विकासन्युज

प्रधानमन्त्रीमा मेरो पनि दाबी रहन्छ : शशाङ्क कोइराला

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन् । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताए । जिल्लामा राष्ट्रियस्तरको ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी छ । चारपटक जनताले यही ठाउँबाट जिताएर पठाउनुभएको छ ,पक्कै मेरो काम मन पराउनुभएको होला’, उनले भने, ‘अब पनि जनताका बीचमा नै रहेर बाँकी काम गर्छु ।’ साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताए । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवादेखि गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ’, उनले भने, ‘यो गठबन्धन पाँच वर्षसम्म रहन्छ, हामी मिलेर काम गर्छौं ।’ युवालाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए । ‘देशभर यस पटकको निर्वाचनले युवालाई अघि बढाऊँ भन्ने सन्देश दिएको छ”, उनले भने, ‘त्यसलाई आत्मसाथ गर्नुपर्ने अवस्था छ ।’

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिओकेको ६ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो ।नेप्सेले प्रतिकित्ता २१४ रूपैयाँ २५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । बैंकले मंसिर २३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसधा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।

सिरहा–१ मा एमालेका रामशङ्कर यादव विजयी

काठमाडौं । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।

कम्पनीको व्यवसाय वृद्धिमा जोड दिन्छौं, लगानीलाई थप विस्तार गर्छौं : सीईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको बताएका छन् । बिहीबार पर्साको बीरगञ्जमा भएको कम्पनीको २२औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् । साथै, कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको उनले बताए । कार्यक्रममा अध्यक्ष गोविन्द लाल संघईले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरुबीच अझै नयाँ उचाइमा पुग्ने कम्पनीको लक्ष्य रहेको बताए । त्यसको लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरिरहेको बताउँदै उनले कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्ति गरेका छन् । अघिल्लो २१औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले संचालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको कार्यक्रममा जनाइयो । साथै, यो विषयलाई आगामी वार्षिक साधारण सभामा अगाडि बढाइने बताइएको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७८९५ प्रतिशतका दरले हुन आउने १ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ । नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ गरिसकेको छ । र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको कम्पनीले जानकारी गराएको छ । साथै, कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

बैंकर्सका लागि पर्खाइमै बित्यो तरलता सहजताको विषय, पुसमा थप सकस हुने चिन्ता

काठमाडौं । गत स्थानीय तहको निर्वाचनको बेला बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान हुने अपेक्षा धेरैले गरेका थिए । निर्वाचनको समयमा खर्च बढ्ने र त्यो खर्च बैंकिङ प्रणालीमा आउने अपेक्षा अधिकांशको थियो । बैंकरहरु प्रणालीमा पैसा आउने अपेक्षामा थिए । तर, बैशाख अन्तिममा भएको स्थानीय तहको निर्वाचनले तरलता सहजमाा कुनै भूमीका खेल्न सकेन । सो समयमा बैंकिङ्ग प्रणालीमा ३०/४० अर्ब रुपैयाँको हाराहारीमा मात्रै निक्षेप भित्रियो । स्थानीय तहको चुनावले खासै सकारात्मक सुधार नदिएको बैंकिङ प्रणालीमा दशैं तिहारले शुभ संकेत दिन्छ कि भन्ने बुझाइ सबैको थियो । बैंक विज्ञ, अर्थशास्त्री तथा बैंकरहरुले पनि दशैं तिहारमा सर्वसाधारणले खर्च बढाउने हुनाले त्यो पैसा बैंकिङ प्रणालीमा आउन सक्ने विश्लेषण गरिरहेका थिए । तर, सो अवधिमा पनि लगानीयोग्य पुँजी बढ्न सकेन । सो समयमा पनि २०/३० अर्ब रुपैयाँ मात्रै निक्षेप बैंकिङ्ग प्रणालीमा भित्रियो । त्यो समय पनि बैंकरका लागि निराशाजनक नै रह्यो । त्यसपछि सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समय तोक्यो । त्यतिखेर सबैले पुनः निर्वाचनपछि प्रणालीमा निक्षेप भित्रिने विश्लेषण गरे । बैंकरहरु आशावादी बने । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर पनि अहिले मतगणना भइरहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको भने कतिपय ठाउँको गणना भइरहेको छ । अहिलेसम्म प्रणालीमा पैसा भित्रिएको छैन । तर, अझै पनि बैंकरहरु बैंकिङ प्रणालीमा पैसा आउने आशा गरिरहेका छन् । बैंकरहरु आशामा रहँदा तथ्यांकले भने चुनावपछि निक्षेप झन घटेको देखाएको छ । निर्वाचन अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा गरिएको भएपनि यो अवधिमा निक्षेप घटेको तथ्यांकले देखाएको हो । कात्तिक मसान्तसम्म बैंकहरुले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर ८ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । यो ८ दिनको अवधिमा बैंकहरुको निक्षेप संकलन ५.४७ अर्ब रुपैयाँ घटेको हो । चुनावपछि प्रणालीमा पैसा थपिएला भन्ने अपेक्षामा रहेका बैंकरहरु निक्षेप घटेकोले थप दबाबमा देखिएका छन् । निरन्तरको निक्षेप घट्नु उनीहरुको लागि चिन्ताको विषय बनेको छ । यसमाथि अब बन्ने सरकारले अर्थतन्त्रको भविष्य कोर्ने उनीहरुको धारणा छ । कतिपय बैंकरहरु राजनीतिज्ञको अर्थतन्त्र सुधार गर्ने भन्दा पनि सत्ता प्राप्तिमा ध्यान जाने भएकाले अबको स्थिती झनै अफ्ठ्यारो हुने होकि भन्ने चिन्ता रहेको उनीहरुको धारणा छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल चुनावको पूर्ण नतिजा आएर सरकार नबन्दासम्म अर्थतन्त्रका बारेमा एउटा धारणा बनाउन सक्ने अवस्था नरहेको बताउँछन् । सबै दल मिलेर सरकार बनाउने हो भने सहज अवस्था आउन सक्ने उनको अनुमान छ । तर, आगामी सरकारले सत्ता प्राप्तिमा ध्यान दिने भएकाले अर्थतन्त्र चिन्ताजनक अवस्थामा आउन सक्ने उनले बताए । ‘चुनावमा भएको खर्च बैंकिङ्ग प्रणालीमा आउनुपर्छ, यो बीचमा ठूलो रकम निकालिएको पनि छ, खर्च भएको रकम प्रणालीमा आउनैपर्छ तर आगामी बन्ने सरकारको ध्यान अर्थतन्त्रमा भन्दा सत्ता प्राप्तिमा हुन्छ,’ उनले भने । यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले चुनावको नतिजा पूर्ण नआएकाले भविष्यमा अर्थतन्त्र के हुने भन्ने विषयमा अन्यौलता रहेको बताए । निर्वाचनको मतपरिणाम अनुसार आगामी सरकार कस्तो बन्ने भन्नेमा एकिन हुन नसकेकाले अर्थतन्त्र के हुन्छ भन्न नसकिने उनको भनाइ छ । ‘अस्थीर सरकार बन्ने सम्भावना छ, अब बन्ने सरकारको ध्यान सत्तामा मात्रै केन्द्रित हुन्छ, सरकारको नेतृत्वले अर्थतन्त्र सुधार गर्न धेरै जोड दिन सक्दैन, जसले ठूलो प्रभाव पार्न सक्छ, सरकार बन्ने वित्तीकै पहिलो प्राथमिकतामा आर्थिक स्थिती सुधार गर्नु पर्ने हुनुपर्छ,’ उनले भने । पछिल्लो तथ्याङ्क अुनसार बैंकिङ्ग क्षेत्रमा निक्षेप संकलनको अवस्था सुधारोन्मुख रहेको उनको भनाइ छ । उनले निर्वाचनको बेलामा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा नआएको पनि बताए । पुस महिना बैंकहरुका लागि अझै गाह्रो हुन सक्ने उनको बुझाइ छ । बैंकहरुले राष्ट्र बैंकलाई रिफाइनान्सको ठूलो रकम बुझाउनु पर्ने भएकाले पुस महिनामा सीडी रेसियो टाइट हुन सक्ने उनले बताए । ‘रेमिट्यान्स बढ्दो छ, कर्जा माग घट्दो छ, त्यसैले सहज भएको हो, चुनावमा खर्च भएको रकम प्रणालीमा अहिलेसम्म आएको छैन, चुनावमा खर्च भएको रकम सबै नआएपनि केही रकम आएको जस्तो देखिन्छ,’ उनले भने, ‘कर्जा माग नभएसम्म बैंकले नआत्तिएर प्रवाह गर्ने हो भने सहज हुन सक्छ किनभने पुसमा बैंकहरुले रिफाइनान्सका लागि ५०/६० अर्ब रुपैयाँ राष्ट्र बैंकलाई फिर्ता गर्नुपर्छ, एउटा बैंकको २ अर्बदेखि ४ अर्बसम्म फिर्ता गर्नुपर्ने छ, फिर्ता गरेपछि यसले सीडी रेसियो टाइट हुने सम्भावना छ ।’ साथै पुसमा कर पनि तिर्नुपर्ने भएकोले धेरै सम्हालिनु पर्ने उनले बताए । बजारमा धेरै तरलता नभएकाले पनि गाह्रो स्थिती गाह्रो नै रहेको उनको भनाइ छ । कर्जालाई न्यून राखेर निक्षेपमा जोडबल दियो भने आत्तिनु पर्ने अवस्था नआउने उनले बताए । ‘ठूला परियोजना आएका छैनन्, आएपनि रोक्ने गरेका छौं, यदि गर्नै पर्ने भए धेरै बैंकको सहभागीता गराएर अगाडि बढ्न सकिन्छ, एउटा बैंकले ठूलो आयोजना बनाउन सक्ने अवस्था छैन,’ उनले भने । बैंकर्स संघका अध्यक्ष समेत रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायले निर्वाचनमा खर्च भएको कूल रकमको ६० प्रतिशत भन्दा बढी रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा राखेको बताए । कात्तिक महिनामा भित्रिएको निक्षेप बराबरको रकम मंसिर महिनामा प्रणालीमा आयो भने केही सहज अवस्था हुन सक्ने उनले बताए । ‘बैंकिङ्ग प्रणालीमा आएको निक्षेप सबै आन्तरिक बजारको होइन, यसमा केही रकम रेमिट्यान्सबाट आएको हो, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा धेरै खर्च भएको अनुमान छ, बजारमा खर्च भएको रकम सिस्टममा आउनु नै पर्छ, बजारमा खर्च भएको कूल रकमको ६० प्रतिशत रकम बैंकिङ च्यानलमा आउन सक्छ,’ उनले भने, ‘एउटा उम्मेदवारले निर्वाचन क्षेत्र हेरेर ३० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको छ,सबै उम्मेदवारले खर्च गरेको ६० प्रतिशत रकम नै बैंकमा आउने हो भने सहज हुने थियो ।’ रेमिट्यान्स र विदेशी पर्यटकहरुले अर्थतन्त्र धानिरहेकाले आन्तरिक उत्पादनमा जोड दिनु पर्ने उनले बताए । राष्ट्र बैंकले आयातमा कडाइ गरेका कारण सुधारोन्मुख अवस्थामा रहेको उनको भनाइ छ । उनले पनि सरकार बन्न पनि कति समय लाग्छ भन्नेमा चिन्ता ब्यक्त गरे । उनका अनुसार स्थानीय तहको रकमलाई पुससम्म मात्रै गणना गर्न पाइने र रिफाइनान्सको दबाव रहेको बताए ।

