विकासन्युज

गठबन्धनकै सरकार बनाउनेबारे देउवा, दाहाल र नेपालबीच छलफल

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज नयाँ सरकार गठनबारे छलफल भएको छ । प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो । गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए । निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो । निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आज दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेकपा (एमाले) ४२ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात स्थानमा जित हासिल गरेका छन् । यस्तै स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएका छन् । बाँकी स्थानको केही समस्याका कारण मतपरिणाम आउन ढिलाइ भएको आयोगले जनाएको छ । रासस

हरियो मकै निर्यात गर्दै गैँडाकोट

नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट(६ का किसान तिलकप्रसाद रिजालले बताए । ‘यहाँ मकैको उत्पादन राम्रो हुन्छ, मकै मात्रै लगाउँदा तीन बाली उत्पादन हुन्छ साथै यहाँ बाह्रैमहिना मकै फलाउन सकिन्छ’, रिजालले भने, ‘हामीले उत्पादन गरेको मकै खरिद गर्नका लागि काठमाडौं, पोखरा, बुटवललगायतका सहरबाट व्यापारीहरु आउँछन् ।’ अन्य खेती गर्दा किसानको मेहनत धेरै हुने र उत्पादन कम हुने भएकाले पनि किसानहरु मकै खेतीमा आकर्षित भएका रिजालको भनाइ छ । ‘गैँडाकोटमा बाह्रैमहिना हरियो मकै देख्न सकिन्छ, एउटै समयमा कसैको खेतमा मकैको बिरुवा त कसैका खेतमा फल्न लागेका र कतै पाक्न लागेका मकै देख्न सकिन्छ’, रिजालले भने, ‘हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी किसान मकैतर्फ आकर्षित भएका हौँ ।’ विगत १५ वर्षदेखि बेमौसममा मकै खेती गर्दै आएका रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । ‘एक सिजनमा चारदेखि पाँच लाख रुपैयाँसम्मको मकै बिक्री गर्दै आएको छु’, रिजालले भने, ‘हिउँदमा लगाइने मकै प्रतिकठ्ठा चार क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।’ खानका लागि स्वादिलो र व्यवसायिकरुपमा राम्रो उत्पादन हुने भएकाले यहाँका किसानले प्रायः हाइब्रिड जातका मकै लगाउने गरेका रिजालले बताए । गैँडाकोट–७ का सरस्वती सापकोटाले एक बिघा क्षेत्रफलमा लगाएको मकै बिक्री गरी परिवारको खर्च धान्न पुग्ने बताउँछन् । ‘मकै लगाएर गाईभैँसीलाई खुवाउन पनि भएको छ भने अलिकति बिक्री गरी घरखर्च पनि टरेको छ’ सापकोटाले भने । मकैका लागि अनुकूल हावापानी, सिँचाइको व्यवस्थाले मकै खेतीप्रति किसानको आकर्षण बढेको पाइन्छ । खेतमा बर्खे धान काटेर त्यो जमिनमा मकै लगाएको बताउँदै सापकोटाले गैँडाकोटमा पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी भागमा मकैको उत्पादन राम्रो हुने बताए । बर्खे धान रोप्ने ठाउँमा दुईबाली र मकैमात्र लगाउँदा राम्रोसँग तीनबाली उत्पादन गर्न सकिने सापकोटाको भनाइ छ । ‘जाडो महिनामा मकै उत्पादन हुन पाँच महिना लाग्छ’ सापकोटाले भने, ‘जाडो महिना बाहेक अन्य समयमा एक सय दिनमा हरियो मकै खान मिल्ने गरी तयार हुन्छ ।’ गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको ५, ६, ७, ८ र ९ नं वडामा बेमौसमी मकै उत्पादन हुने गरेको बताए । ‘यहाँ खासगरी वडा नम्बर ६, ७ र ९ मा धेरै मकै लगाउने गरिएको छ’ शर्माले भने, ‘५ र ८ नम्बर वडामा पनि मकैको राम्रो उत्पादन हुने गरेको छ ।’ यहाँ उत्पादन भएको मकैले जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुने गरेको शर्माले बताए । ‘यहाँ उत्पादन हुने मकै गैँडाकोटको जयश्री नजिकैको पूर्व–पश्चिम राजमार्ग छेउमा २० भन्दा बढी स्थानबाट बिक्री हुने गरेको छ, साइकल र मोटरसाइकलमा घुमाएर स्थानीय व्यापारीले बेच्ने गरेका छन्’ शर्माले भने, ‘जिल्लाको माग धानेर बढी हुने मकै भने किसानले काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा तथा छिमेकी जिल्ला चितवनका व्यापारीलाई बेच्दै आएका छन् ।’ नगरपालिकाले गैँडाकोटको वडा नं ६, ७ र ९ मा मकै जोन कार्यक्रम सञ्चालन गरेर अघिल्लो आर्थिक वर्षमा २३ लाख ८२ हजार रुपैयाँ अनुदान प्रदान गरिएको शर्माले बताए । ‘हामीले तीनवटा वडामा कृषि समिति निर्माण गर्न लगायौँ, ती वडासमितिबाट एउटा मूलसमिति निर्माण गर्यौँ’ शर्माले भने, ‘समितिबाट माग भएअनुसार हामीले कृषि औँजार, बीउ र औषधिमा अनुदान प्रदान गरेका छौँ ।’ यहाँको मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढी देखिने हुँदा नगरपालिकाले फेरोमन ट्याब अमेरिकन फौजी कीराको पासो, साइलेज बनाउने उपकरण तथा ट्र्याक्टरलगायतका उपकरण नगरपालिकाले अनुदानमा प्रदान गरेको शर्माको भनाइ छ । गैँडाकोटमा हिउँदको समयमा लगाइएका हरियो मकै मात्रै रु तीन करोड बढीको बिक्री हुने गरेको शर्माको भनाइ छ । गैँडाकोटमा बर्खे मकै पाँच हजार तीन सय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको भए पनि अन्य मौसममा भने कम क्षेत्रफलमा मकै खेती हुने गरेको छ । यहाँ ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै उत्पादन हुने भन्दै शर्माले हिउँदे मकैको उत्पादकत्व सात मेट्रिक टन प्रति हेक्टर रहेको बताए । त्यस्तै एक सय ३३ हेक्टर क्षेत्रफलमा वसन्ते मकै लगाइने गरेकोमा उत्पादकत्व प्रतिहेक्टर छ मेट्रिक टन र बर्खे मकैको उत्पादकत्व पनि छ मेट्रिक टन प्रतिहेक्टर भएको शर्माले बताए ।

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.५० प्रतिशत बोनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिग्ररेको तीन महिनासम्म पनि बनेन चितवनको तौलपुल

चितवन । चितवनमा एक करोड खर्चिएर निर्माण गरिएको तौलपुल बिग्रिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–१ आँपटारीमा निर्माण गरिएको तौलपुल तीन महिनादेखि बिग्रिएको हो । तौलपुल निर्माण भएको दुई वर्ष नपुग्दै दुई पटक बिग्रिएको छ । गत भदौ ७ गते चट्याङले तौलपुल बिग्रिएको थियो । बिग्रेको तीन महिना हुँदापनि तौलपुल मर्मत गरिएको छैन । छ महिनाअघि तौलपुलमा भार मापन गर्ने क्रममा मालवाहक गाडी अचानक बिग्रिएर पुलमा ठोक्किन पुग्दा तौलपुलको लोड सेल भाँचिएको थियो । मर्मत गरेर केही समय सञ्चालनमा आएको तौलपुल पुनःचट्याङका कारण बिग्रिएको यातायात व्यवस्था विभागका इञ्जिनियर राहुल सङ्गियारले जानकारी दिए । उनले विभागबाट स्थलगत निरीक्षण गरेर क्षतिको विवरण सङ्कलन गरेको भन्दै छिट्टै मर्मत गरिने बताए । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर तौलपुल सञ्चालन गर्दै आएका छन् । तोकिएकोभन्दा बढी भार बोक्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराउँछ । विसं २०७७ माघ १८ गते स्थापना भएको तौलपुलमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर काठमाडौँ, पोखरा जाने मालवाहक गाडीको तौल मापन गरिदै आएको थियो । विभागले एक करोड २१ लाख ७३ हजार रूपैयाँमा सो पुल बनाएको हो । हालसम्म भार मापनका आधारमा बढी भार बोक्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यो पुल बन्द भएपछि ट्राफिक प्रहरीले रात्रिकालीन बसमा दुई चालक भए नभएको जाँच गर्ने गरेको प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए । बिहान ५ बजेदेखि सवारीसाधन जाँच गर्ने गरिन्छ । भार क्षमताभन्दा बढी मालसामान ओभरलोड बोक्ने गाडीका कारण नेपालमा नयाँ कालोपत्र भएका सडकसमेत छिट्टै जीर्ण हुने गरेका छन् । सडक जीर्ण बन्दा दुर्घटनाको दर बढेको छ । यसलाई नै लक्षित गरेर तौलपुल स्थापना गरिएको हो । तौलपुलले ८० टनसम्मको गाडीको भार मापन गर्न सक्छ । सवारीको भार क्षमता नियन्त्रण गर्न सरकारले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका–२०७४ जारी गरेको छ । रासस

