लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हाे । यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
नेशनल लाईफकाे २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमा सम्बन्धी जानकारी दिएको थियो । कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कम्पनीले करिब १०० जना शिक्षकहरुको १ लाखको म्यादि जीवन बीमा गरेको थियो । सोही अवसरमा कम्पनीले मृगौला पिडित उजाला कुमारी दमाईलाई सिआरएस अन्तर्गत आर्थिक सहयोग स्वरुप २५ हजार रुपैयाँ पनि प्रदान गरेको थियो । यस्तै, कम्पनीले जिल्लाकै जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियाे ।
ढुंगा प्रहारबाट महानगरका एसपीको टाउकोमा चोट
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ । सुकुम्बासीहरुले आवेगमा आएर ढुंगामुडा प्रहार गरिरहेका छन् । सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ । सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् । उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन् । नगर प्रहरीहरु पनि सामान्य घाइते भएका छन्
गर्भावस्थामा आमाले गीत सुन्दा बच्चाको दिमाख तेजिलो हुने
एजेन्सी । गर्भावस्थामा गीत सुन्दा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ । संगीत सुन्नु तपाईंको मूडलाई ठिक गर्न र तनाव कम गर्नको लागि उत्तम विकल्प हो। संगीतमा तनावलाई कम गर्ने शक्ति हुन्छ, त्यसैले संगीत थेरापी शारीरिक र मानसिक स्वास्थ्यको उपचार गर्न प्रयोग गरिन्छ। गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चालाई असर गर्ने मनोवैज्ञानिक योगिता कादियानले यहाँ बताएकी छन् । गर्भावस्थामा संगीत योगिता कादियान भन्छिन् कि गर्भावस्थामा गीत सुन्दा गर्भमा रहेको बच्चाको बौद्धिक, मानसिक, व्यवहार र भावनात्मक विकासमा मद्दत पुग्छ । गर्भावस्थाको दोस्रो त्रैमासिकमा बच्चाहरूले संगीत सुन्न सक्छन्। तर तिनीहरू गर्भावस्थाको तेस्रो त्रैमासिकमा मात्र आवाज र आवाजहरूमा प्रतिक्रिया जनाउन थाल्छन्। गर्भावस्थाको नवौं हप्तामा बच्चाको कान बन्न थाल्छ। १८ औं हप्तामा बच्चाले सुन्न थाल्छ र त्यसपछि उसको आवाजप्रतिको संवेदनशीलता दिनहुँ सुधार हुन थाल्छ। गर्भावस्थाको २५ देखि २६ हप्तामा बच्चाले बाहिरी आवाजहरूमा प्रतिक्रिया जनाउन शुरु गर्छ। तेस्रो त्रैमासिकमा बच्चाले आमाको आवाज सुनेर आमा र वरपरका मानिसहरूलाई चिन्न थाल्छ। बच्चाको चालमा सुधार गर्भमा रहेको बच्चाले पनि संगीत सुन्न सक्छ। जब बच्चाले कम्पनको महशुस गर्छ, त्यसलाई पनि संगीतसँग मिलाउने कोशिस गर्दछ। यसले बच्चाको प्रतिक्रियामा सुधार ल्याउन पनि सहयोग पुर्याउँछ । संगीतको लयबद्ध ध्वनि तरंगहरूको रूपमा बच्चामा पुगिरहेको हुन्छ । बच्चाले यसमा ध्यान केन्द्रित गर्छ जसको कारण उसको संज्ञानात्मक कौशल र श्रवण इन्द्रियहरू उत्साहित हुन्छन्। यो बच्चाको मानसिक विकासको लागि राम्रो मानिन्छ । तनावलाई घटाउँछ गर्भावस्थामा धेरै तनाव हुन्छ र सो समयमा धेरै महिलाहरूलाई एन्जाइटी समेत हुने गर्छ । शरीरमा हुने परिवर्तन र बच्चाको स्वास्थ्यको चिन्ताले पनि महिला तनावमा रहन्छन् । यस्तो अवस्थामा संगीतले तनाव कम गर्न मद्दत गर्छ। संगीतले बच्चालाई