विकासन्युज

नेशनल लाईफको १५.७८ प्रतिशत लाभांश पारित हुँदै

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज हुने भएको छ । कम्पनीको ३४ औं वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुँदैछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगगरी कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको सभाले लाभांश वितरण प्रस्ताव सहित आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, विस्तृत नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्नेछ । यस्तै, कम्पनीको लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बिफिनले घोषणा गर्याे १४.७० प्रतिशत लाभांश

काठमाडौं । काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशत अर्थात् ७२ लाख ७६ हजार ५०० सय रपैयाँ बराबरको नगद लाभाशं (कर प्रयोजनको लागि समेत) वितरण गर्ने भएको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले लाभांश वितरण प्रस्ताव सहित आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्नछ । यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको लेखापरीक्षक श्री केजे एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तीका लागी योग्य रहेको बताएको छ ।

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । निम्न आय भएका बुहारीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उनको भनाइ छ । छात्रवृत्तिका लागि बुहारीहरुले बिवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए। उनका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरुले निवेदन पेस गरेका छन् । नगरपालिकाका प्रमुख सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताए ।

स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए। उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धामा रहेकी एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेकी छन् । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन्। स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरेका छन् । भट्टराई एक हजार सात सय ८६ मतान्तर सहित विजयी भएका हुन् ।

इरानमा भएको दंगाका क्रममा २०० भन्दा बढीको मृत्यु

एजेन्सी । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गएको छ । ‘सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ’, परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हताहत हुनेमा सुरक्षा अधिकारी, सर्वसाधारण, प्रदर्शनकारी र विद्रोही समूहका सत्ताविरोधी सशस्त्र व्यक्ति रहेका छन् । परिषद्ले २२ वर्षीया महसा अमिनीको मृत्युपछि भड्किएको ‘दङ्गा’, नागरिक विरोध नभई ‘विनाश र हिंसा’ भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यवस्थामा खलल पु¥याउने र कुनै पनि तह र स्थानमा हुने गैरकानुनी जमघटलाई निर्णायक र सहनशीलताबिना सम्बोधन गरिनेछ । गत सेप्टेम्बरमा तेहरानको एक प्रहरी चौकीमा विरामी भएको केही दिनपछि अमिनीको तेहरानको एक अस्पतालमा मृत्यु भएको थियो । सुरुमा उनको गृह प्रान्त कुर्दिस्तानमा सुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरहरूमा फैलिएको थियो ।

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

एजेन्सी । कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको हो । युरोपेली सङ्घ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको ईयूले बताएको छ । करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् । ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ ।

सन् २०२२ मा नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्ने : विश्व बैंक

