विकासन्युज

ओरेन्टल सहकारीद्वारा बचतकर्ताको १० अर्ब ८३ करोड हिनामिना

काठमाडौं । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को९अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । समितिले सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी १० अर्बभन्दा माथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । २०७४ सालमा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेन्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो । सरकारले समस्याग्रस्त घोषणा गरेपछि एउटा पत्रमात्र पठाएर अन्य कागजात नदिँदा बचतकर्ताको पैसा फिर्ताका लागि प्रमाण जुटाउन समस्या भएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले बताए। ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेपछि सात हजार ६ सय ४६ जनाले पैसा डुबेको भन्दै माग दाबी गरेको पनि उनको भनाइ छ । ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशबमोजिम सहकारीका सञ्चालकले समस्या समाधान गर्नेतर्फ ध्यान नदिएपछि सहकारी मन्त्री शशी श्रेष्ठले २०७९ साल असोज ७ गते मन्त्रिस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेकी हुन् । सरकारले दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि ओरेन्टलका पूर्व अध्यक्ष सुधीर बस्नेतलाई बोलाएर समितिले छलफल गरेको थियो । ‘छलफलमा बस्नेतले समस्याग्रस्त घोषणा भएका हिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि हाम्रै भनेका छन्’, समितिका कार्यालय प्रमुख पौडेलले भने । ओरेन्टलका नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, काठमाडौँ, विराटनगर, इटहरी, भक्तपुर र ललितपुरमा गरी नौवटा शाखा कार्यालय स्थापना गरी बचत सङ्कलन गरेको भेटिएको समितिको कार्यालयले जनाएको छ । सरकारले हालसम्म १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को९अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को९अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज को९अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् । यसैगरी प्यासिफक सेभिङ एन्ड इन्भेष्टमेन्ट को९अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को९अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको व्यवस्थापन कार्यालयले नै गर्दै आएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहेका कार्यालय प्रमख पौडेलले दिए। ओरेन्टलबाहेक अन्य समस्याग्रस्त सहकारीका धेरैजसो बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । बाँकीलाई पनि छिटो बचत फिर्ता गर्न कानूनबमोजिम कारबाहीको चरणमा प्रवेश गर्न बाध्य भएको उनले बताए । समस्याग्रस्त सहकारीमा पैसा फस्नेमा धेरैजसो सेवा निवृत्त कर्मचारी रहेको समितिका शाखा अधिकृत तेजनाथ पोखरेलले बताए । सहकारीको उद्देश्य सदस्य भएर नै कारोबार गर्ने भए पनि पसलमा समेत बचत सङ्कलन गर्ने गर्दा पनि समस्या आउने गरेको उनको भनाइ छ । पसलबाट बचत गर्नेले त्यो सहकारीका विषयमा थप जानकारी पनि नलिने गरेकाले फस्ने गरेका छन् । सहकारीको सिद्धान्त सदस्य नियन्त्रित प्रणाली भए पनि केही व्यक्तिको सक्रियतामा मात्र यसका गतिविधि चल्दा पैसा फस्ने गरेको छ । एउटै पुँजीपतिले पैसा हालेर अरूको बचतमात्र सङ्कलन गर्ने र पैसा जम्मा पारेर हिँड्ने गरेको समितिले फेला पारेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्ने बुझाउनुपर्ने ऋण र दायित्वको साँवाब्याज बुझाउन कात्तिक २१ गते १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने सूचना सार्वजनिक गरिएको कार्यालय प्रमुख पौडेलले राससलाई जानकारी दिए । तिर्नुपर्ने साँवाब्याज १५ दिनभित्र नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानूनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ ।

लगानी टिप्स : फिक्स्ड डिपोजिट योजनामा लगानी गर्दा हुनसक्छ फाइदा

एजेन्सी । फिक्स डिपोजिट : अहिले ठूलो संख्याका मानिसहरुले फिक्स डिपोजिटमा लगानी गर्न मन पराउँछन् । यसमा लगानी गर्नुको सबैभन्दा ठूलो फाइदा यो हो कि यो बजार जोखिम हुँदैन् । फिक्स डिपोजिट लगानीका लागि सुझावहरू  : आज पनि यहाँ धेरै ज्येष्ठ नागरिकहरू छन्, जसले आफ्नो जागिरबाट सेवा निवृत्त हुँदाको अधिाकांश पैसा फिक्स डिपोजिटमा मात्रै लगानी गरेका छन् । यो एक ग्यारेन्टी फिर्ता योजना हो, जसमा आजकल धेरै राम्रो ब्याज पनि प्राप्त भइरहेको छ। यदि तपाईं पनि बैंकमा एफडी गर्ने सोचमा हुनुहुन्छ भने तपाईंलाई यसबाट प्राप्त हुने विषयमा जानकारी प्राप्त गर्दा राम्रो हुन्छ । लगानीकर्ताले बैंक एफडीमार्फत ऋण सुविधा पाउँछन्। बैंकहरुले ऋण लगानी गर्नुभन्दा अगाडि त्यसको लागि ग्यारेन्टी माग्ने गर्छ । यस्तो अवस्थामा तपाईंले आफ्नो फिक्स डिपोजिटलाई ग्यारेन्टीको लागि प्रयोग गर्न सक्नुहुन्छ । धेरै बैंकहरूले ग्राहकहरूलाई आफूतर्फ आकर्षित गर्न फिक्स डिपोजिट स्किममा ​​जीवन बीमा कभरको सुविधा पनि उपलब्ध गराउने गरेका छन् । यो सुविधा लिनको लागि तपाईंले केही थप सर्तहरू भने पूरा गर्नुपर्ने हुन्छ। यो योजनाको सबैभन्दा राम्रो कुरा यो हो कि यसमा गरिएको लगानीको बजार जोखिमसँग लेनदेन हुँदैन र लगानीकर्ताले एफडी स्किमको समय पुरा हुँदा आफ्नो पूरा रकम प्राप्त गर्दछन् ।

