विकासन्युज

रुपन्देही–३ मा गृहमन्त्री खाँण पराजित, राप्रपाका दीपक बोहराले मारे बाजी

रुपन्देही । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा सो निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए । ०७४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट तत्कालिन एमालेका उम्मेदवार घनश्याम भुसालले बोहरालाई ५ हजार भन्दा धेरै मतले पराजित गरेका थिए ।

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ । घोराही उपमहानगरपालिका–६ का बिमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गरेका थिए। यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताए। ‘महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गए जस्तो हुन्छ’, उनले बताए । यस्तै लमही नगरपालिका–५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल दुई हजार एक सयमा स्थानीय व्यापारीलाई बेचेको बताए । समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनले बताए। उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गरे । लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रति क्विन्टल दुई हजार एक सय र मसिनो धान प्रति क्विन्टल दुई हजार पाँच सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उनले बताए। गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार नौ सय ६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा दुई सय १५ बढी हो । त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार एक सय २८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए। पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उनले बताए। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल सात सय ८७ हेक्टर बढी रहेको छ ।

पशुपती क्षेत्रको गौशाला धर्मशाला सञ्चालन सम्झौता रद्द गरिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ । कोषले भत्काउन लाग्दा मारवाडी समुदायले अवरोध गरेपछि शनिबार भत्काउन भने बन्द गरिएको छ । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो । कानूनअनुसार पशुपतिनाथको जग्गा उपयोग गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला क्षेत्रमा कोषसँग समितिले गरेको सम्झौताविपरीत दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेकाले व्यापारमा प्रयोग भएका कानूनविपरीतका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको हो । विसं १९९९ साल जेठ २ गतेको पुर्जीअनुसार साँढेलाई गौचरण राखी जुनेलो घाँस लगाउन हरिनारायण रामकुमारलाई एक रोपनी आठ आना जग्गा दिइएको त्यसबेलाको पुर्जीमा उल्लेख गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । गौचरण एवं जुनेलो घाँस लगाउन दिइएको जग्गा २०२१ सालको नापीमा दुई कित्ता भएको थियो । नापीका समयमा पशुपति गाउँ विकास समिति वडा नं २ (क) कित्ता नं ८३ को चार रोपनी १० आना जग्गा कायम भएको थियो । हाल नापीमा नगर ८ सिट नं १०६७–२१ कित्ता नं १५ को चार रोपनी आठ आना एक पैसा र कित्ता नं १६ को तीन रोपनी १४ आना तीन पैसा तीन दाम गरी आठ रोपनी सात आना तीन दाम जग्गामा गाईगोठ र धर्मशालाका नाममा उल्लेख भएको छ । पशुपतिनाथलाई फूल चढाउने बगैँचा मासेर संरचना निर्माण परम्परादेखि पशुपतिनाथलाई फूल चढाइने भण्डारखाल बगैँचालाई समेत प्रभावित पार्ने गरी मारवाडी सेवा समितिले संरचना बनाएपछि भत्काउन बाध्य हुनुपरेको कोषले जनाएको छ । नापीमा उल्लेख भएको भन्दा पनि बढी जग्गा हाल धर्मशाला र गौशालाका नाममा मारवाडी समुदायले उपयोग गरिरहेका छन् । कोषअन्तर्गत श्री पशुपतिनाथ अमालकोट कचहरीका नाममा कायम रहेको र मारवाडी सेवा समितिका नाममा उक्त जग्गाको मोही दर्ता रहेको भन्ने भ्रमपूर्ण प्रचार भइरहेको कोषका प्रवक्ता अधिकारीले बताए । सो जग्गाका विषयमा कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो । समितिले त्यसविपरीत संरचना निर्माण गरेको भन्दै कोषले त्यस्ता संरचना भत्काउन कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको ३५ दिनभित्र कानूनविपरीत निर्माण भएका संरचना नहटाएपछि कोषले आज डोजर प्रयोग गरेर साङ्केतिकरुपमा संरचना भत्काउन सुरु गरेको हो । गौशाला धर्मशालामा सम्झौताविपरीत भएका काम सम्झौताको बुँदा नं ४ मा गौशाला धर्मशाला सञ्चालन गर्दा प्रचलित नियम तथा स्वीकृत मापदण्डविपरीत हुने कुनै काम दोस्रो पक्षले गर्ने छैन भनी उल्लेख गरिएको छ । साविक बनेको धर्मशालाको संरचनामा तला थप गर्न स्वीकृत माग भएकामा कारबाही हुँदै जाँदा पुरातत्व समेतबाट सहमति लिइ संरचना बनाउनुपर्नेमा समितिले आफूखुसी काम गरेको कोषले जनाएको छ । समितिले कोषको मापदण्डविपरीत १८०९६ वर्गफिटको नक्साबमोजिमको संरचना गरेको छ । संरचनाको उचाइ ३२।३ छ । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्दा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को पालना गर्नुपर्नेमा समितिले बेवास्ता गरेको छ । यो काम कोष ऐन, २०४४ को दफा १७ ९३० ९५० को विपरीतसमेत रहेको छ । विसं २०६० मा भएको सम्झौताको बुँदा नंं ५ मा समितिले कोषलाई प्रत्येक आर्थिक वर्षमा रु ५१ हजार सहयोग रकम उपलब्ध गराउँदै जाने उल्लेख गरिएको छ । दुवै पक्षको सहमतिमा सो रकममा संशोधन गरिने पनि सम्झौतामा उल्लेख छ । संशोधनका लागि समितिलाई छलफलमा बोलाउँदा नआएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले बताए। २० वर्षसम्म सो रकम संशोधन नगरिएकामा महालेखापरीक्षकको कार्यालयले पनि संशोधनको सुझाव दिँदै आएको छ । १५ वर्षअघि नै संसद्को सार्वजनिक लेखा समितिले छ महिनाभित्र गौशाला धर्मशाला कोष आफैँले सञ्चालन गर्न दिएको निर्देशन पनि पालना भएको छैन । पशुपतिनाथमा पर्व पर्वमा छोडिएका साँढेलाई परम्पराअनुसार संरक्षण गर्न समितिले सहयोग गर्नुपर्नेमा त्यसो नगरेको कोषको भनाइ छ । विसं २०६० को सम्झौताको बुँदा नं। ६ मा प्रत्येक महिनाको पूर्णिमाका दिनमा डामेर छाडिएका साँढेलाई समितिले संरक्षण गरेर गौशालामा राख्नुपर्नेमा त्यसो नगरेको पनि प्रवक्ता अधिकारीले बताए। संरक्षित क्षेत्रमा कानूनबमोजिम मात्र तला थप गर्ने सम्झौता पनि २० वर्षअघि दुवै निकायबीच भएको थियो । सम्झौताको ७ नं बुँदामा यो विषय उल्लेख गरिएको छ । विसं २०३८ मा निर्माण गरिएको धर्मशालामा तला थप गर्न कोष तथा पुरातत्व विभागको सहमति लिइएको छैन । धर्मशालाको उत्तरतिर कुनै पनि निकायको स्वीकृति नलिइ भवन निर्माण गरेकाले त्यसलाई भत्काउन कोष लागिपरेको छ । समितिले सम्झौता उल्लङ्घन गरेमा कोषले रद्द गरी छुट्टै व्यवस्था गर्न सकिने बुँदा नं ८ मा लेखिएको छ । संस्थालाई सेवामुखीभन्दा आर्थिक उपार्जनको थलो बनाएकाले तत्काल सम्झौता रद्द गरी नयाँ व्यवस्था गरिने कोषले जनाएको छ । कोषका सदस्य सचिव डा मिलनकुमार थापा आइतबार नै समितिसँग भएको सम्झौता रद्द गरी थप प्रक्रिया कानूनअनुसार अघि बढिने बताउँछन्। ‘पशुपतिनाथको सम्पत्तिमा समितिले कब्जा जमाउँदै आएको छ, नाथको सम्पत्ति कसैको स्वार्थसिद्धिका लागि प्रयोग गर्न दिँदैनौं, पशुपतिको सम्पत्ति रक्षाका लागि कोषले कानूनबमोजिम सबै प्रक्रियामा अघि बढ्छ’, उनले भने ।

