विकासन्युज

पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरुङमा

काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिए । एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उनले सुनाए । आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गर्नेछ । सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायीरुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो । मेलम्चीको मुहानस्थलमा हेडवक्र्स् निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ ।

स्याउको बिरुवामा साढेएक लाख भ्रष्टाचार गर्ने दुई विरुद्ध मुद्दा दायर

काठमाडौं । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५ र ७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ । आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध एक लाख ६१ हजार रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो । आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध दुई लाख २३ हजार एक सय रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

मेला तथा महोत्सवले अर्थतन्त्रमा प्रत्यक्ष सहयोग गर्छ : दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश लाल श्रेष्ठले मेला महोत्सवले अर्थतन्त्रमा प्रत्यक्ष सहयोग गर्ने बताएका छन् । सोमबार महासंघको कार्यलयमा भएका कार्यक्रममा उनले यस्तो बताएका हुन् । यद्यपि, सरकारले व्यापार मेला महोत्सव गर्नका लागि सहयोग नगरेको उनले गुनासो गरेका छन्  । सरकारले मेला महोत्सवको आयोजना गर्नका लागि प्रदर्शनी स्थल तथा आयोजना गर्ने ठाउँको व्यवस्थापन नगर्दा समस्या आउने गरेको उनले बताए । ‘मेला महोत्सवले आन्तरिक उत्पादनमा विशेष जोड दिँदै आएको छ जसले गर्दा आन्तरिक उत्पादन भएका वस्तुहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र निर्यातमा गर्न सहयोग पुगेको छ,तर सरकारले यसको लागि कुनै ठाउँ व्यवस्थापन नगर्दा समस्या भएको छ, सरकारले यसमा सहयोग गरेको छैन,’ उनले भने । यस्तै, उनले सरकारले कर तिर्न क्षेत्र तयार रहेको तर कर तिरे वापतको सरकारले सुविधा प्रदान गर्नुपर्ने उनले बताएका छन् ।

काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानियद्धारा अवरोध

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन् । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ । अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । सुकुम्बासीहरुले डोजरको प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।

अब ट्वीटरमा लामो स्टाटस लेख्न पाइने

एजेन्सी । ट्वीटरमा भएको अक्षर सीमाको कारणले मानिसहरुले सो प्लेटफर्ममा आफ्नो इच्छाअनुसारको विषय लेख्न सकिरहेका छैनन् । अहिले ट्वीटरमा भएको २ सय ८० अक्षरको सीमालाई बढाउने संकेत ट्ीवटरका मालिक एलन मस्कले दिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले अक्षरको सीमा बढाउनेबारेमा दिएको सल्लाहलाई मस्कले सकारात्मक रुपमा लिएको बताएका छन् । एलन मस्कले ट्वीटर खरिद गरिसकेपछि पछिल्लो समयमा यसको स्वरुप र सुविधामा उनले परिमार्जन गर्ने कोशिष गरिरहेका छन् । आगामी केही समयमभित्रमा ट्वीटरले धेरै नयाँ विशेषताहरु थप्दै जाने अनुमान गरिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको सेयर मंगलबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । रोक्का रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंसिर १२ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै कम्पनीको सेयर मंसिर १३ गते बुधबारदेखि किनबेच गर्न पाइने छ । नेप्सेले कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयर कारोवार फुकुवा गरिदिएको हो । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । बराबरी हैसियतमा मर्ज हुन यी दुईले गत असार २७ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यससँगै असार २८ गतेदेखि दोश्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । अब भने लगानीकर्ताहरुले करिब साढे ४ महिनापछि कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

बैंकलाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिकको समीक्षा गर्दै क्षेत्रगत कर्जा विस्तार गरिसक्नुपर्ने समयसीमामा बैंक तथा वित्तीय संस्थालाई केही सहज बनाइदिएको हो । “तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तका आधारमा २०८० पुसदेखि हर्जना गणना गर्ने व्यवस्था मिलाइनेछ”, मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमा भनिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कृषि, ऊर्जा, लघु, घरेलु तथा साना उद्योगलगायतका क्षेत्रमा तोकिएको समयभित्र निश्चित प्रतिशत कर्जा विस्तार गरिसक्न भनेको छ । त्यसरी तोकिएको क्षेत्र र समयभित्र कर्जा विस्तार गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाहीसमेत गर्नेछ । तरलता अभाव समस्याले कर्जा विस्तारमा समेत नकारात्मक असर देखिएपछि राष्ट्र बैंकले लचक नीति अपनाएको हो । राष्ट्र बैंकको नीतिअनुसार वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीमा २०८० असार मसान्तसम्म १३ प्रतिशत, २०८१ असार मसान्तसम्म १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा गरिसक्नुपर्छ । विसं २०७९ असोजसम्ममा वाणिज्य बैंकले कृषि क्षेत्रमा पाँच खर्ब १९ अर्ब ५७ करोड अर्थात् कूल प्रवाह भएको कर्जाको १२ दशमलव ३८ प्रतिशत कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको अन्तसम्ममा यस्तो कर्जा कूल कर्जा रकमको १३ प्रतिशत पुगिसक्नुपर्ने र नपुगेमा हर्जना तिर्नुपर्ने हुन्थ्यो । त्यस्तै वाणिज्य बैंकले कूल कर्जा लगानीको निश्चित प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्छ । ‘क’ वर्गका बैंकले २०८० असार मसान्तसम्म सात प्रतिशत, २०८१ असार मसान्तसम्म आठ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा उनीहरुले ऊर्जा क्षेत्रमा रु दुई खर्ब ४५ अर्ब नौ करोड अर्थात् पाँच दशमलव ८४ प्रतिशत मात्रै कर्जा प्रवाह गरेको देखिन्छ । त्यसैगरी वाणिज्य बैंकले कूल कर्जा लगानीको न्यूनतम २०८० असार मसान्तसम्म १२ प्रतिशत, २०८१ असार मसान्तसम्म १३ प्रतिशत र २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा गरिसक्नुपर्छ । गत असोज मसान्तसम्ममा यस्तो कर्जा विस्तार तीन खर्ब ९८ अर्ब २१ करोड अर्थात् नौ दशमलव ४९ प्रतिशत बराबर छ । यसमा एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा पनि समावेश गरिएको छ । राष्ट्र बैंकको नीतिअनुसार विकास बैंकले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको १९ प्रतिशत र २०८१ असार मसान्तसम्ममा २० प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । गत असोज मसान्तमा ‘ख’ वर्गका वित्तीय संस्थाले उक्त क्षेत्रमा औसत २६ दशमलव ११ प्रतिशत अर्थात् रु एक खर्ब १३ अर्ब ८० करोड बराबर कर्जा लगानी गरेका छन् । त्यसैगरी वित्त कम्पनीले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको १४ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ असोज मसान्तमा उक्त क्षेत्रमा औसत २१ दशमलव २२ प्रतिशत बराबर कर्जा प्रवाह भएको छ । त्यो रकममा १८ अर्ब ३७ करोड बराबर हो । बैंक तथा वित्तीय संस्थाले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । गत असोज मसान्तमा वाणिज्य बैंकहरुले औसत छ दशमलब सात प्रतिशत, विकास बैंकले ११ दशमलब पाँच प्रतिशत र वित्त कम्पनीले सात दशमलव चार प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गरेका छन् ।

५ वर्षअघि अर्बमा बिजनेस गर्ने एनआईसी एशियाको अहिले खर्बको हिसाब, यी हुन् बैंकलाई सफलता दिलाउने रणनीति

