विकासन्युज

पिचमाथि पिच गरेर चिटिक्क पारिँदैछ काठमाडौंका सडक

काठमाडौं । सबैभन्दा बढी जनघनत्व भएको र सवारी साधन पनि बढी गुड्ने शहर हो काठमाडौं । काठमाडौंमा लाखौं मासिनहरु बस्छन् । ती मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सवारी साधनहरु गुडाउँछन् । हजारौं सार्वजनिक सवारी साधनहरु छन् । तर, ती हजारौं सवारी साधन गुड्ने सडकको अवस्था ! धुलोधुवाँ र खाल्डाखुल्डीहरुले भरिएको काठमाडौंका सडकहरु पछिल्लो समय भने चिटिक्क देखिन थालेका छन् । काठमाडौंभित्र पनि अधिकांश सडकहरु पिच भएका छैनन् । चाबहिल–साँखु, कलंकी–थानकोट र लगनखेल–सातदोबाटो लगायतका सडकहरुमा वर्षेनी समस्या आउँछ । ती सडकहरु न पिच हुन्छन् नत पिचपछि परेका खाल्डाखुल्डीहरु पुरिन्छन् नै । तर, अहिले काठमाडौं भित्रका अधिकांश सडकहरुमा पिचमाथि पिच गरिँदैछ । निकै व्यस्त रहने सडकहरु यतिखेर कालोपत्रे भइरहेका छन् । सडक डिभिजन कार्यालयले अहिले काठमाडौका विभिन्न स्थानका सडकको सौन्दर्यिकरणको काम गरिरहेको छ । अहिले चुनावको बेला सवारी साधनको आवतजावत कम हुने भन्दै सडक डिभिजन कार्यालयले पिच भएका सडकमा परेका खाल्डाखुल्डी पुरेर पुनः पिच गर्ने काम तीव्रताका साथ गरिरहेको छ । गत आर्थिक वर्षमा २०७८/०७९ सालमा निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि चालू आर्थिक वर्ष २०७८/०७९ बाट सडक मर्मत सम्भार गर्ने कार्यलाई तीव्र रूपमा अघि कार्यालयले बताएको छ । काठमाडौं भित्रका शाखा सडकको खाल्डाखुल्डी पुर्ने र सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी गर्ने कार्य गरिएको डिभिजन कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए । सडक मर्मत तथा कालोपत्रे गर्नको लागि सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ठेक्का लगाएको थियो । कार्यालयले ठेक्का लगाए पनि समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक मर्मत गर्ने कार्य प्रभावित बनेको उनको भनाइ छ । अहिले सो कामलाई तीव्रता दिइएको छ । सूचना अधिकारी केसीका अनुसार अहिले डिभिजनले १० वटा खण्डमा छुट्टाई आवधिक मर्मत सम्भार गर्ने काम गरिरहेको छ । कार्यालयले अहिले विशालनगर–बालुवाटार–गैरीधारा, सिनामंगल–डिल्लीबजार–बागबजार, डिल्लीबजार–कालिकास्थान–न्यु प्लाजा, बाँसबारी–बुढानिलकण्ठ, तीनकुने–कोटेश्वर, कलन्की –स्युचाटार, जोरपाटी–नयाँबस्ती, सुकेधारा–जनचोक–कृष्ण मन्दिर–मन्डिखाटार, ज्ञानेश्वर–रातोपुल, ताहाचल–छाउनी–स्वयम्भू लगायत अन्य केही सडक खण्डहरू मर्मतको काम गरिरहेको छ । ‘गत आर्थिक वर्षमा नै सडक मर्मत सम्भार तथा विस्तार कार्य गर्नको लागि ठेक्का लगाएका थियौं, सो वर्षको फागुन, चैत्रमा डिजेल पेट्रोलियम पदार्थ मूल्य बढ्नुका साथै मूल्यवृद्धि बढ्यो, निर्माण व्यवसायीहरूले छुट्टीमा काम गरेनन्, त्यो बेला नभएको काम अहिले धमाधम भइ रहेको हो,’ सूचना अधिकारी केसीले भने । डिभिजनले प्रत्यक सडक खण्डको लागि बेग्ला–बेग्लै बजेट छुट्याएर ठेक्का लगाएको थियो । बाँसबारी–बुढानिलकण्ठ, तीनकुने–कोटेश्वर–मनोहराको खण्डको लागि ११ करोड ८५ लाख ८३ हजार ९ सय ३४, विशालनगर–बालुवाटार–गैह्रीधारामा २ करोड ७९ लाख ११ हजार ९२ र बागमती कोरिडोरदेखि बौद्धसम्म मर्मत गर्नको लागि डिभिजनले १ करोड २६ लाख ४८ हजार ३४ रुपैयाँमा ठेक्का लगाएको छ । यस्तै, डिल्लीबजार–अनामनगर खण्डको लागि ७३ लाख ५ हजार ७ सय ८०, टंकेश्वर–नागढुङ्कामा १ करोड १२ लाख ४० हजार २ सय १२, डिल्लीबजार– भोटाहिटीमा २ करोड ६९ लाख ३२ हजार ९ सय ९९,मण्डिकतार– कुमारी मन्दिर– जनकचोकमा २ करोड ८७ लाख ४२ हजार २ सय ११ र ज्ञानेश्वर–रातोपुल– गौशालाका लागि २ करोड ८९ लाख ४४ हजार ६ सय २० रुपैयाँ सडक खण्ड मर्मत गर्नको लागि सो रकम ठेक्का लगाएको पनि डिभिजनले बताएको छ । कार्यालयका अनुसार सडक मर्मत गर्नको लागि गत आर्थिक वर्षमा ठेक्का भएका योजनाको काम आगामी पुस महिनाभित्र सक्ने लक्ष्य छ । डिभिजन कार्यालय अन्तर्गत काठमाडौं भित्र पर्ने सम्पूर्ण सडकको मर्मत सम्भारमा गर्ने लक्ष्य लिएको पनि केसीले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यका भित्र सडक विस्तारका लागि ४१ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने

काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि सात करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको सात लाख ६ हजार ९०९ कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले यसको लागि एनआईबिएल एस क्यापिटललाई  प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाडौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो रआफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोबार सुभारम्भ गरेको थियो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा रहेको छ ।

सेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ । त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।

नेपाल लाइफले भुक्तानी गर्यो ५४ अर्ब ७६ करोडको दावी

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी भएकाे कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दावी, १५.२६ अर्ब अवधि समाप्ति दावी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत कम्पनीले १५.९४ अर्ब दावी भुक्तानी गरिसकेको छ । बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दावी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउँछन् । अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर यसमा बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै, आंशिक अवधि भुक्तानीमा निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिन्छ । बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरी सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्राविधिक समस्याका कारण नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौं । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ ।

नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय सिरिजको उपाधि

काठमाडौं । नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । तीन खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा बनायो । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले एक १९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन । त्यसैगरी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए । युएईका हजरत बिलाल र आयन अफजल खानले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले अविजित २० रन बनाए । यस्तै अलिशन शराफुले ३३ रन बनाउदाँ रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २र२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १र१ विकेट लिएका थिए । रासस

अब लगानीकर्ताले प्रतिफल पाउँछन्, ५० करोडको सेयर जारी हुन्छ : सुद्युम्न उपाध्याय

  साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड । बीमा क्षेत्रमा दोश्रो मर्जरको रुपमा कम्पनीले तोकेको समयमै मर्जर प्रकृया सकेर कात्तिक ७ गतेदेखि एकीकृत कारोबार गरिसकेको छ । यो अवधिमा मर्जको भोगाई कस्तो रह्यो ? कम्पनीलाई अगाडि बढाउन भावी दिनका योजनाहरु कस्ता छन् ? भविष्यमा आइपर्ने चुनौतिलाई कसरी सामना गर्दै छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित भएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायसँग विकासन्युजका लागि मञ्जरी पौडेलले गरेको विकास वहस ।