आनन्दित बनाउँछ । संगीत सुन्नु गर्भावस्थाको समयमा तनाव कम गर्नको लागी एक प्रभावकारी तरिका हो। बच्चाको व्यक्तित्व विकास गर्भवती आमाले सुन्ने संगीतले बच्चाको व्यक्तित्वमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिन्छ। उदाहरणका लागि हल्का संगीत सुन्दा बच्चालाई शान्त पार्न सक्छ। अर्कोतर्फ बच्चाहरू चर्को र कोलाहलपूर्ण सङ्गीत सुन्दा रिसाउने प्रकृतिका बन्न सक्छन् । यद्यपि यो प्रमाणित गर्न कुनै अनुसन्धान गरिएको छैन। गर्भावस्थामा कति समय सम्म संगीत सुन्ने ? कुनै पनि कुराको अधिक प्रयोगले फाइदाको सट्टा हानि गर्छ। गर्भावस्थामा एक घण्टा भन्दा बढी संगीत सुन्नु हुँदैन। यदि तपाइँ आफ्नो पेटमा हेडफोन राख्दै हुनुहुन्छ भने त्यसलाई एक पटकमा ५ देखि १० मिनेट भन्दा बढी नराख्नुहोस्। यदि गीत सामान्य भोल्युममा स्पिकरमा बजिरहेको छ भने तपाईं दिनभर गीतहरू सुन्न सक्नुहुन्छ। ध्यान राख्नुहोस् कि बच्चा धेरैजसो समय गर्भमा निदाउने गर्छ, त्यसैले संगीतले उसको निद्रामा बाधा पुर्याउनु हुँदैन। धेरै संगीत सुन्दा बच्चाको निद्रामा बाधा पुग्न सक्छ। गर्भावस्थामा यस्ता गीत सुन्नुहोस्, जसले आमा र बच्चा दुबैलाई लाभ गर्छ गर्भावस्थाको बच्चालाई दिनहुँ सुत्न र आराम गर्न आवश्यक हुन्छ, त्यसैले गर्भावस्थाको समयमा ठूलो आवाजमा गीत कहिल्यै नसुन्ने गर्नुहोस् । संगीत एक मूड बूस्टर पनि हो, यसको प्रयोगले तपाईंलाई तनाव कम गर्न सजिलो तरिका हुन सक्छ। शारिरीक र मानसिक रोगहरुको उपचारका लागि प्राचीन कालदेखि नै संगीत थेरापीको प्रयोग हुँदै आएको छ । केही शल्यचिकित्सकहरूले आफ्नो मनपर्ने संगीत बजाउँदा अपरेटिङ रूममा तनाव कम गर्न मद्दत गर्छ भनी पत्ता लगाएका छन् । गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चा दुवैलाई धेरै फाइदा पुग्ने अध्ययनले देखाएको छ । गर्भावस्थाको समयमा गीत सुन्ने विषय गर्भमा हुँदा संगीत सुनेर जन्मिएको बच्चाको मानसिक, व्यावहारिक, भावनात्मक र मनोवैज्ञानिक विकास हुन्छ। भारतीय शास्त्रीय संगीत र हल्का संगीतले गर्भवती महिला र उनीहरूको गर्भमा रहेका बच्चाहरूमा राम्रो प्रभाव पार्ने अनुसन्धानले देखाएको छ। अध्ययनमा केही गर्भवती महिलाहरूको समूहलाई हरेक दिन कम्तिमा २० मिनेट हल्का गीतहरू सुन्न प्रोत्साहित गरिएको थियो। २० दिन पछि अन्वेषकहरूले गर्भमा रहेको बच्चाको सतर्क गतिविधि र मानसिक उत्तेजनामा सुधार भएको बताएका छन् । साथै यसले गर्भवती महिलामा शान्त र सकारात्मक प्रभाव पनि पारेको थियो । गर्भावस्थामा कति र कस्तो संगीत सुन्नुपर्छ ? मीठो सुमधुर गीतहरू सुन्नुहोस्। पप गीतहरू पनि सुन्नुहोस् तर भोल्युम कम बनाउनुहोस् । आफ्नो मनपर्ने संगीत सुन्न हेडफोन प्रयोग गर्नुहोस्। यदि तपाइँ पेटमा हेडफोन राख्न चाहनुहुन्छ भने त्यसलाई ५ देखि १० मिनेट मात्रै राख्नुहोस् । स्पिकरबाट गीत सुन्दा कम भोल्युममा सुन्नुहोस् । धेरै संगीत बजाउँदा बच्चाको निद्रालाई बाधा पुर्याउँछ । गर्भावस्थामा संगीत सुन्नुको फाइदा संगीतलाई बच्चाले कविताको लयको रुपमा महशुस गर्छ । बच्चाको ध्यान केन्द्रित गर्ने, सतर्कता हुने र श्रवण भावनालाई विकास हुन सहयोग पुर्याउँछ । गर्भावस्थाको समयमा संगीत सुन्दा बच्चाको