काठमाडौंमा डिजिटल हेल्थ कन्फरेन्स हुँदै, अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्ने

काठमाडौं । नेपालमा पहिलोपटक यही मंसिर १२ र १३ गते डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ । काठमाडौंमा आयोजना हुने सो सम्मेलन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन हुन लागेको हो । सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा केन्द्रित हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएका छन् । सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहनेछ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य नीतिले सम्बोधन गरेको विषय पनि सम्मेलनको विशेष मुद्दा हुनेछ । यसका साथै डिजिटल हेल्थमा नेपालका दूरदराजका जनताको सहज पहुँचको वातावरण सिर्जना गर्ने विषय पनि सम्मेलनमा मुख्य छलफलको विषय बन्ने बताइएको छ । कार्यक्रममा वर्ल्ड हेल्थ अर्गनाइजेसन, जर्मन सहयोग नियोग, जीआईजी, एनएसआई, तुर्किस एयरलाइन्स, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य रहेको छ ।  

पूर्वमन्त्रीहरुको चुनावी नारा बन्दै आएको भेरी करिडोरका पुल अझै बनेन

जाजरकोट । एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । तीन करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । विसं २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ । तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । उनले भने, ‘तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ । प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ ।’ जाजरकोटको नलगाड नगरपालिका–११ र रुकुमपश्चिम आठबिसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पाको ठूलीभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताए । यो पुल निर्माणको भाका थपिएको म्यादसमेत सकिन केही दिन बाँकी रहँदा पनि काम सुरु नै गरिएको छैन । सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदी माथिको यो पुल राजनीतिक नारा बन्दै आएको छ । अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रभित्र यो पुल पर्ने भएकाले बर्सेनि चुनावी नारा बन्दै आएको छ । यो पुल निर्माण नभएकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्री महँगो हुँदै आएको छ । त्यस्तै नलगाड–१० चौखामा रहेको ताक्सुगाड र वडा नं ८ को खमाउरे खोलामाथि पुल निर्माण गर्ने भनिए पनि निर्माणको सुरसार नहुँदा बर्सेनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गर्दछन् । त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा सात वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनुपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए । सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रुपमा यसलाई लिन सकिन्छ । यि पुल निर्माण नहुँदा डोल्पामा उत्पादन भएका स्याउ, जिम्बु र अन्य जडीबुटी ढुवानीमा समस्या थपिँदै आएको छ । सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका विभिन्न ठाउँबाट रुकुमपश्चिमको आठबीसकोटको माथिल्लो भाग तथा डोल्पा र जाजरकोटको माथिल्लो भागमा ल्याउने सामग्री पुलकै कारण बाधा पुग्दै आएको छ । झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकिलोको ४० मा बोकाएर लैजाँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ । रुकुमपश्चिमको आठबीसकोट–१२ मा रहेका खोलामा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेका छन् । सबै ठाउँमा एक वर्षअघि नै पुल निर्माण गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । पुल निर्माण नहुँदा दैनिक उपभोग्य सामग्री स्थानीय मजदुरबाट ढुवानी गरेर मूल्य वृद्धि हुने गरेको छ । सबैभन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्या हुँदै गएको छ । निर्माणका सामग्रीदेखि जिल्लामा हुने सबैखालका विकासका काम यही सडकबाट ढुवानी हुने भएकाले हरेक सामग्री महँगो र तोकिएको समयमा पुग्ने गरेको छैन । जाजरकोट सदरमुकामबाट नलगाड–११ तल्लुसम्म कालोपत्रका लागि ठेक्का भएर काम सुरु गरिए पनि त्यो काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । पुल र सडकको स्तरोन्नति ढिला हुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि प्रयोग हुने पहुँच मार्ग निर्माण तथा पुल निर्माणमा समेत समस्य देखिएको छ । पुल र सडक निर्माण छिटो भएमा आयोजनाको काममा सजिलो हुने आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले बताए । सडक डिभिजन चौरजहारीले भने निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै आएको छ । रासस

