गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित
काठमाडौं । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २८ हजार ४७६ मत ल्याएर प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।
काठमाडौं २ को प्रदेशसभा राप्रपाका दुबै उम्मेदवार विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २(२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हो । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् । यसअघि काठमाडौं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए । समानुपातिक मतगणना सुरु काठमाडौं क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।
संसद् मात्र हैन, सन्देशसमेत दिएको निर्वाचन
काठमाडौं । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन्मिए भने स्वतन्त्र रुपमा पनि थुप्रै उम्मेदवारहरुले प्रतिस्पर्धा गरे । परिणामले मतदानपूर्व गरिएको अनुमानलाई केही हदसम्म सत्य साबित गरिदिएको छ । निर्वाचनलाई वैधानिक ढङ्गबाट परिवर्तन गर्ने एउटा माध्यमका रुपमा पनि लिइन्छ । परिवर्तनको अपेक्षा गर्नु मानवीय गुण नै हो । हरेक निर्वाचन होस् वा क्रान्तिहरुले सधैँ परिवर्तनको अपेक्षा गरेका हुन्छन् र त्यस्तो अपेक्षा गर्न नागरिकलाई प्रेरित पनि गरिरहेका हुन्छन् । सधैँ परिवर्तनको अपेक्षा गरिरहेका नागरिकले निर्वाचनका समयमा यस्तो अपेक्षा गर्नुलाई स्वाभाविक रुपमा ग्रहण गर्नु पनि पर्दछ । परिवर्तनका लागि हिंसा वा हडतालको बाटो पकड्नुभन्दा मतपेटिकाको उपयोग गर्ने चेतनाको विकास हुनु आफैँमा सकारात्मक कुरा हो । नेपाली समाज अब मतपेटिकामार्फत नै क्रान्ति हुन्छ भनेर विश्वास गर्ने तहमा पुगेको छ भनेर विश्लेषण गर्ने आधार पनि यो चुनावले दिएको छ । युवाहरु टायर बाल्ने र सडक बन्द गर्ने अभ्यासलाई अस्वीकार गर्दै लोकतान्त्रिक विधिबाट परिवर्तनको पक्षमा उभिनुपर्छ भन्ने मान्यता राख्दछन् भन्ने सन्देश यो चुनावमार्फत प्रकट र स्थापितसमेत भएको छ । यो चुनावले दिएका यी कुराहरु अत्यन्तै सकारात्मक पक्ष हुन् । लोकतन्त्रको सबलताका लागि पनि यी पक्षहरुले योगदान दिनेछन् । त्यति मात्रै हैन, निरन्तर लोकतान्त्रिक अभ्यास हुँदै गर्दा कैयौँ यस्ता नागरिक भावनाहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा पनि स्थापित भएको छ । निरन्तरको निर्वाचनलाई अपेक्षाअनुसारको परिवर्तनका रुपमा उपयोग गर्न सकिन्छ नै । यति मात्रै होइन, यो चुनावले अन्य महत्वपूर्ण सन्देशहरु पनि दिएको छ । परम्परागत शक्तिलाई आफ्नो कार्यशैली परिवर्तन गर्न चेतावनी नै दिएको छ । उम्मेदवार छनोटको निश्चित विधि बनाउन बाध्य हुन सिकाएको छ । राजनीतिमा दलाल वर्गको उपस्थितिलाई निरुत्साहित गर्न चुनौती दिएको छ । पैसा र बलको राजनीतिक अभ्यासलाई अस्वीकार गर्न अपिल गरेको छ । इतिहासको मात्र होइन, सम्भावना र योग्यताको कदर गर्ने कुरालाई प्राथमिकतामा राख्न भनेको छ । समग्रमा सुशासनको छाताभित्र बसेर राजनीतिक कर्म गर भन्ने आक्रामक अभिव्यक्ति पनि दिएको छ । यो चुनावमार्फत मतपत्रहरुमा व्यक्त भाव भनेकै सुशासनतर्फ प्रतिबद्ध बन भन्ने नै हो । सुशासनको अवस्थामा सुधार आउन नसकेकै कारण राजनीतिप्रति नागरिकको नैराश्यता र उदासीनता चुलिँदै गएको हो । खासगरी सहरी क्षेत्रहरुमा मतदाताले त्यो भावना अभिव्यक्त पनि गरेका छन् । चुनावमा मत प्रतिशत कम हुनु, मतदानका क्रममा उत्साह पनि खासै नदेखिनु पनि