काठमाडौं । अहिले बैंकिङ क्षेत्रमा आफूलाई नम्बर वान बैंकको रुपमा चिनाउन ठूलो प्रतिस्पर्धा छ । वाणिज्य बैंकहरुले आफुलाई यो सूचकमा आफु नम्बर वान भनेर दाबी गरिरहन्छन् । बैंकहरुबीच व्यवसायलाई विस्तार गर्दै आफूलाई नम्बर वान बन्ने अभ्यास व्याप्त छ । बैंकहरुमा सबैभन्दा मुख्य सूचकका रुपमा निक्षेप संकलनलाई लिने गरिन्छ । अहिले तरलताको संकट परिरहेको बेला बैंकहरुबीच निक्षेप संकलनको प्रतिस्पर्धा छ । एक बैंकसँग भएको निक्षेप अर्को बैंकले तान्ने परिपाटी अहिले बढेको छ । तर, आफुसँग भएको निक्षेपलाई अन्य बैंकले तान्न नसकोस् र ग्राहकलाई पनि सहज र सरल सेवा दिएर बढीभन्दा बढी निक्षेप संकलन गर्ने बैंकको अग्रणी स्थानमा एनआइसी एशिया बैंक देखिएको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया एउटा ब्राण्ड नै बनेको छ । एनआईसी एशिया बैंक्ले छाटो अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य रुपमा सफलता हासिल गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । जसमा एनआईसी एशिया बैंकको निक्षेप अन्य बैंकको तुलनामा सबैभन्दा धेरै रहेको छ । हरेक सूचकमा आफूलाई अब्बल बनाउँदै आएको एनआईसी एशियाले निक्षेप संकलनमा पनि अब्बल बनेको सूचकहरुबाट देखाउँछ । समग्र बैंकिङ्ग क्षेत्रमा आफूलाई नम्बर वान बनाइरहेको एनआईसी एशियाले निक्षेप वृद्धिमा ठूलो फड्को मारेको देखिन्छ । बैंकहरुले निक्षेप संकलन बढाउन विभिन्न प्रडक्ट र योजनाहरु ल्याइरहेका हुन्छन् । साथै बैंकहरुले उच्च ब्याज प्रदान गरेर पनि निक्षेप बढाएका हुन्छन् । जुन बैंकको निक्षेप जति धेरै हुन्छ त्यो बैंकको ब्यापार विस्तार तथा कर्जा विस्तार पनि धेरै हुन्छ । बैंकको निक्षेप बढेर कर्जा लगानी पनि बढायो भने आम्दानी पनि बढी हुने गर्दछ । सोही कारण बैंकहरुमा निक्षेप संकलनका लागि प्रतिस्पर्धा बढी नै हुन्छ । आफ्नो विजनेश बढाउन एनआईसी एशिया बैंकले निक्षेप संकलनमा जोडबल लगाउँदै आएको छ । जसमा एनआईसी एशिया बैंकको हिस्सा ३ प्रतिशत भन्दा बढी रहेको छ । ५ वर्षको अवधिमा एनआईसी एशिया बैंकले निक्षेप वृद्धि ह्वात्तै बढाएको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ सालमा ८६ अर्ब ६९ करोड ७१ लाख ५० हजार रपैयाँ निक्षेप संकलन गरेको थियो । त्यो बेलामा अर्ब क्लबमा निक्षेप राखेर ब्यापार गरिरहेको यस बैंकले ५ वर्षको अवधिमा २ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप पुर्याउन सफल भएको हो । ५ वर्षको अवधिमा बैंकले २४६ प्रतिशत निक्षेप वृद्धि गरेर आर्थिक वर्ष २०७७/०७८ सम्म ३ खर्ब भढी रकम संकलन गरेको हो । आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ६४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर १ खर्ब ५१ अर्ब १७ करोड ५८ लाख ३८ हजार रुपैयाँ निक्षेप पुर्याएको थियो । उक्त अवधिमा ७४.३७ प्रतिशत निक्षेप बढाउन सफल भएको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा बैंकले २९ अर्ब ३५ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर १ खर्ब ८० अर्ब ५३ करोड १४ लाख ५२ हजार रुपैयाँ भित्र्याएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १९.४१ प्रतिशत बढी थियो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा बैंकको निक्षेप ३० अर्ब ३१ कोड वृद्धि गरेर २ खर्ब १० अर्ब ८४ करोड ३४ लाख १ हजार रुपैयाँ पुर्याएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७९ प्रतिशत बढी थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले ८९ अर्ब ४० करोड रुपैयाँ बढाएर ३ खर्ब २५ करोड २४ लाख७८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत निक्षेप वृद्धि भएको थियो । समयअनुरुप ग्राहकमैत्री योजना ल्याउँदै निक्षेप बढाइरहेको एनआईसी एशिया बैंकले पछिल्लो तथ्याङ्क अनुसार ३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप पुर्याएको छ । बैंकले ग्राहकहरुलाई बैंकिङ्ग सेवाका साथै आफ्नो विजनेश गर्नका लागि मुलुकभर रहेका ३५९ शाखा कार्यालयमार्फत् निक्षेप बढाइरहेको छ । चालू आर्थिक वर्षको ४ महिनामा बैंकको निक्षेप वृद्धि ३.४१ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसअघि गत असार मसान्तसम्ममा २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप रहेको थियो । यसपटक बैंकिङ्ग क्षेत्रमा तरलता अभाव कायमै रहेको बेलामा पनि बैंकले निक्षेप बढाउन सफल भएको हो । बैंकसँग साउनमा ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ, भदौमा ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ, असोजमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ र कात्तिकमा ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ निक्षेप रहेको छ । एनआईसी एशिया बैंकका सूचना अधिकारी सरोज भट्टराइले बैंकिङ्ग क्षेत्र तरलता अभावले थलिएको भएपनि निक्षेप बढाउन सफल भएको बताए । उनले अन्य बैंकको तुलनामा एनआईसी एशिया बैंकको निक्षेप वृद्धिदर उत्साहजनक रहेको बताए । ‘बैंकका ३५९ वटा बढी शाखा कार्यालय छन्, एटीएम मेसिनहरु ४५० भन्दा बढी छन्, बैंकले ग्राहकहरुलाई सहज रुपमा राम्रो सेवा सुविधा दिइरहेको छ, निक्षेप राख्न र झिक्न सहज गर्दा निक्षेप बढेको हो,’ उनले भने । उनका अनुसार गाउँगाउँमा एनआईसी एशिया बैंकको पहुँच पुगेर सर्वसाधारणलाई उत्कृष्ट सेवा दिएकाले पनि बैंकमा निक्षेप बढेको हो । मुलुकका मुख्य शहरहरुमा पनि एनआईसी एशिया बैंकको उपस्थिती राम्रो रहेको उनले बताए । साथै, बैंकले निक्षेप खातामा पनि राम्रै ब्याजदर दिने भएकाले पनि निक्षेप आउने गरेको उनको भनाइ छ । आगामी दिनमा पनि निक्षेप बढाउन थुप्रै रणनीतिहरु तयार पारिसकेको बताए । ‘आगामी दिनमा कसरी निक्षेप बढाउने भनेर बैंकले थुप्रै रणनीतिहरु तयार पारेको छ, निक्षेप संकलन गर्न ग्राहकहरुलाई सहज सेवा दिने, मार्केटिङ गर्ने ब्राण्डिङ लगायतका रणनीतिहरुलाई आत्मसाथ गरेर अघि बढ्ने हो, अहिले पनि हामी यिनै रणनीतिहरु प्रयोग गरेर काम गरिरहेका छौं,’ उनले भने ।