मधेसमै खुम्चिए मधेसवादी दल

जनकपुरधाम । विसं २०६२ र ६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा एमालेले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो महासेठ निर्वाचित भएका हुन् । शुक्रबार मङ्सिर ९ गते जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधि र उनका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काएका थिए । यता झाले निर्वाचनमा पराजय भएको औपचारिक घोषणा हुँदै गर्दा थियो, उता यही क्षेत्र छोडेर सर्लाही–२ पुगेका राजेन्द्र महतोले निकै चुनौतीको सामना गरिरहेको खबर आइरहेका थिए । महतोलाई चुनौती दिने नेता थिए, मधेश आन्दोलनकै अगुवा महेन्द्र राय यादव । मधेसी नागरिकलाई सङ्गठित गरी अधिकारको आन्दोलनमा लामबद्ध गर्नेमध्येका मुख्य नेता तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक र अहिलेको जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले पराजय बेहोरेको घोषणा भइसकेको थियो, त्यो पनि मधेश अधिकार आन्दोलनकै नाराले उदायका डा सिके राउतबाट । उता महतो आफ्नै सहकर्मीबाट हार्दै थिए, यता झा आफ्नै सहयात्री दल जसपाकै असहयोगले हार्दै थिए । ‘भाइ फुटे गवार लुटे भनेको यही त रहेछ हजुर’, अन्तिम चुनावी परिणाम सुनिरहेकामध्येका जनकपुरधाम–३ का ६१ वर्षीय राजेन्द्र भगत भन्दै थिए, ‘यति छिट्टै यस्तो होलाजस्तो लागेको थिएन ।’ उनले मधेसमा एकल सरकार बनाउन सक्ने हैसियत बनाएका दल रक्षात्मक अवस्थामा पुगेको देखेर आफूलाई निकै दुःख लागेको बताए । ‘खुसी हुने कि दुःखी’ अन्योलमा थिए जनकपुरधाम–१ का ६५ वर्षीय धनीवीर दास पनि । ‘हिजो हामी पनि उनीहरु सँगसँगै लडेको हो अधिकारका लागि तर अहिले सबै अलगअलग छन्’, उनले भने, ‘त्यसको फाइदा त अरुले उठाए नि यो दुःखद् हो ।’ जनकपुधाम–४ का ५८ वर्षीय फुलगेन साहले अहिलेको परिणामले आफूलाई आश्चर्य नलागे पनि मधेस आन्दोलनका नेताहरुले चुनाव हारेकामा नराम्रो लागेको प्रतिक्रिया दिए । ‘राम्रो त भएन तर के गर्नु जनता रिसाएपछि’, साह भन्छन्, ‘अधिकारको नाराले मात्रै केही हुँदैन, अवसर पाएको बेला काम गर्नुपर्यो नि ।’ सोही ठाउँका २१ वर्षीय अनुराज झा पनि यस्तै भन्दै थिए, ‘जनता बदलाव चाहन्छन्, अवस्थामा बदलाव । न बदलाव भयो न नेताहरु बदलिए, न त उनीहरु एक ठाउँमा भए । त्यसैले परिणाम यस्तो आयो ।’ देशभर चुनावको अन्तिम परिणाम आउने क्रममा छ । मधेस प्रदेशमा पनि चुनावी चित्र प्रष्ट भइसकेको छ ‘अरु चम्किए, मधेसवादी खुम्चिए’ । यो परिणामका विविध पाटाको समीक्षा हुँदै जानेछ । मधेस प्रदेशको राजधानी जनकपुरधाम धनुषामा भने मतगणनाको प्रारम्भिक नतिजासँगै बहस सुरु भइसकेको छ । यहाँका युवादेखि वृद्ध, व्यापारीदेखि ग्राहक, जागिरेदखि बुद्धिजीवी सबैले यसपटकको निर्वाचनको परिणामप्रति चासो व्यक्त गरिरहेका छन् । ‘मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे’ भनिन्छ चुनावमा हारजीत स्वाभाविक हो । देशभरि पटकपटक मन्त्री र पार्टी सत्तामा पक्कड भएका नेताहरु पनि राजनीतिको कखरा सिक्दै गरेकाहरुबाट पराजित भएका छन् । मधेसमा पनि त्यस्तै तर केही फरक भएको छ । यहाँ विकल्पको रुपमा नयाँलाई कम पुरानै पार्टीतर्फ बढी जनमत फर्किएको छ । पार्टी नेता तर चुवावमा स्वतन्त्रको हैसियतमा भएकाहरु चम्किएका छन् । मधेस राजनीतिका तीन महारथी महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोमध्ये एक जनाले मात्रै जितेका छन् । ठाकुरले महोत्तरी ३ मा हिजोको सहयात्री दल जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरेका छन् । महतोले सर्लाही २ मा लामो समय सहयात्रा गरेका महेन्द्र राय यादवबाट हार बेहोर्नुपरेको छ । यादवले सप्तरी २ मा मधेशीकै मुद्दाले स्थापित जनमत पार्टीका अध्यक्ष डा सिके राउतबाट पराजय हुनु परेको छ । त्यसैले पनि मधेसको हार र जीत दुवै विशेष छ । यहाँ हार्ने आफ्नै, हराउने पनि आफ्नै । विश्लेषक रोशन जनकपुरी पनि अरु ठाउँको भन्दा मधेसको हारजीत फरक र विशेष रहेको बताउँछन् । ‘मधेसकै मुद्दा उठाएर स्थापित हुन खोजेको जनमत पार्टीले जनमत बढाउँदै गएको छ, हार्ने ठाउँमा पनि यिनै दलका उम्मेदवार निकटतम प्रतिस्पर्धी छन्’, उनले भने, ‘आपसमा लडेपछिको परिणाम यस्तै त हुन्छ ।’ उनले मधेसवादी दलले अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनविश्वास भड्किँदै गएको बताए । ‘हिजोका मुद्दा यथावत छन्, मधेसवादी दलहरुमा राजनीतिक चरित्र अस्थिर रह्यो, त्यसकै प्रतीकात्मक अभिव्यक्ति हो अहिलेको परिणाम’, जनकपुरी भन्छन्, ‘जनतामा के मा र किन मत दिने भन्ने द्विविधा त थियो नै, मत विभाजित भएपछि अरुले फाइदा उठाए ।’ अर्का विश्लेषक डा राजेन्द्र विमल पनि मधेशवादी दलहरुले यहाँबाट आर्जित शक्तिलाई मधेशका मुद्दा सम्बोधन गर्नेतर्फ सही रुपमा प्रयोग नगरेकै कारण जनताले आशा र निराशासहित अभिमत जाहेर गरेको बताए । ‘अहिले देशभरि जनताहरु आक्रामक छन्, यहाँका नेताहरुले पनि मधेसका जनताको भावना बुझ्न सकेनन्’, डा विमलले भने, ‘मधेसका मुद्दा सम्बोधन गर्न इमान्दार प्रयत्न नभएको लागेरै जनताले यस्तो गरेका हुन सक्छन् ।’ यसपाली मधेस आन्दोलनका सहयात्री दलहरु फरकफरक कित्तामा उभिएका कारणले त हुँदै हो विगत पाँच वर्षमा प्रदर्शन गरेको अस्थिर राजनीतिक चरित्र पनि मधेसवादी दलहरुलाई महँगो परेको धेरैको बुझाइ छ । हुन पनि विसं २०७४ मा गठबन्धन र पछि पार्टी एकता गरेका नेताहरु सत्ता राजनीतिकै कारण फेरि फुटे । उम्मेदवारी दर्ताको केही दिन अघिसम्म सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी अन्तिम समयमा प्रतिपक्षी एमाले कित्तामा गयो । एमाले कित्तामै रहेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग सहकार्य गर्यो । पुराना सहयात्री यी दलको यही व्यवहारलाई जनताले मन नपराएको डा सुरेन्द्र लाल बताउँछन् । उनले राष्ट्रिय पार्टी र मधेशवादी दलबीचको फरक नछुटेकै कारण मधेशका जनता पनि विभाजित भएको बताए । ‘हुन त काठमाडौँमा जे भयो मधेसमा पनि त्यही भयो’, डा लालले भने, ‘फेरि किन मत हाल्ने भन्ने बारे जनतालाई आश्वस्त पार्न नसकेपछि हुने यस्तै हो ।’ पुरानै पार्टीतिर फर्कियो जनमत पाँच वर्षअघि तत्कालीन सङ्घीय समाजवादी फोरम हालको जसपा र राष्ट्रिय जनता पार्टी हालको लोसपाले आफ्नै बलबुतामा प्रतिनिधिसभाका ३२ मध्ये १९ र प्रदेशसभामा ६४ मध्ये ३४ सिट जितेका थिए । त्यसबेला सङ्घीय समाजवादी फोरमले प्रतिनिधिसभामा नौ र प्रदेशमा १९ तथा राजपाले प्रतिनिधिसभामा १० र प्रदेशमा १५ स्थानमा जितेको थियो । यसपटक भने फरक कित्तामा रहेका यी दुई पार्टीमध्ये जसपाले प्रतिनिधिसभामा छ र लोसपाले तीन गरी नौ स्थानमा जीत निकालेका छन् । त्यसैगरी प्रदेशसभामा क्रमशः नौ र सात गरी १६ स्थानमा जितेका छन् । यी दुई पार्टीले समग्रमा प्रतिनिधिसभामा नौ र प्रदेशसभामा १८ सिट गुमाएका छन् । यी सिटमध्ये मधेशवादी दल जनमत पार्टीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको छ स्थान ओगटेको छ । समग्रमा जसपा र लोसपाबाहेकका पार्टी तथा स्वतन्त्रले प्रतिनिधिसभाका २३ र प्रदेशसभाका ४८ स्थान आफ्नो पक्षमा पारेका छन् । जबकी अघिल्लो पटक प्रतिनिधिसभामा र प्रदेशसभामा क्रमशः दुई र १४ स्थानमा जितेको एमालले यो पटक प्रतिनिधिसभामा आठ र प्रदेशसभामा १४ स्थान जितिसकेको छ । प्रदेशसभाको परिणाम