बढ्दैछ महिलाविरुद्धको आर्थिक हिंसा, कात्तिकमा मात्रै ४८ वटा उजुरी

काठमाडौं । चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिइन् । एमबिबिएस सकेर विवाह गरेकी उनको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो, उनको योजना पनि असफल हुदै गयो । उनले पढन् पाइनन् । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै श्रीमानले विभिन्न माग राख्दै घरेलु हिंसा गर्न सुरु गरेको र आफूलाई घरमै सीमित पारेको उनको भनाई छ । ‘सासुले विवाहको पहिलो दिनमै पुत्र भवः भन्दै आशिर्वाद दिएकी थिइन्, त्यसलाई मैले स्वभाविक रुपमा लिएँ’, उनले भनिन्, ‘तर पछि भने उनले छोरा जन्माउन दबाब दिन थालिन्’, महिला आयोगका कर्मचारीसँग उनले भनिन् । केही समयपछि श्रीमानले शारीरिक हिंसा पनि सुरु गरेको आयोगमा दिएको उजुरीमा उल्लेख छ । ‘घरमा काम गर्ने मान्छे हटाएर मलाई काम गर्न लगाइयो, शरीरमा तातो चिया हालिदिने र भर्याङबाट धकेल्नेजस्ता शारीरिक हिंसा हुन थाल्यो’, उजुरीमा भनिएको छ । अहिले उनले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेकी छिन् । उनको जस्तै समस्या दोलखा घर भइ काठमाडौं बस्ने ३४ वर्षे अर्की एक महिलाको पनि छ । उनले अंश नपाएको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी छिन् । श्रीमान र छोरा दुबै बितेपछि परिवारले आर्थिक अधिकारबाट समेत बञ्चित गरेको उनका दुखेसो छ । प्रेम विवाह गरेकी उनले परिवारले सुरुदेखि नै नरुचाएको उनको भनाइ छ । विवाहपछि श्रीमानसँग काठमाडौं आइ आफू सरकारी कार्यालयमा करारमा र श्रीमान व्यापारमा लागेको उनको भनाइ छ । तर सन्तान जन्मिएपछि भने श्रीमानसँगको सम्बन्ध पनि बिग्रदै गएको उनले उल्लेख गरिन् । ‘हाम्रो वैवाहिक सम्बन्धमा तनाव सुरु भयो अनि श्रीमानले आत्महत्या गरे, श्रीमान बितेको केही महिनामा छोरा पनि बित्यो’, उनले भनिन्, ‘श्रीमान र छोरा दुवै गुमाएपछि जीविकोपार्जनका लागि श्रीमानले सञ्चालन गर्ने पसल मलाई दिइएन ।’ पसलमा आफ्नो पनि लगानी रहेको भएपनि पसल अर्कैको नाममा दर्ता भएको हालै मात्रै थाहा पाएको उनको भनाई छ । ‘श्रीमानले बच्चाका लागि १५ लाख रुपैयाँ बचत गरेको बताएका थिए तर उनको मृत्युपछि त्यो रकम बैंकमा थिएन’, उनले भनिन्, ‘अहिले परिवारले श्रीमानले पहिले नै अंशवण्डाका नाममा दुई लाख लिएको र बाँकी अंश छाडेको बताउँदै आएको छ ।’ महिला आयोगको तथ्याङ्कअनुसार गत आवमा घरेलु र महिला हिंसाका एक हजार चार सय ६४ वटा उजुरी दर्ता भएका छन् । आयोगका अनुसार मानसिक हिंसाका एक हजार तीन सय ७४, आर्थिक हिंसाका एक हजार १२, शारीरिक हिंसा सात सय ६९ र यौनजन्य हिंसाका ९३ वटा उजुरी दर्ता भएका छन् । चालु आवको साउन महिनामा मात्रै एक सय ३० वटा हिंसाका घटना उजुरी भएकोमा ७७ वटा उजुरी आर्थिक हिंसाका छन् । भदौमा ९५ वटा हिंसाका घटनामध्ये ६० वटा आर्थिक हिंसाका उजुरी छन् भने असोज महिनामा ६० वटा हिंसाका उजुरीमध्ये ३९ वटा आर्थिक