीमा दावी भुक्तानी सम्बन्धमा समस्याहरु देखापर्ने समस्याहरु देखा पर्दछन् । बीमा दावी भुक्तानी सम्बन्धमा देखापर्ने समस्याहरु यसप्रकार छन् : १) गलत मनसायले बीमा गरी दावी गर्ने हाल बीमा बजारमा गलत मनसाय राखी बीमाबाट अनुचित लाभ लिने प्रवृत्ति बढ्दो छ । कहिले काहि खाली गोदाममा नियोजित तरिकाले आगो लगाई ठूला ठूला बीमा दावी गर्ने, पुराना सवारी साधनलाई सुनियोजित तरिकाले घटना घटाउने गरेको भन्ने सुन्ने गरिन्छ । जीवन बीमामा परिवारको सदस्यको बीमा गर्ने अनि हत्या गरी बीमा दावी गर्ने जस्ता जघन्य अपराधिक कार्य पनि गर्ने गरेको पाईन्छ । यस्ता घटना घट्नु दुर्भाग्यपूर्ण मात्र नभई ठूलो समस्याको रुपमा समेत रहन्छ । २) अपर्याप्त कागजात पेश गर्नु बीमा दावी भुक्तानी गर्नको लागि बीमितले बीमकलाई आवश्यक दावी भुक्तानीका लागि के के कागजपत्रहरु आवश्यक पर्छ भन्ने सन्दर्भमा बीमा नियमावली, दावी सम्बन्धी निर्देशिका, दावी भुक्तानी दिग्दर्शन बीमालेख आदिमा उल्लेख गरिएको हुन्छ । बीमकले आवश्यक ठानेमा उल्लेखित कागजपत्रका अतिरिक्त थप प्रमाण समेत माग गर्न सक्दछ । बीमितले बीमकलाई दावी भक्तानी सम्बन्धी पर्याप्त कागजपत्र उपलब्ध गराउन नसक्दा बीमा दावी भुक्तानीमा समस्या आउन सक्छ । ३) ढिला जानकारी गराउनु बीमितले आफ्नो बीमालेखमा दावी परेमा तुरुन्त बीमक समक्ष जानकारी गराउनु पर्दछ । बीमकले आवश्यक ठानेमा घटनाको स्थलगत निरीक्षण समेत गर्न सक्दछ । ढिला गरी दावी गरे स्थलगत निरिक्षण गर्ने सम्भावना नहुने र प्रमाण नष्ट हुने हुँदा जतिसक्दो चाँडो दावीको जानकारी गराउनु पर्दछ । (४) अपर्याप्त बीमा कभरेज बीमा गरिएको बस्तु तथा सम्पत्तिमा क्षति हुँदैमा बीमा दावी भुक्तानी हुन्छ भन्ने हुँदैन । कुन जोखिम समुहको बीमा गरिएको हो र क्षतिको कारण बीमाले कभर गर्छ गर्दैन यसको आधारमा बीमाको दावी भुक्तानी गरिन्छ । जस्तै कुनै मेसिनको सम्पत्ति बीमा अन्तर्गत बीमा गरिएको छ तर इलेक्ट्रिक सटको कारण क्षति भएमा त्यस्तो क्षतिको बीमा दावी भक्तानी हुन सक्दैन । बीमा दावी भुक्ताना हुन क्षतिको निकटतम कारणको बीमा कभरेज हुनुपर्दछ । (५) बीमा सम्बन्धमा पर्याप्त ज्ञान नहुनु बीमाको दावी भुक्तानी भावनामा हुन सक्दैन, यसको लागि बीमाको सर्वमान्य सिद्धान्तको पूर्णरुपमा पालना गरेको हुनुपर्दछ । यस्ता सिद्धान्तको पालना नगरी बीमा गराउँदा बीमालेखमा दावी परेपनि त्यसको दावी भुक्तानी हुन सक्दैन । यसैगरि बीमाको केही अपवादहरु हुन्छन् । जसको कारणबाट बीमालेखमा क्षति भएपनि त्यसको क्षतिपूर्ति हुन सक्दैन । जस्तै बीमा गर्नु पूर्व कुनै व्यक्तिको स्वास्थ्य परीक्षणबाट घातक रोग पत्ता लागिसकेको अवस्थामा बीमा गरी मृत्यु भएमा त्यसको बीमा दावी िभुक्तानी गर्न सकिदैन । त्यसैगरी मोटर बीमामा मोटरको सीट क्षमता बराबरको यात्रु बीमा हुने गर्दछ । तर नेपालमा सीट क्षमताभन्दा बढी यात्रु राखी सवारी साधन चलाउने वा मालवाहक सवारी साधनले यात्रु ओसार्दा दुर्घटना हुँदा सीट क्षमताभन्दा बढी यात्रुको भएको क्षतिको क्षतिपूर्ति हुन सक्दैन । त्यसैगरी बीमा गर्दा सम्पत्तिको वास्तविक मूल्यभन्दा कम बीमाङ्क राखी बीमा गर्दा क्षति भएमा वास्तविक क्षतिभन्दा कम मात्र क्षतिपूर्ति भुक्तानी हुने गर्दछ । यी र यस्ता बीमा सम्बन्धि पर्याप्त ज्ञान बीमितमा नहुँदा बीमाको दावी भक्तानी हुँदा विवाद हुन सक्छ । (६) बीमालेख चुक्नु (ल्याप्स पोलिसी) जीवन बीमाको बीमालेख अवधि निश्चित वर्षको हुने गर्दछ जस्तै पाँच वर्ष, दश वर्ष, बीस वर्ष आदि । यता निर्जीवन बीमामा बीमालेखको अवधि प्रायजसो एक वर्ष वा त्योभन्दा कम अवधिको हुन सक्दछ । जीवन बीमामा बीमालेखमा उल्लेखित सर्त अनुसार प्रत्येक वर्ष बीमाशुल्क भुक्तानी गर्नु पर्दछ भने निर्जीवन बीमामा बीमालेखको अवधि समाप्त हुनुभन्दा अगडि नै यसको नविकरण गर्नुपर्दछ । यदि बीमा नविकरण गरिएन वा समयमा नै बीमाशुल्क भुक्तानी नभएमा त्यस्तो बीमालेख ल्याप्स हुन्छ । ल्याप्स भएको बीमालेखमा बीमा दावी परेपनि त्यसको बीमा दावी भुक्तानी हुन सक्दैन । त्यसैले बीमितले आफ्नो बीमालेख ल्याप्स हुन दिनु हुँदैन । (लेखक पाण्डे नेपाल पुनर्बीमा कम्पनीका प्रबन्धक हुन् ।) – नेपाल पुनर्बीमा कम्पनीको स्मारिकाबाट
