लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप
काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौंको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५ (पाँच) म्याद थप गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र, नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमती पुल स्थित सडकमा सवारी साधन चेक तथा आवागमन व्यवस्थापन गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेको अवस्थामा ५ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । जरङ्खुबाट शेषमतीतर्फ आउँदै गरेको बा ४८ प ६०२ नम्बरको स्कुटर, बा ९४ प ३१ ३३, बा ८५ प ४८ ५६ र बा ५२ प ६१ ३० नम्बरको मोटरसाइकलहरु रोकि चेक गर्दा क्रमश:- कपिलवस्तुको चन्द्रौटा नगरपालिका ६ घर भइ हाल काठमाडौं महानगरपालिका १६ बस्ने २२ वर्षीय दिपेश सुनुवार, नुवाकोटको पकनी गाँउपालिका ६ घर भइ काठमाण्डौ महानगरपालिका ६ बस्ने २३ वर्षीय रोशन तामाङ, काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने ३१ वर्षीय प्रलाद लामा र स्याङ्जाको दरौ गाँउपालिका ७ घर भइ काठमाडौं महानगरपालिका १६ बस्ने २९ वर्षीय मोहन वि.क. र सिन्धुलीको गौरीबास घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय अमित थापा मगरलाई टि.एच.सि (टेट्राहाईड्रोक्यानाबिनोल) किटको प्रयोग गरी उनिहरुको पिसाव चेक गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएकोमा उनिहरु उपर लागुऔषध सेवन विरुद्धको कसुरमा आज दिन ५ (पाँच) म्याद थप भएको छ । ट्राफिक प्रहरीले गत साउन ९ गतेबाट सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको थियो । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढ्ने र यसले जीवन क्षतीको जोखिम पनि हुने भएकाले संभावित जोखिम कम गर्न लागु पदार्थ सेवन विरुद्धको चेकिङ अभियानलाई तिव्रता दिइएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिएका छन् ।
दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित
दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका बीचमा तीन सय १७ मतान्तर रहेको छ । दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।
तरकारीका बिरुवा बेचेर लाखौँ आम्दानी
रामपुर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् । रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम कमाउन सकिने भएपछि उनले यो व्यावसायलाई २२ वर्षदेखि धान्दै आएको छन् । करिब एक रोपनी जग्गामा बिरुवा उत्पादन गरेका दुवाडीले यस पटक दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी हुने बताउँछन् । ‘प्याज, काउली, बन्दाको माग धेरै छ, मागअनुसार पुर्याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन’, उनले भने, ‘मङ्सिर सुरु भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेल्ने बेच्ने काममा दैनिकी बितेको छ ।’ सानो लगानीमा तीनदेखि चार महिनामा लाखौँ कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यावसायमा निरन्तर लागिरहेको दुवाडी बताउँँछन् । यस पटक बीउ खरिद, मलजलसहित करिब ३० हजार रुपैयाँ नर्सरीमा लगानी परेको छ । ‘लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवार साथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ’, उनले भने । उमेरले उनी ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उनको जोँश, जाँगर जवानीकै जस्तो देखिन्छ । बिरुवा हेरचाह रेखदेख र बिक्री गर्दै उनको दिन बित्ने गरेको छ । बिना तालिम उनले सो व्यवसाय अगाडी बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रुपमा चिनिएका छन् । अहिलेसम्म कुनै सङ्घ संस्था, निकायबाट सहयोग भने उनले पाएका छैनन् । समयानुसार विभिन्न जातका बिरुवा उत्पादन गर्छन् । व्यावसायिकरुपमा बिरुवा उत्पादन गर्न थालेपछि दिनहुँ हातमा दाम र समाजमा राम्रो पहिचान बनेको उनका श्रीमती मतिकला दुवाडी बताउँछन् । काठमाडौँ, पोखरा, गोरखा, चितवन, बुटवलमा पनि बिरुवा पठाएका छन् । दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ । पाल्पाको निस्दी गाउँपालिका–१ डमराका यामबहादुर खाणले बर्सेनि यहीँबाट प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताउँछन् । ‘अन्य ठाउँको तुलनामा यहाँ उत्पादन भएको बिरुवाले राम्रो फल दिने गरेकाले हरेक वर्ष यसै समयमा टाढा भए पनि गाडीमा नर्सरीमै आएर बिरुवा खरिद गर्ने गरेको छु, राम्रो बिरुवा भएकाले रोपेपछि मर्यो, फल लागेन भन्ने पिरलो छैन’, उनले भने । व्यवसायमा निरन्तर लागियो भने सफलता पाइन्छ भनेझैँ तरकारीको बिरुवा उत्पादन गरेर एक उदाहरणीय पात्र बनेका छन्, दुवाडी दम्पत्ति । उनको व्यावसाय देखेर अहिले छिमेकीले बिरुवा उत्पादन प्रविधिबारे ज्ञान सीप सिक्न आउने गरेका छन् । रामपुर–५ बसपार्क बस्ने सिर्जना मरासिनीले पनि १५ वर्षदेखि बिरुवा उत्पादन गर्दै आएकी छिन् । हरेक वर्ष काउली, बन्दा, गोलभेँडा, प्याज, लहेरबाली, काक्रालगायतका समयानुसार विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गर्छन् । एकयाममै उनले बिरुवा बेचेर एक लाख रुपैयाँ बराबरको कमाइ गर्नुहुन्छ । हालैमात्र ७० हजार बराबरको काउली, बन्दा, प्याज बिक्री गरेकी छिन् । कम लगानी र मेहनतमा लाखौँ कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनलाई जोड दिएका हुन् । तरकारी उत्पादनको तुलनामा बिरुवाबाट धेरै फाइदा हुने गरेको कृषक बताउँछन् । छोटो समयमा थोरै लगानीमा सिजनअनुसार विभिन्न जातका बिरुवा उत्पादन गरेर लाखौँ आयस्रोत भित्रन थालेपछि आर्थिक क्षेत्रमा कृषक अब्बल बन्दै गएका छन् ।
