एभरेष्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७७.७९ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको सोमबार(मंसिर १२ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५३९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अझै पनि टुकीमै पढ्छन् चेपाङ बालबालिका
चितवन । ईच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ । ईच्छाकामना गाउँपालिका १ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा नं ३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा नं १ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकिकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन । कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा नं ८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । भरतपुर महानगरपालिका २९ का केही घरमा अझै बिजुली पुगेको छैन । ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउँछन् । अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उनको भनाइ छ । ठेक्का आयोजना पाँच करोड सात लाख रुपैयाँमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउँछन् । उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको उनको भनाइ छ ।
एमसीसीको ३१५ किमि प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, रातमाटे(दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ । आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ । एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ । लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो । रासस
निर्वाचनमा बालबालिकालाई घरदैलो देखि आमसभा सम्म प्रयोग
काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमवार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो । सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरू मध्ये प्रचारप्रसार तथा र्यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम सभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रुपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो । संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको बताए । उनले वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारहरूबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको बताए । पार्टीगत रुपमा हेर्दा नेपाली कांग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले ८ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा, नेकपा (एमाले) ले ७१ वटा, जसपा, राप्रपा र राप्रपा नेपालले गरी ९ वटा, राप्रपाले १२ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटा, विवेकशिल, नेपाल सुशासन र जनमत पार्टीले १/१ वटा घटनामा बालकालिकाको प्रयोग गरेको उनले जानकारी दिए । उनले २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गरे । जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा (एमाले) ले १० वटा विद्यालयको प्रयोग गरेको उनले जानकारी दिए ।
साेमबार १५.६१ अंकले घट्याे नेप्से
काठमाडौं । सोमबार सेयर बजार १५.६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर १९५०.३७ अंकमा पुगेको छ । यसरी बजार घट्दा पनि खप्तड लघुवित्त, गरिमा डिबेन्चर र नेपाल ल्युब आयल क्रमश: रुपमा सबैभन्दा बढी कमाउने तीन कम्पनी भएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा तीन कम्पनीमा क्रमश: सिनर्जी पावर डेभलपमेन्ट, ओरियन्टल्स होटल र जानकी फाइनान्स रहेको छ । नेप्सेको अनुसार आज ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोडको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड बढीको कारोबार भएको छ ।
अरुण नदीकाे कात्तिकेघाट पुल निर्माणको कामले पायो तीव्रता
काठमाडौं । भोजपुर र संखुवासभाको सीमना भएर बग्ने अरुण नदी माथिको कात्तिकेघाट जोड्ने पक्की पुल निर्माण कार्यले तीव्रता पाएको छ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना अगाडि बढाउनको लागि सकस परेको थियो । अब भने पुल निर्माणको कामले तीव्रता पाएको हो । चालु आर्थिक २०७९/८० भित्र नै पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइ रहेको सडक विभाग अन्तर्गत पुल महाशाखाका परियोजना इन्चार्ज नितेश झाले बताए । सो पुल निर्माण कार्य आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको थियो । निर्माण कार्य सुरु गरेका साढे ४ वर्ष हुँदा पनि सन्तोषजनक काम हुन सकेको छैन । मोटरेवल पुलको जग खनि पिल्लर उठाएपछि काम रोकिएको थियो । अहिले भने पुनः काम सुरु भएको झाको भनाइ छ । बीएलटी कन्स्ट्रक्सन उक्त पुल निर्माणको काम गर्दै आएको छ । निर्माण कम्पनले पुलको काम असार मसान्तसम्म सक्नु पर्ने हुन्छ । ‘अहिले निर्माण कम्पनी चालु आर्थिक वर्षमा पुल निर्माणको काम सक्ने योजनाका साथ लागि रहेको छ, आगामी आर्थिक वर्ष २०८०/०८१ बाट पुलबाट गाडी कुद्छ, अब द्रुत गतिमा काम हुन्छ,’ उनले भने । झाका अनुसार उक्त पुल निर्माण गर्नको लागि अनुमानित २० करोड रुपैयाँ बजेट छ । पुल निमार्णको लागि आवश्यक सामाग्रीको उपलब्ध छिटो हुन नसक्दा काम द्रुत गतिमा गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ । अहिलेसम्म पुल निर्माण गर्दा ३ करोड रुपैयाँ खर्च भइसकेको निर्माण कम्पनीले जनाएको छ । ‘बर्खाको समयमा बाढीका कारण काम गर्न सकिँदैन, हामीले हिउँदको समयमा काम गर्ने हो, काम गर्दा विभिन्न अवरोधहरू आए, बिकट ठाउँ भएका कारण पनि हामीले तत्काल निर्माण सामाग्रीको उपलब्ध गराउन सकेनौं, मेजर कामहरु सकिएको छ, अहिले निर्माण सामग्रीको उपलब्ध गराइ काम गरिरहेका छौं,’ उनले भने । अरुण नदी कात्तिकेघाट पुल निर्माणको काम २५ प्रतिशत काम सकिएको पनि झाले बताए । पुल निर्माणको काम सुस्त हुँदा आवाज जावतसँगै यातायात सेवामा पनि कठिन भएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो पुल निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो । विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ । विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।
महापुरूषुले गर्यो १० करोडको व्यापार
काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार राम्रो देखियो । प्रायः एकवर्षमा दशभन्दा कम फिल्मले हलबाटै मुनाफा कमाउने गरेको तथ्याङ्क छ । यद्यपि यसैवर्ष मङ्सिरसम्म कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र महापुरूषले हलबाटै मुनाफा कमाएका छन् । आइतबार फिल्म ‘महापुरूष’ युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता पूरा गर्दा दश करोड बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । ‘हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन । हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन्’, निर्माता दीपेश खत्रीले भने, ‘फिल्म हेर्न परिवार नै आइरहनु भएको छ । यसैले फिल्मको व्यापार राम्रो भइरहेको छ ।’ यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ । निर्माता खत्रीका अनुसार फिल्मले पहिलो साता उपत्यका अन्तर्गतको हलमा तीन करोड छ लाख ६५ हजार र उपत्यका बाहिरका हलमा एक करोड पचास लाख १२ हजार, दोस्रो सातामा उपत्यकामा एक करोड ८९ लाख एक हजार र बाहिर ९४ लाख १७ हजार, तेस्रो सातामा उपत्यकामा ९६ लाख तीन हजार र बाहिर ४५ लाख सात हजार तथा चौँथो सातामा उपत्यकामा ८७ लाख सात हजार र मोफसलमा ३९ लाख आठ हजारको व्यापार गरेको छ । ‘फिल्म व्यापारमा केन्द्रित नभइ आफ्नै मौलिक कथा भन्नुपर्छ भन्ने लागेर यो विषयलाई ठूलो पर्दासम्म ल्याएका हौँ । यसले गरेको व्यापारले आगामी दिनमा गहन विषयलाई उठाउन हौसला मिलेको छ’, लेखकसँगै निर्देशकसमेत रहनुभएका प्रदीप भट्टराईले भने, ‘यो एक्लोपनको कथा हो । मैले वा धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू फिल्मले भन्छ ।’ स्वदेशमा मात्र नभइ विदेशमा समेत यो चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ, अमेरिकामा यसले ५१औँ दिन मनाउने सम्भावना छ’, कार्यकारी निर्माता बानियाँले भने, ‘व्यापारसँगै नेपाली फिल्मको बजार विस्तारसमेत भइरहेको छ ।’ चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत् पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।