युनाइटेडमा उपासनाको डेढ वर्ष : पुरा नभएको त्यो इच्छा र सेयरधनीले पाएको खुसी
काठमाडौं । सोमबारदेखि लागू हुने गरी युनाइटेड इन्स्योरेन्सबाट उपासना पौडेल बाहिरिन् । उनी स्वेच्छिक रुपमा कम्पनीको सीईओ पदबाट बाहिरिएको बुझिएको छ । विभिन्न लक्ष्य र उद्देश्यका साथ युनाइटेड इन्स्योरेन्सको सीईओ बनेकी उपासनाको बर्हिगमनलाई भने धेरैले अप्रत्याशित मात्रै ठानेनन् आश्चर्यका रुपमा पनि लिएका छन् । चार वर्षे कार्यकाल पुरा हुन अझै अढाई वर्ष बाँकी रहँदा उनले युनाइटेड इन्स्योरेन्स छोडेर किन अन्तै जानु पर्ने अवस्था आइलाग्यो ? यो प्रश्नको जवाफ भने अझै अनुत्तरित छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार उनी हिमालयन रिमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रुपमा जान लागेकोले युनाइटेड इन्स्योरेन्स छोडेकी हुन् । युनाइटेडमा सीईओको रुपमा डेढ वर्ष मात्रै काम गरे पनि उपासनाले कम्पनीको उचाइ र उपलब्धिमा भने धेरै काम गरेको बीमा क्षेत्रका जानकारहरुको बुझाइ छ । यस विषयको प्रष्टता कम्पनीले हासिल गरेका पछिल्ला केही सूचकहरुहरुले पनि देखाउँछ । चार वर्षे कार्यकालमा पौडेलले गर्छु भनेर गरेका प्रतिवद्धताहरु सबैले पूर्णता पाउन नसकेपनि अधिकांश योजना र प्रतिवद्धताहरुमा भने उनी सफल बनेकी छन् । कम्पनीको विगत र उपासनाको ‘इन्ट्री’ वि.सं २०५० साल मंसिर १६ गतेदेखि सञ्चालनमा आएको कम्पनी हो युनाईटेड इन्स्योरेन्स । नेपाली निर्जीवन बीमा क्षेत्रमा कम्पनीले करिब तीन दशक पुगेको छ । बजारमा प्रवेश गर्दा कम्पनी नेपालकै पाँचौं निर्जीवन बीमा कम्पनी थियो । हाल उक्त संख्या बढेर १८ पुगेको छ । देशको ठूलो व्यवसायिक घराना चौधरी ग्रुप र एनई ग्रुप लगायतद्वारा प्रवर्द्धित यो कम्पनी कुनै बेला बिजनेसको हिसावले ‘टप थ्री’ बीमा कम्पनीहरुमध्येमा पर्थ्यो । तर, फरक रणनीति र व्यवसायिक योजना लिएर आएका नयाँ–नयाँ बीमा कम्पनीहरुका अगाडि युनाइटेड पछि पर्न थाल्यो । सबैभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु फेरिने कम्पनीहरुको सूचीमा पनि युनाइटेड इन्स्योरेन्स पर्न थाल्यो । २८ वर्षको अवधिमा कम्पनीमा २ दर्जन बढी सीईओ फेरिए । तर, कम्पनीले अपेक्षाकृत प्रगति गर्न सकेन । वि.सं २०७८ बैशाखमा सो कम्पनीको सीईओको रुपमा तिनै उपासना पौडेल भित्रिइन् । उनी सीईओ बनेपछि पनि कम्पनीले एक किसिमको चर्चा पाएको थियो । ‘डाउनवार्ड’ पोर्टफोलियोमा रहेको कम्पनीमा कम उमेरको महिला सीईओ ल्याएपछि धेरैले प्रश्न पनि तेर्साए । तर, एकपछि अर्को सूचकमा चम्केपछि उनको तारिफ बीमा क्षेत्रले गर्यो । त्यसपछि आयो युनाइटेडमा यूटर्न सीईओ बनेपछि युनाइटेड इन्स्योरेन्सले विभिन्न सूचकमा आश्चर्यजनक रुपमा छलाङ मार्यो । विगतमा ‘टप थ्री’को आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिका साथ कम्पनी अगाडि बढिरह्यो । पौडेल सीईओमा नियुक्त भएकै वर्षमा कम्पनीले नयाँ इतिहास रच्न सफल भयो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा एक अर्बभन्दा बढी प्रिमियम संकलन गर्यो । जुन त्यसअघिकै सर्वाधिक प्रिमियम अर्थात् कम्पनीको