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस बन्यो पहिलो दल

सुदूरपश्चिम । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा शनिबार मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहेका थिए । दार्चुलाबाट प्रतिनिधित्व गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी भए । उनले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गरे । बडू यसअघि विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसैगरी श्रम तथा रोजगारमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहेका छन् । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उनी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । । नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)बाट अछाम १ मा श्रममन्त्रीसमेत रहेका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित भए । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष छन् । नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहेका बैतडीका नरेन्द्र कुँवर (विजयसुन्दर) कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा पराजय भएका छन् । प्रतिनिधिसभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ । नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित भए। तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनःएमालेमै फर्किएका छन् । एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित भए । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी भएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेशसभा २ बाट पराजित भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीका प्रत्यासीसँग पराजित भएका हुन् । डा रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । प्रदेशका सामाजिक विकासमन्त्री एवं कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार डा तारा जोशीसँग पराजित भए। बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहेका छन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित भए । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशःएमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गरे । प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा (एकीकृत समाजवादी)का नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित भएका छन् । नेकपा (माओवादी केन्द्र)का नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित भए। प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित भए। निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित भए । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित भए। सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित भएका छन् । यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित भएका छन् । यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी रहेका छन् । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा तारा जोशी पनि प्रदेशसभामा विजयी भएका छन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।

डडेलधुरामा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

सुदुरपश्चिम । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको जनाएको छ । सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा, ८ गते धनगढीमा र मंसिर ९ गते डडेलधुरामा सम्पन्न सो कार्यक्रम आयोजना गरिएको कम्पनी कार्यकारी अधिकृत खत्रीले बताए। कम्पनीका मार्केटिङ बिभागका प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेलधुरा शाखाबाट चेयर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए । कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

१२ कार्यक्रमहरु सहित सिभिल बैंकले बाह्रौं वार्षिकोत्सव मनायो

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप सिभिल बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोह बैंकले आफ्नो वाह्रौं वार्षिकोत्सवको दिनमा गरेको छ । वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल ६ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ । जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताएका थिए । नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगद रहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए । उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । त्यस्तै, बैंकले जावलाखेल शाखामा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन, याङ्वरक शाखामा एटिएम सेवाप्रारम्भ, देशभरीका ३६ स्थानमा रक्तदान कार्यक्रम, जेहन्दार छात्रालाई छात्रवृतिकार्यक्रमहरु र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । त्यस्तै कार्तिक नाँचलाई आर्थिक सहयोग, नेपालबाल संगठनलाई आर्थिक सहयोग, निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग, राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग, अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग र बेगनाशतालमा लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ९५.२३ अर्व निक्षेप संकलन गरी करिब ८७.४० अर्व ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष/१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५० र माओवादी केन्द्र १६ स्थानमा विजयी भएका छन् ।

रास्वपालाई पछाडि पार्दै समानुपातिक मतगणनामा माओवादी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । दिउँसो १ बजेसम्मको समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ । समानुपातिक मतमा माओवादीलाई शुरुआतीदेखि पछाडि पार्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । १ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख ११ हजार ३१५ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९६ हजार ७८२ मत पाएको छ । अहिलेसम्मको मतगणनामा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।