संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत
काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ । नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आएका चन्द्रकान्त सीके राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ । लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ । मधेस आन्दोलनका अगुवाका रुपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विस्थापित गर्दै जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लागेका हुन् । सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मिएकका राउत पेशाले इञ्जिनीयर छन् । अध्यक्ष राउतले आफूहरुले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले हामीमाथि भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएकोछ, संसद्मा बहुमत पुर्याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ ।’ निर्वाचनपछि नयाँ सरकार गठनका लागि दल र नेताबीच भइरहेको भेटवार्ता, सङ्ख्याको जोड घटाउलगायत समसामयिक विषयमा अध्यक्ष राउतसँग लिएको अन्तर्वार्ताका सम्पादित अंंश यस प्रकार छ : निर्वाचनमा भाग लिनुभयो, राम्रो नतिजा हासिल गर्नुभएको छ, सर्वप्रथम त तपाइँलाई हार्दिक बधाई र शुभकामना । अहिलेको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ? निर्वाचन आफैमा लोकतान्त्रिक प्रक्रिया हो, त्यसमा भाग लिन र जनमत हासिल गर्न पाउँदा निकै खुसी लागेको छ । जनमत हासिल गर्ने यो औपचारिक माध्यम हो । यसबाट हाम्रा एजेण्डा जनताबाट अनुमोदित छन् कि छैन भन्ने परीक्षण भएको छ । जनताले हामीमाथि भरोसा राखेर खरोरुपमा उत्रेकामा खुसी लागेको छ । यहाँले राजनीति अघि बढाउँदाको अवस्था र अहिलेको परिवेश फेरिएको छ, यसलाई कसरी तुलना गर्नुहुन्छ ? विगतमा जनमत छ वा छैन भनी मापन गर्ने आधार थिएन । हामी राजनीतिक मूलधारको प्रक्रियामा पनि सहभागी थिएनौँ । आमसभा र कार्यक्रम हुन्थ्यो तर जनसमर्थन कति छ भनेर औपचारिक मापन थिएन । त्यसबेला सरकारबाट विभिन्न बाधा अड्चन हाल्ने काम हुन्थ्यो । अहिले मूलधारमा आइसकेपछि खुला राजनीति गर्न पाएका छौँ । जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ । निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ । शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डालाई लिएर निर्णय गर्ने ठाउँतिर अघि बढेका छौँ । त्यो ठाउँसम्म पुग्नेछौँ । अहिले राजनीतिक मूलधारमा आएपछि कस्तो महसुस गर्नुभएको छ ? अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ । निर्वाचनमार्फत जनमत पनि परीक्षण गर्न पाएका छौँ । त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौँ । राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौँ । पहिलोपटक आम निर्वाचनमा गइरहँदा यहाँले उठाएको एजेण्डालाई जनताले कसरी बुझेको पाउनुभयो, मतदाताको अपेक्षा के रह्यो ? जनताले हाम्रा एजेण्डालाई सकारात्मकरुपमा लिएको पाएका छौँ किनकी यसअघिका राजनीतिक दलले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रजस्ता जति पनि एजेण्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेण्डा मात्र थिए । यसबीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन् । हामीले सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौँ, त्यसलाई जनताले सकारात्मकरुपमा ग्रहण गरेको अवस्था छ । यी मुद्दालाई अरुले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन् । जनताले दिएको अभिमतलाई यहाँले अहिले कसरी ग्रहण गर्नुभएको छ र निर्वाचनलाई कसरी लिनुभएको छ ? यो निर्वाचनलाई सफल/असफल कसरी मापन गर्नुहुन्छ ? विगतको तुलनामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरुले प्रतिवेदन बुझाएको अवस्था छ । जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु । त्यो जनमतलाई हामी खेर जान दिन्नौँ । जनताको अपेक्षा एकातिर छ, तपाइँहरुको भूमिका अर्कोतिर छ । कानून बनाउने, नीति बनाउने भूमिका हो, जनताको माग सिँचाइतर्फ देखिन्छ यसलाई कसरी तालमेल मिलाउनुहुन्छ ? आम बुझाइ त्यस्तै छ तर संसद् भनेको खाली ऐन कानुन बनाउने थलो मात्रै होइन । मुलुकका यावत् समस्या सम्बोधन गर्न के कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ भनी गहन छलफल र मन्थन गर्ने ठाउँ पनि संसद् नै हो भन्ने महत्वपूर्ण पक्षलाई कसैले बिर्सन हुँदैन । संसद्मा पुगेर नै आफ्नो नीति कार्यान्वयन गर्न सकिन्छ । त्यहीँबाटै नीति योजना कार्यक्रम पारित हुने हो नि । उदाहरणका लागि भनौँ, अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसाले मलबिउ नपाएको अवस्था छ । त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षारता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसद्मा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ । संसद् जनप्रतिनिधिले उठाएका मुद्दा सम्बोधन गर्ने थलो पनि हो । निर्वाचन परिणाम, मिलिजुली सरकार र उठेको अस्थिरताको आशङ्कालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ? सरकार गठनमा यहाँको दलको भूमिका के रहन्छ ? हामीले विगतमा दुई तिहाइ बहुमतको सरकार देखिसकेका छौँ । दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन । बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन । अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ । त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अह्म पाल्न दिँदैन । सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ । सहमति र सहकार्यको आवश्यकतालाई नै जनताले जोड दिएका छन् । मूल कुरा भनेको नियत हो, राजनीतिक दल र नेताका नियत सफा भएमा दीर्घकालीनरुपमा जान सकिन्छ । जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न । हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छाै । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं । अहिलेको अवस्थामा अरु राजनीतिक दललाई के भन्नुहुन्छ, मतदातालाई के सन्देश छ ? अन्य राजनीतिक दललाई के भन्न चाहन्छु भने यसभन्दाअघि जे जति भए, जे जस्तो गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु । जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौँ । जनमतको कदर गर्दै उनीहरुको सेवामा समर्पित होऔँ । जनताले पनि दलहरुलाई निरन्तर खबरदारी र निगरानी गरिरहनु पर्छ । संसद् र सरकारमा प्रवेश गरेपछि यहाँको पहिलो एजेण्डा के हुन्छ ? संसद् र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ । अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो । लाखौँ युवा विदेसिन बाध्य भएका छन् । रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ । साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिताहरु हुन् । तिनकै कार्यान्वयनका लागि हाम्रो पहल हुनेछ । तपाइँहरु मधेसको वैकल्पिक शक्तिका रुपमा उदाउनुभएको छ, यो अवस्थामा मधेसका अन्य शक्तिहरुसँगको सहकार्यको योजना के छ ? सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ । अब पनि जनतालाई गुमराहमा पार्नु हुँदैन, निकास दिन सक्नुपर्छ ।
उधारोमा खरिद गरेका लगानीकर्ताको सेयर जफत गर्दै त्रिशुली जलविद्युत कम्पनी