पहिलो रेकर्ड हो । पौडेल सीईओमा नियुक्त भएको साढे २ महिनामै कम्पनीले २८ वर्षमा नयाँ इतिहास रच्न सफल भयो । कम्पनीले सञ्चालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भयो । त्यसलाई ठूलो उपलब्धिका रुपमा लिँदै कम्पनीले केक समेत काटेर उत्सव मनायो । कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात् २०७६/७७ मा ६९ करोड बीमाशुल्क आर्जन गर्यो । कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत् यो सफलता हासिल गर्न सहयोग पुगेको कम्पनीको दावी छ । कम्पनीले सामाजिक सञ्जालहरुलाई पनि प्राथमिकता दियो । अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालमा बढी अभ्यस्त भएकाले उनीहरुलाई फोकस गरेर पनि युनाइटेडले आफ्नो वेवसाइटलाई परिस्कृत गर्यो । यस्तै, सन् २०२१ मा कम्पनी एशियाकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी बन्न सफल भयो । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित गरेको हो । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको तेश्रो इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा कम्पनीले सो अवार्ड पाएको हो । सो कार्यक्रम ३० अप्रिल २०२२ अर्थात २०७९ बैशाख १७ गते भारतको कलकत्तामा भएको हो । त्यस्तै, पौडेलको नेतृत्वमा कम्पनीका बीमितले सातादिन भित्रै दावी भुक्तानी पाए । जुन विगतमा एक/दुई वर्षसम्म पनि भुक्तानी नभएको गुनासो बीमितहरुबाट प्रशस्त आउँथे । अहिले विभिन्न कम्पनीहरु बिजनेस नभएको भन्दै चिन्तित बनेको अवस्थामा उपासनाले नेतृत्व गरेको युनाईटेड इन्स्योरेन्सको बिजनेसमा भने बढोत्तरी आयो । कम्पनीले तीन महिनामै १७.०८ प्रतिशत ग्रोथ गर्न सफल भएको छ । आर्थिक वर्ष २०७९/८० को साउनमा १० करोड ४० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले असोजमा मात्रै १२ करोड १८ लाख बराबरको बीमाशुल्क आर्जन गरेको छ । उपासनाले अपनाएको टेक्निक पौडेल सीईओ भएर आएपछि युनाइटेड व्यवस्थापनले कम्पनीलाई छोडेर गएका ग्राहकहरुलाई पुनः कम्पनीमै ल्याएर गुणस्तरीय सेवा दिन सफल भयो । जुन कम्पनीका लागि ठूलो चुनौति थियो । सीईओ पौडेल कम्पनीलाई पुनः सुरुवातकै चरणमा ल्याउन अर्थात् पुनर्जीवित गर्न आधारभूत कामबाटै शुरु गरेको बताउँछिन् । उनले कम्पनीको रि-ब्राण्डिङ, लोगो परिवर्तनदेखि बजारमा प्रस्तुत हुने शैली समेत परिवर्तन गरिन् । योसँगसँगै कम्पनीले प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दियो । ग्राहकलाई आकर्षित गर्नको लागि स–साना विषयहरुमा ध्यान दिनुपर्ने रणनीतिमा लागेकी पौडेलले युनाइटेडले हरेक प्रणाली अटोमेटेड (स्वचालित) गरेर ग्राहकलाई छिटो तथा छरितो सेवा दिन कम्पनी डटेर लागेको अनुभव विकासन्युजसँग सुनाएकी थिइन् । । ‘मेरो ४ वर्षको कार्यकालमा कम्पनीलाई ‘स्टेबल’ बनाउने ईच्छा छ, २०७८/७९ मा जसरी भएपनि लाभांश दिने हो, केही भएन भनेपनि न्यूनतम ५ प्रतिशत त हामी दिन सक्ने अवस्थामा हुन्छौं,’ पौडेलले २०७८ भदौमा नै विकासन्युजसँग भनेकी थिइन् । पौडेलले भनेजस्तै कम्पनीका सेयरधनीले गत आवको लाभांशबाट ५.