सोच भएकाहरुलाई उद्योगी बनाउँदै आइडिया स्टुडियो, बैंकबाट ऋण पाउन पनि सहज

<p>काठमाडौं । नेपाली समाजमा धेरै प्रकारका संस्थाहरु सक्रिय छन् । ती संस्थाहरुले स्वास्थ्य, लैंगिक, वातावरण, सामाजिक, लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । पछिल्लो समयम आम युवाहरुमा लोकप्रिय हुँदै गएको यस्तो संस्था छ, जसले मानिसमा भएको सोचलाई आकार दिएर उद्यममा परिणत गर्नको लागि सहजीकरण र सहयोग गर्ने गर्छ । सन् २००६ देखि २०१३ मा इङ्ल्यान्डको नर्थुम्ब्रिया [&hellip;]</p>

काठमाडौं । नेपाली समाजमा धेरै प्रकारका संस्थाहरु सक्रिय छन् । ती संस्थाहरुले स्वास्थ्य, लैंगिक, वातावरण, सामाजिक, लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । पछिल्लो समयम आम युवाहरुमा लोकप्रिय हुँदै गएको यस्तो संस्था छ, जसले मानिसमा भएको सोचलाई आकार दिएर उद्यममा परिणत गर्नको लागि सहजीकरण र सहयोग गर्ने गर्छ ।

सन् २००६ देखि २०१३ मा इङ्ल्यान्डको नर्थुम्ब्रिया युनिभर्सिटीबाट टेलिमेडिसिन विषयमा पिएचडि सकेपछि डा. छिरिङ लामा नेपालमा केही नयाँ गर्नुपर्छ भनेर नेपाल फर्के । विभिन्न भूगोलमा छरिएर रहेका नेपालीहरुले नियमित रुपमा श्रम गर्ने गरेको तर सो श्रमलाई व्यवसायिक र उद्यमी नबनाउँदा जीवनस्तर सुधार हुन नसकेको देखेपछि डा. छिरिङले सो विषयलाई एउटा संस्थामार्फत् पैरवी गर्ने सोच बनाए ।

‘हामीले देखिरहेका छौं, सबैले आ–आफ्नो काम गरिरहेका छन्, तर उनीहरुको काम व्यवसायिक वा उद्यमी प्रकारको छैन, मैले त्यहीँनेर कसरी उनीहरुको काममा भ्यालु एड गर्न सकिन्छ भनेर सोचेँ’, डा. छिरिङले आफ्नो तत्कालीन सोचलाई सम्झिन्छन् । त्यसको लागि सोच साझा भएकाहरुको एउटा समूह बन्यो र सोही समूहले सन् २०१४ मा ‘आइडिया स्टुडियो’ नामको गैरनाफामुलक कम्पनीको स्थापना गर्यो । अहिले डा. छिरिङको नेतृत्वमा ६ जनाको बोर्ड समूहले स्टुडियोलाई नेतृत्व प्रदान गरिरहेको छ ।

सोचहरुको इन्कुवेसन केन्द्र ‘आइडिया स्टुडियो’

आइडिया स्टुडियो ‘सोचदेखि उद्योगसम्म’ भन्ने विषयलाई मुलमन्त्र बनाएर स्थापना गरिएको थियो । सोही अनुरुपको उद्देश्यमा स्टुडियोले झण्डै १ दशकको यात्रा पूरा गर्न लागेको छ । स्टुडियोको तथ्यांकअनुसार अहिलेसम्म हजारौं नेपालीहरु आफ्नो आइडियालाई उद्यममा बदल्न र उद्यमलाई विस्तार गर्नको लागि स्टुडियोसम्म आउने गरेका छन् । जसलाई निश्चित प्रकृयामार्फत इन्कुवेशनमा प्रवेश गराएर संस्थाले नतिजामा उतार्ने गरेको छ ।

सबै मानिसहरुले कुनै न कुनै उद्यम वा व्यवसाय गर्ने सोच बोकेका हुन्छन् । तर, आफ्नो उद्यमी सोचलाई कसरी उद्यममा बदल्ने भन्ने विषयमा नीति र प्रकृया नबुझ्दा ती सोचहरु उद्यममा परिणत भइरहेका हुँदैनन् । सोचलाई उद्यममा बदल्नको लागि उनीहरुमा भएको अभावलाई सम्बोधन गरेर उद्यममा बदल्न सहयोग गर्छ आइडिया स्टुडियोले ।