आउन बाँकी एक सिटमा एमाले उम्मेदवार अगाडि छन् । त्यसैगरी अघिल्लो पटक प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिटमै चित्त बुझाएको कांग्रेसले यो पटक प्रतिनिधिसभामा एक सिट बढाएर सात र प्रदेशमा चार सिट बढाएर १३ पुर्याएको छ । प्रतिनिधिसभाको परिणाम आउन बाँकी एक सिटमा कांग्रेस उम्मेदवार अगाडि छन् । मधेशवादी दल मात्रै होइन, अरु पार्टीभन्दा मधेस पक्षधर भनिएको माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा अघिल्लो पटक जितेको पाँच सिटबाट चार र प्रदेशमा अघिल्लो पटक छ दुई सिट गुमाएर चार सिटमा चित्त बुझाएको छ । यसबाहेक एमाले विभाजन गरेर बनाइएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार स्थान सुरक्षित गरेको छ । सङ्ख्यात्मकरुपमा अब सबै मधेशवादी दलहरु मिलेर पनि प्रदेश सरकार बन्ने अवस्था गुमेको छ । अघिल्लो पटक जसपा र लोसपा मिलेर एकल सरकार बनेको थियो । देशमा राजनीतिक उथलपुथल हुँदा पनि जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पाँचै वर्ष सरकार चलाएका थिए । तर अब मूलधारका राष्ट्रिय पार्टीको सहयोगबिना सरकार बन्न नसक्ने अवस्था आएको छ । आशा र निरासाको अभिव्यक्ति विश्लेषक जनकपुरी मधेसमा मधेसवादी पार्टी र समग्रमा मधेस र उत्पीडित जनताको पक्षधर मानिएको माओवादी शक्ति कमजोर हुनुको सङ्केत राम्रो नभएको बताउँछन् । “मधेसको कुरा गर्दा मधेसवादी दलमा आएको मत फेरि पुरानै पार्टीतिर फर्किन सुरु भएको छ । समग्रमा परिवर्तनका पक्षधर दलप्रतिको आक्रोस मतदानबाट पनि पोखिएको छ”, उनले भने । उनले मधेसी तथा परिवर्तनकारी जनतामा संवेदना बाँकी नै रहेकाले हिजो गरिएका वाचा पूरा गर्न र गुम्न थालेको साख फर्काउन इमान्दार प्रयत्न गर्न लाग्नु नै दलका लागि हितकर हुने बताए । विश्लेषक डा राजेन्द्र विमलले नयाँ पुस्ता र नयाँ पार्टीको उदयलाई देशले परिवर्तन चाहेको अर्थमा बुझ्न सकिए पनि राष्ट्रिय एकता र परिवर्तनको मुद्दा बोक्ने कमजोर हुँदै जानु राम्रो नभएको बताए । ‘अहिलेको परिणाम आशा र निराशाको समिश्रण मात्रै हो । नेता र दलहरु नबदलिएमा जनता त बदलिन्छन् नै’, डा विमलको भनाइ छ, ‘अविश्वासले आक्रोसको रुप लिनुअघि नै हामी सबै बदलिन जरुरी छ । पक्कै सुन्दर बिहानी आउँछ । अँध्यारा पक्ष मेटिदै जान्छन् ।’ विश्लेषक डा सुरेन्द्र लालले पनि अहिलेको परिणामले मधेसवादी र परिर्वतनकारी शक्तिहरुले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँछन् । जे गरे पनि जनताले मत हालिहाल्छन् भन्ने मनोविज्ञानलाई अहिलेको परिणामले बदल्न चेतावनी मात्रै दिएको भन्नुहुँदै डा लालले दलहरु बाँकी समय पनि नेताहरु नसुध्रिएमा समस्या हुने बताए । ‘सत्ता र शक्तिका लागि आजसम्म भएका क्रियाकलापले सबै एकै त हुन् नि भन्ने अवस्था बनेको छ । राष्ट्रिय पार्टी र मधेसवादी दलहरुको फरक छुटिएन । जनजीवीका, सामाजिक रुपान्तरण र समृद्धिका मुद्दा नारामै सीमित भए’, डा लालले भने, ‘अब आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि कार्यशैली बदल्न जरुरी भइसकेको छ । नभए जनताका अगाडि सधै विकल्प हुन्छन् ।’ देशभरको अवस्था हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सोचेभन्दा बढी नै फैलिएको छ । परम्परागत शक्ति राप्रपाले पहिलेभन्दा बढी शक्ति सञ्चय गरेको छ । मधेसमा पनि पुरानै पार्टीहरुको पनर्योदय सुरु भएको छ । यद्यपि जनमत पार्टीले यहाँ पनि नयाँ उचाइ लिएको छ । कुनैबेला मधेस विरोधी पार्टी भन्ने गरिएको एमाले अहिले यस प्रदेशमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुँदैछ । मधेसवादी दल तेस्रो/चौथो स्थानमा खुम्चिँदै छन् । रासस