२६३२ प्रतिशत लाभांश पाउने भएका छन् । विगत ५ वर्षदेखि हात खाली भएर निराश बनेका लगानीकर्ताहरुमा यो वर्ष भने खुशीयाली छाएको छ । लाभांश इतिहास र बिजनेस आर्थिक वर्ष २०७१/७२ देखियताको लाभांश इतिहास हर्ने हो भने कम्पनीले दुई वर्षको नाफाबाट मात्रै लाभांश वितरण गरेको छ । कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट २० प्रतिशत र आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर पाएका छन् । त्यसयता लगातार ५ वर्षसम्म भने कम्पनीका सेयरधनीको हात खाली भएको छ । आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट सेयरधनीले बोनस र नगद कुनै पनि प्रकारको लाभांश पाएनन् । तर, लामो समयपछि भने कम्पनीका सेयरधनीले लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । जुन अघिल्लो वर्षको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । त्यस्तै, बीमा कोषको आकार १९.९२ प्रतिशतले बढेर ४२ करोड २ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले गत आवमा १३ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको थियो । जुन अघिल्लो आवको तुलनामा ३ करोड रुपैयाँ बढी हो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले एक लाख ३७ हजार वटा बीमालेख जारी गरी कूल एक अर्ब ५६ करोड ४५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । जुन अघिल्लो आवमा १ अर्ब १० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र पीई रेसियो २५.७७ रहेको छ । असोज मसान्तसम्मको तुलनामा कम्पनीको बजार हिस्सा करिब ३ प्रतिशत रहेको छ । बीमाशुल्कको आधारमा कम्पनीको बजार हिस्सा २.९८ प्रतिशत रहेको हो । असोजसम्म १९ कम्पनीहरुले कूल १० अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यता यूनाईटेडले भने ३२ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्याङ्कले बताएको छ । पुरा हुन नपाएको त्यो इच्छा ४ वर्षको कार्यकालमा युनाइटेडलाई ‘स्टेबल’ र ‘नम्बर वान’ बनाउने उनको इच्छा थियो । सो अवधिमा कम्पनीले ५ प्रतिशत बजार हिस्सा ओगेट्ने समेत उनको दावी थियो । युनाइटेडले मर्जरभन्दा पनि प्राप्तितर्फ ध्यान दिने र कुनै कम्पनीलाई प्राप्ति गरेमा अझ कम्पनीको बजार हिस्सा बढ्ने उनले बताएकी थिइन् । तर, कार्यकाल पूर्ण हुन नपाई कम्पनीबाट बाहिरिएपछि पौडेलको त्यो इच्छाले पूर्णता पाउन सकेन । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले बीमा क्षेत्रमा एक दशकभन्दा बढी अनुभव बटुलेकी सकेकी छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी उनी अब पुनर्बीमा क्षेत्रमा प्रवेश गर्ने भएकी छन् । युनाईटेडबाट बाहिरिएपछि उनी हिमालयन रि इन्स्योरेन्समा जाँदैछिन् । बीमा क्षेत्रमा एक क्षमतावान सीईओको रुपमा आफ्नो प्रोफाइल बनाउन प्रयत्नरत पौडेलको कार्यक्षमता र कार्यकुशलताकै कारण हिमालयन रिले उनलाई आकर्षक तलब सुविधासहित डीसीईओका रुपमा नियुक्त गर्न लागिएको बुझिएको छ ।
अब विश्वभरबाट पठाएकाे पैसा सिधै सानिमा बैंककाे खातामा