नैराश्यता प्रदर्शनकै एउटा तरिका थियो । दललाई मत हाल्ने समानुपातिक निर्वाचनको मतपत्रमा समेत फरक चुनाव चिन्न खोज्नेको सङ्ख्या ठूलो देखियो । यो पनि परम्परागत शक्तिहरुसँगको एउटा विद्रोह हो । राजनीतिमा नागरिकहरु अझ त्यसमा पनि युवाको चासो बढेन, अग्रसरता देखिएन र आवश्यक परेमा हस्तक्षेपकारी भूमिकामा उभिन सकेनन् भने त्यो राजनीति एउटा निश्चित वर्गमा सीमित हुन्छ र वैयक्तिक वा समूहगत स्वार्थ पूर्तिको माध्यम मात्र बन्छ । यो अवस्थामा लोकतान्त्रिक शक्तिहरु पनि क्रमशः कुलीनतन्त्रको अभ्यासमा अभ्यस्त हुँदै जान्छन् । नेपाली राजनीतिमा देखिएको एउटा खतरा यो पनि थियो । युवाको हुँकारसहितको चासो र उपस्थितिले त्यस्तो अभ्यास गर्नबाट रोक्न सक्छ । यो चुनावमा युवाहरुको हुँकार पनि सही सुनिएको छ । अब संसद्मा र नीति निर्माणका अन्य संरचनाहरुमा पनि ठूलो स्वरमा त्यो हुँकार सुनाउन सक्ने ‘ग्राउन्ड’ यो निर्वाचनले तय गरिदिएको छ । नाता, परिवारमा सीमित, सम्पत्तिलाई नै लक्ष्य ठान्ने, विलासी शैली अपनाउने, शक्तिको दुरुपयोग गर्ने जस्ता विसङ्गतिको भीडबाट एक छिन पर उभिएर राजनीतिक रणनीति बनाउनका लागि प्रेरणाका रुपमा पनि चुनावलाई ग्रहण गर्न सक्नुपर्दछ । मतपत्रमा परेको स्वस्तिक छापको गन्ध बुझेर नयाँ पदचाप तय गर्ने दिशामा नेपाली राजनीतिलाई लैजाने क्षमता जसले देखाउँछ, उसँग मात्र नागरिकको अपेक्षा रहने निश्चित छ । शक्तिको दुरुपयोग गर्दै निश्चित वर्गको स्वार्थका लागि राजनीतिलाई बन्धक बनाउनेहरुको हातमा अब राजनीति रहन सक्दैन । निर्वाचनले संसद् त बनाउँछ नै । त्यो संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देश पनि दिन्छ । यसपालिको निर्वाचनले संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देशसमेत दिएको छ । त्यो आवाज संसद्का सबै सदस्यले सुन्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने दोस्रो कुरा हो, तर त्यसलाई नबुझ्न् वा नजरअन्दाज गर्नेहरु राजनीतिक खेलमा क्रमशः अस्वीकृत हुँदै जाने चाहिँ निश्चित छ । पाँच महिनाअघि जन्मेको पार्टीको जबर्जस्त उपस्थितिलाई व्यक्तिको उपस्थिति र उपस्थित व्यक्तिको सङ्ख्याका रुपमा मात्र व्याख्या गरिनु हुँदैन । निर्वाचनपछिको नेतृत्वले नागरिकमा उत्साह भर्ने र हाम्रै पालामा परिवर्तन सम्भव छ भन्ने सन्देश दिने ढङ्गले काम गर्नुपर्ने चुनौती बहन गर्नुपर्ने छ । यो चुनौतीको सम्बोधन गर्ने क्षमताको अपेक्षा अब आम नागरिकको पहिलो पर्खाइ हो । राजनीतिशास्त्रीहरुले राजनीतिलाई ‘कला पनि हो र विज्ञान पनि हो’ भनेर परिभाषित गरेका छन् । विज्ञानले परिणाम दिन्छ र कलाले परिणाम दिनका लागि काम गर्दछ । राजनीतिलाई कला पनि र विज्ञान पनि मान्ने हो भने राजनीतिमा सही कर्म गर्दै त्यस कर्मबाट सिङ्गो समाजलाई लाभान्वित गर्ने गरी राजनीतिकर्मीले काम गर्नुपर्ने हुन्छ । यसरी काम हुन नसक्दा नै नागरिक तहमा नैराश्यता थपिएको हो । एउटा प्रक्रियाको निरन्तरताका रुपमा मात्र राजनीतिक गतिविधिहरुलाई सीमित गर्दा राजनीतिसँग नागरिकको चासो छुट्दै गएको अवस्था हो । सिर्जनात्मक रुपमा आफ्नो ‘कला पक्ष’लाई सबल बनाउँदै परिणाम दिनका लागि आफूलाई प्रतिबद्ध बनाउने हो भने मात्र त्यस्तो राजनीतिक अभ्याससँग नागरिकको चासो बढ्दै जान्छ । शक्तिको प्रयोग, शक्ति सन्तुलन र बाध्यकारी निर्णयहरुमा राजनीतिक कर्मलाई सीमित गर्दा नागरिकका दैनन्य आकाङ्क्षाको पूर्ति र समस्याहरुको