काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन् ।
बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन् ।
घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताए । १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने उनी बताउँछन् ।
‘जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने छ, सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको छ, विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको छ, १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरु रहेकाले १० प्रतिशतले राजश्व बढेको छ,’ उनले भने ।
प्रमुख कार्यकारी निर्देशक घिसिङ जलविद्युत आयोजनाहरुको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताउँछन् । उनले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको बताए ।