विकासन्युज

थ्री फेज मिटर कनेक्सन १० दिनमा, नाफा वृद्धिसँग सेवा दुर्त बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं ।  नाफा वृद्धिसँगै नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई तिव्र बनाउने भएको छ । तीन महिनामा साढे ८ अर्ब नाफा कमाएको प्राधिकरणले ग्राहकहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको हो । प्राधिकरणले सिङ्गल फेज मिटर कनेक्सन ५ दिन र थ्री फेज मिटर कनेक्सन १० दिनमा सम्पन्न गर्ने बताएको छ । यदि सो दिनभित्र काम सम्पन्न नभएमा जानकारी गराउन प्राधिकरणले भनेको छ । ‘आफ्ना ग्राहकहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाह गर्न सदैव अग्रसर छ, प्राधिकरणबाट सिङ्गल फेज मिटर कनेक्सन र थ्री फेज मिटर कनेक्सन (जीआईएस गर्नुपर्ने बाहेक) आवेदन दिएको मितिले क्रमशः ५ दिन र १० दिनभित्र नभएमा मोबाइल नम्बर ९८५१३२२११७ मा जानकारी गराउनुहुन अनुरोध गरिन्छ,’ वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग, काठमाडौंले जारी गरेको सूचनामा उल्लेख भनिएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा ८ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत असोजसम्मको वित्तीय विवरण अनुसार प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । साथै असोज मसान्तसम्ममा प्राधिकरणले २४ अर्ब ४८ करोड खर्च गरेको छ । प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत गृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्यतुबाट ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

पर्यटकीय गन्तव्य बन्दै चितवनको पामडाँडा

  चितवन । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ । प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडासदस्य तारा गुरुङले बताइन् । उनले भनिन्, ‘हिमशृङ्खलाको आकर्षक दृश्यसँगै यहाँबाट त्रिशूली नदीमाथि पामडाँडाबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ ।’ यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । कात्तिक, मङ्सिर, पुस र फागुनसम्मै पामडाँडाबाट तल कुहिरो देखिने उनले बताए । ‘हिजोआज मध्याह्न १२ बजेसम्मै कुहिरो देखिन्छ’, उनले भने, ‘बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ ।’ यतिबेला यहाँ लटररम्म सुन्तला फलेका छन् । यसले पनि यहाँको दृश्य थप मनोरम बनाएको छ । यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङले बताए । उनका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ । पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ । यहाँ पुग्नेका लागि १५–२० जना पाहुनालाई राख्न सक्ने क्षमता यहाँका घरवास होमस्टेको व्यवस्था गरिएको छ । पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ । गुरुङ समुदायको खुलाल जातिमात्रै बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू यहाँ आएर बसेको उनले बताए । यहाँबाट नजिकै रहेको चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ । पामडाँडाको पर्यटन विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्ने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिए । रासस

