एनएलजी इन्स्योरेन्सले घोषणा गर्याे १०.५२६ प्रतिशत लाभांश
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३१५८ प्रतिशत अर्थात् ६९ लाख ८२ हजार १८१ रुपैयाँ बराबरको नगद गरी कूल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत अर्थात् ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद गरी कूल ३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन
गौरादह । झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट वञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायो ग्यास उत्पादन हुन्छ । २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए । कुहिने र नकुहिने फोहर बेग्ला–बेग्लै सङ्कलन गरेर प्रशोधनका लागि ल्याइने गरेको बताए । कुहिने फोहरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्राङ्गरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीका अर्का सञ्चालक विमल खतिवडाले बताए । कम्पनीका प्राविधिक विजय पाण्डेका अनुसार कुहिने फोहर ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ । दैनिक १० हजार किलो प्राङ्गरिक मल र सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ । दमक क्षेत्रमा दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ । यो परियोजना विसं २०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको थियो । सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ ।
३ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत ५९ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ३ वटा लघुवित्तले मात्रै सेयरधनीहरुलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त, आरएसडिसी लघुवित्त, फष्र्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हुन् । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद गरी कूल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै, आरएसडिएसी लघुवित्त गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ । यस्तै, फष्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ । यी तीनै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्ने उद्देश्यसहित बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलहरूले मिलेर सरकार बनाएर जाने विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् । प्रचण्डले नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन् ।
चितवनमा धान उत्पादनमा वृद्धि
चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो । उनका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ । आव २०७७/७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो । रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ । उनका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो । जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ । रासस
बारामा तेलहन खेती बढ्यो
बारा । यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो । केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए । उनका अनुसार विसं २०७२/७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आए पनि उत्पादकत्वमा भने उलेख्य सुधार नभई वृद्धिमा कमी हुँदै आएको थियो । गुणस्तरीय बीउको उत्पादन नहुनु, कृषकले आफ्नै घरमा रहेको बीउको प्रयोग गर्नु, समयमा मलखाद चाहिने जति प्रयोग नगर्नुजस्ता कारणले पनि उत्पादकत्वमा कमी आएको उनले जानकारी दिए ।
३० करोड ४३ लाखको ठेक्कामा बागलुङको रणनीतिक सडक निर्माण सुरु
बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ । शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताए । सडक विभागले ३० करोड ४३ लाख रुपैयाको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किमी सडक कालोपत्र गरिने बताए । सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ । ‘कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ’, प्रबन्धक लामाले भने, ‘एघार किमीमा सडक कटिङ हुन्छ, आठ किमी जति कालोपत्र हुन्छ ।’