काभ्रेमा तीन महिनापछि फेरि रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रे । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए । वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो । वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शङ्कास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताए । उनले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिए । गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् । कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताएका छन् । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताए । उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्षनै रहिरहने देखिएको छ । यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेत नभएको केन्द्रले जनायो । शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेविज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त सुई राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको र्यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र माँसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्ब रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तराष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रुपमा मनाउने गरिएको छ ।
विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने
काठमाडौं । विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने भएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको हाे । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्न लागेको हो । ओएसएम रेजप्लस विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो,जसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको हुन्छ । त्यस्तै ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो । दुवै गाडीलाई सामथ्र्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान भएको कम्पनीले जनाएको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने दाबी गरे । यस्तै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले नेपाल सरकार सवारी साधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको अवस्थामा यी विद्युतीय सवारी साधनले निकै ठूलो सहयोग गर्ने बताए । ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिनेछ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किलोमिटर र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किलोमिटरको यात्रा गर्न सकिनेछ ।
पूर्णता पाउँदै ‘बेनी मिनि रङ्गशाला’
म्याग्दी । म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिए । ‘बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँँ बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको आठ लाख रुपैयाँ बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ’, उनले भने, ‘अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख रुपैयाँ बजेटबाट पनि थप काम गर्न पहल गरेका छौ ।’ म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवाले यही मङ्सिर पहिलो साता ३५ लाख ९३ हजार एक सय रुपैयाँमा एकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ । ठेक्का मार्फत पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताए । प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा छ लाख ५० हजार रुपैयाँ र २०७३ मा ५९ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेको थियो । विसं २०७४ मा एक करोड रुपैयाँ र २०७५/७६ मा ६० लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख रुपैयााँ, खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँँ र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहुँँदा खेलमैदान निर्माण रोकिएको थियो । रासस
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३(० ले जित्यो । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।
नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । स्रोतका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा प्राधिकरणले तोकेको २ अर्ब ५ करोड रुपैयाँ पूँजी पुर्याउन कम्पनीलाई ५० करोड रुपैयाँ आवश्यक पर्नेछ । हाल प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।