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले सेयर खरिद गरेर फागुन १७ गतेभित्र रकम नतिरे सेयरधनीहरुको सेयर जफत गर्ने भएको छ । कम्पनीको प्राथमिक सेयर (आईपीओ) खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर जफत गर्न कम्पनीले चेतावनी दिएको हो । कम्पनीले आईपीओ निष्काशन गर्दा प्रतिकित्ता १० रुपैयाँका दरले रकम संकलन गरेर बाँकी ९० रुपैयाँ पछि संकलन गर्ने जनाएको थियो । सोही अनुसार प्रतिकित्ता १० रुपैयाँका दरले आईपीओ खरिद गरेर रकम बुझाउन बाँकी रहेका सेयरधनीहरुले फागुन १७ गतेभित्र रकम भुक्तानी नगरे सेयर जफत गर्ने चेतावनी दिएको हो । कम्पनीले साविक सर्वसाधारण सेयरधनी (निष्काशनकर्ता कम्पनीको कर्मचारीहरु समेत) हरुले भुक्तानी गरेको प्रतिकित्ता १० रुपैयाँमा जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ को दफा १२ बमोजिम वार्षिक ८ प्रतिशत ब्याज प्रदान गरेको छ । सोही अनुसार भुक्तानी गर्न बाँकी रहेका सेयरधनीहरुले प्रतिसेयर ८७ रुपैयाँका दरले कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (१) र (२) को व्यवस्था बमोजिम रकम जम्मा गर्न निर्देशन दिएको थियो । कम्पनीले यसअघि उक्त रकम बुझाउन गत असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म समय सीमा तोकेको थियो । उक्त समयमा सेयरधनीहरुले बाँकी रकम भुक्तानी नगरेकाले समय थप गरेको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकालले बताए । कम्पनीले भुक्तानी नगरेका साविकका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरुलाई ३ महिना अर्थात् फागुन १७ गते भित्र उक्त रकम भुक्तानी गर्न भनेको सीईओ ढकाल बताउँछन् । ‘कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (३) मा भएको व्यवस्था बमोजिम भुक्तानी हुन बाँकी प्रतिसेयर मूल्य ८७ रुपैयाँ हुन आउँछ, रकम बुझाउने अवधि ३ महिना थप गरिएको छ, ३ महनाको वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम १.७४ रुपैयाँ थप गरी हुन आउने बाँकी रकम ८८.७४ रुपैयाँ फागुन १७ गतेसम्म बुझाउन सेयरधनीहरुलाई भनिएको हो,’ सीईओ ढकालले बताए । यदि थप गरिएको अवधिभित्र पनि बाँकी रकम नबुझाएमा यसअघि तिरिसकेको रकम र ब्याज रकम जाडेर थपिने रकमको मात्रै सेयर दिई बाँकी सेयर जफत गरिने उनले बताए । कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो । आईपीओ निष्काशनका बेला पतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरको न्यूनतम १० प्रतिशतले हुन आउने १० रुपैयाँ मात्र संकलन गरेको थियो । आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ । दोस्रो बजारमा कारोबारका लागि तयारी रहेको सीईओ ढकालले बताए । ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको सेयर छिट्टै कारोबार खुल्छ, सिडिएस एण्ड क्लियरिङ्ग र नेप्सेमा डकुमेन्टहरु पठाउने तयारी भइरहेको छ, शतिप्रतिशत रकम भुक्तानी गरेका लगानीकर्ताको कारोबार खुल्छ,’ उनले भने । यदि बाँकी भुक्तानी रकम नबुझाएका सेयरलाई सेयर संस्थापक वा अक्सनमा बिक्री गरिने उनको भनाइ छ ।
६० रुपैयाँ लिएर काठमाडौं छिरेकी विष्णुमाया परियारले यसरी रचिन् इतिहास
काठमाडौं । भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रचेकी छिन् । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिएकी विष्णुमायाबारे अमेरिकाका चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसमेत समावेश भएको पाठ्यपुस्तकमा समावेश गरिएको छ । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर च्याप्टरमा वृत्तचित्र ‘अनटचेबल’ शीर्षकमा समावेश गरिएको विभिन्न ‘भिडियो स्लाइड सो’का माध्यमबाट पढाई हुन्छ । असमानता र जातीय भेदभाव तथा छुवाछूतबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा विष्णुमाया परियारलाई राखिएको छ । उनी भन्छिन्, ‘अनटचेबल शिर्षकमा नेपालमा स्थापना गरेको दलित महिला उत्थान सङ्घ (एड्वान) मार्फत भएका कामबारे छलफल गराइन्छ, २० मिनेट मेरो बारेमा पढाइ हुन्छ, अछूत र जातीय प्रणालीलाई संयुक्त राष्ट्र सङ्घको दिगो विकाससँग जोडेर पढाइ हुन्छ ।’ सो पाठमा विभेदबारे जानकारी गराउने आठ वटा स्लाइड राखिएको छ । पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा लागू गरिएको विष्णुमायाले जानकारी दिइन् । त्यसैगरी ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पनि समावेश गरिएको छ । पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा लिसा हफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि अध्ययन हुँदै आएको छ । यसभन्दा पहिले पनि नेपाली अछूत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढाइ भएको थियो । एड्वानकी संस्थापक तथा सिटी सहरकी महिला आयोग सदस्य विष्णुमायाले प्यासिफिक आइल्यान्डरकी कमिसनर भएर काम गरिरहनुभएको छ । विष्णुमायाले न्युजर्सी सिटीमा मेयरको सल्लाहकार समितिमा रहेर काम गरेकी थिइन् । सङ्घर्षपूर्ण बाल्यकाल बाबु रुपबहादुर परियार र आमा फनमाया परियारकी ठाहिंली छोरी डा विष्णुमायाको परिवारमा १० दिदीबहिनी र एक छोरा छन् । गरिबी, अभावसँगै समाजमा व्याप्त अछुत हुनुको पिडा । सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछूतको पिडाले उहाँको बालमस्तिष्कलाई नराम्ररी प्रभावित बनाउथ्यो । जातीय भेदभाव तथा छुवाछूतमात्रै हैन, छोरीलाई पढाउनुपर्छ भन्ने चेतना पनि त्यतिबेला खुलेकै थिएन । बुबा रुपबहादुरको काम भनेको विष्ट(उपल्लो जात भनिएका व्यक्ति)कोमा लुगा सिलाउने थियो भने आमा फनमाया तिनै विष्टका घरमा बाली उठाउन हिड्ने गर्थिन् । विष्णुमाया भन्छिन्, ‘मेरो बाबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिनुभयो, कति कलका सिगोहरु भाँचिए, आमाले बाली बोक्ने कति डोकाहरु फाटे, तर आफ्नो परिवारमा कहिल्यै काँचुली फेरिएन, शरीरले कहिल्यै चम्किलो कपडा देखेन । बुबा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ ।’ अहिले अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डा को उपाधि दिए पनि विष्णुमायाको जीवनको शुरुआती दिनहरू अहिलेकोे जस्ता थिएनन् । स्कूल पढ्दा विष्णुमायाले तिर्खाएका बेला धारामा गएर पानी खान पाउँदैन थिइन् । सरस्वती पूजाको दिन पूजा गर्न मनाही थियो । यो सम्झदा विष्णुमायाका आँखाका डिल रसाउँछन् । विष्टको घरमा खाना खाएपछि आफैँले भाडा माझ्नुपथ्र्यो, खाएको ठाउँमा गोवरले पोत्नुपर्ने र सुनपानीले छर्किनुपर्ने । आफू सानै छँदासोधिएको जिज्ञासामा बाबु रुपबहादुरको जवाफ ‘यो जातीय विभेद हो छोरी, तिमीहरु यसको विरुद्धमा लड्नुपर्छ’ भन्ने भनाइ नै विष्णुमायालाई जीवनको मूल मन्त्र बन्यो । त्यसैले होला विष्णुमायाको कलिलो दिमागमा विद्रोहको भाव आयो–’बरु म यतिकै तिर्खाले मर्छु तर अन्जुलीमा पानी थापेर खान्न ।’ बुबाले पढ्न पठाउने मन गरेपनि पढ्नका लागि चाहिने वातावरण घरमा थिएन । तरपनि विष्णुमायाले हिम्मत हारिनन् । उनले कक्षा ७ सम्म स्थानीय श्री सिंजाली माविमा अध्ययन गरिन् । घरमा चरम आर्थिक अभाव थियो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएपनि साढे दुई घन्टाको दूरी हिडेर अर्को गाउँको विद्यालयमा पढ्न जान्थिन् विष्णुमाया । उनी भन्छिन्, ‘ठूलो परिवार थियो, त्यसैमाथि गरिबी, गरिबीका कारण घरमा चामलको भात देख्न पाइँदैनथियो ।’ अर्को गाउँको विद्यालय मनकामनाबाट विष्णुमायाले कक्षा १० पास गरिन् । ‘एसएलसीमा राम्रो गर्नको लागि म घ्याल्चोक भन्ने ठाउँमा पढ्न गएँ, त्यतिबेला एकजना क्षेत्रीको गोठमा बसेको थिएँ, मेरा साथीहरु नेवार थरको हुनुहुन्थ्यो, सबैले खाइसकेपछि मात्रै मैले खाना खानुपथ्र्यो । खाना खाएपछि भाँडा माझेर आफू बसेको ठाउँमा गोबरले लिप्नुपथ्यो, सुकेपछि आगो र सुनपानी छर्किएर उनीहरू ‘पवित्र’ पार्थे’, उनी भन्छिने । आर्थिक अभावका बीच विष्णुमायाले २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी दिँदै गर्दा अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवक जोन रुकम्यानसँग भेट भयो । विष्णुमायाको प्रतिभा देखेर उच्च शिक्षा आर्जनका लागि जोनबाट सघाउने आश्वासन पाएको दिन विष्णुमायालाई संसार जितेजस्तो भयो । दलित परिवारबाट एसएलसी गर्ने पहिलो छात्रा बनेकी विष्णुमायालाई आफ्ना बाबुसँग ६० रुपैयाँ लिएर काठमाडौं झरिन् । काठमाडौँमा पनि छुवाछूत उस्तै थियो । दलित भनेपछि कोठा भाडामा पाउनै समस्या । काठमाडौँमा उनले अभावसँगै छुवाछुतलाई पनि सामना गर्नुप¥यो । काठमाडौंमा पद्मकन्या क्याम्पसमा अध्ययन गरिन् । पढाइसँगै उनले उपेक्षित समुदायका लागि लघुवित्त परियोजनामा तराईका केही जिल्लामा काम सुरु गरिन् । सन् १९९९ मा विष्णुमाया अमेरिका पुगिन् । त्यहाँ उनले पाइन म्यानर कलेज बोस्टनबाट ‘सोसियल एण्ड पोलिटिकल सिस्टम’ विषययमा ग्रयाजुयसन गरिन् । सानैदेखि पढाईमा अब्बल विष्णुमाया संसारमै ३० जनाको मात्र कोटा भएको क्लार्क युनिर्भसिटीमा ‘अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तनमा’ छात्रवृत्ति पाउने नेपालको पहिलो महिला हुन् । त्यसैबेला विष्णुमायाले पस्मिनाका सलहरु अमेरिकामा बेचेर नेपालका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरिन् । त्यसबाट उनले वर्षमा २८ लाखसम्मको व्यापार गरेर नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गरिन् । अमेरिका गएपछि सबैभन्दा पहिले सामाजिक कामसँगै विष्णुमायाको काम अङ्ग्रेजी सिक्ने भयो । त्यसका लागि उनी यिनी नर्थ इस्र्टन युनिभर्सिटीमा भर्ना भइन् । सम्मान तथा पुरस्कार डा विष्णुमायालाई सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन सम्मान विश्वका छ व्यक्तिलाई मात्रै प्रदान गरिएको थियो । सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले पाँच हजार डलरसहित मानव अधिकार पुरस्कार दिएको थियो । त्यो पुरस्कार विश्वका छ जनाले मात्र पाएका थिए । सन् २००७ मा विश्व बैङ्कले विश्वका ११ जना व्यक्तिलाई प्रदान गरेको ११ हजार डलरसहितको पुरस्कार प्राप्त गरेकी थिइन् । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन म्यानर कलेजले सन २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान ग¥यो । ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०१९, ब्रिज बिल्डर अवार्ड र प्रेसिडेन्ट कप अवार्डबाट उनलाई सम्मान गरिएको थियो । अमेरिकाको केन्टोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । अन्तराष्ट्रिय कलाकार समाज (इनास) अमेरिकाले हालै उनीसहित ११ नेपाली व्यक्तित्वलाई सम्मानीत गरेको छ । विष्णुमायाले नेपालको इन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच भगेनी सम्बन्ध स्थापित गरेकी छिन् । उनले अमेरिकाको न्युजर्सी सिटीमा नेपाली झन्डा फहराएकी थिइन् । समाज सेवामा समर्पित आफू दलित भएकै कारण भोग्नु परेका पिडा अरुले भोग्न नपरोस् भनने उद्देश्यले दलित समुदायका महिलाहरुलाई सङ्गठित बनाउँदै उनीहरुको आर्थिक र शैक्षिक विकास गर्न विष्णुमायाले सन् १९९८ मा दलित महिला सङ्घ (एड्वान) स्थापना गरिन् । हाल उनी सो संस्थाको संरक्षक रहेकी छिन् । एड्वानले अहिले नौ जिल्लामा एक सय ११ वटा महिलाको समूह निर्माण गरिसकेको अध्यक्ष विन्दु परियारले जानकारी दिइन । उनले भनिन्, ‘अहिले करिब ६० हजारभन्दा बढी महिला संलग्न भएर एड्वानका गतिविधिमार्फत सहयोग लिइरहेका छन्, त्यसबाट उद्यमी बन्नुका साथै नेतृत्व क्षमता विकास गरिरहेका छन् ।’ एड्वानले २५ सयभन्दा बढी बालबालिकालाई स्कुल, कलेज र विश्वविद्यालय पढ्न छात्रवृत्ति प्रदान गरेको छ । पछिल्लो समयमा एड्वानले दलित समुदायका महिलालाई ऐन/कानून र संविधानबारे क्षमता विकासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विष्णुमायाले २०७२ सालको भूकम्पको समयमा चार सय भूकम्प पीडितको घर निर्माणमा सहयोग जुटाउने काम गरिन् । विष्णुमायालाई देश र समुदायको लागि यति धेरै गरेर पुगेको छैन । हाल अमेरिकामै रहेकी उनी केही समयअघि नेपाल आउँदा भएको भेटवार्ताको क्रममा उनले नेपाललाई अझै चिनाउन बाँकी रहेको बताएकी थिइन् । उनले भनिन्, ‘मँ एउटा सपना बोकेर हिड्ने मान्छे हो, म एउटा खुड्किलोमा चड्छु, फेरि अर्को खड्किलो चड्न मन लाग्छ, जे गर्नु छ त्यसमा मात्रै केन्द्रित हुने मेरो स्वभावले नै मलाई सफलता हासिल भएको छ । अरुले के भन्ला भन्नेमा चासो लाग्दैन ।’ संसारका विश्वविद्यालयमा अध्ययन हुने विष्णुमायाबारे भने नेपाल सरकार बेखबर छ । यसमा भने विष्णुमायालाई दुख लाग्छ । ‘मैले जे गरेको छु त्यो नेपाल र नेपालीका लागि गरेको छु, मेरो बारेमा विश्वका अरु मानिसले चासो राखेका हुन्छन् र नेपाल सरकारले अहिलेसम्म सम्झेको छैन, खोजेको छैन ।’ रासस
नवलपरासीमा छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए पाँच हजार रुपैयाँँ बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् । गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८र७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताइन् । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् । कार्यक्रम लागू गरिएपछि अहिलेसम्म २४ जना नवजात छोरीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । ‘बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भबिष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ’, गाउँपालिका अध्यक्ष पाण्डेले भनिन्, ‘समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै भु्रण हत्या रोक्नका लागि पनि यो अभियान शुरु गरिएको हो ।’ गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमा जन्मिएका छोरीका नाममा खाता खोल्न पाइने कार्यविधिमा उल्लेख छ । गाउँपालिकाले एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरी एकल महिलाको संरक्षण साथै सीप विकास एवं स्वरोजगारका कार्यकमहरु सञ्चालनमा ल्याएको छ । एकल महिला, वैदेशिक रोजगारबाट फिर्ता भएका, आर्थिक रुपमा कमजोर महिलालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । गृहिणी महिलाको शारीरिक एवं मानसिक स्वास्थ्यमा सुधार गर्न गृहिणी स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् ।
कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्ने जनाएकाे छ । दीर्घकालीन समस्या समाधान गर्नकाे लागि भने उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने प्राधिकरणले बताएकाे छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरुको गुनासो आउने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको थिए । टोलीले नगरपालिका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरुसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिलेनै विद्युत आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिमका जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए । ‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौं, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं, १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैनं’, घिसिङले भने । ‘अहिले कालीगण्डकीको विजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनु पर्ने वाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो, यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत आयोजनाहरुको करिब एक सय मेगावाट विद्युत अत्तरिया सबसबस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने छ ।’ उनले कर्णाली, सेती, र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए । लमही–छिन्चु, छिन्चु दोदोधारा, दोदोधार–नयाँ अत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००/१३२ सबस्टेसन निर्माण गरिने छ । प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सबस्टेसन निर्माण गरि ठाउँ, सञ्चालित सबस्टेसन, निर्माणाधीन आयोजननाहरुको पनि अनुगमन गरेको थियो ।
पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा सरकारी ध्याजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । यसअघि निजी वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङको माग गरेतापनि क्यानले निगमलाई दिएको हो । अन्य वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङका लागि इच्छा देखाएपनि क्यानले निर्णय नै गरेर निगमलाई जिम्मा दिइसकेको क्यानका प्रवक्ता जगरनाथ निरौलाले जानकारी दिए । ‘भैरहवाका लागि हिमालय र पोखराका लागि बुद्ध एयरले ग्राउण्ड ह्याण्डलिङका लागि हामीकहाँ निवेदन दिएका थिए, काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको जिम्मा नेपाल वायुसेवा निगमले गरेको छ, पोखराको जिम्मा पनि हामीले निगमलाई दिइसकेका छौँ’, उनले भने, ‘सरकारी ध्याजावाहकको संरक्षण गर्नुपर्ने हाम्रो दायित्वसँगै अनुभवका आधारमा हामीले निगमलाई नै दिएका हौँ ।’ निगमले सुरुवाती चरणका लागि पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई दिने निर्णय गरेतापनि अवधि तोकिएको छैन् । यस्तै भैरहवा विमानस्थलका लागि समेत समय नतोकिएको निगमले जनाएको छ । यसअघि निगम सञ्चालक समितिले न्यूनतम १० वर्ष र आधिकारिक ट्रेड युनियनले १५ देखि २० वर्षको अबधिको समयसिमा तोक्नुपर्ने बताउँदै आएका थिए । ‘नेपाल नागरिक उडड्यन प्राधिकरणबाट हामीलाई पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि औपचारिक रुपमा पत्र नै आइसकेको छ, पत्र आएपछि हामीले आन्तरित तयारी थालेका छौँ,’ निगमका प्रवक्ता अर्चना खड्काले भनिन । उनका अनुसार सुरुवाती चरणमा काठमाडौं र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत जनशक्तिले नै पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्नेछन् भने निगमले नयाँ जनशक्तिका लागि तालिम समेत दिन थालेको जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङमा कार्यरत एक कर्मचारी ग्राउण्ड ह्याण्डलिङका लागि एक विमानस्थलमा कम्तीमा सय देखी डेढसय सम्म कर्मचारी आवश्यक पर्ने बताउँछन् । नयाँ कर्मचारीलाई अन्तराष्ट्रिय स्टाण्डरको तालिम समेत दिनुपर्ने हुन्छ । उक्त तालिका १ महिनासम्मको हुने निगमका अधिकारीहरु बताउँछन् । कर्मचारीलाई तालिम, आवश्यक उपकरण खरिद तथा जडान गर्दा तत्काल एक विमानस्थलका लागि ३ अर्ब खर्च हुनेछ । यता बुद्ध एयरले अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा क्यानले निगमलाई दिएकोे भन्दै आन्तरिक तर्फ आफैले गर्ने जनाएको छ । ‘हामीले अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि अनुमति मागेका थियौँ, क्यानले निगमलाई दियो, हामीले यसअघि गर्दै आएको आन्तरिक तर्फको ह्याण्डलिङ हामी आफैले गछौँ’, बुद्धले भन्यो । क्यानले जनवरी १ तारिखदेखि औपचारिक रुपमा पोखरा विमानस्थलबाट उडान गर्ने जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद, सभापतिलाई कारबाही गर्न माग गर्दै ४७ जनाले बुझाए निवेदन
