मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको सम्पन्न गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी रबीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । वाकाथन कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागिसमाजमा बीमा सचेतना फैलाउनु रहेको थियो । मेटलाइफका सञ्चालन प्रमुख श्री देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने ‘देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपुर्ण छ ।’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’
यु–१९ क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडौं । मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो । शनिवार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । यस्तै आकाश त्रिपाठीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । यस्तै नर सार्की २६ रनमा अविजित रहे । बलिङतर्फ मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए । जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमवार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यस्तै लिगको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुखद् अन्त्य गरेको छ । कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दिपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेले । प्रदेश १ को ३ विकेट निकाल्दा कर्णालीका युनिस सिंह र मोहन बिकले समान १–१ निकाल्दा एक खेलाडी रन आउट भए । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५२ रन बनाउन सक्यो । सुवास ऐरले सर्वाधिक ४७ रन जोड्दा मेहन बिक २९ रनमा अविजित रहे । ओपनर मनिष थापा २६ रन जोड्दा युनिस सिंहले १३ तथा कप्तान विपिन रावलले ११ रनको व्यक्तिगत स्कोर बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कँडेल र अनिस ओझाले ३/३ विकेट लिए । फाइनल खेल सोमवार हुनेछ ।
कङ्गोमा ‘नरसंहार’मा १०० भन्दा बढीको मृत्यु
एजेन्सी । कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो । एम २३ ले जवाफी हमला गर्दै आरोपहरू ‘आधारहीन’ भएको र आफ्नो आक्रमण नागरिकहरूप्रति लक्षित गरेको कुरालाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता प्याट्रिक मुयायाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा डीआरसीका अध्यक्ष फेलिक्स शिसेकेदीले किशिशेमा १०० भन्दा बढी नागरिकको नरसंहार भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन्। शिसेकेदीले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई निर्देशन दिएको र देशभर झण्डा आधा झुकाइने उनले जानकारी दिए । मुयायाले भने, ‘शोकको अवधि सोमबार टेलिभिजनमा पीडितहरूको सहयोगका लागि आयोजित चन्दा सङ्कलन कार्यक्रमबाट अन्त्य हुनेछ ।’ उक्त नरसंहारको खबर सार्वजनिक भएदेखि नै स्वतन्त्र छानबिनको माग उठ्न थालेको छ । राष्ट्रपतिले न्यायमन्त्रीलाई अविलम्ब आन्तरिक अनुसन्धान सुरु गर्न र यस युद्ध अपराधबारे प्रकाश पार्न अन्तर्राष्ट्रिय अनुसन्धानका लागि काम गर्न आग्रह गरेको मुयायाले बताए । वर्षौंदेखि सुषुप्त अवस्थामा रहँदै आएको एम २३ कङ्गोली तुत्सी विद्रोही समूह हो । उसले गत वर्ष नोभेम्बरमा फेरि हतियार उठाएको थियो र जुनमा युगान्डासँगको सीमामा रहेको बुनागाना शहर कब्जा गरेको थियो । उक्त समूह केही समयको शान्तिपछि अक्टोबरमा फेरि आक्रमणमा उत्रियो र आफ्नो नियन्त्रणमा रहेको क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्दै गोमातर्फ अघि बढेको छ । किन्सासाले आफ्नो सानो छिमेकी रुवान्डाले एम २३ लाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । यो संयुक्त राष्ट्रसङ्घका विज्ञ र अमेरिकी अधिकारीहरूले पनि हालैका महिनाहरूमा औंल्याएका छन् । किगालीले उक्त आरोप अस्वीकार गर्दै आएको छ । फोटो : रोयटर्सबाट ।
