बजेट निर्माणमा जुट्यो सरकार, आयोगले प्रदेश र स्थानीय तहसँग माग्यो अनुदानको प्रस्ताव
काठमाडौं । सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले बजेट निर्माणको तयारी थालेको हो । राष्ट्रिय योजना आयोगले सोमबार एक सूचना जारी गर्दै आगामी आवका लागि प्रदेश र स्थानीय तहलाई संघीय समपुरक अनुदान तथा संघीय विशेष अनुदानका लागि प्रस्ताव आह्वानका लागि अनुरोध गरेको छ । संघीय र प्रदेश तहको निर्वाचन सकिएलगत्तै आयोग बजेट निर्माणमा जुटेको हो । समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ मा व्यवस्था भए बमोजिम प्रदेश र स्थानीय तहबाट आ.व. २०६०/६१ मा सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना/कार्यक्रमहरूका लागि प्रस्ताव सहित विवरण तयार गरी अनुदान माग गर्न आयोगले सूचनामार्फत् भनेको छ । आयोगले आगामी पौष मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको सो सम्बन्धी विद्युतीय (अनलाइन) प्रणालीमार्फत मात्र माग गर्न सूचनामार्फत जानकारी गराएको छ । आयोगका अनुसार प्रस्ताव पेस गर्दा प्रदेशको हकमा सम्बन्धित मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेस गर्नुपर्नेछ । आयोजना प्रस्ताव सम्बन्धी सर्त, आवश्यक कागजात, सूचना तथा फाइलहरू आयोगको वेबसाइटमा उपलब्ध छन् । आयोजना तथा कार्यक्रम प्रस्ताव अनलाइन प्रणालीमा प्रविष्ट गर्न सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहका लागि लग इन गर्ने विवरणहरू आयोगवाट यस अगाडि नै उपलब्ध गराइसकिएको आयोगले जनाएको छ । इएसग्र्यान्ट डट जिओभी डट एनपीमा गई समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव पेस गर्ने लिङ्क खोलि विवरण भरी पठाउनु पर्नेछ । यो सँगै अब बजेट निर्माणको चरण सुरु भएको आयोगले जनाएको छ । यसपछि विभिन्न मन्त्रालय तथा मन्त्रालय मातहतका विभागहरुलाई पोलिसी पेपर पठाइनेछ मन्त्रालयहरुले मन्त्रालयको एलएमबीएस प्रणालीमा बजेट समावेश गर्नेछन् । त्यसपछि राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थसचिव र अर्थविदहरुसँग सुझाव संकलन गरिनेछ । विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गरिनेछ । जेठ १५ गतेअघि नै आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिइनेछ । जेठ १४ गते योजना आयोग र अर्थमन्त्रीले मन्त्रिपरिषदमा बजेट ब्रिफिङ गर्नेछन् । सोहि दिन आर्थिक विधेयक विनियोजन विधेयक राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइ गर्नेछ । जेठ १४ गते नै बजेट वक्तव्य स्रोत पुस्तिका छपाइ गरिनेछ । र, जेठ १५ गते बजेट सार्वजनिक हुनेछ । चालू आर्थिक वर्षमा सरकारले पूर्वाधार आयोजना सम्बन्धी आयोजनाको कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई १३ अर्ब ५७ करोड समपुरक अनुदान छुट्याएको छ भने विशेष अनुदान तर्फ १३ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ ।
बेनेलीको नयाँ शोरुम पोखरामा, ६० हजार डाउन पेमेन्टदेखि बिना ब्याज फाइनान्सिङ सुविधा
काठमाडौं । बेनेली मोटरसाइकलको नयाँ शोरुम तथा सर्भिस सेन्टर पोखराको नयाँबजारमा संचालनमा आएकाे छ । बेनेलीकाे एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त शाेरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हाे । बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिहथ छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो ।
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । प्रतिनिधिसभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ । प्रतिनिधिसभामा कांग्रेसबाट विश्वप्रकाश शर्मा, दीपक खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार राय, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ, श्यामकुमार घिमिरे, मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदयशम्शेर राणा र मोहनबहादुर बस्नेत विजयी भएका छन् । यस्तै राजेन्द्र बजगाइँ, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शङ्कर भण्डारी, राजु थापा, धनराज गुरुङ, शशाङ्क कोइराला, विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पालकुमार शाही, पूर्णबहादुर खड्का, हृदयराम थानी, बद्रीप्रसाद पाण्डे, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, दीलेन्द्रप्रसाद बडू, शेरबहादुर देउवा, नारायणप्रकाश साउद र रमेश लेखक निर्वाचित भएका छन् । एमालेबाट योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवासचन्द्र नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली, राजेन्द्रकुुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लीलानाथ श्रेष्ठ, जुलीकुमारी महतो महासेठ, रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र राजकुमार गुप्ता निर्वाचित भएका छन् । कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्र्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल वैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, वासुदेव घिमिरे, बलराम अधिकारी मङ्गलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट सुदन किराँती, अमनलाल मोदी, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ दोङ, माधव सापकोटा, गङ्गा कार्की, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ डम्डुल लामा भोटे, शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा छन् । एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले, जसपाबाट अशोककुमार राई, नवलकिशोर साह सुँडी, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव र प्रदीप यादव निर्वाचित भएका छन् । राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, दीपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवलशम्मशेर राणा, ध्रुवबहादुर प्रधान र ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने, लोसपाबाट शरत्सिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुनकुमार चौधरी र गङ्गाराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्द्रकान्त राउत तथा स्वतन्त्ररुपमा योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी निर्वाचित भएका छन् । रासस
सजिलो सेवा अब पोखरामा, मासिक डेढ लाखसम्म आम्दानी गर्ने अवसर
काठमाडौं । नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिंग, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् । सन् २०१७ देखि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो । कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ र त्यसै अनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ । हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राहीमार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ । पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ । यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रविन्दु पनि हो र पर्यटन क्षेत्रको प्रवर्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए । सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छ । सेवा प्रदायकहरु सजिलो सेवासंग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिले नै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए । पोखरामा सजिलो सेवासंग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट सजिलोसेवा डटकम, एप वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्ने छन् । उपत्यकाभित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक २० हजारदेखि १ लाख ५० हजारसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको छ । सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा सजिलोएप प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त छुट प्राप्त गर्नेछन्। पोखरापछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी गरेको छ।