विद्यालयमा इन्टरनेट विस्तारले पठनपाठनमा सहजता

ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । धन गौ ज्योति र जनजागृति माविमा गत वर्ष र शान्ति माविमा दुई वर्ष अगाडि इन्टरनेट जडान भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । गाउँपालिकाले यसै वर्ष वडा नं २ को जनज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पालिकाले विद्यालयमा इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । उनले अहिले चार विद्यालयमा मात्रै इन्टरनेट विस्तार गरेको भन्दै अब विस्तारै अन्य विद्यालयमा विस्तार गर्ने योजना रहेको बताए । अध्यक्ष बुढामगरले भने, ‘हाल पालिकाका तीन मावि र केही आधारभूत तहका विद्यालयमा इन्टरनेट विस्तार गरेका छौँ, अन्य विद्यालयमा पनि विस्तारै जडान गर्ने योजना छ, प्रविधिको विकाससँगै अब दुर्गमका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने हाम्रो प्रयास हो ।’ विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाइमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनले बताए । उनले अहिलेको युगमा इन्टरनेट अतिआवश्यक भएको जनाउँदै यसले पठनपाठनमा निकै सहजता प्रदान गरेको छ भने । ‘इन्टरनेट जोडेको केही महिना राम्रोसँग चल्यो अहिले अवरुद्ध भएको छ, अहिलेको जमानामा इन्टरनेटबिना शिक्षण सिकाइ अपूरो हुन्छ’, प्रअ पुनले भने, ‘शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि इन्टरनेटको विकल्प छैन, सबै विद्यालयमा यो विस्तार हुन जरुरी छ ।’ उनले इन्टरनेट जडानपछि विद्यार्थीलाई सिक्न रुचि राखेको विषय प्रत्यक्ष देखाएर सिकाउन सकिने भन्दै तत्काल देश–विदेशका घटनाका सूचना सजिलै प्राप्त गर्न सकिने उनको भनाइ छ । कोभिडको समयमा अनलाइन कक्षा सञ्चालनमा समेत ठूलो टेवा पुगेको उनको भनाइ छ । तमानखोलाका उपाध्यक्ष हीराकुमारी छन्त्यालले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा इन्टरनेट विस्तार गर्न थालेको बताए । सुरुमा वडा कार्यालयमा इन्टरनेट जडान गरेकामा अहिले विद्यालयमा समेत विस्तार गर्न थालेको उनले जानकारी दिए । ‘हामीले केटमाइन इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेर वडाहरूमा इन्टरनेट विस्तार गर्यौँ, विद्यालयहरूमा पनि यसको अतिआवश्यक हुँदा अहिले माध्यमिक तहका विद्यालयमा जडान गरेर सुरुआत गरेका छौँ’, उपाध्यक्ष छन्त्यालले भने, ‘शिक्षा प्रविधिमैत्री बनाउने हिसाबले इनटरनेट जडानको कामलाई अगाडि सारिएको हो, यसले पक्कै पनि विद्यार्थीको सिकाइमा केही नयाँपन ल्याउने र प्रभावकारी बनाउने छ ।’ तमानखोलामा २४ विद्यालय छन् । ती मध्ये माध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय नौ र प्राथमिक विद्यालय १२ छन् । विद्यालयमा इन्टरनेट जडानपछि विद्यार्थीसमेत हर्षित बनेका छन् । कक्षा १० मा पढ्ने रोहित बुढामगरले विद्यालयमा इन्टरनेट जडान भएपछि कम्प्युटर सिक्न र नयाँ ज्ञान, सीप सिक्न सहज भएको बताए । रासस

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् । प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास होमस्टे सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिए । आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उनले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए । ‘होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ’, उनले थपे, ‘शिरुबारी गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।’ घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उनको भनाइ छ । कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिए । ‘पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौैँ’, उनले भने, ‘स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।’ घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने अध्यक्ष थापाले जानकारी दिए । दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ । दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अग्र्यानिक महको स्वाद लिन पाउँछन् । दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिए । मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउछन् । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उनले जानकारी दिए । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउँँछन् । प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवद्र्धनकै अभावमा पर्यटन बजारमा पुर्याउन नसकिएको उनको भनाइ छ । गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण दगाम पछि पर्न थालेको स्थानीय लालबहादुर गुरुङले बताए । दगामसम्म पुग्ने पदमार्ग र सडकको बाटो व्यवस्थित गर्न सके बाह्रैमास पाहुना जान सहज हुने उनको भनाइ छ । सरकारी पक्षबाट सानो–तिनो सहयोग आए पनि त्यो आफूहरूका लागि पर्याप्त नभएको पूर्व वडासदस्य दानबहादुर थापाले गुनासो गरे । यहाँका घरमा स्तरीय शौचालयको अभाव रहेको जनाउँदै यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताए । पछिल्ला समयमा यहाँको प्रवद्र्धनलाई विभिन्न सङ्घ संस्थाले जोड दिएका छन् । दगामका पर्यटकीय सम्भावनालाई उजागर गर्न हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशले प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थाले प्रकृति र संस्कृतिको बरदान दगाम गाउँ प्रवद्र्धनका पर्खाइमा रहेको बताए । रासस

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २ (१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

एशियन हाइड्रोपावरको आईपीओ मंसिर २७ देखि बिक्री हुँदै, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदाक गा.वि.स. को १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गा.वि.स.का वडा नं. ५० तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको माघेसुन्तले र तिनघरे गा.वि.स.का सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गा.वि.स.का वडा नं. ३, ४ र ५) का स्थानीय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बासोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिनेछ । यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि निष्काशन गरिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको पूर्ण आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनएमबि बैंकको इलाम शाखा, सिभिल बैंकको जोगमाइ शाखा, प्राइम बैंक, ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

लाभांशसहित ८ एजेण्डा पारित गर्न नागरिक स्टकको साधारण सभा आज हुँदै

काठमाडौं । नागरिक स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुने भएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अथार्त २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने र कम्पनीको २०७८ चैत्र ६ गते र २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्नेछ । कम्पनीको बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्न लगायतका प्रस्ताव पारित गर्ने छ । कम्पनीको सभाले विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।

सानिमा बैंकको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । सानिमा बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष ३ गते, आइतबार आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजे १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।