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ । यस सेवा बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरी प्रदान गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौं : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको बताए । ‘यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ’, उनले भने । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो । ‘घटनाक्रमको विकास लामो सङ्घर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यौँ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो’, अध्यक्ष दाहालले भने । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष उनले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताए । उहाँले नेकपा (एमाले) लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताउनुभयो । ‘संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ’, उनले भने । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उहाँ देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गरे । ‘पौडेललाई धेरै मत दिएर जिताउनुस् त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो’, अध्यक्ष दाहालले भने ।
लक्ष्मी बैंकले ल्यायो आजिवन निःशुल्क मोबाइल, इन्टरनेट बैंकिङ र डिम्याट सेवा
काठमाडाैं । लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै बचत गरों, च्याम्पियन बनौं याेजना ल्याएकाे छ । बैंककाे अनुसार याे याेजना मंसिर ४ देखि पुस १६ गते सम्म संचालन हुनेछ । यस याेजना अन्तर्गत यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताले आजिवन निःशुल्क बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ्ग, इमेल प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले पूर्व स्वीकृत क्रेडिट कार्ड र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएकाे छ ।
खप्तड लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
काठमाडाैं । खप्तड लघुवित्तकाे सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएकाे छ । लघुवित्तकाे चार लाख थान ऋणपत्र कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । लघुवित्त र नेप्सेबीच साेमबार सेयर सूचीकृत सम्झाैता भएकाे हाे । यससँगै कार्त्तिक २९ गतेदेखि खप्तड लघुवित्तकाे सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ । कम्पनीले प्रभु क्यापिटलमार्फत सेयर बिक्री खुल्ला गरेकाे थियाे ।
इको प्यानलसँगै पर्यटनमा पनि जम्दै कृष्णभक्त
काठमाडौं । कम्पनी खोलेर मात्र हुँदैन, एउटा सफलताको श्रेणीमा पुर्याउनको लागि निकै मेहनत र लगनशिलता चाहिन्छ । यतिले मात्र पुग्दैन, समय पनि चाहियो । एउटा व्यक्तिले दुई/तीन पेशा अगाँल्नु आफैमा चुनौतिको विषय पनि हो । तर, भक्तपुरका कृष्ण भक्त दुवाललाई तीन वटा पेशा सँगै आत्मसाथ गरेर अगाडि बढ्ने बानी परिसकेको छ । बिहान–बेलुकाको समयमा कलेज पढाउने र दिउँसो उद्योग व्यवसाय सम्हाल्नमै उनको दिन बित्छ । भक्तपुरको एउटा सामान्य परिवार । बुबा कृषक । आमा घरको काम सम्हाल्थिन् । सानैदेखि चनचले कृष्णभक्त पढाइमा भने अब्बल । वि.