‘सहकारीहरुबीच बढी लाभांशको होडवाजी चल्यो, सहकारीको पैसा बैंकमा जान थाल्यो’
काभ्रे । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरुबीच बढी लाभांश वितरणको होडवाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय सहकारी संस्थाहरुबीच बढी लाभांश वितरणको होडवाजी चलेको बताएकी हुन् । उनका अनुसार सहकारी संस्थाहरुले अधिकतम् १८ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था भएपनि अधिकांश सहकारीहरुबीच जतिसक्दो बढी लाभांश वितरण गर्ने होड्वाजी चलेको छ । यस्तै, उनले अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या भएको कारण सहकारी संस्थाको रकम पनि बैंकमा जान थालेको बताइन् । उनले अहिले सहकारी संस्थहरुबीच मर्जरको विषयले पनि प्राथमिकता पाएको बताउँदै अब विस्तारै ती समस्या पनि कम हुँदै जाने विश्वास व्यक्त गरिन् । ‘अहिले थुप्रै संस्था मर्जरमा जान थालेका छन्, धेरैमा लाभांश वितरणमा होडवाजी पनि चलेको छ, ऐनले १८ प्रतिशतसम्म लाभांश वितरण दिन सक्ने व्यवस्था गरेपनि सहकारी संस्था भने जतिसक्दो बढी दिने होडबाजी सुरु भएको छ, अब यो होडवाजीको अन्त्य हुनु पर्छ, बजार केन्द्रित सहकारीमा तरलताको दबाब छ, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएकै कारण सहकारी क्षेत्रको रकम बैंकमा जान थालेको हामीले बुझेका छौं,’ उनले भनिन् । उनले सहकारीहरुमा स्वनियमन र सुशासनको कमि देखिएको बताइन् । उनका अनुसार सहकारी क्षेत्रमा स्वनियमन र सुशासनको कमि भएकै कारण अहिलेको समस्या देखिएको हो । ‘पछिल्लो समय विश्वसनियतामा कमि आई सहकारीको प्रतिष्ठामा चूनौति थपिएको छ, बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा अभियानको प्रतिष्ठामा आँच आएको छ,’ उनले भनिन्, ‘अहिले सबैको चासोको रुपमा सहकारी क्षेत्र रहेको छ, हामीले यस विषयमा गम्भीर भएर समीक्षा गर्न आवश्यक छ ।’ उनले सन्दर्भ ब्याजदरको क्यापिङले पनि सहकारीको पूँजी व्यवस्थापनमा कठिनाई भएको धारणा राखिन् । ऋणीमा पनि ब्याज तथा किस्ता तिर्नु पर्छ भन्ने मानसिकता नभएकै कारण पनि कतिपय सहकारीमा समस्या देखिएको उनको भनाइ छ । राष्ट्रिय सहकारी महासंघले १० वर्षे रणनीति बनाएर काम गरिरहेको बताउँदै उनले सहकारी संस्थाहरुले पनि आन्तरिक स्वनियमन प्रणालीलाई मजबुद बनाउन आवश्यक रहेको धारणा राखिन् । सहकारी क्षेत्रको वर्तमान अवस्थाको विषयमा । सदस्यता विस्तार । कारोबार वृद्धि । सहकारीहरु बचत तथा ऋणको कारोबारमा केन्द्रित । बजार केन्द्रित सहकारीमा समस्या । समुदाय र सदस्यमा केन्द्रित सहकारीम समस्या छैन । उनले कतिपय सहकारीहरु सदस्यभन्दा पनि बजारमा केन्द्रित भएको कारण पनि अहिलेको समस्या देखिएको बताइन् । उनले कर्जा सूचना केन्द्र नभएकै कारण सहकारी क्षेत्रमा एउटै व्यक्तिले पनि धेरै सहकारीमा प्रभावित पार्ने खालका गतिविधि गरिरहेको पाइएको उनको भनाइ छ । ‘कर्जा असुली न्यायधिकरण, बचत तथा ऋण सुरक्षण कोष, कर्जा सुरक्षण कोष लगायतका विषयमा अब हामी अगाडि बढ्नु पर्छ, यो विषयलाई प्राथमिकताका साथ लागू गर्नु पर्छ, सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सहकार्य पनि आवश्यक छ, सबैले अनुशासित काम गर्यो भने आम सर्वसाधारणले विश्वास गर्छन्, समग्र सहकारी क्षेत्रको विकासका लागि टेवा पुग्छ,’ उनले भनिन् ।