काठमाडौं । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको थियो । नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिकरुपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा बचत खाता खोल्न सकिने व्यवस्था लागू गरेपछि त्यसको सकारात्मक प्रभाव देखिएको पनि रिपोर्टमा उल्लेख छ । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा नेपाल अग्रस्थानमा छ । नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ । सन् २०२२ मा विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अपेक्षा विश्व बैंकको छ । गत वर्ष अर्थात् सन् २०२१ मा विश्वभर पछिल्लो एक दशकयताकै उच्च रेमिट्यान्स परिचालन भएको थियो । सन् २०२० को तुलनामा सन् २०२१ मा १० दशमलव दुई प्रतिशतले रेमिट्यान्स प्रवाह बढेको विश्वबैंकको रिपोर्टमा उल्लेख छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, विश्वभर देखिएको मूल्यवृद्धिलगायत समस्याको असर आप्रवासी कामदार र रेमिट्यान्समा पनि देखिएको रिपोर्टमा उल्लेख छ । सन् २०२२ मा दक्षिण एशिया क्षेत्रको रेमिट्यान्स प्राप्ति तीन दशमलव पाँच प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यो गत वर्षभन्दा न्यून हो । गत वर्ष अर्थात् सन् २०२१ मा यो क्षेत्रको रेमिट्यान्स आप्रवाह वृद्धिदर छ दशमलव सात प्रतिशत बराबर थियो । सन् २०२३ मा भने विश्व रेमिट्यान्स वृद्धिदर दुई प्रतिशतमा खुम्चिनेछ । आगामी वर्ष दक्षिण एशियाको रेमिट्यान्स वृद्धिदर शून्य दशमलव सात प्रतिशतमा खुम्चनेछ । यस वर्ष दक्षिण एशियामा मात्रै एक खर्ब ६३ अर्ब अमेरिकी डलर बराबर रेमिट्यान्स आउने अनुमान विश्व बैंकको छ । जनसङ्ख्याको अनुपातमा आप्रवासी कामदार पठाउने दक्षिण एशियाली मुलुकमा नेपाल तेस्रो स्थानमा छ । अफगानिस्थानले आफ्नो जनसङ्ख्याको १३ दशमलव पाँच, श्रीलङ्काले आठ दशमलव आठ र नेपालले आठ प्रतिशत आप्रवासी कामदार पठाएको छ । त्यस्तै भूटानमा छ दशमलव पाँच, बङ्गलादेशमा चार दशमलव आठ, पाकिस्तानमा तीन र भारतमा एक दशमलव तीन प्रतिशत जनसङ्ख्या आप्रवासी कामदारका रुपमा रहेका छन् । निम्न र मध्यम आय भएका मुलुकमध्ये सबैभन्दा बढी रेमिट्यान्स यस वर्ष भारतले भित्र्याउने अनुमान गरिएको छ । भारतले यस वर्ष एक खर्ब अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याउने विश्व बैंकको अनुमान छ । त्यस्तै मेक्सिकोले ६० अर्ब डलर, चीनले ५१ अर्ब डलर, फिलिपिन्सले २८ अर्ब डलर, अरब रिपब्लिकले ३२ अर्ब डलर, पाकिस्तानले २९ अर्ब डलर, बङ्गलादेशले २१ अर्ब डलर र नाइजेरियाले २१ अर्ब डलर रेमिट्यान्स भित्र्याउने अनुमान गरिएको छ ।

दाङमा चार महिनामा दुई सय उद्योग थपिए

दाङ । दाङमा आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा दुई सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् । जसमा ६१ करोड २४ लाख ३१ हजार पूँजी लगानी गरिएको छ । प्राइभेट फर्म दुई सय ७९, साझेदारी ११ र पाँचवटा प्रालि रहेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए। यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेका उनको भनाइ छ । यसरी दर्ता भएका घरेलु तथा साना उद्योगमा महिला एक सय ६० र पुरुष एक सय ५८ उद्यमी थपिएका छन् । जसमा महिला चार सय चार र पुरुष छ सय ७४ जनाले रोजगारी प्राप्त गरेका छन् । चार महिनामा तीन सय २७ वटाको नवीकरण गरिएको छ । अन्य संशोधन १ सय ६८ वटा छन् । कतिपयले अनुदान पाउन तथा सहुलियतमा ऋण लिन मात्रै पनि उद्योग दर्ता गर्ने पाइएको छ । यसैले उद्योग दर्ताको सङ्ख्या धेरै देखिने गरेको छ । कार्यालयले उद्योगतर्फबाट पहिलो चौमासिकसम्ममा २७ लाख सात हजार राजस्व सङ्कलन गरेको केसीले बताए । जिल्लामा कात्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग गरेर ११ हजार एक सय ५२ वटा उद्योग रहेका छन् । कार्यालयमा वाणिज्यतर्फ चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म तीन सय ६० वटा फर्म दर्ता भएका छन् भने यसै अवधिमा ७२ वटा बन्द भएका छन् । चार महिनामा तीन सय ३२ वटा फर्म नवीकरण भएका छन् । त्यसैगरी एक सय ९४ वटा अन्य संशोधन गरेका छन् । वाणिज्यतर्फ चार महिनामा कार्यालयले रु ३५ लाख सात हजार राजस्व सङ्कलन गरेको अधिकृत केसीले बताए । विसं २०६३ वैशाखदेखि २०७९ कात्तिक मसान्तसम्ममा जिल्लामा १२ हजार छ सय ९६ वटा वाणिज्य फर्म दर्ता भएका छन् । पाँच लाखभन्दा कम पूँजी रहेका उद्योग तथा वाणिज्य फर्महरू स्थानीय तहमा दर्ता हुने गरेको अधिकृत केसीले बताए । यसै कारणले पनि सङ्ख्या कम देखिएको उनको भनाइ छ । जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकसम्म ८१ साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केसीले जानकारी दिनुभयो । यसै अवधिमा वाणिज्यतर्फका ७२ वटा व्यवसाय बन्द भएका छन् ।