विकासन्युज

अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । प्रुभु इन्स्योरेन्ससँग मर्जरको लागि प्रकृियामा गएपछि अजोडको सेयर कोरोबार मंसिर ११ गतेदेखि रोक्का भएको थियो । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर १९ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।

सामुदायिक क्याम्पसहरुले समतामा आधारित अनुदान लिन पुस २४ गतेभित्र आवेदन गर्नुपर्ने

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरुलाई समतामा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गत क्याम्पसहरुलाई समतामा आधारित अनुदान उपलब्ध गराउन लागेको जनाएको छ । पिछडिएका, दुर्ग र प्रकोप प्रभावित क्षेत्रमा सञ्चालित आंगिक र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुलाई निर्धारित मापदण्डका आधारमा अनुदान उपलब्ध गराउन लागिएको आयोगले जनाएको छ । अनुदान लिनका लागि इक्विटी ग्र्यान्ट गाइडलाइन्सको बुँदा नम्बर ३.१ अन्तर्गतको अनुच्छेद १९ बमोजिम योग्यता पुगेका सम्बन्धित विश्वविद्यालयका इच्छुक क्याम्पसले गाइडलाइन्सको अनुसूची ३ को एथ्री.वानमा तोकिएका आवश्यक कागजात सहित आगामी पुस २४ गते सम्म आफ्नो विश्वविद्यालयको आधिकारिक इमेल वा रजिष्ट्रारको कार्यालयमा आशय पत्र/आवेदन पेश गर्न आयोगले भनेको छ । सूचनासँग सम्बन्धित इक्विटी गाइडलाई आयोगको वेबसाइटबाट समेत हेर्न सकिने व्यवस्था रहेको छ । आयोगकाअनुसार सञ्चालन गरेको उच्च शिक्षा कार्यक्रम विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेको छ । सूचना :

ब्याज तिर्ननसक्दा चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

चितवन । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक ब्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको विरोधमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मागमा ठूलो मात्रामा गिरावट आउँदा उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताइएको हो । बैंकको ब्याजदर बढ्दा व्यवसायीले ऋण तिर्न नसकी व्यवसाय बन्द गर्नु परेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए । जिल्लामा यसको प्रभाव प्रत्यक्षरुपमा पोल्ट्री व्यवसाय, खाद्यान्न उद्योग, औषधिजन्य उद्योग तथा निर्माणजन्य सामाग्री उत्पादन उद्योगमा परेको उनले बताए । ‘झण्डै २५ हजार व्यक्तिले रोजगारी गुमाउनु परेको छ’, उनले भने, ‘चालु पूँजी मार्गदर्शन र बढ्दो व्याज दरका कारण उद्योग व्यवसाय धरासायी बन्न पुगेको छ ।’ पोल्ट्री क्षेत्रमा अहिले लेयस ह्याचरी उद्योग तीन महिनादेखि आवश्यक पर्दा मात्रै चल्ने गरी बन्द भएका र ब्रोइलर ह्याचरी उद्योगसमेत बन्द हुने अवस्थामा पुगेका छन् । साना पोल्ट्री फार्म बन्द भएका र ठूला फार्मसमेत बन्द हुने अवस्थामा पुगेका सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले जानकारी दिए । ‘आर्थिक तरलताका कारण उपभोग्य सामान १८ प्रतिशत, विद्युतीय उपकरण ५५ प्रतिशत, अटोमोबाइल ७५, बीमा ३० तथा घरजग्गा कारोबारमा ५२ प्रतिशतले गिरावट आएको छ.’ उनले भने । निजी क्षेत्रबाट गरिएको सर्वेक्षणबाट देखिएको भन्दै पौडेलले जुत्ता, चप्पल ४५ प्रतिशत, स्टिल उत्पादन ३१, सिमेन्टलगायत निर्माण सामग्री ४५, प्लाष्टिक ३८, पूँजी बजार कारोबार ४० तथा होटल व्वयसायमा ४० प्रतिशतले गिरावट आएको पौडेलले जानकारी दिए । यस्तै रेष्टसरेन्टमा २० प्रतिशत र पोल्ट्री उद्योगको कारोबारमा ४५ प्रतिशतले गिरावट आएको उनको भनाइ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा मूल्य अभिवृद्धि कर ११ दशमलव छ प्रतिशत, अन्तःशुल्क १३ दशमलव पाँच र भन्सार राजश्वमा ३१ दशमलव पाँच प्रतिशतले कमी आउनुले समेत समग्रमा मागमा सङ्कुचन आएको पुष्टि हुने पौडेल बताउँछन् । उद्योगलाई जीवन्त राख्न सहयोग पुग्ने गरी तरलता सम्बन्धी अनुपातमा अधिकतम लचकता अपनाएर तरलता व्यवस्थापन गर्न सरकारसँग सङ्घले माग गरेको छ । व्याजदर एक अङ्कमा सीमित गर्नुपर्ने, उद्योगमा रहेको कर्जालाई उद्योगीले आवश्यकता महशुस गरेमा एकपटकका लागि पुनरसंरचना गर्न पाउनुपर्ने, पुनर्ताजकीकरण गर्न पुस मसान्तसम्मको व्याजलाई पूँजीकरण गर्न तथा पुनरकर्जाको सुविधालाई निरन्तरता दिन तथा चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई दुई वर्ष पछि मात्र कार्यान्वयनमा लैजान सङ्घले माग गरेको छ । पत्रकार सम्मेलमान पूर्वाधार निर्माणअन्तर्गत भएको खर्चको कार्यको भौतिक प्रगति देखिए लगत्तै तत्काल भुक्तानीको व्यवस्था गर्नुपर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुको आयात खुकुलो बनाउन नेपाल राष्ट्र बैंकसँग माग गरिएको छ । माग सम्बोधन नभए व्यवसायीले पुस मासन्तमा कुनै पनि कर बुझाउन नसक्ने बताएका छन् । रासस