कुनै सरकारी निकाय, कलेज वा संस्थाहरुले इन्क्युवेसन सञ्चालन गर्न चाह्यो भने त्यसलाई स्टुडियोले परामर्श सहयोग उपलब्ध गराउने काम गर्छ । अहिले स्टुडियोले काठमाडौं मोडेल कलेजमा आफ्नो कार्यालय स्थापना गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, अन्य कलेजहरुसँग पनि साझेदारी गरिरहेको छ । डा. छिरिङका अनुसार स्टुडियोले सयौं कलेजहरुसँग आइडिया इन्कुभेसनको निम्ति काम गरिरहेको छ ।

विश्वविद्यालयहरुसँग मिलेर स्टुडियोले विशेषगरी विभिन्न विधाका उद्यमहरुसँग जोडेर अनुसन्धानको काम पनि गरिरहेको छ । जसमार्फत् विभिन्न उद्यमहरुको सम्भावना खोज्ने, समस्याहरु निक्र्यौल गर्ने काममा उपलब्धी भइरहेको डा. छिरिङ बताउँछन् । त्यस्तै स्टुडियोले उद्योगीहरुको संस्था ‘नेपाल उद्योग परिसंघ सँग मिलेर इन्फ्रास्ट्रक्चर आइडिया हन्ट सञ्चालन गर्ने गरेको छ ।

डा. छिरिङका अनुसार स्टुडियोले सोचलाई उद्यममा बदल्नका लागि सहजीकरण र सहयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालय, कलेज, बैंक, मिडिया, विज्ञ लगायत धेरै क्षेत्रसँग साझेदारी गरेको छ । स्टुडियोले ‘सिजन’ र ‘कलेज हन्ट’ मार्फत् सार्वजनिक रुपमा आइडियाहरुको संकलन गर्ने काम गर्छ । स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेसनसँग जोडिएका उद्यमी आइडियाहरुलाई संकलन गर्छ । आइडियाहरुलाई प्रशोधन गर्नको लागि स्टुडियोसँग विभिन्न क्षेत्रका विज्ञहरु रहेका छन् ।

विशेष गरी कलेज हन्ट र आइडिया सिजनमा अनलाइनमार्फत् आइडियाहरुको संकलन गरेपछि स्टुडियोमा सम्बन्धित विज्ञहरुले ती आइडियाहरुको प्रशोधन गर्ने काम गर्छन र उद्यमसँग सम्भाव्यता रहेको आइडिएटरलाई छनोट गर्छन् । त्यसको लागि स्टुडियोले आइडियालाई प्रशोधन गर्न १ हप्ता भन्दा धेरै समय दिने गर्छ । छनोट भएका आइडिएटरहरुलाई उनीहरुले छनोट गरेको उद्यमसँग सम्बन्धित विज्ञहरुले स्टार्टअप वा व्यवसाय विस्तारको विषयमा तालिम प्रदान गर्छन् । त्यसको लागि आवास सहितको ल्याब बेसको तालिम प्रदान गरिन्छ । डा. छिरिङका अनुसार स्टुडियोले नलेजबेस तालिममार्फत् सोचलाई उद्यम गर्न सक्ने आकार प्रदान गर्छ, जसपश्चात् तालिमप्राप्त आइडिएटरले सहज ढंगले आफूलाई उद्यमीमा परिणत गर्न सक्छन् ।

स्टुडियोले तालिम प्राप्त गरिसकेका व्यक्तिहरुलाई उद्यमको शुरुवात गर्नको लागि आवश्यक ऋण समेत प्रदान गर्न सहजीकरण गर्ने काम गर्छ । त्यसकोलागि स्टुडियोले बैंकसँग कार्यक्रम साझेदारी गरेको छ । जसले गर्दा आफ्नै हिसाबले पूँजीको व्यवस्थापन गर्न नसक्ने आइडिएटरहरुले स्टुडियोको सहजीकरणबाट बैंकमार्फत उद्यम शुरुवातको लागि ऋण प्राप्त गर्न सक्छन् ।