सं २०३६ सालमा भक्तपुर नगरपालिकाको थाल्छेमा जन्मेका उनी कक्षा ४ सम्म घर नजिकैको विद्यालयमा पढे । वि.सं २०४९ सालदेखि उनले पढ्दै गरेको विद्यालयलाई छाडेर सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुमा पढ्न थाले । उनले कक्षा १० सम्मको पढाइ सोही विद्यालयबाट पूरा गरे । पढाइमा पनि लगनशील भएकै कारण उनलाई सबैले प्रोत्साहन गरे । एसएलसीमा टप, डाक्टर बन्ने सपना कृष्ण भक्त दुवाल सानैदेखि तिक्ष्ण दिमागको भएको बताउँछन् । सानैदेखि पढाइमा अब्बल भएकै कारण उनी एसएलसी (हालको एसईई) भक्तपुर जिल्ला टप भए । ‘सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट त्यतिखेर एसएलसी परीक्षा दिनेको संख्या ७ सय थियो, हामीसँगै पढ्ने ४ जना साथीले बोर्ड टप गरे, मैले जिल्ला टप गरेँ, भक्तपुरबाट पढ्न काठमाडौं गए पनि भक्तपुर जिल्लाको टपर थिएँ,’ उनले विगत स्मरण गर्दै भने । एसएलसी पास भएपछि उनी डाक्टर बन्न चाहन्थे । उनी सोही सपनालाई पछ्याउँदै पुगे तिनकुनेमा रहेको भीएस निकेतनमा । उनले सो कलेजमा विज्ञान संकायमा प्लस टुको पढाइ सुरु गरे । ‘एसएलसीमा राम्रो अंक आएपछि मैले डाक्टर बन्नु पर्छ भनेर सोचिसकेको थिएँ, सोही कारण प्लसटुमा विज्ञान संकायमा बायोलोजी विषय लिएर पढ्न सुरु गरेँ, प्लस टुको परीक्षा पश्चात् डाक्टर पढ्न भनेर विभिन्न कलेजमा छात्रवृतिमा फाराम पनि भरेँ,’ कतै नाम निस्किएन, त्यसपछि डाक्टर बन्ने सपना तुहियो,’ उनी भन्छन्,‘त्यसपछि डाक्टर बन्छु भन्ने सपना देख्न पनि छोडेँ ।’ उनले आफैले शुल्क तिरेर डाक्टर पढ्न सक्ने अवस्था उनको थिएन । डाक्टर बन्ने सपना बिचमै हराएपछि उनी अब इञ्जिनियर बन्छु भन्ने दृढ इच्छाका साथ अगाडि बढे । दुवालले काठमाडौं इन्जिनियरिङ कलेजमा इञ्जिनियरिङ पढ्नका लागि नाम निकाले । सो कलेजमा उनले वि.सं २०५८ सालमा इञ्जिनियर पढ्न सुरु गरे । ‘विज्ञानमा प्लस टु र इञ्जिनियररिङको पढाई पनि सकियो, खासै राम्रो रिजल्ट आएन तर पढ्दै गएँ हिम्मत हारिन,’ उनले भनी भन्छन्,‘ कर्म गर फलको आशा नगर भन्ने जस्तै सोचेँ ।’ दुवालले वि.सं २०६२ मा काठमाडौंको पुल्चोक क्याम्पसमा स्नातकोत्तरको पढाइ सुरु गरे । खुसीको कुरा, उनले स्नातकोत्तर उच्च अंकका साथ वि.सं २०६८ सालमा पास गरे । यस्तै, उनले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एडमिनिस्टरीमा स्नातकोत्तर पनि गरेका छन् भने चीनबाट पीएचडी गर्ने तयारी गरिरहेका छन् । दुवाल शिक्षक पनि दुवाल सफल व्यवसायीका रुपले मात्रै परिचित छैनन् उनी एक शिक्षक पनि हुन् । एसएलसीको परीक्षा दिएलगत्तै पढाउन सुरु गरेका उनी अहिलेसम्म पनि शिक्षण पेशा अँगालिरहेका छन् । एसएलसीको परीक्षा दिएर आफूले घर नजिकैको विद्यालयमा कक्षा ९ र १० लाई गणित विषय पढाएको दुवाल बताउँछन् । स्नातक तहको पढाइ सकेपछि वि.