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै, पछ्याउँदै माओवादीका कार्की

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । दोलखा प्रदेशसभा(१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि छन् भने प्रदेशसभा २ मा एमाले उम्मेदवार अगाडि छन् । प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गरेका छन्् । प्रदेशसभा २ मा ४२ हजार एक सय ५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार चार सय १४ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मतका साथ पछ्याइरहेका छन् । जिल्लामा समानुपातिकतर्फ ३४ हजार ११ मतगणना गर्दा एमालेले १२ हजार पाँच सय ७८, कांग्रेसले १० हजार नौ सय १७ र माओवादी केन्द्रले चार हजार चार सय ६६ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

सानिमा बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । सानिम बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले दिन लागेको १० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको हो । आइतबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंकको नयाँ सेयर मूल्य २४७.१८ रुपैयाँ तोकिदिएको छ । बैंकको यसअघि सेयर मूल्य प्रतिकित्ता २७१.९० रुपैयाँ थियो ।

संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ । नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आएका चन्द्रकान्त सीके राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ । लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ । मधेस आन्दोलनका अगुवाका रुपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विस्थापित गर्दै जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लागेका हुन् । सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मिएकका राउत पेशाले इञ्जिनीयर छन् । अध्यक्ष राउतले आफूहरुले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले हामीमाथि भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएकोछ, संसद्मा बहुमत पुर्याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ ।’ निर्वाचनपछि नयाँ सरकार गठनका लागि दल र नेताबीच भइरहेको भेटवार्ता, सङ्ख्याको जोड घटाउलगायत समसामयिक विषयमा अध्यक्ष राउतसँग लिएको अन्तर्वार्ताका सम्पादित अंंश यस प्रकार छ : निर्वाचनमा भाग लिनुभयो, राम्रो नतिजा हासिल गर्नुभएको छ, सर्वप्रथम त तपाइँलाई हार्दिक बधाई र शुभकामना । अहिलेको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ? निर्वाचन आफैमा लोकतान्त्रिक प्रक्रिया हो, त्यसमा भाग लिन र जनमत हासिल गर्न पाउँदा निकै खुसी लागेको छ । जनमत हासिल गर्ने यो औपचारिक माध्यम हो । यसबाट हाम्रा एजेण्डा जनताबाट अनुमोदित छन् कि छैन भन्ने परीक्षण भएको छ । जनताले हामीमाथि भरोसा राखेर खरोरुपमा उत्रेकामा खुसी लागेको छ । यहाँले राजनीति अघि बढाउँदाको अवस्था र अहिलेको परिवेश फेरिएको छ, यसलाई कसरी तुलना गर्नुहुन्छ ? विगतमा जनमत छ वा छैन भनी मापन गर्ने आधार थिएन । हामी राजनीतिक मूलधारको प्रक्रियामा पनि सहभागी थिएनौँ । आमसभा र कार्यक्रम हुन्थ्यो तर जनसमर्थन कति छ भनेर औपचारिक मापन थिएन । त्यसबेला सरकारबाट विभिन्न बाधा अड्चन हाल्ने काम हुन्थ्यो । अहिले मूलधारमा आइसकेपछि खुला राजनीति गर्न पाएका छौँ । जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ । निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ । शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डालाई लिएर निर्णय गर्ने ठाउँतिर अघि बढेका छौँ । त्यो ठाउँसम्म पुग्नेछौँ । अहिले राजनीतिक मूलधारमा आएपछि कस्तो महसुस गर्नुभएको छ ? अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ । निर्वाचनमार्फत जनमत पनि परीक्षण गर्न पाएका छौँ । त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौँ । राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौँ । पहिलोपटक आम निर्वाचनमा गइरहँदा यहाँले उठाएको एजेण्डालाई जनताले कसरी बुझेको पाउनुभयो, मतदाताको अपेक्षा के रह्यो ? जनताले हाम्रा एजेण्डालाई सकारात्मकरुपमा