नेपाल फिल्म सोसाइटी द्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान
काठमाडौं । नेपाल फिल्म सोसाइटी द्वारा भर्खरै निर्वाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि बिजय भएका माननीय मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान (ख) बाट निर्बाचित भएका माननीय सरोज थापा (रोज राणा) लाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ। उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, परिबर्तन नेपालका अध्यक्ष मोहन निरौला, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, कलाकार कृष्ण ढुंगाना, निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, चलचित्रकर्मी अशोक शर्मा, कलाकार शिवहरि बैरागी, मनोज केसी लगायत नेपाल फिल्म सोसाइटीका सदस्यहरु, कलाकारहरु र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्वाचित प्रदेश सांसद नायक निर्माता माननीय मदुकुमार श्रेष्ठले पनि आफूले फिल्म क्षेत्रका लागि सक्दो सहयोग गर्ने बताए । ‘म राजनीतिका अलवा फिल्म क्षेत्रबाट पनि चिनिएको छु’ श्रेष्ठले भने– ‘फिल्म क्षेत्रका लागि बागमती प्रदेशबाट हुने कामका लागि म पहल गर्नेछु ।’सांसदको ५ वर्ष आफु घुस नखाने, भ्रष्टाचार नगर्ने र पाउने तलव भत्ता समेत गरिबको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका श्रेष्ठले चलचित्रकर्मीको साथ र सहयोगबाट आजको स्थानमा आउन सफल भएको धारणा राखे । ‘फिल्मकर्मीको साथ र सहयोगको पनि अहिलेको सफलतामा हात छ’ श्रेष्ठले अगाडि भने, ‘त्यो साथ र सहयोग आगामी दिनमा पनि आवश्यक छ । म पनि यो क्षेत्रका लागि सक्दो सहयोग गर्नेछु ।’ त्यस्तै अर्का चलचित्रकर्मी तथा नव निर्वाचित प्रदेश सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् । ‘म प्रदेश सांसद हो। हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डको स्वायत्तताका लागि विशेष पहल रहनेछ ।’ सातैवटा प्रदेशमा चलचित्र विकास बोर्ड गठन हुनपर्ने धारणा समेत राखेका राणाले आफ्नो बेस चलचित्र र पेसा पनि चलचित्र भएकोले यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए । ‘चलचित्रको नीति बनाउने केन्द्रीय तहमा मेरो प्रतिनिधित्व छैन’ राणाले थपे– ‘सोही कारण पनि हामीले धेरै काम गर्न नसक्ने हुनसक्छ । यो सबैले मनन गर्नुपर्ने हुन्छ । सकेको सहयोग भने गर्नेछु ।’ कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ल, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले सांसदले चलचित्र क्षेत्रको समस्याको बिषयमा सदनमा कुरा उठाउनुपर्ने धारणा राखे। उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल फिल्म सोसाइटी युकेका महासचिब बरिष्ठ गीतकार, चलचित्रकर्मी हिराकाजी थापालाइ समेत स्वागत सम्मान गरिएको थियो।
पशुपालनबाट आर्थिक रुपमा सक्षम बन्दै पाल्पा रामपुरका महिला
पाल्पा । व्यावसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने चलन अझै कायमै छ । पछिल्ला समयमा भने महिला सशक्तिकरण, चेतनाको स्तर विकास हुँदै गर्दा महिला आफैँ स्वावलम्बी बन्न विभिन्न व्यवसायमा संलग्न बनेका छन् । आफ्नै नाममा व्यवसाय दर्ता गरेर आर्थिक क्षेत्रमा पाल्पाका महिला अब्बल बन्दै गएका छन् । रामपुर सिर्जनशील पशुपक्षी तथा कृषि फार्मका सञ्चालक सिर्जना पौडेलले समाजमा पशुपालन गरेर उदाहरणीय महिलाका रुपमा कहलिएकी छन् । उनको व्यावसाय यस क्षेत्रकै नमुना र अवलोकनयोग्य बनेको छ । कालीगण्डकी करिडोरको आडैमा रहेको उनको व्यवसाय अवलोकन गर्न र व्यवसायसम्बन्धी जानकारी लिन कृषक पुग्ने गर्दछन् । सामाजिक सङ्घसंस्थामा सक्रिय उनी पशुपालनबाटै आफू आत्मनिर्भर बन्दै गएको बताउँछिन् । रामपुर नगरपालिका–५ सानीअमराईकी पौडेलले बेझाड बजारमा करिब एक दशक फेन्सी पसल सञ्चालन गर्नुभएको