विकासन्युज

नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले जानकारी दिएको छ । ‘डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ’, नेफ्टा अध्यक्ष पुष्कर लामाले भने । फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको उनले भनाइ छ । अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास छ । अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल सङ्घ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उनले बताए । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुनसकेको थिएन । तर, महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ । नेफ्टाले यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड आयोजना गरिसकेको छ ।

बाँकेमा बजेट पारित नहुँदा सेवा प्रभावित

बाँके । बाँके डुडुवा गाउँपलिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सम्पूर्ण सेवा ठप्प भएको छ, भने कर्मचारीले तलब भत्तासमेत पाउन सकेका छैनन । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले पाएका छैनन्, भने अन्य सबै विषयगत सेवासमेत प्रभावित भएको छ । अहिले स्वास्थ्यचौकीमा आवश्यक औषधि छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषिलगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । स्वास्थ्यचौका प्रमुख हेमन्त शर्माले भने, ‘राजनीतिक विवादमा हामी मारमा परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधिले यो समस्या बुझेका छैनन् ।’ समयमा गाउँसभा नभएर सङ्घीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने जनाइएको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत घरघरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताए । उनका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन नसकिएको अवस्था रहेको छ । स्टोरमा रहेका सबै औषधि सकिएको छ, कसरी उपचार गर्नमा समस्या भएको उनको भनाइ छ । गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या सम्बोधन गर्न माग गरे । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलले अवरोधले गाउँसभा हुन नसकेको आरोप लगाए । उनले भने, ‘विपक्षी दलले गाउँपालिकालाई बन्धक बनाएका छन् । स्वास्थ्यचौकीमा सिटामोल औषधि छैन, कर्मचारीले तलबभत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ,यसको जिम्मेवारी कसले लिने ?’ नेकपा एमालेका डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले आफ्नो एजेण्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरे । उनले पालिकामा कार्यरत करार सेवाका कर्मचारीको व्यवस्थापन, केही ऐन र कानुन संशोधनको प्रक्रिया गरेमा मात्र सहमति गर्ने बताए । गाउँसभाको विषयमा पालिकाले चार पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको जनाइएको छ । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका रहेको र कूल छ वटा वडामा एक वडामा कांग्रेस, तीन वटा वडामा जनता समाजवादी पार्टी जसपा र दुई वटा वडामा एमाले विजयी भएको थियो । जसपा र एमालेको बहुमतमा कार्यपालिका गठन गरिएको थियो । रासस

४० पटक नेपाल आएकी डा. क्याट्रिन बुबा टोनी हेगनकको पद पछ्याउँदै

काठमाडौं । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् । यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन् । नेपाल कति पटक आइन् ? हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।’ चार वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहेछिन्, बुबासँग ‘तर धेरै सम्झना छैन, चार वर्षकि थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए, । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।’ उनका बुबाअर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आएका थिए । नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका रहेछन् । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएका छन् । प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिनुहुने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन् । उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन । सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे । नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका उनले नेपाल सम्भवत सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका छन् । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पु¥याइदिएका छन् । नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो । आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैँले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन् । हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । ‘बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ’, क्याटरिनले भनिन् । उनी नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्छिन् । नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्नुहुन्छ डा क्याट्रिन । ‘नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु । टोनीले नेपालमा खिचेका तस्बीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । नेपालमा उहाँका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ । उहाँका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ’, उनी भन्छिन् । नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्बीर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ । क्याट्रिन भन्छिन्, ‘महत्वपूर्ण तस्बरीहरु छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरु पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्बीरहरु उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरुपमा परिवर्तन आएको पनि हुनसक्छ । यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरुलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ । उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्बीरहरुको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ ।’ बुबाजस्तै उहाँले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गर्नुभएको छ । नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उनलाई । ‘पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्याैँ भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरुका परम्पराको पनि अध्ययन गर्नसक्छौँ । साथै मानिसको खानपान र उनीहरुका दैनिकीको बारेमा अनुुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ’, उनी भन्छिन् । टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गर्नुहुन्थ्यो भन्छिन् । क्याट्रिन भन्छिन्, ‘त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ ।’ उनी चिकित्सक भएर होला उनलाई अर्गानिक कृषि उत्पादन मनपर्छ । स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने बताउँछिन्। अर्गानिक आलु उत्पादन फार्म रहेको उनी बताउँछिन् । समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उनले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिन्छिन् । नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्छिन् । ‘पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्काे पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ’, क्याट्रिन भन्छिन् । नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उनलाई साह्रै नराम्रो लाग्छ । पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देखिने बताउँदै उहाँले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्नेहुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिन्छिन् । कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरुलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उनी चाहन्छिन् । ‘हुम्ला, मानसरोवरमा मैले एकपटक देखैँ कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए । स्थानीयले के पाए त ? यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होउन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरुका स्थानीय उपज खपत हुन् । पर्यटनको दिगो विकास भनेको यही हो । स्थानीयको सहभागिता र उनीहरुले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन’, उनको भनाइ छ । नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछिन् । पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्छिन् उनी । ‘कति धेरै फरक भइसक्यो । उ बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला । बालिका, महिला अहिले कति शिक्षित भइसके । राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन् । स्कूल कलेज गाउँगाउँमा छन् । सरसफाइ छ । बाटोघाटो पुगेको छ’, पचास वर्षअघिको नेपाल सम्झिँदै उनी भन्नुहुन्छ तर पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उनी महसुस गर्छिन् । तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै भनिन्, ‘एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो । मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छाैंभन्दा पनि बुबाआमा र आफन्तले मानेनन् । घरायसी उपचारले नै ठीक हुन्छ भने । बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन् । काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरु मानेनन् । यो घटनाले मलाई छोइरहन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिउन् भन्ने लाग्छ ।’ आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछिन् । हुन पनि उनी नेपाल जति अरु देश घुम्नुभएको छैन अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन । भन्छिन्, ‘नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।’ रासस

राष्ट्र बैंकले लाइसेन्स दिए गरिमा ‘वाणिज्य बैंक’ बन्न तयार, नम्बर वान बन्ने रणनीति

काठमाडौं । कुनै समय नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त विकास बैंकहरुको संख्या सात दर्जन बढी थिए ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको नीति अघि सारेपछि अहिले १७ वटा विकास बैंक मात्रै कायम भएका छन् । अहिले कायम १७ वटा विकास बैंकमध्ये एक हो गरिमा विकास बैंक । ७१ औं नम्बरमा स्थापना भएको गरिमा विकास बैंकले राष्ट्र बैंकबाट वि.स. २०६४ असोज २४ गते इजाजतपत्र प्राप्त गरी आफ्नो कारोबार सुरु गरेको थियो । हाल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गरिरहेको बैंकले वि.सं. २०६४ कात्तिक १८ गतेदेखि स्याङ्जाको वालिङबाट औपचारिक कारोबार सुरु गरेको थियो । डेढ दशकअघि स्थापित बैंकले गत मंसिर ७ गते मात्रै १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको छ । बैंकले १५ वर्षको अवधिमा विभिन्न ३ वटा बैंकलाई गाभिसकेको छ । निश्चित क्षेत्रमा बैंकिङ्ग कारोबार गरिरहेको बैंकले तत्कालीन निलगिरि विकास बैंकसँग मर्जर गरेपछि मात्रै २०७२ असार २९ गते राष्ट्रिय स्तरमा स्तरोन्नति भएको थियो । ३ जिल्लामा कार्यक्षेत्र रहेको निलगिरि विकास बैंकलाई गाभेर वि.सं. २०७२ साउन १७ गते एकीकृत कारोबार गरेको थियो । यस्तै, गरिमा विकास बैंकले २०७३ मा सुभेच्छा विकास बैंकलाई गाभेको थियो । राष्ट्र बैंकले पूँजी बृद्धि योजना ल्याएपछि गरिमा विकास बैंकले तीन जिल्ले सुभेच्छा बैंकलाई गाभेको थियो । यस्तै, गरिमा विकास बैंकले सर्लाही जिल्लामा रहेको सहारा विकास बैंकलाई गाभेर वि.सं. २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गरेको थियो । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीले पच्छ्याएको बताउँदै राज्यका लागि ८ वटा राष्ट्रिय स्तरका विकास बैंक खाँचो रहेको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकालले बताए । यदि राष्ट्र बैंकले वाणिज्य बैंकको इजाजतपत्र प्रदान गर्याे भने गरिमा बैंक बनाउन तयार रहेको उनको भनाइ छ । ‘गरिमा विकास बैंकको उद्देश्य भनेको वाणिज्य बैंक बन्ने हो, पूँजी लगायत सबै हिसावले ‘फिट एण्ड फाइन’ छ, राष्ट्र बैंकले लाइसेन्स वितरण गर्छ भने गरिमा बैंक बनाउन तयार छौं,’ उनले भने, ‘गरिमा विकास बैंकले अहिले मर्जरका लागि कुनै बैंकसँग पहल गरेको छैन, वाणिज्य बैंकको लाइसेन्स नदिँदासम्म विकास बैंक नै रहन्छ, वाणिज्य बैंकसँग मर्जर गर्ने चाहना पनि छैन, वाणिज्य बैंक बन्न जति पुर्वाधार चाहिन्छ त्यसको तयारी गर्दै गइरहेका छौं ।’ ५ वर्षे रणनीतिमा अब्बल बैंक  विकास बैंकहरुको बजार ठूलो छ, संख्या थोरै । ग्रामीण क्षेत्रदेखि सहरसम्म आफ्नो ब्यापार व्यवसाय गरिरहेका विकास बैंकहरुमा पनि प्रतिस्पर्धा ठूलो छ । बैंकिङ्ग क्षेत्रमा वाणिज्य बैंकपछि विकास बैंकमा पनि आफूलाई नम्बर वान कायम राख्न होडबाजी चलिरहेको हुन्छ । आफूलाई विकास बैंकमा एक नम्बरको बनाउन हाल कायम रहेका बैंकहरुबीच आ-आफ्नै प्रतिस्पर्धा छ । वाणिज्य बैंकको प्रतिस्पर्धा वाणिज्य बैंकहरुमा मात्रै सीमित छ । तर, विकास बैंकलाई विकास बैंक समूहमा नम्बर वान बनाई वाणिज्य बैंकसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । गरिमा विकास बैंक पनि आफूलाई विकास बैंकहरुमा अब्बल सावित गर्दै वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ । राष्ट्र बैंकले जारी गरेका केही निर्देशनलाई उल्लङ्घन गर्दै नम्बर वान बनाउन बैंकहरु खप्पिस छन् तर गरिमा विकास बैंकलाई सुशासन सहित नम्बर वान बनाउने लक्ष्य छ रहेको सीईओ ढकालले सुनाए । ‘नम्बर वानले कहिलेकाँही दुख पाइन्छ, नम्बर वान बन्न नीती नियमहरुलाई भ्वाइलेन्स गर्नुपर्छ, त्यो पक्षमा हामी छैनौं, हाम्रो उद्देश्य संस्थागत सुशासनसहित नम्बर वान गरिमा विकास बैंक बनाउने हो, अर्काले के गर्यो भन्दा पनि मैले के गरेँ भनेर अघि बढ्ने हो,’ उनले भने, ‘हामीले ५ वर्षे योजना पनि बनाएर अगाडि बढेका छौं, पाँच वर्षमा गरिमा विकास बैंक कहाँ, कति शाखा र संरचनागत अवस्था कस्तो हुने भनेर योजना बनाएका छौं, अहिले धेरै संरचनागत परिवर्तन भएको छ, अब यही हिसाबमा अगाडि बढ्ने हो ।’ बैंकका रणनीति  विभिन्न ३ वटा विकास बैंकलाई गाभेपछि बैंक झनै आक्रमक बन्दै सेयरधनी, सेवाग्राही, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धिमा जोड दिइरहेको छ । समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बनाउँदै अघि बढ्ने बैंकको योजना छ । गरिमा विकास बैंकले राष्ट्र बैंकका नीति निर्देशनहरु भित्र रहेर काम गरिरहेको सीईओ ढकालले बताए । बैंकले आफूलाई अब्बल सावित गर्न ५ वर्षे योजनालाई पुरा गर्न बैंकको सञ्चालक समितिदेखि कर्मचारी कटिबद्ध भएर काम गरिरहेको बताए । पछिल्लो २ वर्षमा डिजिटल बैंकिङ्गलाई विशेष जोड दिएको पनि उनले बताए । बैंकलाई डिजिटल्ली बनाउन प्रविधिमा बढी खर्च गरेको उनको भनाइ छ । गरिमा विकास बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सबै डिजिटलदेखि अन्य सुविधाहरु पनि प्रदान गरिरहेको उनको भनाइ छ । लाभांश वितरणमा पहिलो गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गर्नेमा गरिमा विकास बैंक पहिलो बनेको छ । गरिमा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ । पुस भित्र साधारण सभा गरेर पारित गर्ने तयारी छ । आगामी वर्षहरुमा बैंकलाई हाल वितरण गरिरहेको लाभांशलाई कायम राख्न चुनौति भएपनि सेयरधनीहलाई निराश नपार्ने सीईओ ढकालले बताए । ‘हाल वितरण गरिरहेको लाभांश दरलाई आगामी वर्षमा कायम गर्न बैंकहरुलाई गाह्रो छ, स्प्रेड दर घटाउने, रिकोभरिका समस्याले आगामी वर्षमा हालको लाभांशलाई कायम गर्नुपर्ने चुनौति छ तर हामी भने सेयरधनीहरुलाई निराश गर्दैनौं,’ उनले भने । बैंकले आफ्नो १५ वर्षको इतिहासमा सेयरधनीहरुलाई निरन्तर १२ वर्ष लाभांश वितरण गर्दै आएको छ । बैंकको लाभांश इतिहास हेर्दा हालसम्म दोहोरो अंकमा नै सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरुलाई १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६८/६९ मा १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत र आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरुलाई २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १५ प्रतिशत बोनस र २०७४/७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद गरी कूल १३.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद गरी कूल १४.२१ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १६ प्रतिशत, बैंकले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शाखा सञ्जाल विस्तार अत्याधुनिक प्रविधिको माध्यमबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने बैंकको पहिलो उद्देश्य रहेको छ । स्वस्थ र दीगो मूल्य निर्माणको साथ सबै सरोकारवालाहरूलाई सन्तुष्ट पार्ने बैंकको चाहना छ । व्यावसायिक निष्ठा, कर्पोरेट सुशासन र नियमन अनुपालन मार्फत् उद्देश्यलाई साकार बनाउन बैंकले आफ्नो यात्रा निरन्तर कायम राखेको छ । व्यापारिक, शैक्षिक, इन्जिनियरिङ, डाक्टर, बैंकिङ्ग लगायतका क्षेत्रमा आवद्ध रहेका व्यवसायी र उद्यमीहरूको समूहको लगानी रहेको बैंकमा व्यापार विशेषज्ञता र व्यक्तिगत अनुभवमा अब्बल रहेका कर्मचारीहरू कार्यरत छन् । गरिमा विकास बैंकले मेची महाकालीसम्म सबै प्रदेशमा १२१ वटा शाखा कार्यालय मार्फत् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकमा हाल ११ सय कर्मचारी कार्यरत छन् । वित्तीय अवस्था कस्तो छ ?  बैंकको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ रहेको छ भने १ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको जगेडा कोष रहेको छ । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले निक्षेप संकलन ६८ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी ५९ अर्ब ८६ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८७.४४ प्रतिशत छ । असोज मसान्तसम्ममा बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.६९ प्रतिशत र आधार दर १२.४८ प्रतिशत रहेको छ । लगानीकर्ताको नजरमा आकर्षक बैंक  गरिमा विकास बैंकले राष्ट्र बैंकले तोकेका सबै निर्देशनहरु पच्छ्याइरहेको छ । बैंकसँग डेढ दशक लामो इतिहास बोकेको अनुभव छ । बैंकले समय समयमा आउने विभिन्न परिस्थिती अनुकूल गरेर अघि बढिरहेको छ । परिवर्तनशील बजारमा नयाँ प्रविधिहरू अन्वेषण गर्न र नयाँ समुदायहरूलाई संलग्न गराउन बैंक सक्षम बनेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस बैंकलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द प्रसाद ढकाल र अध्यक्षका रुपमा श्याम प्रसाद बस्यालले काम गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको सोमबारको सेयर मूल्य अनुसार प्रतिकित्ता सेयर ३८९ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६२५ रुपैयाँ र न्यूनतम ३१८ रुपैयाँ रहेको छ । सोमबारको सेयर मूूूल्य अनुसार बिहीबारको सेयर मूल्य अनुसार बैंकको बजार पूँजीकरण १७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बैंकमा संस्थापक समूहको ५०.८८ प्रतिशत र सर्वसाधारण समूहको ४९.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा विशेष छुट दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेष्ट्रो’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हाे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रोे’ मा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंक एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

