काठमाडौं । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन् ।
उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए । शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे ।
डा। केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताए । ‘आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्नुहोला, सबै पार्टीमा राम्रो नेताहरु पनि छन्, त्यसैले राम्रो नेतालाई मात्रै छानेर भोट दिनुहोला,’ उनले भने ।