सम्बोधन सही ढङ्गले हुन सक्दैनन् । नागरिकका समस्या र चाहनालाई कसरी राजनीतिकर्मीहरुले लिन्छन् र सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालको लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिशास्त्रीले भनेको झैँ कला पक्ष र विज्ञान पक्षलाई सन्तुलित गर्न नसक्दा यस्ता तमाम समस्याहरु उब्जिएको मान्न सकिन्छ । स्थापित र परम्परागत शक्तिहरुका कतिपय व्यवहारले गर्दा नागरिकहरुमा हुर्किएको तीतो यथार्थ हाम्रासामु छ । पुस्ता हस्तान्तरणमा उदासीन, समकालीन समस्याहरुको पहिचानमा असक्षमता प्रदर्शन, आधुनिक विश्वसँग नेपाली समाजलाई जोड्ने प्रस्ट दृष्टिकोणको अभाव, बेरोजगारी समस्या सम्बोधनलाई प्राथमिकतामा नराखिनु, विचौलियाको बोलबाला बढ्दै जानु, अपारदर्शी सम्पत्ति कमाउने प्रवृत्तिको विकास, भ्रष्टाचार बिना कामै नहुने परिस्थिति बलियो बन्दै जानु, राज्यका संरचनाहरुप्रति नागरिकको विश्वास उड्दै जानु अहिलेका मुख्य प्रवृत्ति र चुनौती हुन् । यी प्रवृत्तिहरुबाट समाजले मुक्ति खोजिरहेको छ । ‘नो नट अगेन’ जस्ता अभियानहरु, पुस्ता हस्तान्तरणका लागि दिइएका दबाबहरु उल्लिखित प्रवृत्तिबाट मुक्तिका लागि नै चलेका हुन् । उनै पात्र, उनै सोचले नागरिकमा पुनर्ताजगी हुन सक्दैन । समानुपातिकतर्फका अधिकांश उम्मेदवारहरुको अनुहार हेरेर पनि नागरिकहरुले समानुपातिकतर्फको मतपत्रमा समेत फरक चिह्न खोजेकोसमेत पाइयो । यसले पात्र र प्रवृत्तिमा समेत परिवर्तन खोजिएको देखाएको छ । यी सबै पक्षहरुलाई केलाएर हेर्दा यो चुनावले संसद् मात्र बनाएन, थुप्रै नयाँ सन्देशहरु पनि दिएको छ । सन्देशको मुख्य भाव प्रस्ट छ– अहिलेकै तरिकाले राज्य सञ्चालन हुन सक्दैन, अब कामको शैली परिवर्तन गर्नै पर्दछ । सबै निर्वाचित सांसदहरुले यो सन्देश बुझ्न सकून् । लोकतन्त्रको भविष्यमा यसैमा निर्भर छ । लेखक नेपाल पत्रकार महासंघका अध्यक्ष हुन् ।
पर्यटन व्यवसायबाट उत्कृष्ट करदाताको रुपमा मनकामना केबलकार सम्मानित
काठमाडौं । मनकामना केबलकार पर्यटन व्यवसायबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले बुधबार राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा कम्पनीलाई आर्थिक वर्ष २०७७/७८ पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयाकर दाखिल गरेकोमा सम्मान गरेको हो । कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् । सरकारले आज आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १५ वटा विधामा सम्मान गरेको हो ।
काठमाडाैं १० बाट विजयी भएका राजेन्द्रकुमार केसीको राजनीतिक यात्रा
काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । छौँसठ्ठी वर्षीय उनी बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् । चौध हजार चार सय ५८ मतसहित विजयी भएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेस केसीलाई दुई हजार छ सय ७२ मततान्तरले पछि पारेका हुन् । उनले भने “मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र निष्कलङ्क भएर काम गर्न चाहन्छु ।” लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताए, “मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो ।” कीर्तिपुर ६, चोभारको स्थायी बासिन्दा उनले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गरेकामा पहिलो पटक काठमाडौं १० बाट नै निर्वाचित भएका थिए । केसी दोस्रो पटक ०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनाका साथै सोही वर्ष युवा तथा खेलकुदमन्त्री बनेका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आएका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित भएका थिए । स्नातकोत्तरसम्म अध्ययन गरेका उनको राजनीतिक यात्रा भने विसं २०३० देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । विसं २०४६ देखि पार्टीगत राजनीतिमा सक्रिय हुँदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बने । चार पटकसम्म कांग्रेस महासमिति सदस्य रहेका उनी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएका थिए । रासस
स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
स्याङ्जा । मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । लोकतान्त्रिक वाम गठबन्धनले तत्काल मतगणना सुरु गर्न दबाब दिइरहेको छ भने नेकपा एमाले लगायत दलहरुले पुनः मतदानको माग गर्दै दबाब दिइरहेका छन् । ‘सर्वदलीय बैठकमा सहमति नजुटेपछि यहाँको परिस्थितिबारे निर्वाचन आयोगमा लेखेर पठाएका छौँ’, उनले भने, ‘हामीले सहमतिका लागि प्रयास ग¥यौँ तर निष्कर्षमा पुग्न सकेनौँ अब आयोगको निर्णयको पर्खाइमा छौँ, त्यहाँबाट जे जस्तो निर्णय आउँछ सोही प्रक्रियाअनुसार अगाडि बढ्छौँ ।’ नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । कांग्रेस भने विधिसङ्गत प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ । एमालेलगायत दलहरुले पुनः मतदानको माग गर्दै सडकमा विरोध प्रदर्शन जारी राखेका छन् । कांग्रेसले पनि मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि वालिङमा धर्नामा बसेको छ । कांग्रेसका कार्यकर्ताहरु रातभरि नै सडकमै बसेका थिए । दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस
आइएमई सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनीको रुपमा सम्मानित
काठमाडौं । रेमिट्यान्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आइएमई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गर्ने प्रमुख कम्पनीमा पर्दछ । यस कम्पनीले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?
महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिएका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका लक्ष्मी महतोेले पाँच हजार दुई सय ९३ मतसहित अग्रता लिएका छन् । यहाँ नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल चार हजार चार सय ४० मतसहित महतोलाई पछ्याई रहेका छन् । क्षेत्र नं २ मा लोसपाका शरतसिंह भण्डारीले पाँच हजार नौ सय ६३ मतले अग्रता लिएका छन् । यो क्षेत्रमा एमालेका डा रामपरीक्षण यादवले दुई हजार सात सय ३५ मतले पछ्याइरहेका छन् । क्षेत्र नं ३ मा पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर चार हजार ६ सय ७४ मतका साथ अग्रता लिइरहेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार तीन सय ७७ मत प्राप्त गरेका छन् । क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय चार हजार आठ सय नौ मतका साथ अघि छन् । यस क्षेत्रमा जसपाका डा सुरेन्द्रकुमार यादव दुई हजार तीन सय ५३ मतका साथ रायलाई पछ्याइरहेका छन् । चारवटै प्रतिनिधिसभा क्षेत्रमा जारी मतणनाको गति सुस्त भएको उम्मेदवारका गणना प्रतिनिधिले बताएका छन् । चारवटै क्षेत्रमा प्रदेशसभा र दुवैतर्फका समानुपातिक गणना पनि सँगसँगै गरिँदैछ । रासस