काठमाडौं । नाफा वृद्धिसँगै नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई तिव्र बनाउने भएको छ । तीन महिनामा साढे ८ अर्ब नाफा कमाएको प्राधिकरणले ग्राहकहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको हो ।
प्राधिकरणले सिङ्गल फेज मिटर कनेक्सन ५ दिन र थ्री फेज मिटर कनेक्सन १० दिनमा सम्पन्न गर्ने बताएको छ । यदि सो दिनभित्र काम सम्पन्न नभएमा जानकारी गराउन प्राधिकरणले भनेको छ ।
‘आफ्ना ग्राहकहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाह गर्न सदैव अग्रसर छ, प्राधिकरणबाट सिङ्गल फेज मिटर कनेक्सन र थ्री फेज मिटर कनेक्सन (जीआईएस गर्नुपर्ने बाहेक) आवेदन दिएको मितिले क्रमशः ५ दिन र १० दिनभित्र नभएमा मोबाइल नम्बर ९८५१३२२११७ मा जानकारी गराउनुहुन अनुरोध गरिन्छ,’ वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग, काठमाडौंले जारी गरेको सूचनामा उल्लेख भनिएको छ ।
प्राधिकरणले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा ८ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत असोजसम्मको वित्तीय विवरण अनुसार प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । साथै असोज मसान्तसम्ममा प्राधिकरणले २४ अर्ब ४८ करोड खर्च गरेको छ ।
प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत गृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्यतुबाट ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ ।