विश्वकप फुटबल : पाराग्वेसँग टर्की पराजित
काठमाडौं । फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष तीन अङ्क बटुलेको छ । यसै समूहमा रहेको अमेरिकाले दुई खेलमा छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान दुई–दुई खेल खेलेका अष्ट्रेलिया तीन अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान तीन अङ्क नै बुटुलेको पाराग्वे तेस्रो स्थानमा छ ।
इन्स्पेक्टर खड्का जेठ महिनाको 'पुलिस अफ मन्थ' घोषित
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) डिल्लीबहादुर खड्का ' पुलिस अफ मन्थ' घोषित भएका छन् । परिसरले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै इन्स्पेक्टर खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको छ । काठमाडौं प्रहरी परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन सम्मान गर्ने चलन चलाएको छ । व्यावसायिक निष्ठा, सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन एवं प्रहरी कारबाही तथा शान्ति सुरक्षा व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेकाले सम्मानपत्र प्रदान गरिएको जनाइएको छ ।
एघार महिनामा म्याग्दी हुँदै ७ लाख पर्यटक मुस्ताङ पुगे
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी-जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रिने पर्यटकको अभिलेख राख्ने गरेको छ । एघार महिनामा एक लाख ५१ हजार १६० सवारीसाधनमार्फत चार लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी गत जेठमा २७ हजार ४८८ सवारीसाधनमार्फत ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ । लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो । पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुआती समयको अनुकूल वैशाख-जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो । मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताए । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । रासस
आरती स्ट्रीप्सको १८.४३ अर्ब आम्दानी, १५.६७ अर्ब ऋण
काठमाडौं । आरती स्ट्रीप्स प्राइभेट लिमिटेडले एक वर्षमा साढे १८ अर्ब रुपैयाँ हाराहारी सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २६.८१ प्रतिशत अर्थात् ३ अर्ब ८९ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार गत वर्ष बिक्री परिमाण करिब ४१ प्रतिशतले वृद्धि भई १ लाख ६१ हजार ९०४ मेट्रिक टन पुगेको छ, जुन अघिल्लो वर्षको १ लाख १४ हजार ९११ मेट्रिक टनभन्दा बढी हो । यो वृद्धि मुख्यतः भारततर्फको निर्यात बढेकाले सम्भव भएको कम्पनीले जनाएको छ । यद्यपि, प्रतिमेट्रिक टन नाफा १५ हजार ३०८ रुपैयाँबाट घटेर १० हजार ९७४ रुपैयाँमा झरेको छ, जसको कारण लागत वृद्धि र मूल्य घट्नु रहेको उल्लेख गरिएको छ । यससँगै सञ्चालन नाफा मार्जिन १२.१० प्रतिशतबाट घटेर ९.६४ प्रतिशतमा सीमित भएको छ । साथै, कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ८ अर्ब १४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाइका कारण सुरुवातमा बिक्री प्रभावित भए पनि हाल ७ प्रमाणपत्र नवीकरण भइसकेका बिक्री आम्दानी बढ्ने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीले विगतका वर्षहरूमा पनि स्थिर आम्दानी प्रदर्शन गर्दै आएको छ । आर्थिक वर्ष २०७३/७४ मा १० अर्ब ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७४/७५ मा १५ अर्ब १४ करोड २० लाख, २०७५/७६ मा १६ अर्ब ९९ करोड ६० लाख, २०७६/७७ मा १२ अर्ब ३२ करोड, २०७७/७८ मा १३ अर्ब ६१ करोड ७० लाख, २०७८/७९ मा १४ अर्ब २७ करोड ३० लाख, २०७९/८० मा १४ अर्ब १२ करोड १० लाख, २०८०/८१ मा १४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २००१ जनवरी २१ मा स्थापना भएको आरती स्ट्रीप्सको उत्पादन क्षमता सन् २०२६ अप्रिलसम्ममा वार्षिक ४ लाख ७३ हजार मेट्रिक टन पुगेको छ । कम्पनीले नेपालमा धातुजन्य पाता उत्पादन गर्दै सादा तथा नालीदार जस्ताले ढाकिएका पाता उत्पादन गर्दै आएको छ । हाल कम्पनीले जस्ताले ढाकिएका पाता, रंग लगाइएका पाता, फलामे कालो पाइप तथा साना आकारका ट्युब लगायतका उत्पादन गर्दै आएको छ । कम्पनीले आरती, आरती सुरक्षा र आरती सिल्भर ब्रान्डमार्फत उत्पादन बिक्री गर्दै आएको छ । नेपालभर करिब २०० भन्दा बढी डिलर सञ्जालमार्फत वितरण हुने यी उत्पादनहरू निर्माण, पूर्वाधार, सवारी साधन तथा उपभोक्ता वस्तु उद्योगमा प्रयोग हुन्छन् । सन् २०२१ देखि गल्भालुम उत्पादन पनि सुरु गरिएको छ, जसले उत्पादन विविधता बढाएको छ । २५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीले जस्ताले ढाकिएका तथा रंग लगाइएका पाता उत्पादन गर्दै आएको छ भने एमएस कालो पाइप उत्पादनमा १० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीका प्रवद्र्धक चार भारतीय लगानी कम्पनी हुन् । कम्पनीको सञ्चालक विशाल गुप्ता हुन् । उनीसँग इस्पात उद्योगमा २० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीका अनुसार नेपालमा पूर्वाधार विकास, सडक, जलविद्युत, विमानस्थल र पर्यटन क्षेत्रमा लगानी बढ्ने भएकाले इस्पात उत्पादनको माग दीर्घकालमा बढ्ने अपेक्षा छ । यद्यपि निकट भविष्यमा निर्माण क्षेत्रको सुस्त गति र सरकारी खर्च अपेक्षाभन्दा कम हुँदा उद्योग चुनौतीपूर्ण रहन सक्ने कम्पनीको आँकलन छ । कम्पनीका अनुसार उत्पादन प्रक्रिया निरन्तर चलाउन ठूलो मात्रामा कच्चा पदार्थ भण्डारण गर्नुपर्ने हुन्छ र ग्राहक माग पूरा गर्न पनि पर्याप्त स्टक आवश्यक पर्छ । प्रतिस्पर्धात्मक बजारका कारण डिलरहरूलाई लामो क्रेडिट दिनुपर्ने हुन्छ भने आपूर्तिकर्तालाई तुरुन्त भुक्तानी गर्नुपर्छ । यस कारण गत वर्ष औसत असुली अवधि १२५ दिन पुगेको छ, जुन अघिल्लो वर्षको ११६ दिनभन्दा बढी हो । त्यस्तै, स्टक राख्ने अवधि ११८ दिन रहेको छ, जुन अघिल्लो वर्षको १२६ दिनभन्दा केही घटेको भए पनि अझै उच्च नै छ । समग्र सञ्चालन चक्र २२२ दिन पुगेको छ, जसले कम्पनीमा उच्च कार्यशील पुँजी आवश्यक रहेको देखाउँछ । यस्तै, कम्पनीले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थहरू एचआर कोइला, रंग (पेन्ट), एलुमिनियम आदि हुन्, जुन भारत र चीनबाट आयात गरिन्छ । यी सामग्रीहरूको मूल्य बजारसँग जोडिएको हुन्छ र समय-समयमा परिवर्तन भइरहन्छ । करिब तीन महिनाको स्टक राखिने भएकाले मूल्य अस्थिरताको जोखिम उच्च रहने गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष कुल उत्पादन लागतको करिब ८५ प्रतिशत कच्चा पदार्थमा खर्च भएको थियो । साथै, धेरैजसो कच्चा पदार्थ डलरमा आधारित भएकाले विदेशी विनिमय दर परिवर्तनको जोखिम पनि रहन्छ । कम्पनीले अग्रिम सम्झौता (हेजिङ) प्रयोग गरे पनि त्यसको लागत बढ्दो छ । हाल आफ्नै सिआरएम प्लान्ट स्थापना भएपछि आयात केही घटेको कम्पनीले जनाएको छ । कम्पनीले निरन्तर छोटो अवधिको कार्यशील पुँजी ऋण प्रयोग गर्नुपर्ने भएकाले ब्याज खर्च उच्च छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १५ अर्ब ६७ करोड ४२ लाख रुपैयाँ ऋण लिएको छ, जसमा ३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ दीर्घकालीन र ११ अर्ब ७० करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अघिल्लो वर्ष कम्पनीको कुल ऋण ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ थियो ।
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान
काठमाडौं । आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन् । सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलगायत मुलुकमा जारी सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ । राष्ट्रसङ्घले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधारसमेत भएको जनाएको छ । शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालिकाहरू थप जोखिममा पर्ने बताइएको छ । सन् १९५१ को शरणार्थी महासन्धि तथा सन् १९६७ को त्यससम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तरराष्ट्रिय कानुनी आधार मानिन्छन् । ती व्यवस्थाअनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । महासन्धिको मूल सिद्धान्त ‘नन–रिफाउलमेन्ट’ अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन । विश्व शरणार्थी दिवसले शरणार्थीहरूको साहस, धैर्य र जीवन पुनःनिर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दातृ निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ । राष्ट्रसङ्का अनुसार युद्ध, हिंसा र उत्पीडनबाट भाग्न बाध्य भएका व्यक्तिलाई जोखिमयुक्त स्थानमा जबर्जस्ती फर्काउन नहुने तथा विस्थापनको अवस्थामा पनि उनीहरूले सम्मानपूर्वक जीवनयापन गर्न पाउनुपर्ने व्यवस्था अन्तरराष्ट्रिय समुदायको महत्वपूर्ण प्रतिबद्धता हो । यसैबीच, महासचिव एन्टोनियो गुटेरेसले यस अवसरमा जारी सन्देशमा शरण लिन बाध्य भएका सबै व्यक्ति तथा उनीहरूलाई आश्रय प्रदान गर्ने मुलुक र समुदायलाई थप बलियो समर्थन आवश्यक भएको बताएका छन् । महासचिव गुटेरेसले सन् १९५१ को शरणार्थीको अवस्थासम्बन्धी महासन्धि स्वीकृत भएको ७५ वर्ष पूरा भइरहँदा सुरक्षा र संरक्षणको प्रतिज्ञा विश्व समुदायका लागि उत्तिकै सान्दर्भिक भएको सन्देशमा उल्लेख गरेका छन् ।
अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य गरी स्थायी सम्झौता गर्ने उद्देश्यका साथ ६० दिने वार्ताको समयसीमा (काउन्टडाउन) शुरु भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार यस प्रक्रियाको औपचारिक शुरुवात भएको जानकारी दिएका हुन् । फ्रान्समा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) सँगै वार्ताको ६० दिने अवधि तय भएको हो । उपराष्ट्रपति भान्सका अनुसार बिहिबारदेखि शुरु भएको यो वार्ताको समयसीमा आगामी अगस्ट १७ मा समाप्त हुनेछ । ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा उपराष्ट्रपति भान्सले अन्तर्राष्ट्रिय जलमार्गहरूलाई विश्वव्यापी अर्थतन्त्रका लागि अवरोधका रूपमा प्रयोग गर्न नहुने र ती क्षेत्रहरू महसुलमुक्त हुनुपर्ने अमेरिकी अडान दोहोर्याए । यसैबीच, सम्झौताको प्रारम्भिक सकारात्मक संकेत स्वरूप अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाएको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) काअनुसार अप्रिलको सुरुदेखि लगाइएको उक्त प्रतिबन्ध हटाएसँगै एक दर्जनभन्दा बढी जहाजहरूलाई इरानी बन्दरगाहमा प्रवेश गर्न अनुमति दिइएको छ । यद्यपि, सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना भएको सुनिश्चित गर्न अमेरिकी युद्धपोतहरू सोही क्षेत्रमा तैनाथ रहने जानकारी दिइएको छ । जारी वार्ताको मुख्य र जटिल विषय इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने रहेको छ । १४ बुँदे समझदारी पत्रमा ट्रम्प प्रशासनले इरानको रोक्का वा प्रतिबन्धित कोष र सम्पत्तिहरू प्रयोगका लागि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । तर इरानको कति सम्पत्ति फुकुवा गरिनेछ र त्यसको समयतालिका एवं प्रक्रिया के हुनेछ भन्ने विषयमा अझै सहमति जुट्न बाँकी छ । उपराष्ट्रपति भान्सकाअनुसार आगामी वार्ताका क्रममा दुवै पक्षले यी कोषहरू फुकुवा गर्ने कार्यविधिमा ठोस सहमति कायम गर्नुपर्नेछ ।
आइएमईको सांगीतिक एम्बेसेडरमा प्रकाश सपुत नियुक्त
काठमाडौं । आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा आइएमईले सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा रेमिट्यान्स सेवाप्रति जनचेतना विस्तार गर्ने उद्देश्यले सपुतसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । लोकगीत तथा सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण लोकप्रिय रहेका सपुतका गीतहरू देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै रुचाइने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका भावना, संघर्ष र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत निरन्तर उठाउँदै आएका छन् । आइएमईले रेमिट्यान्सले देशको अर्थतन्त्र र समाजमा पुर्याएको योगदानबारे आम नागरिकलाई थप जानकारी दिन सपुतको सहभागिताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यक्रममा आइएमईका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले नेपाली समाजको यथार्थ चित्रण गर्ने भएकाले यो सहकार्यले कम्पनीको अभियानलाई थप प्रभावकारी बनाउने बताए । ‘उहाँका सिर्जनाले नेपालीको मन छुन्छन् । त्यसैले यो सहकार्यले हाम्रो अभियानमा छुट्टै अपनत्व थप्नेछ,’ उनले भने, ‘स्वदेश र विदेशको दूरी कम गर्न संगीत बलियो माध्यम बनेको छ, जसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको भूमिका निर्वाह गर्न सक्छ ।’ कार्यक्रममा गायक सपुतले आइएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले संगीतमार्फत विश्वभर छरिएका नेपालीलाई आफ्नो माटो र संस्कृतिसँग जोडिराख्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।' उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी, निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आज काठमाडौंं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।