थियो । फेन्सी पसलबाट राम्रै आम्दानी गर्नुभएकी उहाँले सो व्यवसायलाई घरमै सारेर पशुपालनलाई सँगै अगाडि बढाएकी छन् । पशुपालनबाट आफू सन्तुष्ट रहेको पौडेल बताउँछिन् । उनले गाउँका अन्य महिलालाई पनि पशुपालनमा लाग्न सल्लाह दिने गर्छिन् । ‘पुरुषको तुलनामा महिलाको जिम्मेवारी धेरै छ, हिम्मत र साहस गरियो भने पुरुषभन्दा महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन्’, उनले भनिन्, ‘अरूको भरमा रहेका महिला सधैँ पछाडि परिरहेका छन्, आयआर्जनमूलक व्यवसायमा लागियो भने कसैमाथि निर्भर रहनु पदैन्, आर्थिकरुपमा बलियो भएपछि घरपरिवार, समाजबाट सम्मानजनक व्यवहार पाइन्छ ।’ उनको फार्ममा हाल सातवटा भैँसी र तीनवटा गाई छन् । अहिले छ भैँसी र एक दुहुना गाईबाट दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्छिन् । यहाँको बजारमा भैँसीको प्रतिलिटर ८५ र गाईको ६५ दूधको मूल्य रहेको छ । पशुपालनबाट उनले मासिक ६० देखि ७० हजारसम्म आम्दानी गर्दै आएकी छन् । एक भैँसीलाई एक लाख ७० हजार मूल्यमा खरिद मूल्य परेको पौडेलले बताइन् । उन्नत जातका पशुपालनबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । भैँसी खरिद र संरचना निर्माणमा करिब २० लाखभन्दा बढीको लगानी परेको छ । आफ्नै जग्गा प्रशस्त रहेको हुँदा घाँसपातमा सहज भएको उनले बताए। घरायसी कामधन्दा, छोराछोरीको स्याहारसुसारले महिला घरबाट बाहिर निस्कन पाउँदैनन् । महिलापुरुष समान भन्ने गरिए पनि घरभित्रको जिम्मेवारी महिलाकै काँधमा हुन्छ । घरायसी कामधन्दाका अलवा हिम्मत र साहस गरियो भने महिलाले विभिन्न व्यावसाय, उद्यम गरेर समाजमा आर्थिक क्षेत्रमा बलियो बन्न सक्ने उनको अनुभव छ । “घरमै परिवारको साथमा बसेर पशुपालनबाट दैनिक आम्दानीको दरिलो स्रोत बनेको छ, बजारको सहज हुँदा दूध बिक्री गर्न समस्या छैन, दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नै जग्गामा व्यवसाय चलाउँदा भाडा तिर्ने पैसा बचत गर्न पाइयो’, उनले भनिन् । उनले बलियो र व्यवस्थित संरचना तयार पारेकी छन् । पहिला घरमा एक दुईवटा पशुपालनको अनुभव लिएकी उनले व्यावसायिक रुपमा पाल्न थालेपछि दाम मात्र नभई समाजमा उद्यमी महिलाका रुपमा पहिचान दिन सफल भएको बताइन्। रामपुर क्षेत्रका विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध उनको दैनिकी पशुपालन, फेन्सी पसल सञ्चालनसहित सामाजिक काममा बित्ने गरेको छ । व्यवसाय, घरायसी काम, सामाजिक क्षेत्रको कामले उहाँको दैनिकी हिजोआज व्यस्त बनेको छ । सानैदेखि नै हरेक काममा निडर र साहस राख्ने पौडेलको व्यवसाय लोभलाग्दो छ । आफ्नो कमाईमा आफैँ रमाउन पाउँदा आनन्दानुभूति लाग्ने गरेको उनले अनुभव सुनाइन् । रामपुर–६ बस्ने दीपा पँगेनीले डेढ वर्षअघि देखि पशुपालन व्यवसाय सुरु गर्र्नुभएको छ । सक्षम सङ्कल्प पशु तथा कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा अगाडि बढेकी छन् । उनको फार्ममा हाल नौवटा उन्नत जातका भैंसी छन् । फार्ममा रहेका छवटा दुहुना भैँसीबाट अहिले दैनिक ४० लिटर दूध उत्पादन गरी बिक्री गरिहहेकी छन् । ‘आफ्नै नाममा व्यावसाय हुँदा छुट्टै आनन्द लाग्दो रहेछ, व्यवसायमा जोस जाँगर थपिने, सामान्य खर्चलाई अरूको भर पर्नु परेन, दूध बेचेपछि हातमा पैसा परिहने, अर्काको अधीनमा काम गर्नु परेन, आनन्दको पेसा रहेछ हामी महिलालाई घरधन्दासँगै सबै काम एकै पटक सकिन्छ’, उनले भनिन्। पछिल्लो समय पाल्पामा महिलाहरु आफ्नै नाममा व्यवसाय दर्ता गरेर आयआर्जनतिर अगाडि बढेका छन् । व्यवसायमा आबद्ध भएपछि अहिले उनीहरुको दैनिकी बदलिएको छ । बिहानसाँझ घरको कामधन्दा सकाएर दिनभर फुर्सदमा बस्ने महिलालाई समयको सदुपयोग सँगै आयआर्जनको गतिलो माध्यम बनेको छ । महिला परनिर्भरता कम हुदै गएको छ । रासस ।
सिभिल बैंकको क्यासलेस अभियान जानकी र नेपालगञ्जमा सम्पन्न