व्यक्तित्वलाई आकार दिन मद्दत गर्न सक्छ, किनकि ऊ धेरै बुद्धिमान व्यक्ति बन्न सक्छ। यसरी मधुर संगीत सुन्ने आमाको बच्चा शान्त हुन्छ तर चर्को संगीत सुन्ने आमाको बच्चा क्रोधित हुन सक्छ। तनाव हुँदै डिप्रेसनको सिकार हुने सम्भावना भएको समयमा संगीतले मानिसलाई सान्त बनाउँछ । दिमाखलाई आनन्दित तुल्याउँछ । बच्चालाई शान्त र खुसी बनाउन मद्दत गर्छ । गीत तथा संगीत गर्भावस्थाको समयमा तनावसँग सामना गर्नको लागी एक प्रभावकारी तरिका हो। याद गर्नुहोस् की संगीतमा निश्चित लय र ढाँचाहरू छन् जुन बच्चाहरूलाई चिन्न र सम्झन सजिलो हुन्छ। यो विश्वास गरिन्छ कि बच्चाको श्वासप्रश्वासको ढाँचा उसले सुनेको धड्कन र आवाज अनुसार परिवर्तन हुन्छ। त्यसैले चर्को स्वरमा गीत संगित सुन्नु बच्चाको लागि हानिकारक हुन्छ । जसले तनाव र रक्तचाप पनि बढाउन सक्छ। त्यसैले गर्भावस्थामा हल्का प्रकृतिका गीत तथा संगीत सुन्नुहोस्, जसले गर्भमा रहेको बच्चालाई खुसी राख्छ। भास्कर दैनिकबाट ।
फोनमा ई-सिम चल्छ कि चल्दैन भनेर यसरी थाहा पाउनुहोस्
काठमाडौं । मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ । ई–सिम कम्पनीले भदाै ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण शुरु गरेको थियो । हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहनुभएका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको छ । मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जानुहुन ग्राहकलाई अनुरोध गरेकाे छ । यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्छ । यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी, आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ ।
उदयपुर १ मा मतगणना गर्न आयोगको आदेश
काठमाडौं । निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ । मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो । रासस
लघुवित्तले वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको जानकारी गराएको हो । उक्त निर्देशनको बुँदा नं १३ मा लघुवित्त वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् भन्ने व्यवस्था गरिएको छ । उक्त बुँदामा रहेका अन्य दुई वटा व्यवस्थालाई भने हटाइएको छ । यसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो । त्यस्तै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम भएका लघुवित्तले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था पनि हटाइएको छ । ‘वार्षिक २० प्रतिशतभन्दाबढी नगद वा बोनस लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने’ व्यवस्थालाई भने यथावत राखिएको छ ।-
पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरुङमा
काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिए । एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उनले सुनाए । आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गर्नेछ । सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायीरुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो । मेलम्चीको मुहानस्थलमा हेडवक्र्स् निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ ।