विकासन्युज

बैतडीमा मङ्गलबारदेखि तार चुँडिदा विद्युत् सेवा अवरुद्ध

बैतडी । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् । उनले भने, ‘विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।’ विद्युत्बाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् । यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएको छ । उनले भने, ‘प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला ।’ रासस

बुधबार सुन तोलाको ९६ हजार ८०० मा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो । आज घटेकाे मूल्य अनुसार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

रिडी पावरको सेयर कारोबार रोक्का

काठमाडौं । रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । कारोबार भएको समयमा लाभांश प्रस्ताव गर्न बैठक बसेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । नेप्सेले कम्पनीले कोरोबार भएको समयमा बैठक बसी धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै सेयर कारोबार रोक्का गरेको जनाएको छ । मंगलबार कम्पनीको ११ बजे बसेको बैठकले गत वर्षको लाभांशबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका

हुम्ला । हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो । जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्याएको छ । तर त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन् । सर्केगार्डबाट सदरमुुकाम सिमकोट पुुग्न डेढ दिन पैदल हिँड्नुपर्छ । सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । उनका अनुसार आज दिउँसोसम्म मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ । सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन् । न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरु पनि हेलिकप्टरको पर्खाइमा छन् । रासस

उत्कृष्ट करदाता बन्यो सूर्य नेपाल, बैंकिङमा नबिल

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले बुधबार कर दिवस मनाउँदै उत्कृष्ट करदातालाई सम्मान गरेको हो । विभागले आर्थिक वर्ष २०७७/७८ मा सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको भन्दै सम्मान गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ भने विजयकुमार शाहलाई सम्मानित गरेको छ । विभागले जावलाखेल डिस्टिलरीका अध्यक्ष समेत रहेका शाहलाई बुधबार सम्मान पनि गरेको छ । जावलाखेल डिस्टिलरीसँगै शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् । उनी २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए । यस्तै, नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ भने शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ । ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ भने नबिल बैंक वित्तीय संस्थातर्फको ठूलो आयकर दाता बनेको छ भने छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता बनेको छ । बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ । पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ । मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड बनेको छ । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा बिधामा सम्मान गरेको हो ।

झण्डै एक हजार मतले पछि परे पूर्वमन्त्री जोशी

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी एमालेका उम्मेदवारभन्दा झण्डै एक हजार मतले पछि परेका छन् । एमालेका उम्मेदवार ऐनबहादुर महरले तीन हजार आठ सय ८७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार दुई हजार नौ सय १० मत अर्थात् नौ सय ७७ मतले पछि परेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार प्रदेशसभा ९१० मा कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेका उम्मेदवार अफिलाल ओखेडाभन्दा ६७ मतले मात्रै गठबन्धनका पृथ्वीबहादुर सिंह अगाडि देखिएका छन् । ओखेडाले दुई हजार तीन सय ६० मत ल्याउँदा सिंहले दुई हजार चार सय २७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार एलबी रावलले एक हजार सात सय ६३ मत ल्याउँदा गठबन्धनका भीम भण्डारीले एक हजार चार सय ७४ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।

आफैँ काम गर्ने गोदामबाट कपडा र नगद चोरी गर्ने १० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नगदसहित कपडा चोरी गर्ने १० जना पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँको टोलीले भारत राजस्थान घर भई हाल काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिकाका २७ वर्षीय रामचन्द्र खड्का, २३ वर्षीय प्रदीप केसी, १९ वर्षीय पवन बस्नेत, २० वर्षीय दिलीप कार्की, २७ वर्षीय प्रकाश कोइराला, २२ वर्षीय प्रदीप कार्र्की, सिन्धुलीका ४१ वर्षीय लोकबहादुर तामाङ, ओखलढुङ्गाका ३६ वर्षीय लोकबहादुर नेपाली, सर्लाहीका ३६ वर्षीय छत्रबहादुर भट्टराई र भारत बिहारका २७ वर्षीय लालबहादुर राम रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मङ्सिर २ गते सामान चोरी गरेका उनीहरुलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरिएको जानकारी दिए । कपडा चोरी गर्ने सोही गोदाममा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्दाजी ५५ लाख रुपैयाँ मूल्यका कपडा बरामद गरेको छ । यस्तै एक लाख ३० हजार रुपैयाँ बरामद भएको छ । चोरीमा प्रयोग भएको बा०१ज ५३६७ नंको ट्याक्सी र बा१९च ९९४० नंको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएका हुन् । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा माओवादीका उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएका छन् । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो । रासस