सुन तोलाको ९९ हजार नौ सय पुग्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुन चार सय रुपैयाँले बढेर ९९ हजार ९०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसयी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।  

झापाको दोमुखामा थपिँदै पूर्वाधार, पर्यटकको आकर्षण बढ्दो

झापा । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न थालेको छ । प्रदेश १ को प्रमुखमध्येको पर्यटकीय गन्तव्य रहेको यस स्थानमा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा परेको छ । दोमुखा पर्यटन विकास समितिका अनुसार हिउँदयाम सुरु भएसँगै यहाँ दर्जनौँ वनभोज टोली आउने गरेका छन् । समितिका उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार वनभोजको सिजनमा यहाँ दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट यहाँ विनियोजन गरेको छ । नगरप्रमुख रोशन थोप्राका अनुसार दोमुखालाई नै लक्षित गरी छ करोड रुपैयाँ विनियोजन गरिएको छ । सोमध्ये पाँच करोड रुपैयाँको लागतमा करिब तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ । पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलोमिटर नौ सय मिटर सडक कालोपत्रे हुँदैछ । यसका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती भारतका पर्यटकसमेत थप आउने अपेक्षा गरिएको छ । दोमुखा पर्यटकीय क्षेत्रमा वालउद्यान र सङ्ग्रहालयसमेत निर्माणाधीन छ । निर्माणाधीन वाल उद्योगनका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले ४५ लाख रुपैयाँ छुट्याएको छ । यसैगरी दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक सङ्ग्रहालयसमेत बनिरहेको छ । सोही सङ्ग्रहालयका लागि थप १० लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । कन्काई नदीबाट नहर सुरुआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन भएका छन् । यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन् । रासस

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।