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला कार्यसमितिमा विवाद भएको छ । मकवानपुर जिल्लाका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग जिल्लाका कार्यसमितीका ४७ जना सदस्यले निवेदन बुझाएका छन् । उनीहरुले निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेलाई कारबाहीको माग गरेका छन् । जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको उनीहरुको आरोप छ । सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षरसहित न्यौपानेलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन् । ( सम्पादन गरिएकाे )
चार महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता, सबैभन्दा बढी मधेस प्रदेशमा
काठमाडौं । साढे ४ महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्टार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साढे ४ महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता भएका हुन् । चालु आर्थिक वर्षको ४ महिनामा मधेस प्रदेशमा धेरै अस्पताल मधेस प्रदेशसमा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका छन् । कम्पनी कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको तथ्यांकअनुसार मधेस प्रदेशमा अस्पताल सञ्चालनको लागि भनेर २७ वटा कम्पनी दर्ता भएका छन् । त्यस्तै, प्रदेश नम्बर १ मा अस्पताल सञ्चालनको लागि ५ वटा, बाग्मती प्रदेशमा ४ वटा, गण्डकी प्रदेशमा १ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, कर्णाली प्रदेशमा १ वटा र शुदुरपश्चिम प्रदेशमा २ वटा अस्पताल सञ्चालनको लागि कम्पनी दर्ता भएका छन् । दर्ता भएका ४० मध्ये एउटा कम्पनी जनकपुरमा आयुर्वेदिक अस्पताल सञ्चालनको लागि दर्ता भएको छ । त्यस्तै, सिकलसेल बिरामीसँग सम्बन्धित रहेर दाङमा अस्पताल र अर्को जनकपुरमा सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सञ्चालन गर्नको लागि दर्ता भएको छ । सिकलसेलको उपचार गर्नको अस्पताल निर्माण गर्न खोलिएका दुबै कम्पनी सामुदायिक प्रकृतिका रहेका छन् । आँखाको उपचारलाई गर्नको लागि अस्पताल सञ्चालन गर्न भनेर चालु आर्थिक वर्षको साढे ४ महिनामा आँखा अस्पताल सञ्चालनको लागि ४ वटा कम्पनी दर्ता भएका छन् । जसमध्ये सर्लाहीमा १, रौतहटमा १, मोरङमा १ र झापामा १ वटा आँखा अस्पताल सञ्चालन गर्नको लागि कम्पनी दर्ता भएका छन् । अस्पताल सञ्चालनको लागि दर्ता भएका ४० वटा कम्पनीहरुमध्ये ३ वटा कम्पनी मात्र सामुदायिक प्रकृतिका रहेका छन् भने बाँकी कम्पनी निजी स्वामित्वमा आधारित रहेका छन् । साढे चार महिनामा १०७ वटा क्लिनिक दर्ता चालु आर्थिक वर्षको साढे ४ महिनामा १ सय ६ वटा क्लिनिक दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै क्लिनिक बाग्मती प्रदेशमा सञ्चालन गर्नको लागि दर्ता भएका छन् । पछिल्लो साढे ४ महिनामा बाग्मती प्रदेशमा सञ्चालन गर्नको लागि भनेर ५७ वटा क्लिनिक दर्ता भएका छन् । त्यसमध्ये, पनि अधिकांश क्लिनिक काठमाडौंमा सञ्चालन गर्नेगरी दर्ता भएका छन् । अस्पताल सम्बन्धी कम्पनी दर्ता जस्तै मधेसमा क्लिनिक सञ्चालनको लागि पनि ठूलो संख्यामा कम्पनी दर्ता भएको देखिन्छ । कम्पनी रजिस्टार कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको तथ्यांकअनुसार १ नम्बर प्रदेशमा ८, मधेस प्रदेशमा २१, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा क्लिनिक सञ्चालन गर्नको लागि ३ वटा कम्पनी दर्ता भएका छन् । त्यस्तै चालु आर्थिक वर्षको साढे ४ महिनामा औषधी उद्योग, फार्मेसी, थेरापी सेन्टर, लगायत लगायत औषधि र उपचारसँग सम्बन्धित दर्जनौ कम्पनीहरु दर्ता भएको कम्पनी रजिष्टार कार्यालयको तथ्यांकले देखाएको छ । नेपालमा अहिलेसम्म औषधि उद्योग, फार्मेसी, क्लिनिक, अस्पताल, लगायत उपचारसँग सम्बन्धित संस्थाहरुको संख्या ५ हजार भन्दा बढी पुगेको देखिन्छ । तर, ती संस्थाहरुको ठूलो संख्या काठमाडौं उपत्यका र मुख्य सहरहरुमा मात्रै सिमित रहेको देखिन्छ ।