काठमाडौं । सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी क्यासलेस अभियान सम्पन्न गरेको छ । जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानिय बुध्दिजिवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरुको उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमति देवि कठरीयाले सुदूरपश्चिम को विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यबाद दिइन् । सो अभियानले सो भेगका जनतालाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने कुरा बताइन् । त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छवी लाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरु र मीडियाकर्र्मीहरु उत्साहका साथ सहभागी थिए । डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुबिधा सँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राइले बताए । सिभिल बैंकका चिफ बिजनेस अफिसर भोला बहादुर विष्टले जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने बताए । यस्तै उनले साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने बताए । सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको वैंकले जनाएको छ ।
भरतपुर महानगरपालिकाले माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान दिने
चितवन । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाप्रमुख मेघराज ढकालले बताए। यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने महानगरले अपेक्षा लिइएको उनले बताए । अनुदानका लागि किसानले माछापोखरीमा पानी भर्नका लागि प्रयोग भएको विद्युत् मिटरमा उठेको रकम र विद्युत् कार्यालयमा तिरेर रसिद महानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ । यस्तै व्यावसायिक फर्म महानगरको वडा कार्यालयमा दर्ता गरेको हुनुपर्ने र मिटर फर्मको नाममा दर्ता गरेको हुनुपर्ने प्रमुख ढकालले जानकारी दिए। यस्तै फर्म महानगरपालिका अथवा सेवा केन्द्रमा सूचीकरणसमेत गरेको हुनुपर्ने उनले बताए । महानगरपालिका–१८, २०, २२, २३, २६ लगायतका वडामा व्यावसायिक रुपमा माछापालन गरिएको छ । महानगरपालिकाले माछासँगै र दूधमा पनि अनुदान दिइरहेको छ । प्रतिलिटर दूधमा तीन रुपयाँ अनुदान दिने कार्यक्रम महानगरपालिकाले सञ्चालन गरिरहेको छ ।
मुगुमा पहिराबाट बिस्थापितको चिसोले बिचल्ली
मुगु । चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । ‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन’, पीडित शेरसिंह भर्गीले भने, ‘गाउँमा घर पहिरोले पुरियो, अब बस्न कता जाने होला ।” त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन् । बाढी पहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका बान्दिालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरुले बताएका छन् । ‘जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको छ”, त्रिपालमुनि बस्दै आएकी बालिकन्या बोहराले भनिन्, ‘न्यानो कपडा समेत छैन, कहिँकतैबाट सहयोग पाइएको छैन ।’ चिसो मौसम सुरुभएसँगै सालीमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन् । छायाँनाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन् । स्थानीयमा आखाँ पाक्ने, पेट दुःख्ने, टाउँको दुःख्नेलगायत समस्या देखा परेको स्थानीय बेलधरा कुमाइले बताए। असोजमा गएको पहिरोका कारण छायाँनाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय बिस्थापित भएका थिए । विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीयले बताएका छन् । पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो । नवनिर्वाचित सङ्घीय सांसद ऐनबहादुर शाही र प्रदेशसभा सदस्य जितबहादुर मल्लले पहिरोबाट बिस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताएका छन् ।