तेस्रो पटक सांसद बने गगन, बन्लान् त प्रधानमन्त्री ?

<p>काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार [&hellip;]</p>

काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

उनले निवार्चन प्रचार प्रसारमा आफु प्रधानमन्त्री बन्ने बताएका थिए । उनले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको पनि बताएका थिए । उसो त उनले आज निर्वाचत भइसकेपछि पनि संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।

‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु,’ उनले भने ।

को हुन् गगन ?

थापा नेपाली काँग्रेसका महामन्त्री हुन् । युवा नेता गगन थापाको जन्म विसं. २०३३ साल साउन ४ मा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका दुई छोरी छन् ।

२०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने ।

२०५९–२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए । जनआन्दोलन २०६२–०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए । २०७३ छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए । २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए। दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनी सांसदका रुपमा विजयी भएकाे याे तेस्रो पटक हो ।

Share News