चुनावी घोषणापत्रमार्फत पर्यटन विकासमा दलहरुको उच्च प्रतिवद्धता
काठमाडौं । सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिए । तर कोभिड–१९ का कारण पछिल्लो दुई वर्षमा पर्यटक आगमन डेढ लाखदेखि अढाइलाखमा खुम्चियो । कोरोना महामारीपछि भने मुलुकको पर्यटन क्षेत्र चलायमान बनेको छ । विदेशी पर्यटक आगमनको पछिल्लो तथ्याङ्क हेने हो भने केही सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ । यतिखेर मुलुकमा आम निर्वाचनको माहोल छ । साथसाथै पर्यटकीय याम पनि जारी रहेकाले विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको पाइन्छ । मुलुकको आर्थिक समृद्धिको दरिलो आधार मानिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले रणनीतिक योजना बनाएको छ । सरकारले प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई ‘नेपाल पर्यटन दशक’को रुपमा मनाउने घोषणा गरेको छ । यसै सन्दर्भमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलले आफ्ना प्रतिवद्धतामा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । दलहरुले दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित प्रवद्र्धनका महत्वकांक्षी योजना ल्याएका छन् । गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पु¥याउने नीति दलहरुले लिएका छन् । नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दलहरुको प्रतिवद्धता छ । दलहरुको चुनावी प्रद्धिवद्धतामा मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्ने गरी आगामी पाँच वर्षे योजना समेटिएको छ । पर्यटकको सङ्ख्या बढाउनेदेखि पर्यटकको बसाई लम्ब्याएर विदेशी मुद्रा बढी भित्र्याउने योजना पनि दलीय प्रतिवद्धतामा अटाएका छन् । नेपाली काँग्रेसले चुनावी सङ्कल्पपत्रमा आगामी पाँच वर्ष भित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी लक्ष्य लिएको छ । नेकपा (माओवादी केन्द्र)ले पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने महत्वकांक्षी योजना बनाएको छ । त्यस्तै नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने प्रतिवद्धता जनाएको छ । तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन् । काँग्रेसले कोरोना महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोवल उकास्न पाँच वर्षे रणनीति अघि सारेको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने काँग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पुर्याउने र प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइएको छ । माओवादी केन्द्रले कोभिड–१९ महामारीलगायत प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत ३० लाख पर्यटक भित्रयाउने आधार तयार गर्ने भनेको छ । ‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ । गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने नीति लिएको एमालेले नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । ‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ नाराका साथ पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरि पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गर्ने एमालेको नीति छ । राजनीतिक दलले चुनावी प्रतिवद्धतामा समेटेका पर्यटन आगमनसम्बन्धी आँकडा अघिल्ला वर्षको भन्दा यो वर्षको वास्तविक ‘रियालिष्टिक’ रहेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । उनले भने, ‘अघिल्लो निर्वाचनमा ३५ लाखदेखि ५० लाख पर्यटक पु¥याउने भनिएको थियो । यो पटकको निर्वाचनमा २० लाखदेखि ३० लाख भनिएको छ, जवकी अहिले पर्यटकीय पूर्वाधार सुध्रिएको र बढेको छ । त्यस हिसावले हेर्दा यो रियालिष्टिक नै हो । तर, पर्यटनका लागि लक्ष्य मात्रै तोक्नुभन्दा वातावरण बनाउनेतर्फ दलहरुको ध्यान जानुपर्छ ।’ केही राजनीतिक दलको घोषणापत्रमा पर्यटनको राजस्व बढाउने कुरा समेटिएकाले विगतको भन्दा व्यवहारिक प्रतिवद्धता रहेको उनले उल्लेख गरे। पूर्व सिइओ जोशीले कोभिड–१९ पूर्व पर्यटन क्षेत्रबाट करिब ७० अर्ब आम्दानी हुने गरेको र कोभिड–१९ पछि ४० अर्ब हाराहारीमा सीमित हुने बताए । उनले पर्यटनको सबैभन्दा बाधक भनेकै पूर्वाधार रहेकाले स्रोत बजारमा बजारीकरण, हवाई उडान विस्तार र पर्यटकमैत्री वातावरण बनाएर समन्वयकारी भूमिका खेल्नसक्नुपर्छ भने । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनदर यो वर्षको हालसम्मकै बढी हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए । सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । कोरोना महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आएको थियो । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कम हो । पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको छ । उनले सोअनुसार पर्यटक आगमन भइरहेको बताए । ‘यही दरमा पर्यटक भित्रिए यस वर्ष ६ लाखभन्दा बढी पर्यटक आउने सम्भावना छ’, उनले भने ।
३६ कम्पनीको १५ अर्ब बराबरको आईपीओ पाइपलाइनमा