लिएको पाएका छौँ किनकी यसअघिका राजनीतिक दलले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रजस्ता जति पनि एजेण्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेण्डा मात्र थिए । यसबीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन् । हामीले सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौँ, त्यसलाई जनताले सकारात्मकरुपमा ग्रहण गरेको अवस्था छ । यी मुद्दालाई अरुले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन् । जनताले दिएको अभिमतलाई यहाँले अहिले कसरी ग्रहण गर्नुभएको छ र निर्वाचनलाई कसरी लिनुभएको छ ? यो निर्वाचनलाई सफल/असफल कसरी मापन गर्नुहुन्छ ? विगतको तुलनामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरुले प्रतिवेदन बुझाएको अवस्था छ । जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु । त्यो जनमतलाई हामी खेर जान दिन्नौँ । जनताको अपेक्षा एकातिर छ, तपाइँहरुको भूमिका अर्कोतिर छ । कानून बनाउने, नीति बनाउने भूमिका हो, जनताको माग सिँचाइतर्फ देखिन्छ यसलाई कसरी तालमेल मिलाउनुहुन्छ ? आम बुझाइ त्यस्तै छ तर संसद् भनेको खाली ऐन कानुन बनाउने थलो मात्रै होइन । मुलुकका यावत् समस्या सम्बोधन गर्न के कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ भनी गहन छलफल र मन्थन गर्ने ठाउँ पनि संसद् नै हो भन्ने महत्वपूर्ण पक्षलाई कसैले बिर्सन हुँदैन । संसद्मा पुगेर नै आफ्नो नीति कार्यान्वयन गर्न सकिन्छ । त्यहीँबाटै नीति योजना कार्यक्रम पारित हुने हो नि । उदाहरणका लागि भनौँ, अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसाले मलबिउ नपाएको अवस्था छ । त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षारता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसद्मा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ । संसद् जनप्रतिनिधिले उठाएका मुद्दा सम्बोधन गर्ने थलो पनि हो । निर्वाचन परिणाम, मिलिजुली सरकार र उठेको अस्थिरताको आशङ्कालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ? सरकार गठनमा यहाँको दलको भूमिका के रहन्छ ? हामीले विगतमा दुई तिहाइ बहुमतको सरकार देखिसकेका छौँ । दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन । बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन । अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ । त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अह्म पाल्न दिँदैन । सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ । सहमति र सहकार्यको आवश्यकतालाई नै जनताले जोड दिएका छन् । मूल कुरा भनेको नियत हो, राजनीतिक दल र नेताका नियत सफा भएमा दीर्घकालीनरुपमा जान सकिन्छ । जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न । हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छाै । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं । अहिलेको अवस्थामा अरु राजनीतिक दललाई के भन्नुहुन्छ, मतदातालाई के सन्देश छ ? अन्य राजनीतिक दललाई के भन्न चाहन्छु भने यसभन्दाअघि जे जति भए, जे जस्तो गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु । जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौँ । जनमतको कदर गर्दै उनीहरुको सेवामा समर्पित होऔँ । जनताले पनि दलहरुलाई निरन्तर खबरदारी र निगरानी गरिरहनु पर्छ । संसद् र सरकारमा प्रवेश गरेपछि यहाँको पहिलो एजेण्डा के हुन्छ ? संसद् र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ । अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो । लाखौँ युवा विदेसिन बाध्य भएका छन् । रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ । साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिताहरु हुन् । तिनकै कार्यान्वयनका लागि हाम्रो पहल हुनेछ । तपाइँहरु मधेसको वैकल्पिक शक्तिका रुपमा उदाउनुभएको छ, यो अवस्थामा मधेसका अन्य शक्तिहरुसँगको सहकार्यको योजना के छ ? सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ । अब पनि जनतालाई गुमराहमा पार्नु हुँदैन, निकास दिन सक्नुपर्छ ।