नेपाल टेलिकमको मोबाइल रिचार्ज गर्दा १० जिबीसम्म डाटा नि:शुल्क पाइने
काठमाडाैं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । टेलिकमकाे अनुसार २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी, १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ । यो अफर मंसिर २० गतेदेखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।
कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ । प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा ९माओवादी केन्द्र० १८, नेकपा ९एकीकृत समाजवादी० १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन् । त्यस्तै प्रदेश सभातर्फ पनि नेपाली काँग्रेस प्रत्यक्षतर्फ १११, नेकपा एमाले ९१, नेकपा ९माओवादी केन्द्र० ५३, नेकपा (एकीकृत समाजवादी) १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी ७, हाम्रो पार्टी नेपाल १ र १२ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । समानुपातिकतर्फ भने नेकपा एमाले हालसम्म पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली काँग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन् । निर्वाचनको सम्पूर्ण नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ । निर्वाचनको परिणाम अनुसार कुनैपनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ । साथसाथै राष्ट्रपति/उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ । ५ वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपतिको को बन्ला भन्ने कौतुहहलता हुन स्वभाविक पनि हो । तर राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने बारेमा भने आम नागरिकहरुलाई थाहा नहुन सक्छ । राष्ट्रपतिको नर्वाचन हुनका लागि पहिलो कुरा त सम्पूर्ण प्रत्यक्ष समानुपातिक मत परिणाम आइसक्नुपर्छ । त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ । सरकार गठन भइसकेपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुनेछन् । तर संघीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउँछन् निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल । ‘राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानूनले योग्य ठहरिएको व्यक्ति हुनुपर्छ, प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशत भन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपति चुनिन्छन्, पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाएपनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारहरुबीच मात्रै प्रतिष्पर्धा गराइन्छ, पहिलो चरणमा प्रतिष्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिष्पर्धाबाट बाहिरिन्छन्, दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको छ, उनले राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न सक्दैन,’ उनले भने । सहायक प्रवक्ता अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिका लागि संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने बताए । राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनु नपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानूनले योग्य व्यक्ति, फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने उनले बताए । दुई पटक भन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रो पटक राष्ट्रपति बन्न नपाउने उनले बताए । निर्वाचनपछि आउने नयाँ सांसद र प्रदेश सभाबाट केही महिना भित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका झन्डै ३ दर्जन पदाधिकारी निर्वाचित हुँदैछन् । ३४ जना नयाँ पदाधिकारी आउने भएपछि यतिबेला दलहरुबीच सत्ता समिकरणका लागि उक्त पदमा बाँडफाँट हुँदैछ । संविधानले संघीय संसद गठन भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात मतदानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ । निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा राष्ट्रिय सभाका ५९ सहित ३३४ सांसद र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेछन् ।
नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा हुने
काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले जानकारी दिएको छ । ‘डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ’, नेफ्टा अध्यक्ष पुष्कर लामाले भने । फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको उनले भनाइ छ । अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास छ । अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल सङ्घ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उनले बताए । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुनसकेको थिएन । तर, महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ । नेफ्टाले यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड आयोजना गरिसकेको छ ।
बाँकेमा बजेट पारित नहुँदा सेवा प्रभावित
बाँके । बाँके डुडुवा गाउँपलिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सम्पूर्ण सेवा ठप्प भएको छ, भने कर्मचारीले तलब भत्तासमेत पाउन सकेका छैनन । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले पाएका छैनन्, भने अन्य सबै विषयगत सेवासमेत प्रभावित भएको छ । अहिले स्वास्थ्यचौकीमा आवश्यक औषधि छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषिलगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । स्वास्थ्यचौका प्रमुख हेमन्त शर्माले भने, ‘राजनीतिक विवादमा हामी मारमा परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधिले यो समस्या बुझेका छैनन् ।’ समयमा गाउँसभा नभएर सङ्घीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने जनाइएको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत घरघरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताए । उनका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन नसकिएको अवस्था रहेको छ । स्टोरमा रहेका सबै औषधि सकिएको छ, कसरी उपचार गर्नमा समस्या भएको उनको भनाइ छ । गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या सम्बोधन गर्न माग गरे । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलले अवरोधले गाउँसभा हुन नसकेको आरोप लगाए । उनले भने, ‘विपक्षी दलले गाउँपालिकालाई बन्धक बनाएका छन् । स्वास्थ्यचौकीमा सिटामोल औषधि छैन, कर्मचारीले तलबभत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ,यसको जिम्मेवारी कसले लिने ?’ नेकपा एमालेका डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले आफ्नो एजेण्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरे । उनले पालिकामा कार्यरत करार सेवाका कर्मचारीको व्यवस्थापन, केही ऐन र कानुन संशोधनको प्रक्रिया गरेमा मात्र सहमति गर्ने बताए । गाउँसभाको विषयमा पालिकाले चार पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको जनाइएको छ । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका रहेको र कूल छ वटा वडामा एक वडामा कांग्रेस, तीन वटा वडामा जनता समाजवादी पार्टी जसपा र दुई वटा वडामा एमाले विजयी भएको थियो । जसपा र एमालेको बहुमतमा कार्यपालिका गठन गरिएको थियो । रासस