काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो १००:९६.५९ को अनुपातमा आएको छ । दुवै बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००:९६.५९ को स्वाप रेसियो आएको हो । बैंकको डीडीए रिपोर्ट पास पनि भइसकेको एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए ।
बैंकको शुक्रबार भएको २५औं वार्षिक साधारणसभामा सेयरधनीका गुनासोलाई सम्बोधन गर्दै उनले डीडीए रिपोर्टमा जति नै स्वाप रेसियो आएपनि दुवै बैंक समान हैसियतमा मर्ज हुने धारणा राखे ।
‘आज बिहान मात्रै डीडीए रिपोर्ट पास भइसकेको छ, डीडीए रिपोर्टमा १००:९६.५९ को स्वाप रेसियो आएको थियो तर हामी समान हैसियतमा मर्ज हुन्छौं,’ उनले कार्यक्रममा भने ।
यस्तै, उनले दुवै बैंकको पुस १७ गतेभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य रहेको बताए । ‘मर्जरमा शाखा कार्यालय सवै ब्यबस्थापन गरेर मात्रै अघि बढ्ने हो, मर्जरमा जाँदाको पीडा छ, मर्जरमा जाँदा केही विषय छोड्नु पर्यो, नाम पनि छोड्नु पर्यो’ उनले भने ।
यस्तै, उनले कुमारी र एनसीसी बैंक मर्जर पश्चात पुँजीको हिसाबले टप ५ मा आउने र लाभांश पनि अहिलेको भन्दा बढी नै वितरण गर्ने धारणा राखे । गत आर्थिक वर्षमा स्प्रेड दर कम भएको बताउँदै यस वर्ष राष्ट्र बैंकको नीति अनुसारको सीमामा ल्याइने उनको भनाइ छ ।
यस्तै, कार्यक्रममा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश अर्यालले बाध्यताको कारण मर्जरमा सामेल हुनु परेको बताए । ‘सबै बैंकहरु आफैमा सक्षम छन्, हाम्रो लागि मर्जर बाध्यता हो,’ उनले भने ।
कार्यक्रममा उनले सेयरधनीको लगानी सुरक्षित गर्न र प्रतिफल दिनको लागि पनि मर्ज भएको बताए । मर्ज गरेपछि बैंकलाई आगामी दिनमा थप उच्च प्रतिफल दिने उनको भनाइ छ ।
बैंकले आज भएको साधारणसभाबाट लाभांश पनि पारित गरेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नाममा सेयरधनीको गुनासो
वार्षिक साधारण सभामा एनसीसी बैंकका अधिकांश सेयरधनीले बैंकको नामको विषयमा प्रश्न गरेका छन् । मर्जरपश्चात् बैंकको नाम कुमारी हुने भएपछि एनसीसी बैंकका सेयरधनीले त्यसमा टीप्पणी गरेका छन् ।
बैंकका सेयरधनी शिव प्रसाद पौडेलले कुमारी र एनसीसी बैंक मर्जर पश्चात् पनि एनसीसी बैंकको नाम हुनु पर्ने धारणा राखे । ‘एनसीसी बैंकसँग हरिसिद्दीको जग्गा, केन्द्रिय कार्यालय रहेको बागबजार र बिरगञ्ज लगायतका ठाउँमा सम्पत्ति छ, बैंकको सम्पत्ति धेरै हुँदा पनि तल परेर मर्जर गर्नुहुन्न, एनसीसी बैंकको नाम मेटिए मर्जर भाडिन सक्छ,’ उनले भने ।
२५ वर्ष लामो इतिहास बोकेको एनसीसी बैंकको नाम नै नरहने भएपछि आफ्नो पहिचान नै गुमाएको महसुस भएको उनको गुनासो छ । उनले मर्जरपश्चात् कुमारी एनसीसी बैंक नाम राख्न सुझाव दिए ।
सेयरधनी इन्द्र कृष्ण श्रेष्ठले बाहिर हेर्दा राम्रो बैंक भनिएपनि भित्र भित्रै खोक्रो धारणा राखे । लाभांश वितरण गर्दा नगद र बोनस सेयर बराबर गरेको भए राम्रो हुने उनको भनाइ छ ।
0
सेयरधनी दिपक रत्न शाक्यले नेप्सेमा सूचीकृत गरेर नम्बर वान बैंक बन्न सुझाव दिए । यसअघि भएका मर्जरमा प्रिय र अप्रिय अनुभव हासिल गरेको बताउँदै उनले विगतका ४ वटा बैंक मर्जबाट खासै उपलब्धि नभएको अनुभव सुनाए ।
सेयरधनी गुणराज भट्टले रास्ट्र बैंकले जथाभावी लाइसेन्स बाँडेर संख्या बढाएको र अहिले मर्जरमा दबाब दिएको बताए । उनले बैंकलाई बाध्यता भएमात्रै मर्ज गर्न आग्रह गरे । बैंकले कर्जा दिएर उठाउन नसकेको उनले बताए । ‘गत वर्षभन्दा निष्क्रीय कर्जा बढेको छ, बैंकले कर्जा दिएर उठाउन सकेन, यदि कर्जा दिएर नउठाउने हो भने म पनि कर्जा लिन आउछु,’ उनले भने ।
मर्जरपश्चात् कस्तो बन्ला बैंक ?
अध्यक्ष न्यौपानेले मर्जरपश्चात् बैंकलाई ‘टप फाइभ’ बैंकको रुपमा चिनाउने दावी गरेका छन् । दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।
दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ र कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।
यस्तै, एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ र कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।