उधारोमा खरिद गरेका लगानीकर्ताको सेयर जफत गर्दै त्रिशुली जलविद्युत कम्पनी

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले सेयर खरिद गरेर फागुन १७ गतेभित्र रकम नतिरे सेयरधनीहरुको सेयर जफत गर्ने भएको छ । कम्पनीको प्राथमिक सेयर (आईपीओ) खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर जफत गर्न कम्पनीले चेतावनी दिएको हो । कम्पनीले आईपीओ निष्काशन गर्दा प्रतिकित्ता १० रुपैयाँका दरले रकम संकलन गरेर बाँकी ९० रुपैयाँ पछि संकलन गर्ने जनाएको थियो । सोही अनुसार प्रतिकित्ता १० रुपैयाँका दरले आईपीओ खरिद गरेर रकम बुझाउन बाँकी रहेका सेयरधनीहरुले फागुन १७ गतेभित्र रकम भुक्तानी नगरे सेयर जफत गर्ने चेतावनी दिएको हो । कम्पनीले साविक सर्वसाधारण सेयरधनी (निष्काशनकर्ता कम्पनीको कर्मचारीहरु समेत) हरुले भुक्तानी गरेको प्रतिकित्ता १० रुपैयाँमा जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ को दफा १२ बमोजिम वार्षिक ८ प्रतिशत ब्याज प्रदान गरेको छ । सोही अनुसार भुक्तानी गर्न बाँकी रहेका सेयरधनीहरुले प्रतिसेयर ८७ रुपैयाँका दरले कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (१) र (२) को व्यवस्था बमोजिम रकम जम्मा गर्न निर्देशन दिएको थियो । कम्पनीले यसअघि उक्त रकम बुझाउन गत असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म समय सीमा तोकेको थियो । उक्त समयमा सेयरधनीहरुले बाँकी रकम भुक्तानी नगरेकाले समय थप गरेको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकालले बताए । कम्पनीले भुक्तानी नगरेका साविकका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरुलाई ३ महिना अर्थात् फागुन १७ गते भित्र उक्त रकम भुक्तानी गर्न भनेको सीईओ ढकाल बताउँछन् । ‘कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (३) मा भएको व्यवस्था बमोजिम भुक्तानी हुन बाँकी प्रतिसेयर मूल्य ८७ रुपैयाँ हुन आउँछ, रकम बुझाउने अवधि ३ महिना थप गरिएको छ, ३ महनाको वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम १.७४ रुपैयाँ थप गरी हुन आउने बाँकी रकम ८८.७४ रुपैयाँ फागुन १७ गतेसम्म बुझाउन सेयरधनीहरुलाई भनिएको हो,’ सीईओ ढकालले बताए । यदि थप गरिएको अवधिभित्र पनि बाँकी रकम नबुझाएमा यसअघि तिरिसकेको रकम र ब्याज रकम जाडेर थपिने रकमको मात्रै सेयर दिई बाँकी सेयर जफत गरिने उनले बताए । कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो । आईपीओ निष्काशनका बेला पतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरको न्यूनतम १० प्रतिशतले हुन आउने १० रुपैयाँ मात्र संकलन गरेको थियो । आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ । दोस्रो बजारमा कारोबारका लागि तयारी रहेको सीईओ ढकालले बताए । ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको सेयर छिट्टै कारोबार खुल्छ, सिडिएस एण्ड क्लियरिङ्ग र नेप्सेमा डकुमेन्टहरु पठाउने तयारी भइरहेको छ, शतिप्रतिशत रकम भुक्तानी गरेका लगानीकर्ताको कारोबार खुल्छ,’ उनले भने । यदि बाँकी भुक्तानी रकम नबुझाएका सेयरलाई सेयर संस्थापक वा अक्सनमा बिक्री गरिने उनको भनाइ छ ।