सामान्यतया स्टुडियोमा ३ प्रकारका उद्यमी विचारका मानिसहरु जोडिन आउने गरेका छन् । एउटा बिजनेस सम्बन्धी आइडिया भएको तर त्यसलाई उद्यममा ढाल्नको लागि आवश्यक आइडिया, सहजीकरण र लगानी जुटाउन नसकेकाहरु आउने गर्दछन् । दोस्रो उद्यम गरिरहेका र त्यसलाई विस्तार र स्थापित गर्न चाहनेहरु आउने गर्दछन् । अहिलेसम्मको अनुभवमा २ देखि १० वर्षसम्म उद्यम सञ्चालन गरेका उद्यमीहरु आउने गरेका छन् । त्यस्तै, तेस्रो आफ्नो उद्यमलाई लिंकअप गर्न चाहने उद्यमीहरु आउने गर्दछन् ।

वातवरणमैत्री उद्यमको पैरवी, साझेदारहरुबाटै जुट्छ खर्च

आइडिया स्टुडियोले विशेषगरी वातावरणमैत्री र दिगो विकाससँग सम्बन्धित उद्यम आइडियाहरुलाई प्राथमिकता दिएर काम गर्ने गरेको छ । सिजन र हन्टमा संकलन हुन आउने आइडियाहरु वातावरणमैत्री र दिगोपना बोकेको छ की छैन भन्ने विषयमा सो आइडियालाई प्रशोधन गर्ने साझेदारी विश्व बन्यजन्तु कोषले साझेदारी गरेको छ । डा. छिरिङले नेपाल भारत र चीनजस्ता विशाल ठूला मुलुकहरुको बीचमा भएकाले हाम्रो मुलुकमा सञ्चालन गरिने उद्यमहरु वातावरणमैत्री र सामाजिक चरित्रको हुनु पर्ने बताउँछन् ।

आइडिया स्टुडियोले आइडियालाई उद्यमसम्म सहजिकरण गर्ने काममा विभिन्न चरणमा आवश्यक पर्ने लगानी सम्बन्धित क्षेत्रबाट नै जुटाउने गर्छ ।

आइडिया स्टुडियोसँग जोडिएर तालिम प्राप्त गरेका ६० भन्दा धेरै व्यक्तिहरुले अहिले स्टार्टअप व्यवसाय गरेका छन् । ती मध्ये कसैले नेपाली वस्तुमा आधारित, वातावरणमैत्री, सामाजिक प्रभाव पार्ने लगायत विभिन्न प्रकारका उद्यम तथा व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुले झण्डै १ हजार भन्दा धेरै व्यक्तिहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । आइडिया स्टुडियोसँग जोडिएर व्यवसाय गरेका दर्जनौ व्यक्तिहरुको लोभलाग्दो सफलताको कथा पनि निर्माण भएका छन् ।

आइडिया स्टुडियोले उद्यमी सिर्जना गर्ने र व्यवसाय विस्तार गर्ने क्षेत्रमा नवीन हिसाबले पुर्याइरहेको योगदानलाई लिएर पछिल्लो समयमा सो संस्थाको लोकप्रियता बढ्न थालेको छ । जसलाई लिएर नेपाल सरकार, कतिपय निजी क्षेत्र, विश्वविद्यालय र कलेजहरुले साझेदारी गर्नको लागि आइडिया स्टुडियोसँग साझेदारी गर्न खोजिरहेको देखिन्छ ।

सिजन ७ शुरु, राष्ट्रिय ज्ञान केन्द्रको स्थापना

आइडिया स्टुडियोले अहिलेसम्म आइडिया सिजन ६ सम्पन्न गरेर ७ को शुरुवात गरेको छ । सिजन ७ मा सहभागी हुन चाहने आइडिएटरहरुलाई आफ्नो आइडिया स्टुडियोमा पठाउन आग्रह गरेको छ । आगामी दिनमा स्टुडियोले आइडिया क्षेत्रमा थप काम गर्नको लागि ज्ञानका लागि राष्ट्रिय केन्द्रको स्थापना गर्ने जनाएको छ ।

Share News