विकासन्युज

रुपन्देही सीमामा सुरक्षा कडा

बुटवल । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् । सीमामै भेटिनुभएका रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केहीबेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताए । सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ । ती ट्रकलाई भारतको समन्वयमा भारत पु¥याउने तयारी भइरहेको छ । शुक्रबार र शनिबार केही छुट रहे पनि मतदानको दिन भने पूर्णरूपमा आवागमन ठप्प बनाउने श्रेष्ठले बताए । ‘भारतीय गाडी नेपालमा राख्दा सुरक्षा चुनौती त हुन्छ नै उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ’, श्रेष्ठले भने, ‘भारतीय सुरक्षा निकायको समन्वयमा यिनीहरूलाई पठाउने व्यवस्था हुन्छ ।’ नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन् । भारत महाराजगञ्जका सहायक डिस्ट्रिक्ट मजिष्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्णरूपमा सहयोग र समन्वय रहने बताए । रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ । मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई लिएर रुपन्देहीका विभिन्न मतदान केन्द्रको निर्माण तीव्र बनाइएको छ । रुपन्देहीका सात सय दुई मतदान केन्द्रमा आठ कर्मचारीका दरले बिहीबारदेखि नै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ । मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रबार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताए ।

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

बाग्लुङ । ‘गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।’ सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन् । गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपालि गाउँमा मतदान गर्न गएनन् । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउँछन् । ‘मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ’, पगरीले भने, ‘त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।’ काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराखेका छन् । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिएका मगर बाध्यताले बागलुङसम्म आएको बताउँछन् । ‘म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भने, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ’, मगरले भने, ‘विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?’ मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताए। चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उनी बताउँछन् । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गरे । ‘म अघिल्लो निर्वाचनमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्ल भएँ, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई रु’, उनले भने, ‘भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनुपरेको हो ।’ रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आएका छन् । उनले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताए । उनी गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउँछन् । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ । खत्रीले भने, ‘हामी रहरले आएका होइनौँ, बाध्यताले आएका हौँ, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्नँ, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।’ गाउँबाट दैनिक दर्जन बढी युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उनको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताए। उनले भने, ‘नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनसकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला–ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन । लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोट

दोधारा-चाँदनी । वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो । बन्द प्रशिक्षणमा कञ्चनपुरका हेमन्त धामी, मिलन बोहरा, अनुराग सिंह, राहुल चन्द, आकाश चन्द, डडेल्धुराका दीपक बोहरा, विशाल ऐर, कैलाश ऐर, सचिन साउद, बैतडीका दीपक बोहरा, गजेन्द्र बोहरा, प्रदीप चन्द, सुनिल चन्द, दार्चुलाका विपिन धामी, वीरेन बम, कैलालीका टेक रावत, दिनेश ओड, नरेन साउद, डोटीका किष्ण ऐर, अछामका युवराज खत्री र बझाङका सन्जे बोहरा छन् । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष चन्दले शुक्रबारदेखि खेलाडी बन्द प्रशिक्षणमा रहेको बताए । ‘प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ’, उनले भने, उक्त टोलीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।” नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ८ गतेदेखि काठमाडौँमा वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ पक्राउ

काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

अत्याधिक चिसोका कारण ग्यास नबल्दा मनाङ गएका निर्वाचनका कर्मचारीलाई सकस

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । ‘खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला’, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भने, ‘आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।’ उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताए । ‘यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,’ रेग्मीले भने । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताए । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उनले बताए । ‘यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उनीहरु पुगेका छन् । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,’ उनले भने । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उनले बताए । निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको छ सय पाउँछन् । ‘एक गिलास तातोपानीको एक सय पर्छ । सुगममा छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,’ उनले भने । मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् । फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर ) मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् । रासस

‘मर्जरपछि लाभांशमा ‘नम्बर वान’ बैंक बन्ने लक्ष्य छ, अध्यक्षमा पनि दावी गर्छु’