अब च्याउबाट कम्प्युटर चिप बनाइने : इलेक्ट्रोनिक उपकरणमा प्लास्टिक बदल्ने तयारी

एजेन्सी । विश्वभर प्लास्टिकजन्य फोहोरको समस्या बढ्दै गएको छ । योसँगै विद्युतीय फोहोर पनि बढ्दै गएको छ । दुवै एकअर्कासँग सम्बन्धित छन्। धेरै इलेक्ट्रोनिक उपकरणहरूमा प्रयोग हुने कम्प्यूटर चिप्स र ब्याट्रीहरूमा प्लास्टिक प्रयोग गरिन्छ जुन पुनः प्रयोग गर्न सकिँदैन। तर अब वैज्ञानिकहरूले यो प्लास्टिकलाई बायोडिग्रेडेबल सामग्रीले प्रतिस्थापन गर्ने तरिका पत्ता लगाएका छन्। साइन्स एडभान्स जर्नलमा प्रकाशित नयाँ अनुसन्धानमा अस्ट्रियाको जोहानेस केप्लर विश्वविद्यालयका वैज्ञानिकहरूले च्याउको छालाबाट इलेक्ट्रोनिक सब्सट्रेट बनाएका छन्। सर्किटको आधार तहलाई सब्सट्रेट भनिन्छ। यसले बिजुली हस्तान्तरण गर्ने धातुहरूलाई चिसो र इन्सुलेट गर्दछ। विशेष च्याउबाट बनेको सर्किटको आधार गानोडर्मा ल्युसिडम च्याउ युरोप र पूर्वी एसियामा सडेका रूखहरूमा उम्रने फङ्गसको एक प्रकार हो। अध्ययनमा संलग्न अन्वेषक डोरिस ड्यानिङ्गर र रोल्यान्ड प्राकनरले पत्ता लगाए कि यो च्याउले यसको सुरक्षित वृद्धिको लागि जरा जस्तो नेटवर्क माइसेलियमबाट बनेको छाला बनाउँछ। वैज्ञानिकहरू प्लास्टिकको सट्टा यो छाला सुकाएर प्रयोग गर्न चाहन्थे। अनुसन्धानमा च्याउको छाला निकालेर सुकाइएको थियो । अनुसन्धानकर्ताहरूले यो लचिलो र राम्रो इन्सुलेटर भएको देखे। यसले विद्युतीय सर्किटहरूमा पनि राम्रोसँग काम गर्छ र सजिलैसँग २०० डिग्री सेल्सियससम्म तापक्रम सहन सक्छ। कम सञ्चालनमा आउने डिभाइसहरुमा प्रयोग गरिने रुखको च्याउ कम्प्युटर चिप्स बनाउन उपयोगी हुने वैज्ञानिकहरूले बताएका छन्, जुन पूर्ण रूपमा खेर जान्छन्। हाल यसबाट बनेको सर्किटहरू यस्ता इलेक्ट्रोनिक उपकरणहरूमा जडान गर्न सकिन्छ, जुन लामो समयसम्म निरन्तर चलाईंदैन। यसमा पहिरन मिल्ने सेन्सर र रेडियो ट्यागहरू समावेश गरिएको छ । च्याउको बाहिरी भागको कारण यसलाई पुनः प्रयोगमा पनि ल्याउन सकिन्छ ।

अण्डर–१९ राष्ट्रिय क्रिकेट खेलका लागि गण्डकीको टोली घोषणा

पोखरा । राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाएका छन् भने उपकप्तान दीपक डुम्रे रहेका छन्। टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल रहेका छन्। यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सुगन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने छन्। गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए । गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।

ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

नेपालगञ्ज । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए। उनका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन । तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिए। त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको हो । दोस्रोपटक आह्वान गरिएको टेण्डरमा तारा एयरले ढुवानी गर्न पाउने ठेक्का परेको तर सम्झौता गर्न आएको छैन । सम्झौताका लागि यही मङ्सिर २० गतेसम्मको समय तोकिएको छ । ‘हामीले उहाँहरूलाई चाँडोभन्दा चाँडो सम्झौताका लागि आउन भनिरहेका छौँ’, लामिछानेले भने, ‘हवाई कम्पनीहरूले पछिल्लो समय इन्धनको मूल्य बढेको तर सरकारले ढुवानीका लागि मूल्य नबढाएकोले बढी मूल्य कबोल गरेर बोलपत्र हालेका थिए ।’ सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने एलबी सप्लायर्स हुम्लाले पाएको छ । तर, सडक मार्ग बिग्रेको भन्दै सप्लायर्सले अझै ढुवानी गरेको छैन । केही महिनाअघि भएको वर्षाले विभिन्न स्थानमा सडक बिग्रिएकाले ढुवानीमा समस्या भएको कम्पनीले जनाएको छ । कार्यालयले निर्वाचनपछि ढुवानी हुने विश्वास लिएको छ ।

असिना नपरेपछि तनहुँमा सुन्तला उत्पादन बढ्यो

तनहुँ । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ’, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।’ उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उहाँ बताउँछन् । ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ’, तिवारीले भने । गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका स्थानमा निर्यात गरिन्छ । सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनी बताउँछन् । व्यास नगरपालिका–१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताउनुभयो । सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनी बताउँछन् । ‘बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ’, किसान रानाले भने। विगतको तुलनामा किसान सचेत भएको उनी बताउँछन् । ‘पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पु¥याउनुपर्छ भन्ने बुझ्दै आएका छन्,’ उनले भने। त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गर्नुभएको छ । यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष चार÷पाँच लाख आम्दानीलाई बढाएर रु सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनी बताउँछन् । । त्यसैगरी देवघाट गाउँपालिका–३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताए । ‘पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ । अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्’, उनले भने । म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारी बताउँछन् । ‘हामीले जिल्लामा समग्र उत्पादन वृद्धि भएको छ भन्ने कृषि ज्ञान केन्द्रमार्फत सूचना पाएका छौँ । तर म्याग्दे गाउँपालिका–४ उमाचोकमा सुन्तला उत्पादन खस्किएको छ’, अधिकारीले भने, ‘कृषि ज्ञान केन्द्रको सहयोगमा अध्ययन गरी सुन्तलाको बोटविरुवालाई उचित तत्त्व पु¥याउन समन्वय गरिरहेका छौँ ।’ तनहुँका सुन्तला पकेट क्षेत्रमध्ये अधिकांश स्थानमा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रको अनुमान छ । अनुगमन र अध्ययनका क्रममा केही स्थानमा भने सुन्तला उत्पादन खस्किएको पाइएको केन्द्रले जनाएको छ । किसान सचेत विगतमा सुन्तला खेती निर्वाहमुखी भएर चलेको थियो । तर हाल किसान सचेत बन्दै गएका छन् । राम्रो उत्पादनका लागि किसानले सुन्तलाका बोटविरुवालाई खाद्यतत्त्व पु¥याउनुपर्ने कुरामा सचेत भएको कृषक जगतबहादुर महत बताउँछन् । मल, जल र खाद्यतत्त्व नै नराखी उत्पादन हुने निर्वाहमुखी खेती मानिएको थियो । अहिले व्यापारिक तवरबाट उत्पादन वृद्धिका लागि मलजल, खाद्यतत्त्व, स्याहारसुसारलगायतलाई प्राथमिकता दिने गरेको पाइएको महत बताउँछन् । ‘पहिले एक डोको मलसमेत हालिन्थिएन । अहिले चेतनास्तर वृद्धि भएर सुन्तलाको बोटमा एक डोको ठाउँमा दुई डोको प्राङ्गारिक मल हाल्छन् । दुई डोको हाल्ने गरेकोमा चार पु¥याएका छन् । सुन्तलाको उचित समयमा पोशकतत्त्व हाल्ने गरेका छन् । यसले गर्दा उत्पादन वृद्धि हुँदै गएको हो’, उनले भने। ब्लकबाट नै आएको बिरुवा लगाउनु, विरुवालाई पनि मानिसलाई जस्तै हेरचाह र उपयुक्त समयमा खाद्यतत्त्व र भिटामिन हालिएकाले सुन्तला उत्पादन वृद्धि भएको किसान बताउँछन् । मानिसले बालबालिकालाई हुर्काउँदा गरेको हेरचाहजस्तै खेतीबालीलाई पनि हेरचाह गर्न सक्नुपर्ने उनीहरुको भनाइ छ ।

सिन्धुपाल्चोकमा बनाइएका एक कोठे नमूना माझी बस्तीका घर प्रयोगविहीन

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए। बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए। तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए । उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् । तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए । उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाखसम्म ऋण लागेको उनले बताए । दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।

नेपाल टेलिकमबाट विश्वकप प्याकेज खरिद गर्दा १२ जिबी डाटा निःशुल्क पाइने

काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि वल्र्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि तोकिएको फिफा वल्र्ड कप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निःशुल्क उपलब्ध गराइने छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।