सं २०६३ बाट कलेज पढाउन थालेको उनी बताउँछन् । उनले त्यतिबेला स्नातकोत्तर पढ्दै स्नातक तहका विद्यार्थीहरुलाइ इन्जिनियर पढाएको सुनाउँछन् । उनले शिक्षण पेशालाई निरन्तरता भने दिएनन् । बीचमा उनी व्यवसायिक क्षेत्रतर्फ पनि लागे । ‘रिडिङ र टिचिङ मेरो प्यासन हो, पढाइ सँगसँगै मैले शिक्षण पेसालाई पनि निरन्तरता दिएँ, केही सयम व्यावसायिक व्यस्तताको कारण अध्यापन छाड्नु पर्यो तर अहिले पुनः पढाइरहेको छु,’ उनले सुनाए । हाल उनले नेपाल इजिनरिङ र खोको इञ्जिनियरिङ कलेजमा अध्यापन गराउँछन् । इट्टाको सट्टा इको प्यानल कृष्णभक्त दुवालका बुबा र दाजु इट्टा भट्टा व्यवसाय गर्थे । परम्परागत ढंगले हुने इट्टा भट्टा कृष्ण भक्त आधुनिक र नयाँ किसिमले काम गर्न चाहन्थे । उनले स्नातकोत्तर पढाइ गर्दै गर्दा नेपालमा इको प्यानलको सम्भावनाको विषयमा पनि अनुसन्धान गर्ने अवसर पाए । पढाइ पनि इञ्जिनियरिङ भएकोले मैले स्नातकोत्तर पढ्दै गर्दा नेपालमा इको प्यानलको विषयमा अनुसन्धान पनि गरेको थिएँ, बुबाको इट्टा भट्टा तथा निर्माण सामाग्रीको वैकल्पिक उपाय अर्को के हुन सक्छ भनेर धेरै सोचेँ, त्यसपछि इट्टाको सट्टा प्यानलको अवधारणा ल्याएँ,’ उनले भने । उनले अनुसन्धान गर्दै जाँदा विभिन्न देशहरुमा पुगेको पनि बताए । उनले इको प्यानलकै विषयमा बुझ्न कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशमा पुगेको सुनाए । त्यसपछि उनी जोडिए गोर्खा इको प्यानलमा । वि.सं २०७० मा उनी गोर्खा इको प्यानलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । गोर्खा इको प्यानल स्थापना केही लगानीकर्ताहरु मिलेर स्थापना गरेका थिए । उनले सो कम्पनीमा ६ वर्ष काम गरे । गार्खा इको प्यानल स्थापना गर्न आफ्नो भूमीका पनि महत्वपूर्ण रहेको उनी बताउँछन् । सो कम्पनीले वातावरणमैत्री प्रिफाइबका घर बनाउने सामानको उत्पादन तथा खरिदबिक्री गर्दै आइरहेको छ । गोर्खा इको प्यानललाई एउटा सफलताको श्रेणीमा पुर्याएपश्चात् दुवालले सो कम्पनी छाड्नु पर्याे । उनले गोर्खा इको प्यानल छोडेर आफ्नै लगानीमा खोले नेपाल इको प्यानल । उनले सन् २०२१ मा नेपाल इको प्यानलको स्थापना गरे । हाल नेपाल इको प्यानल पनि छोटो समयमा नै लोकप्रिय कम्पनीको रूपमा स्थापित भइसकेको छ । दुवाल सो कम्पनीको सीईआको रूपमा कार्यरत छन् । ‘आफूसँग ज्ञान नभएको काम गर्दा सफलता पाउन मुस्किल हुन्छ, जान्नको लागि सिक्नु नै पर्ने हुन्छ, पहिलाको कम्पनी स्थापना गर्नको लागि धेरै मेहनत गर्नु पर्यो, यो कम्पनीको स्थापना गर्न पहिलाको जस्तो समस्या परेन, धेरै ज्ञान भएकै कारण पनि छोटै समयमा धेरै उपलब्धि हासिल गर्न सफल भइयो,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । नेपाल इको प्यानलबाट डेढ सय भन्दा बढीले रोजगारी पाएको पनि उनले बताए । कम्पनीलाई एउटा ठूलो कर्पोरेट हाउसको रूपमा विकास गरी थप रोजगारी सिर्जना गर्ने योजना दवालको छ । होटलमा पनि लगानी दुवालले होटल व्यवसायमा पनि कारोडौं रुपैयाँ लगानी गरेका छन् । उनको नगरकोटमा आफ्नै होटल छ । सन् २००७ सालमा उनले नगरकोटमा होटल खोलेका थिए । एक वर्ष उनले सो होटल आफैले सञ्चालन गरे । शिक्षण पेसामा पनि भएको र कम्पनी पनि हेर्नु पर्ने कारणले उनले पछि होटल भाडामा लगाए । तर, विश्व महामारीका कारण अहिले सो होटल बन्द अवस्थामा रहेको उनी बताउँछन् । उनी अब होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यसका साथै दुवालका १५ जना साथी मिलेर रारामा आन्तरिक तथा वाहिय पर्यटनलाई लक्षित गर्दै रिसोर्ट पनि निर्माण गरिरहेका छन् । ६ करोड रुपैयाँको लगानीमा बनेको उक्त रिसोर्ट सञ्चालमा ल्याउने तयारी गरिरहेका छन् । सो कम्पनीले पनि विभिन्न ठाउँमा पर्यटकलाई लक्षित गर्दै होटल बनाउँदै जाने योजना बनाएको पनि उनले सुनाए ।
