विकासन्युज

ह्वात्तै घटे बीमा पोलिसी त्याग्नेहरु, नेपाल लाइफसहित दर्जन कम्पनीमा देखियो सुधार

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर अर्थात समर्पण गर्ने (त्याग्ने) को संख्या घट्दो क्रममा छ । गत साउनको तुलनामा असोजमा सरेन्डर भएको बीमालेखमा रकम र संख्या दुबै घटेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा सरेन्डर रकम ४८.८९ प्रतिशतले घटेको छ भने सरेन्डर भएका बीमालेखको संख्या २८ प्रतिशतले घटेको छ । २०७९ असोजमा बीमितले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख त्यागेका छन् । जुन साउनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेन्डर भएको थियो । रकमका आधारमा १२ कम्पनीको बीमालेख सरेन्डरदरमा सुधार देखिएको छ भने ७ वटा कम्पनीको बीमालेख सरेन्डरदर बढेको छ । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी सरेन्डरदरमा सबैभन्दा बढी सुधार देखिएको छ । साउनको तुलनामा असोजमा कम्पनीको ७१.५२ प्रतिशतभन्दा कम रकमको बीमालेख सरेन्डर भएका छन् । साउनमा २८ करोडको बीमालेख सरेन्डर भएकोमा असोजमा ७ करोड ९७ लाख रुपैयाँको भएको छ । त्यस्तै, सरेन्डर रकममा सुधार आउनेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा प्राइम लाइफ, चौंथोमा नेपाल लाइफ र पाँचौंमा आईएमई लाइफ रहेको छ । यी कम्पनीको क्रमशः ६७.३७, ६५.६९, ५६.२० र ४९.११ प्रतिशतभन्दा कमले बीमा पोलिसी सरेन्डर भएका छन् । यता सिटिजन लाइफको ९४०.३१ प्रतिशत, युनियन लाइफको ९९.१७ प्रतिशत, ज्योति लाइफको ९६.८६ प्रतिशत, सूर्या लाइफको ९१.७९ प्रतिशत, सन नेपाल लाइफको ८६.४६ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ६२.७९ प्रतिशत र र सानिमा लाइफको बीमालेख पोलिसी सरेन्डर दर ०.०७ प्रतिशतले घटेको छ । किन घट्यो पोलिसी सरेन्डर दर ? बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) ले बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेसँगै उक्त दर घट्न पुगेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘तीन वर्ष नपुगी सरेन्डर गर्न नपाउने व्यवस्थाको प्रभाव परेको हो । अर्को, कम्पनीहरुले पनि सरेन्डर गर्नेलाई प्रोत्साहान नगर्ने भनिएको छ, त्यसैले सरेन्डर गर्नेको दर घटेको हो,’ पौडेलले विकासन्युजसँग भने । विगतमा कम्पनीहरुमा बीमालेख सरेन्डर गर्ने दर बढेसँगै एकल बीमालेखमा कडाई गर्दै प्राधिकरणले उक्त व्यवस्था गरेको हो । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पोलिसी सरेण्डरमा नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । कुन कम्पनीमा बढ्यो, कुनमा घट्यो ?  

समानुपातिकतर्फ अब १५ प्रतिशत मतगणना बाँकी

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

एनआइसी एशिया बैंकले माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदका लागि बैंकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

काठमाडौं ।  निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । त्यसैगरी सोही गाउँपालिका-६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगले गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उक्त मतदान रद्द गरी मङ्सिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो ।

निटफेस्टमा नाटक मञ्चनसँगै अन्तरक्रिया

काठमाडौं । यही मङ्सिर ९ गतेदेखि काठमाडौंमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भयो । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत गरिएको छ । यस्तै मञ्चन भएको दोस्रो नाटक कोन्द्रातोएभा क्रिष्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो । आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गरे । नाटकको चौँथो दिन आज भने दुई नेपाली प्रस्तुति मञ्चनसँगै कार्यशाला तथा प्यानल डिसकसन हुँदैछ । केही महिनाअघि मञ्चन भएको नाटक ‘खुवालुङ’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । नाटकसँगै ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला र ‘काठमाडौँबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुँदैछ । यसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तक्र्रिया गर्नेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले अगाडी बढ्छ : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकि रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन् । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ हाम्रो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन सकेन, तर जति प्राप्त प्राप्त जनादेश छ त्यसको सम्मान गर्दै अघि बढ्छौं,’ उनले भने । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सनवे कलेजले हल्ट प्राइज आयोजना गर्दै

काठमाडौं । सनवे कलेजले यो वर्ष पनि हल्ट प्राइज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले यो कार्यक्रम आयोजना गर्न लागेको यो तेस्रोपटक हो । कलेजले आवेदकहरुमध्येबाट एक विद्यार्थीलाई हल्ट पुरस्कारको प्रतिनिधिको रुपमा छनोट गर्नेछ । यस वर्ष सनवे कलेजले कार्यक्रमको नेतृत्व गर्न सनवेका विद्यार्थी उदितकुमार महतोलाई क्याम्पस निर्देशक नियुक्त गरेको छ । महतोले आयोजक समिति छनोट, योजना सत्र र मेन्टरशिप, मिडियासँग साझेदारीलगायतका काम गर्नेछन् । त्यसपछि विद्यार्थीहरुको विचार प्रस्तुत गर्नका लागि आयोजक समितिले समूह दर्ता गर्नेछ । ती समूहलाई विभिन्न सत्रहरू, कार्यशालाहरू र तालिममा सहभागी गराइनेछ । अन्तिममा निर्णायकले दिएको अंकका आधारमा अन क्याम्पस कार्यक्रमको विजेता घोषणा गरिनेछ । यसरी घोषित भएका विद्यार्थी क्षेत्रीय अर्थात् सेमीफाइनल प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । हल्ट पुरस्कार एक प्रतियोगिता हो । यसमा १२० देशमा १ लाख विद्यार्थीहरुलाई संयुक्त राष्ट्र दिगो विकासका लक्ष्य प्राप्तीका वार्षिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रभावकारी स्टार्टअपहरू सिर्जना गर्न लगाइन्छ । फाइनलमा पुगेका विद्यार्थीहरुले विभिन्न चरणहरू (क्वालिफायर, क्वार्टरफाइनल, सेमिफाइनल, ग्लोबल एक्सेलरेटर र ग्लोबल फाइनलहरू) मार्फत आफ्नो स्टार्टअपलाई निर्णायकसामु पेश गर्छन् । निर्णायकले एउटा समूहलाई विजेता घोषणा गर्छन् र उक्त विजेता समूहले १० लाख अमेरिकी डलर कोष प्राप्त गर्छ ।

प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।