नुवाकोट–१ को प्रदेशसभा (२) मा कांग्रेसका महत

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि प्रदेशसभा सदस्यको यात्रा तय गरेका हुन् । महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरेका थिए । प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुङ्गानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गरेका छन् । यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा ६१ हजार दुई सय ९३ मतदाता रहेकामा मङ्सिर ४ को निर्वाचनमा ३२ हजार दुई सय ५७ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा खसेको कूल मतमध्ये ३० हजार सात सय मत सदर र एक हजार ५५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए । नेकपा एमालेका तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे । जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् । यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका छन् । त्यस्तै प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएका निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

निर्वाचनपछि पनि भित्रिएन बैंकहरुमा निक्षेप, ६ अर्बले घट्दा सीडी रेसियो कति ?

काठमाडौं । निर्वाचन सम्पन्न भएपछि बैंकहरुमा निक्षेप संकलन ह्वात्तै घटेको छ । निर्वाचन अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा गरिएको भएपनि यो अवधिमा निक्षेप घटेको हो । कात्तिक मसान्तसम्म बैंकहरुले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर ८ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका थिए । यो ८ दिनको अवधिमा बैंकहरुको निक्षेप संकलन ५.४७ अर्ब रुपैयाँ घटेको हो । यस्तै, बैंकहरुले कर्जा लगानी पनि घटाएका छन् । बैंकहरुको कर्जा २.२० अर्ब रुपैयाँ घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा मात्रै प्रवाह गरेका छन् । यसअघि गत कात्तिक मसान्तसम्ममा बैंकहरुको कर्जा ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । बैंकहरुको सीडी रेसियो भने ८६.९१ प्रतिशत रहेको संघले बताएको छ ।