साधारणसभा भनेको कमी कमजोरी थाहा पाउने र त्यसलाई सच्याउने थलो हो । साधारणसभा सेयरधनीहरुको नितान्त सार्वभौम स्थल हो । सेयरधनीहरुले देख्नुभएका गतिविधिहरुलाई प्रस्ट रुपमा राख्न पाउनु हुन्छ । सबैले सुझाव पनि दिनु भएको छ । ती सुझावहरुलाई मनन् गर्दै कार्यान्वयन गर्न तर्फ अग्रसर हुनछौं । म फरक बिद्याबाट बैंकिङ क्षेत्रमा आएको हुँ । सायद पूर्व जन्मको बरदान वा सराप हुन सक्छ, एनसीसी बैंकको अध्यक्षका रुपमा भूमिका निर्वाह गर्ने । तर, मैले यसलाई बरदानको रुपमा लिएको छुँ । मेरो जीवनलाई सार्थक बनाउन यसले ठूलो भूमिका निर्वाह गरेको छ । यो अवसर दिनु भएकोमा सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । सबै सेयरधनीहरुको जिज्ञासा आफ्नो लगानीको सुरक्षा र प्रतिफल कस्तो आउँछ भन्ने विषयमा नै केन्द्रित छन् । भोलिका दिनमा यो सम्पत्ति कति सुरक्षित रहन्छ र यसले कति नाफा दिन सक्छ भन्ने धारणा नै सेयरधनीहरुले राख्नु भएको छ । यो विषय स्वभाविक रुपमा उठ्नु पर्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आगामी दिनका गतिविधिहरु सफल बनाउन सरल तरिकाले अगाडि बढाउने प्रयास हुनेछ । अहिले गत आर्थिक वर्षको साधारण सभामा समीक्षा भएको हो । गत वर्षमा एनसीसी बैंकको स्प्रेडदर कम भएको स्वभाविक हो । त्यसले गर्दा केही हदसम्म नाफामा हिट गरेको हो । यसमा हाम्रो ध्यान केन्द्रिकृत भएको छ । यस वर्ष एनसीसी बैंकको स्प्रेडदर राष्ट्र बैंकले तोकिएको सीमा ४.४ रेसियोको नजिक पुग्छ । जसले नाफालाई योगदान गर्नेछ । निश्चित रुपमा एनसीसी बैंकको केही सम्पत्ति नन बैंकिङ एसेट (एनबिए)को रुपमा छ । त्यसलाई डिस्पोजल गर्न केही नीतिगत प्रक्रियामार्फत् तत्काल सम्भव नभएका कारण बाँकी छ । नन प्रफर्मेन्स एसेटहरु एनबिएको रुपमा रहेको छ । अरु पनि आइरहेको देखिन्छ । यी दुवै विषयलाई ध्यानमा राखिएको छ । नीतिगत रुपमा गर्नुपर्ने कामहरु अन्तिम प्रक्रियामा छन् । त्यो सफल भएपछि डिस्पोजल गर्ने अर्काे प्रयास पुरा हुनेछ । नन प्रफमेन्स एसेटलाई कम गर्न अहिलेको विषम परिस्थितीले हिट गरिरहेको छ । बैंकको खर्च पनि कम गर्ने योजना छ । बैंकको केन्द्रिय कार्यालय बनाउनका लागि खर्च भएको छ । राष्ट्र बैंकले मर्जरलाई कडाइका रुपमा अगाडि नल्याएको भए मर्जर प्रक्रिया हुँदैनथ्यो । एनसीसी बैंकले पार्टनर खोज्नका लागि धेरै बैंकसँग कुरा पनि गरेको हो । मर्जरका लागि पार्टनर नभेटिएपछि केन्द्रिय कार्यालयको स्पेस चाहियो भनेर अघि बढेको हो । थापाथलीमा रहेको रोटरी क्लबको भवनलाई केन्द्रिय कार्यालयको लागि ३ वटा फ्लोर लिने भनेर सम्झौता भएको थियो । यही बीचमा नेपाल राष्ट्र बैंकले मर्जरको नीतिलाई कडाइ गर्याे । त्यसपछि एनसीसी बैंकले पनि मर्जर प्रक्रिया अघि बढायो । यो अवसरलाई एनसीसी बैंकले पनि लिनुपर्छ भन्ने भयो । कुमारी बैंकसँग सम्झौता भयो । मर्जरमा गएपछि त्यो भवनलाई रद्द गरेको हो । त्यसको लागि केही शुल्क तिर्नु पर्यो । मर्जर नहुँदा आवश्यक थियो । मर्जर भएपछि त्यसलाई रद्द गरियो । पहिला सिलोन बैंक थियो । पछि एनसीसी बैंकको रुपमा आयो । एनसीसी बैंकले २०७२/७३ सालमा ४ वटा विकास बैंकहरुलाई मर्ज गरेको थियो । त्यसबेलामा नयाँ बैंकको नाम के हुन सक्छ भन्ने सन्दर्भमा एनसीसी बैंकका सेयरधनीहरुले कुमारी बैंकको नामलाई समर्थन गरेको थियो । यही साधारण सभामा उपस्थित हुनु भएका साथीहरु पनि त्यो बेलाको साधारण सभामा उपस्थित हुनुहुन्थ्यो । त्यो उपस्थित भएको साधारण सभामा कुमारी बैंकलाई एनसीसी बैंकका सेयरधनीहरुले स्वीकार गरेको थियो । यसपटक पनि एउटा नामको बारेमा बसेर छलफल गर्ने भनिएको थियो । कि कुमारी बैंक कि एनसीसी बैंक हुनुपर्छ भन्ने हामीहरुको प्रयास थियो । एनसीसी बैंक हुनुपर्छ र कुमारी बैंक हुनुपर्छ भनेर दुवै बैंकका सञ्चालकबीच बादविवाद पनि भयो । कुमारी बैंकका सञ्चालकहरु नामको विषयमा कम्प्रमाइज हुने अवस्था थिएन । एनसीसी नाम नछोड्दा मर्जरमा जाने अवस्था थिएन । एनसीसी बैंक राख्नु पर्छ भनेर प्रयास गरेको हो । तर, उहाँहरु नाममा कम्प्रमाइज हुनु भएन । मर्जरलाई निकास निकाल्नु पर्ने र मर्जर आवश्यकता भएकाले नाम छोड्नु परेको हो । राष्ट्र बैंकबाट मर्जको विषयमा एक हदसम्म सुझाव आएको थियो । जुन सुझावलाई इग्नोर गर्न सक्ने अवस्था पनि थिएन । एनसीसी बैंकलाई यस्तो परिस्थिती आएको थियो । मर्ज गर्दा कुमारी बैंकको नाममा सहमति ब्यक्त गरिएको हो हो । यसको मतलब नाम छोडेर अन्य कुरा लिन खोजेको भन्ने होइन । अध्यक्षमा एनसीसी बैंकको पनि दावी छ । दुवै बैंकको सञ्चालकको सहमतिबाट अध्यक्ष चयन गर्ने सहमति भएको छ । सञ्चालकमा ३/३ जना हुनेछ । मर्जर पश्चात् सञ्चालकमा को जाने भनेर बोर्डले निर्णय गर्नेछ । तर, हालसम्म को जाने भनेर एकिन भएको छैन । मर्जरपश्चात् अध्यक्षको चयन गरिनेछ । एनसीसी बैंक फलानो बैंकसँग मर्ज हुन खोज्यो तर हुन सकेन भनेर बाहिर चर्चा हुँदा ‘लिगल इन्स्यू’ बन्न सक्ने भयो । त्यसैले आन्तरिक रुपमा मर्जर प्रक्रियामा अभ्यास गरिएको थियो । यस पटक सेयरधनीहरुसित यो बैंकसँग यतिमा मर्जर हुँदैछ भन्ने कुरा नगरेको यहि कारण हो । तर, जसले चासो राखेर सोध्नु भएको थियो, सम्भावित बैंक यी हुन् भनेका थियौं । किनभने सबै बैंकसँग प्रयास गरेका थियौं । जो मर्जरका लागि कुरिरहेका थिए तर हामीसँग कति ‘विलीङ’ राख्दथे भन्ने हो । मर्जर गर्न उनीहरु तयार थिए तर एनसीसीसँग होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । एनसीसी बैंकको मर्जर कमिटिसँग वान टू वान वार्ता गर्न सबै बैंकले आफैले ढोका ढकढक्याएका थिए । सबैसँग ढोका ढकढक्याउँदै जाँदा पाएको पार्टनर कुमारी बैंक हो । मर्जरपछि पनि एनसीसी बैंकले सीईओ रहनेछन् । एनसीसी बैंकको स्वामित्व, अपनत्व नरहने हो की भन्ने कुरा नसोचे पनि हुन्छ । किनभने सेयरधेनीको सेयर हैसियत स्वाप रेसियो १ः१ अनुपात नै हो । कसैलाई पनि आर्थिक रुपमा फाइनल नाफाको रुपमा तात्विक असर पर्ने छैन । यो विषयमा पनि ध्यान दिएको छ । किनभने धेरै डाउन साइजको स्वाप रेसियोमा मर्जरमा जान नसक्ने धेरै साथीहरुको भावनाबाट बुझिएको थियो । डीडीए रिपोर्ट आइसकेको छ । डीडीएपछि मर्जर कमिटिले स्वाप रेसियो १ः१ अनुपात पास गरिसकेको छ । एनसीसी बैंकको बोर्ड बैठकले डीडीए रिपोर्टलाई बन्द गरिसकेको छ । डीडीए रिपोर्टमा कुमारी बैंकको १ सय आएको थियो भने एनसीसी बैंकको ९६.५९ आएको थियो । तर, यसलाई १ः१ अुनपातमा मर्जर हुने भनेर मर्जर कमिटिले पारित गरिसकेको छ । मर्जरमा जाँदा केही ठाउँमा शाखा कार्यालय बन्द गर्नु पर्नेछ । महानगरपालिका र ठूलो मार्केट भएको स्थानमा शाखा पुनःस्थानान्तरण गर्ने योजना छ । यसो गर्दा एनसीसी बैंकका २०/२२ वटा शाखा बाहेकअरु शाखा कायम रहन्छन् । यसले गर्दा विजनेशमा कुनै असर गर्दैन । विजनेशलाई हेरेर नै उपयुक्त ठाउँमा शाखा ब्यवस्थापन गरिएको हो । मर्जरमा जाँदा पीडा छ । कही न कही साथीहरुको भावनात्मक रुपमा जोडिएको विषय बुझेको छु । केही कुराहरुको प्यार्टन परिवर्तन हुन्छ । रुट खोज्दा त्यो रुट कहिल्यै बिर्सिदैन पनि । आजको दिनमा गर्व गर्ने हो । २७ वटा वाणिज्य बैंकबाट मर्ज हुँदै २०/२१ वटा हुन्छन् । त्यसबेला कहाँनेर छौं भनेर हेर्ने हो । टप फाइभ भित्र पर्याै भने गर्व महसुस हुन्छ । तर एक्लै भएर अन्तिम नम्बर भयो भने गर्व गर्ने कुरा हुँदैन । बजारले निर्धारण गर्ने विषयलाई बजारलाई छोड्नुपर्छ । मर्जरपछि पूँजीमा टप फाइभमा भित्र हुन्छ । मर्जर प्रक्रियामा रहेका बैंकहरुमध्ये मर्जर पछि टप फाइभमा हुनेछ । मर्जरपछि पनि लाभांश वितरणमा टप फाइभ भित्र हुनुपर्छ । यो भन्दा कम हुनुहुँदैन । नम्बर वाने बन्ने प्रयास गर्ने हो । यो लक्ष रोखेका छौं । अर्काे वर्ष सेयरधनीहरुको हातमा यो वर्षको भन्दा धेरै लाभांश पर्नेछ भन्ने निश्चित गराउँछु । सेयरधनीहरुको लगानी पूर्ण रुपमा सुरक्षित रहनेछ । सँगसँगै कर्मचारीले खाइपाइ आएको सुविधामा कमी हुने छैन । कर्मचारीको सेवा सुविधाको ग्यारेन्टी छ । (एनसीसी बैंकका अध्यक्ष न्यौपानेले शुक्रबार बैंकको २५औं वार्षिक साधारण सभामा राखेको विचार )