६० रुपैयाँ लिएर काठमाडौं छिरेकी विष्णुमाया परियारले यसरी रचिन् इतिहास

काठमाडौं । भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रचेकी छिन् । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिएकी विष्णुमायाबारे अमेरिकाका चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसमेत समावेश भएको पाठ्यपुस्तकमा समावेश गरिएको छ । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर च्याप्टरमा वृत्तचित्र ‘अनटचेबल’ शीर्षकमा समावेश गरिएको विभिन्न ‘भिडियो स्लाइड सो’का माध्यमबाट पढाई हुन्छ । असमानता र जातीय भेदभाव तथा छुवाछूतबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा विष्णुमाया परियारलाई राखिएको छ । उनी भन्छिन्, ‘अनटचेबल शिर्षकमा नेपालमा स्थापना गरेको दलित महिला उत्थान सङ्घ (एड्वान) मार्फत भएका कामबारे छलफल गराइन्छ, २० मिनेट मेरो बारेमा पढाइ हुन्छ, अछूत र जातीय प्रणालीलाई संयुक्त राष्ट्र सङ्घको दिगो विकाससँग जोडेर पढाइ हुन्छ ।’ सो पाठमा विभेदबारे जानकारी गराउने आठ वटा स्लाइड राखिएको छ । पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा लागू गरिएको विष्णुमायाले जानकारी दिइन् । त्यसैगरी ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पनि समावेश गरिएको छ । पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा लिसा हफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि अध्ययन हुँदै आएको छ । यसभन्दा पहिले पनि नेपाली अछूत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढाइ भएको थियो । एड्वानकी संस्थापक तथा सिटी सहरकी महिला आयोग सदस्य विष्णुमायाले प्यासिफिक आइल्यान्डरकी कमिसनर भएर काम गरिरहनुभएको छ । विष्णुमायाले न्युजर्सी सिटीमा मेयरको सल्लाहकार समितिमा रहेर काम गरेकी थिइन् । सङ्घर्षपूर्ण बाल्यकाल बाबु रुपबहादुर परियार र आमा फनमाया परियारकी ठाहिंली छोरी डा विष्णुमायाको परिवारमा १० दिदीबहिनी र एक छोरा छन् । गरिबी, अभावसँगै समाजमा व्याप्त अछुत हुनुको पिडा । सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछूतको पिडाले उहाँको बालमस्तिष्कलाई नराम्ररी प्रभावित बनाउथ्यो । जातीय भेदभाव तथा छुवाछूतमात्रै हैन, छोरीलाई पढाउनुपर्छ भन्ने चेतना पनि त्यतिबेला खुलेकै थिएन । बुबा रुपबहादुरको काम भनेको विष्ट(उपल्लो जात भनिएका व्यक्ति)कोमा लुगा सिलाउने थियो भने आमा फनमाया तिनै विष्टका घरमा बाली उठाउन हिड्ने गर्थिन् । विष्णुमाया भन्छिन्, ‘मेरो बाबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिनुभयो, कति कलका सिगोहरु भाँचिए, आमाले बाली बोक्ने कति डोकाहरु फाटे, तर आफ्नो परिवारमा कहिल्यै काँचुली फेरिएन, शरीरले कहिल्यै चम्किलो कपडा देखेन । बुबा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ ।’ अहिले अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डा को उपाधि दिए पनि विष्णुमायाको जीवनको शुरुआती दिनहरू अहिलेकोे जस्ता थिएनन् । स्कूल पढ्दा विष्णुमायाले तिर्खाएका बेला धारामा गएर पानी खान पाउँदैन थिइन् । सरस्वती पूजाको दिन पूजा गर्न मनाही थियो । यो सम्झदा विष्णुमायाका आँखाका डिल रसाउँछन् । विष्टको घरमा खाना खाएपछि आफैँले भाडा माझ्नुपथ्र्यो, खाएको ठाउँमा गोवरले पोत्नुपर्ने र सुनपानीले छर्किनुपर्ने । आफू सानै छँदासोधिएको जिज्ञासामा बाबु रुपबहादुरको जवाफ ‘यो जातीय विभेद हो छोरी, तिमीहरु यसको विरुद्धमा लड्नुपर्छ’ भन्ने भनाइ नै विष्णुमायालाई जीवनको मूल मन्त्र बन्यो । त्यसैले होला विष्णुमायाको कलिलो दिमागमा विद्रोहको भाव आयो–’बरु म यतिकै तिर्खाले मर्छु तर अन्जुलीमा पानी थापेर खान्न ।’ बुबाले पढ्न पठाउने मन गरेपनि पढ्नका लागि चाहिने वातावरण घरमा थिएन । तरपनि विष्णुमायाले हिम्मत हारिनन् । उनले कक्षा ७ सम्म स्थानीय श्री सिंजाली माविमा अध्ययन गरिन् । घरमा चरम आर्थिक अभाव थियो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएपनि साढे दुई घन्टाको दूरी हिडेर अर्को गाउँको विद्यालयमा पढ्न जान्थिन् विष्णुमाया । उनी भन्छिन्, ‘ठूलो परिवार थियो, त्यसैमाथि गरिबी, गरिबीका कारण घरमा चामलको भात देख्न पाइँदैनथियो ।’ अर्को गाउँको विद्यालय मनकामनाबाट विष्णुमायाले कक्षा १० पास गरिन् । ‘एसएलसीमा राम्रो गर्नको लागि म घ्याल्चोक भन्ने ठाउँमा पढ्न गएँ, त्यतिबेला एकजना क्षेत्रीको गोठमा बसेको थिएँ, मेरा साथीहरु नेवार थरको हुनुहुन्थ्यो, सबैले खाइसकेपछि मात्रै मैले खाना खानुपथ्र्यो । खाना खाएपछि भाँडा माझेर आफू बसेको ठाउँमा गोबरले लिप्नुपथ्यो, सुकेपछि आगो र सुनपानी छर्किएर उनीहरू ‘पवित्र’ पार्थे’, उनी भन्छिने । आर्थिक अभावका बीच विष्णुमायाले २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी दिँदै गर्दा अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवक जोन रुकम्यानसँग भेट भयो । विष्णुमायाको प्रतिभा देखेर उच्च शिक्षा आर्जनका लागि जोनबाट सघाउने आश्वासन पाएको दिन विष्णुमायालाई संसार जितेजस्तो भयो । दलित परिवारबाट एसएलसी गर्ने पहिलो छात्रा बनेकी विष्णुमायालाई आफ्ना बाबुसँग ६० रुपैयाँ लिएर काठमाडौं झरिन् । काठमाडौँमा पनि छुवाछूत उस्तै थियो । दलित भनेपछि कोठा भाडामा पाउनै समस्या । काठमाडौँमा उनले अभावसँगै छुवाछुतलाई पनि सामना गर्नुप¥यो । काठमाडौंमा पद्मकन्या क्याम्पसमा अध्ययन गरिन् । पढाइसँगै उनले उपेक्षित समुदायका लागि लघुवित्त परियोजनामा तराईका केही जिल्लामा काम सुरु गरिन् । सन् १९९९ मा विष्णुमाया अमेरिका पुगिन् । त्यहाँ उनले पाइन म्यानर कलेज बोस्टनबाट ‘सोसियल एण्ड पोलिटिकल सिस्टम’ विषययमा ग्रयाजुयसन गरिन् । सानैदेखि पढाईमा अब्बल विष्णुमाया संसारमै ३० जनाको मात्र कोटा भएको क्लार्क युनिर्भसिटीमा ‘अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तनमा’ छात्रवृत्ति पाउने नेपालको पहिलो महिला हुन् । त्यसैबेला विष्णुमायाले पस्मिनाका सलहरु अमेरिकामा बेचेर नेपालका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरिन् । त्यसबाट उनले वर्षमा २८ लाखसम्मको व्यापार गरेर नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गरिन् । अमेरिका गएपछि सबैभन्दा पहिले सामाजिक कामसँगै विष्णुमायाको काम अङ्ग्रेजी सिक्ने भयो । त्यसका लागि उनी यिनी नर्थ इस्र्टन युनिभर्सिटीमा