काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ । प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा ९माओवादी केन्द्र० १८, नेकपा ९एकीकृत समाजवादी० १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन् ।
त्यस्तै प्रदेश सभातर्फ पनि नेपाली काँग्रेस प्रत्यक्षतर्फ १११, नेकपा एमाले ९१, नेकपा ९माओवादी केन्द्र० ५३, नेकपा (एकीकृत समाजवादी) १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी ७, हाम्रो पार्टी नेपाल १ र १२ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । समानुपातिकतर्फ भने नेकपा एमाले हालसम्म पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली काँग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।
निर्वाचनको सम्पूर्ण नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ । निर्वाचनको परिणाम अनुसार कुनैपनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ । साथसाथै राष्ट्रपति/उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ । ५ वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपतिको को बन्ला भन्ने कौतुहहलता हुन स्वभाविक पनि हो । तर राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने बारेमा भने आम नागरिकहरुलाई थाहा नहुन सक्छ । राष्ट्रपतिको नर्वाचन हुनका लागि पहिलो कुरा त सम्पूर्ण प्रत्यक्ष समानुपातिक मत परिणाम आइसक्नुपर्छ ।
त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ । सरकार गठन भइसकेपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुनेछन् । तर संघीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउँछन् निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल ।
‘राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानूनले योग्य ठहरिएको व्यक्ति हुनुपर्छ, प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशत भन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपति चुनिन्छन्, पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाएपनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारहरुबीच मात्रै प्रतिष्पर्धा गराइन्छ, पहिलो चरणमा प्रतिष्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिष्पर्धाबाट बाहिरिन्छन्, दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको छ, उनले राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न सक्दैन,’ उनले भने ।
सहायक प्रवक्ता अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिका लागि संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने बताए । राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनु नपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानूनले योग्य व्यक्ति, फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने उनले बताए । दुई पटक भन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रो पटक राष्ट्रपति बन्न नपाउने उनले बताए ।
निर्वाचनपछि आउने नयाँ सांसद र प्रदेश सभाबाट केही महिना भित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका झन्डै ३ दर्जन पदाधिकारी निर्वाचित हुँदैछन् । ३४ जना नयाँ पदाधिकारी आउने भएपछि यतिबेला दलहरुबीच सत्ता समिकरणका लागि उक्त पदमा बाँडफाँट हुँदैछ । संविधानले संघीय संसद गठन भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात मतदानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ । निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा राष्ट्रिय सभाका ५९ सहित ३३४ सांसद र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेछन् ।