अमेरिकाले युक्रेनलाई चालीस करोड डलर दिने
अमेरिका । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सहयता ‘प्याकेज’मा ‘एयर डिफेन्स सिस्टम’ का लागि युक्रेनलाई ‘ग्रिनेड लञ्चर’तोप, गोलाबारूद, साना हतियारसहितका अन्य अत्याधुनिक हातहतियार उपलव्ध गराइने सञ्चारकर्मीहरूलाई बताएका छन् । अमेरिकाले पनि खेरसन सहरबाट रुसी सैनिक फर्कने सङ्केत पाएको उनले बताए । रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो । उक्त शहरलाई मात्र आफ्नो कब्जामा लिन मस्को सफल भएको थियो । यसअघि युरोपेली आयोगले पनि युक्रेनलाई १८ अर्ब युरो बराबरको सहायता प्याकेज प्रस्ताव गरेको थियो । प्याकेजअन्तर्गत किएभले नियमित किस्ताका रूपमा अधिक सहुलियतमा ऋण पनि पाउने छ । झण्डै दश महिनादेखि जारी युक्रेन युद्धबाट किएभका पक्षमा विशाल अन्तर्राष्ट्रि सहायता परिचालन भएको छ । करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले बिहीबार बताएका थिए । द इकोनोमिक क्लब अफ न्यूयोर्कले आयोजना गरेको एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै सङ्ख्यामा हताहत एवम् घाइते भएका बताएका थिए । रासस
एभरेष्ट बैंकद्वारा धुलाबारी झापामा १२१ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका छन् । यो संगै प्रदेश नं. १ मा एभरेष्ट बैंकको शाखा सञ्जाल १८ पुगेको छ । बैंकले सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ । यस बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२१ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५६ एटिएमसहित बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । य स बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
निर्वाचन नजिकिँदै गर्दा जुम्लामा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध
जुम्ला । पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ । जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगत्को मत्वपूर्ण भूमिका छ । सङ्घ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ । इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ । भ्वाइसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन् । भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने टु जी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् । असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ । सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा फोर जी सेवा सञ्चालन भए पनि टु जी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटकपटक अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथाशक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।’ प्रमुख जिल्ला अधिकारी केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकाले सुधारका लागि पहल भइरहेको बताए । क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकाले चिमारा र माइथाप्लामा क्षमता वृद्धिका लागि काम भइरहेको उनले बताए । पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको जानकारी दिए । सार्वजनिक चासोका विषयलाई उजागर गर्न महासङ्घले ध्यानाकर्षण गराएका छौँ । चाँडै सुधार नभए अन्य दबावका कार्यक्रम अघि बढाउने अध्यक्ष उनले बताए । नेपाल टेलिकम कार्यालयका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियु र ओडियु प्रणालीमा समस्या आएको बताए । नयाँ मेसिन जडानको काम भइरहेको टेलिकमले जनाएको छ ।