रवि सिंह ईफाप्काको अध्यक्षमा चयन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन ९ईफाप्का० को अध्यक्षमा चयन भएका छन् ।माल्दिभ्स्को राजधानीमा मालेमा शुक्राबार सम्पन्न ईफाप्काको ४५ औं सम्मेलनले सिंहलाई अध्यक्षमा चयन गरेको हो । ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । वणानुक्रम अनुसार ईफाप्काका सदस्य राष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलन अनुसार माल्दिभ्स्पछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए । मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका हुन् । अध्यक्ष सिंह सहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । सपथपछिको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले ईफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता जनाए । ईफाप्काका नयाँ महासचिव इन्जिनियर विरेन्द्रराज पाण्डेले ४६ औं ईफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडौंमा आयोजना गरिने जानकारी दिए । सोही अवसरमा पाँचौ पटक ईफाप्का सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा महासंघ अध्यक्ष रवि सिंह सहित निर्माण व्यवसायीहरू शिव चौलागाई, कृष्ण गौतम, निर्मल सिटौला र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका छन् । यसैबीच ईफाप्काका नवनियुक्त अध्यक्ष रवि सिंहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बोर्ड बैठकले ईफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६ औं ईफाप्का सम्मेलन सोही वर्षको नोभेम्बर तेस्रो साता काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । ईफाप्कामा हाल एशिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आवद्ध छन् ।

काठमाडौंमा जताततै देखिन थाले ‘टु लेट’का पोष्टर (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय जताततै टु(लेटको पोस्टरहरु देखिन थालेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु पछिल्लो समय बढी देखिन थालेका हुन् । अहिले ललितपुरको कुपन्डोलमा जताततै ‘टु लेट’ लेखिएका पोष्टरहरु भेटिन्छन् । विगतमा व्यवसायिक प्रयोजनका लागि भन्दै सटर नपाइने कुपन्डोलमा अहिले भने जताततै सटरहरु खाली भेटिन्छन् । यस्तै, बानेश्वर क्षेत्रमा पनि टु-लेटका पोस्टरहरु धेरै नै देखिएको छ ।