हिंसाका उजुरी छन् । आयोगका अनुसार कात्तिक महिनामा ६२ वटा हिंसाका उजुरीमध्ये आर्थिक हिंसाका उजुरी ४८ वटा छन् । आयोगकी प्रवक्ता चमिला भट्टराई सम्बन्ध विच्छेद गर्दा सम्पत्ति दिनुपर्ने डरले श्रीमान र परिवारले सम्पत्ति लुकाउने गरेको बताउँछिन् । “श्रीमान र परिवारबाट हिंसा भएको गुनासो लिएर आउँछन् । परामर्श गर्दा कुरा नमिलेपछि सम्बन्ध विच्छेदसम्म पुग्छ”, उनले भनिन् । ‘बुहारीमात्रै होइन छोरीलाई पनि सम्पत्ति दिनुपर्ने डरले जन्मदर्ता र नागरिकता नबनाउने परिवार छन्’, उनले भनिन् । कानूनी सहायता र परामर्श केन्द्रकी अनिता न्यौपाने अधिकांश घरेलु हिंसा र महिला हिंसामा आर्थिक पक्ष जोडिएको बताउँछिन् । ‘परिवारमा महिला सदस्यलाई सम्पत्ति नदिन परिवारबाटै हिंसा हुन्छ । छोरी र बुहारीको पहिचान खुल्ने कागजात नबनाइदिनुको कारण पनि आर्थिक अधिकारबाट बञ्चित गराउनु हो’, उनले भनिन् । विवाहित महिला मात्र नभइ ‘लिभिङ टुगेदर’ मा बस्ने महिलाहरु पनि आर्थिक हिंसामा परेका घटना आयोगमा आउने गरेको उनको भनाइ छ । ‘हालै मात्र लिभिङ टुगेदरमा बस्दै आएकी एक जना २७ वर्षे महिला आर्थिक हिंसाको उजुरी लिएर आएकी छिन् । केटासँग विवाह गर्ने सर्तमा संयुक्त लगानीमा व्यवसाय सुरु गरेको तर केटाले ऋण जति उनको नाममा बाँकी राखेर छाडेछ ।’ श्रमशक्ति सर्वेक्षण सन् २०१७/१८ का अनुसार श्रम क्षेत्रमा दुई करोड सात लाख जनसङ्ख्या छ । त्यसमा ५५ दशमलव छ प्रतिशत महिला छन् । साथै, महिलाका नाममा ३३ प्रतिशतको घरजग्गा छ । महिला अधिकारकर्मी रेनु साह कर छुट हुने भएकाले मात्रै महिलाका नाममा घर जग्गा राख्ने चलन बढेको तर भोगचलनमा भने अधिकार निकै कम भएको दाबी गर्छिन् । ‘आर्थिक रुपमा सशक्तिकरण नभएसम्म महिला अधिकारको विषय कोरा कागज जस्तै हो, उजुरी दिन जाँदा न्यायीयक प्रणाली सुस्त, खर्चिलो र झण्झटिलो छ’, उनले भनिन् । लामो समयदेखि महिला अधिकारका विषयमा वकालात गरेकी अधिवक्ता मिरा ढुङगाना भन्छिन् आफूहरु कानून ल्याउन २२ वर्ष लडेको र कानून बनेपछि पनि कार्यान्वयन प्रभावकारी नभएको बताउँछिन् । ‘कानूनमा महिलालाई सम्पत्तिको समान अधिकारको व्यवस्था छ तर सम्पत्तिमा आफनो समान अधिकार हुन्छ भन्ने चेत धेरै महिलामा नै छैन’, उनले भनिन् । आर्थिक हिंसा भनेको के हो ? घरेलु हिंसा कसुर/सजाए ऐन, २०६६ अनुसार आर्थिक यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनु पर्छ । महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाब दिने वा दाइजो नल्याएको कारणबाट गरिने घुणा, हेला वा तिरस्कार समेतलाई जनाउँछ । संविधानको भाग ३ मौलिक हकअन्र्तगत धारा ३८ मा महिलाको हकको व्यवस्था छ । यस्तै मुलुकी देवानी संहिता, २०७४ मा अंशबण्डाको व्यवस्था छ । संविधानले नै पैतृक सम्पत्तिको हकमा लैंङ्गिक भेदभाव गर्न नपाइने, महिलाको पनि समान वंशीय हक लाग्ने सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक रहने व्यवस्था छ ।