काठमाडौं । शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ । सरकारको सहजीकरण एवं नयाँ कानूनी प्रावधानका कारण साधारण शेयर (आईपीओ) बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने शेयरको परिमाण मात्रै १५ अर्ब नौ करोड सात लाख १८ हजार बराबरको छ । साधारण शेयर बिक्री गर्न लागेका कम्पनीमध्ये २६ वटा कम्पनी जलविद्युत् क्षेत्रका छन् । नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत् क्षेत्रका कम्पनीको सङ्ख्या झण्डै चार दर्जन बराबर पुगेको छ । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण शेयर बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि हुनु पनि स्वभाविक नै छ । मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका हुन् । यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, ट्रेड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण शेयर बिक्रीको तयारी गरेका छन् । बोर्डका अनुसार बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण शेयर बिक्रीको प्रतिक्षामा छन् । चालु आवको हालसम्म मात्रै बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार बराबरको शेयर बिक्रीको अनुमति पाइसकेको छ । तीमध्ये केही कम्पनीले साधारण शेयर बिक्री गरिसकेका छन् । पछिल्लोपटक मात्रै पिपल्स हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि तीन अर्ब २० करोड बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताए । उनले भने, ‘डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ । कुन-कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ । हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् । गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महिनापछि गत कात्तिक १७ देखि हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एयरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरुपमा आग्रह गरिसकेको छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत भएको छ । यो विमानस्थलबाट नोभेम्बर १२ तारिखदेखि कुवेत एयरले पनि उडान सुरु गर्ने प्राधिकरणले जनाएको छ । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ । २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ । यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ ।
हेटौडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च
हेटौंडा । हेटौडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ । उपमहानगरपालिकाको कुल दुई अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा दुई अर्ब २० करोड ५२ लाख खर्च भएको छ । गत आर्थिक वर्षमा सो पालिकाको एक अर्ब ३० करोड १७ लाख बजेट रहेकामा एक अर्ब ३० करोड १७ लाख मात्र खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै पूँजीगततर्फ एक अर्ब ६१ करोड १५ लाख बजेट रहेकामा एक अर्ब आठ करोड ३७ लाख खर्च भएको छ । हेटौडा उपमहानगरपालिकाले आव २०७८/७९ मा आन्तरिकतर्फ २८ करोड ४२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । विभिन्न सिफारिश दस्तुरवापत दुई करोड ८८ लाख र नक्सापास दस्तुरवापत दुई करोड ३७ लाख र व्यवसाय करवापत एक करोड ७९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । साथै १९ वडाबाट पाँच करोड ३२ लाख राजस्व सङ्कलन तथा नदीजन्य पदार्थको बिक्रीबाट चार करोड ३० लाख राजस्व सङ्कलन गरेको छ । हालसम्म उपमहानगरपालिकाले आवको अन्त्यसम्ममा २५ ऐन, चार नियमावली, २९ कार्यविधि र १४ निर्देशिका तयार गरिसकेको जनाएको छ । समाज कल्याण शाखाअन्तर्गत ४५.५८ प्रतिशत वित्तीय प्रगति भएको छ । यसका लागि एक करोड २१ लाख बजेट विनियोजन भएकामा ५५ लाख ३८ हजारमात्र खर्च भएको छ । नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाइने र जनताको कामलाई सरल तथा सहज बनाउनेतर्फ सबैले जोड दिनुपर्ने बताइन् ।
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते
नवलपरासी । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका ¥यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए। उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्। घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।
हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन् । चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका हुन्। अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताए। ‘राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन’ उनले भने, ‘अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।’ अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए। ‘चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो’ उनले भने, ‘निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।’ उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिए।
बर्दियामा पाटे बाघ मृत फेला
बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ११औं वर्षमा प्रवेश
काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकहरुको अगाध माया, बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनीहरुको भरोसा तथा कर्मचारीको अतुलनिय योगदानले संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेको बताए । संस्थाले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेको समेत बताए । देशका ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ । संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पुर्याएको संस्थाले नवौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ । त्यसैगरी हालसम्म ३ अर्ब ४५ करोड बराबर निक्षेप संकलन गरी १६ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ । संस्थाले यसरी आफ्नो कारोबार बृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग र १५ वटा अनुगमन तथा असूली स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको छ ।