दाङमा मत बदर धेरै

दाङ । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो । जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसारसमानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् । उनले प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताए । बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उनले जानकारी दिए । दाङ जिल्ला क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता रहेकोमा ७८ हजार दुई सय ६७ मत खसेको थियो । जसमा चार हजार पाँच सय ८० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार दुई सय ६७ मतदाता रहेकोमा ३९ हजार आठ सय ४४ मत खसेको थियो । जसमा दुई हजार चार सय १० मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार चार सय ६६ मतदाता रहेकोमा ३८ हजार चार सय ५४ मत खसेको थियो जसमा एक हजार सात सय ६३ मत बदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकोमा ७९ हजार तीन सय ३७ मत खसेको थियो । जसमा चार हजार सात सय छ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार तीन सय २२ मतदाता रहेकोमा ३६ हजार नौ सय ९३ मत खसेको थियो । जसमा एक हजार चार सय ८५ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७० हजार चार सय २६ मतदाता रहेकोमा ४२ हजार एक सय ५२ मत खसेको थियो । जसमा दुई हजार ३९ मत बदर भएको थियो । निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार पाँच सय ३५ मत खसेको थियो । जसमध्ये पाँच हजार चार सय २३ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार चार सय ७४ मत खसेको थियो । जसमा एक हजार सात सय ७८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ३३ मत खसेको थियो । जसमा दुई हजार दुई सय ५८ मत बदर भएको थियो । रासस