भर्ना भइन् । सम्मान तथा पुरस्कार डा विष्णुमायालाई सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन सम्मान विश्वका छ व्यक्तिलाई मात्रै प्रदान गरिएको थियो । सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले पाँच हजार डलरसहित मानव अधिकार पुरस्कार दिएको थियो । त्यो पुरस्कार विश्वका छ जनाले मात्र पाएका थिए । सन् २००७ मा विश्व बैङ्कले विश्वका ११ जना व्यक्तिलाई प्रदान गरेको ११ हजार डलरसहितको पुरस्कार प्राप्त गरेकी थिइन् । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन म्यानर कलेजले सन २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान ग¥यो । ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०१९, ब्रिज बिल्डर अवार्ड र प्रेसिडेन्ट कप अवार्डबाट उनलाई सम्मान गरिएको थियो । अमेरिकाको केन्टोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । अन्तराष्ट्रिय कलाकार समाज (इनास) अमेरिकाले हालै उनीसहित ११ नेपाली व्यक्तित्वलाई सम्मानीत गरेको छ । विष्णुमायाले नेपालको इन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच भगेनी सम्बन्ध स्थापित गरेकी छिन् । उनले अमेरिकाको न्युजर्सी सिटीमा नेपाली झन्डा फहराएकी थिइन् । समाज सेवामा समर्पित आफू दलित भएकै कारण भोग्नु परेका पिडा अरुले भोग्न नपरोस् भनने उद्देश्यले दलित समुदायका महिलाहरुलाई सङ्गठित बनाउँदै उनीहरुको आर्थिक र शैक्षिक विकास गर्न विष्णुमायाले सन् १९९८ मा दलित महिला सङ्घ (एड्वान) स्थापना गरिन् । हाल उनी सो संस्थाको संरक्षक रहेकी छिन् । एड्वानले अहिले नौ जिल्लामा एक सय ११ वटा महिलाको समूह निर्माण गरिसकेको अध्यक्ष विन्दु परियारले जानकारी दिइन । उनले भनिन्, ‘अहिले करिब ६० हजारभन्दा बढी महिला संलग्न भएर एड्वानका गतिविधिमार्फत सहयोग लिइरहेका छन्, त्यसबाट उद्यमी बन्नुका साथै नेतृत्व क्षमता विकास गरिरहेका छन् ।’ एड्वानले २५ सयभन्दा बढी बालबालिकालाई स्कुल, कलेज र विश्वविद्यालय पढ्न छात्रवृत्ति प्रदान गरेको छ । पछिल्लो समयमा एड्वानले दलित समुदायका महिलालाई ऐन/कानून र संविधानबारे क्षमता विकासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विष्णुमायाले २०७२ सालको भूकम्पको समयमा चार सय भूकम्प पीडितको घर निर्माणमा सहयोग जुटाउने काम गरिन् । विष्णुमायालाई देश र समुदायको लागि यति धेरै गरेर पुगेको छैन । हाल अमेरिकामै रहेकी उनी केही समयअघि नेपाल आउँदा भएको भेटवार्ताको क्रममा उनले नेपाललाई अझै चिनाउन बाँकी रहेको बताएकी थिइन् । उनले भनिन्, ‘मँ एउटा सपना बोकेर हिड्ने मान्छे हो, म एउटा खुड्किलोमा चड्छु, फेरि अर्को खड्किलो चड्न मन लाग्छ, जे गर्नु छ त्यसमा मात्रै केन्द्रित हुने मेरो स्वभावले नै मलाई सफलता हासिल भएको छ । अरुले के भन्ला भन्नेमा चासो लाग्दैन ।’ संसारका विश्वविद्यालयमा अध्ययन हुने विष्णुमायाबारे भने नेपाल सरकार बेखबर छ । यसमा भने विष्णुमायालाई दुख लाग्छ । ‘मैले जे गरेको छु त्यो नेपाल र नेपालीका लागि गरेको छु, मेरो बारेमा विश्वका अरु मानिसले चासो राखेका हुन्छन् र नेपाल सरकारले अहिलेसम्म सम्झेको छैन, खोजेको छैन ।’ रासस