‘बेन्कार्डो’ नेपाली बाथरुम वेयर उद्योगमा क्रान्ति गर्दै
काठमाडौं । बाथरुम वेयरमा देशकै सबैभन्दा ठूलो च्यानल पार्टनर नेटवर्क रहेको ब्रान्ड बेन्कार्डोले, सबै पर्यावरण अनुकूल उत्पादनहरुको प्रयोगद्वारा प्रवेश स्तरदेखि लक्जरी बाथरूमसम्मको उत्कृष्ट डिजाइन प्रदान गर्दछ । ISO,SASO, CE प्रमाणीत बेन्कार्डोमा फिक्स्चर र फिटिंगहरूमा सफा, सुरुचिपूर्ण, कार्यात्मक र कालातीत बेसिनहरू, शौचालयहरू, बाथरूम भ्यानिटीहरू र नुहाउने ठाउँहरू यसको दायराहरूमा समावेश छन् । बिक्री पछिको सेवालाई समयमै सुनिश्चित गर्न हरेक क्षेत्रमा सबैभन्दा ठूलो सेवा नेटवर्क रहेको बेन्कार्डोले नेपालमैे पहिलो बाथरूम वेयर एप ल्याएको छ जस पस्चात उपभोक्ताले बजारमा उपलब्ध सबै उत्पादनहरू, नजिकै अवस्थित डिलरहरू, बिक्री सेवा र प्लम्बिंग सेवाहरू सजिलैसँग हेर्न सक्नेछन् । आफ्नो घरको समस्या, फोटो वा भिडियो अपलोड गरी ४८ घण्टा भित्र प्लम्बिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । एक पटक प्लम्बरले कार्य पूरा गरेपछि , दुबै उपभोक्ता र प्लम्बरले आफ्नो एपमा समस्या हल भएको जानकारी टिपाउन सक्छन् । किफायती मूल्यमा लक्जरी सपनाको बाथरूम प्रस्तुत गर्ने पहिलो कम्पनी बेकार्डोका मुख्य खण्डहरू सेनेटरी वेयर, फसेट, किचन सिंक र टाइलहरू हुन् । बेन्कार्डोका उत्पादनहरूमा इको फ्लस वाटर सेभर, जर्म–फ्री, डुअल फ्लस र सफ्ट क्लोज सीट कभर प्रणाली लगाइएको छ । जर्म फ्री सेनेटरी वेयरलाई विशेष सिल्भरनानो ग्लेजले लेपित गरिएको छ जसले किटाणु वृद्धिमा रोक लगाउँछ, उल्लेखनीय रूपमा गन्धबाट मुक्त राख्छ । डुअल फ्लस प्रणाली अर्को एक विशेषता हो जसले एकल १० लिटर फ्लश प्रदान गर्ने परम्परागत फ्लस ट्याङ्कहरूको तुलनामा ६ लिटर फुल फ्लस र ३ लिटर हाफ फ्लसको लागि पानी बचत गर्न सक्षम बनाउँछ । बेन्कार्डो आफ्नो पहिचान “भव्यता र सादगी“ लाई कायम राख्दै क्लासिक र समकालीन शैलीहरूमा नयाँ उचाई तथा विशेषता प्रदान गर्दछ ।
ज्योति र सूर्या लाइफ मर्जपछि सूर्यज्योति बन्ने, सीईओ खत्री, स्वाप रेसियो कति ?
काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले उक्त मर्जर प्रस्तावलाई पारित गरेको हो । सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरेको छ । जसअनुसार दुई कम्पनी १ बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका छन् । त्यस्तै, सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ । सभाले मर्जर पश्चात् बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी राख्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ । त्यस्तै, मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले संचालक समितिले प्रस्तुत गर्ने आथिर्क वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।