नियमविपरीत असुलेको ३० करोड फिर्ता गर्न लघुवित्तलाई राष्ट बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरीत असुल गरेको रकम फिर्ता गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुले नियमविपरीत असुलेको करिब ३० करोड रुपैयाँ बराबर रकम फिर्ता गर्नुपर्ने भएको हो । लघुवित्त वित्तीय संस्थाहरु गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा अनुमतिका लागि राष्ट्र बैंक पुगेका छन् । तर, नियम विपरीत असुल गरेको रकम फिर्ता नगरेसम्म राष्ट्र बैंकले अनुमति दिएको छैन । सेवाग्राहीबाट नियमविपरीत असुलेको सेवा शुल्क फिर्ता गरेपछि मात्रै राष्ट्र बैंकले साधारण सभाको लागि अनुमति पाउने भएका हुन् । राष्ट्र बैंकले गत कात्तिकमा लघुवित्त संस्थाहरूलाई नियमविपरीत सेवाग्राहीबाट असुलेको सेवा शुल्कबापतको रकम फिर्ता गर्न निर्देशन दिएको थियो । नियम अनसार तोकिएको सेवा शुल्क भन्दा बढी लिएको भए विवरण पठाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंक स्रोतका अनुसार साधारणसभाको अनुमति माग्दै राष्ट्र बैंकमा पेश गरेका आवेदनहरूमा सबै लघुवित्तले नियमविपरीत शुल्क असुल गरेको भेटिएको छ । हालसम्म २ दर्जन लघुवित्त वित्तीय संस्थाहरुले साधारण सभाको लागि आवेदन दिएका छन् । आवेदन दिएका लघुवित्त संस्थाहरूले मात्र करिब २० करोड र बाँकी संस्थाहरुको जोड्दा ३० करोड रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने देखिएको स्रोतले बताएको छ । नियमविपरीत असुलेको सेवा शुल्क एक महिनाभित्र फिर्ता गर्ने शर्तसहित साधारण सभाकाका लागि अनुमति दिने राष्ट्र बैंक स्रोतले बताएको छ । लघुवित्त संस्थाहरुले राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी सेवा शुल्क लिन पाउँदैनन् । केही लघुवित्त संस्थाहरुले एक वर्षे कर्जामा पनि २÷३ पटकसम्म नवीकरण गर्न लगाएको, बढी ब्याजदर असुलेको पाइएपछि फिर्ता गर्न भनेको हो ।
दरबारमार्गको स्वरुप फेरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो। त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्वजनिक निर्माण विभाग निर्देशक रामबहादुर थापासहित वडा कार्यालयसहितको बैठक बसेको थियो। बैठकमा नामअनुसारको क्षेत्रको परिचान गर्न सौन्दर्यीकरण अपरिहार्य रहेकोले आवश्यकताको आधारमा बजेट व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरण गरिने सम्बन्धमा छलफल भएको थियो। सार्वजनिक निर्माण विभागका निर्देशक थापाका अनुसार दरबारमार्गमा प्रविधिमैत्री फुटपाथ निर्माण, ढल व्यवस्थापन, पार्किङ व्यवस्थापन डिस्प्ले बोर्ड राखने, वृक्षरोपण गर्नेलगायतका योजना बनेको छ। उनले भने, ‘रेलिङ निर्माण गर्नेछौं, सवारी साधनको व्यवस्थापन गर्न भूमिगत तलामा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागेका छौं।’ यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काण्ठमण्डपको आकृति सहितको रेलिङ राखेको थियो । दरबारमार्गमा नारायणहिटी दरबारको झल्को आउनेगरी रेलिङ राख्ने तयारी गरेको छ। राजधानीको सबैभन्दा व्यस्त बजारको रूपमा रहेको दरबारमार्गको विकास गर्न स्थानीय सुधार समिति, कामपा र वडा कार्यालयको सहभागिता रहनेछ । कामपाले हाल सो क्षेत्रको डिजाइन तयार गरिरहेको छ । थापाले सो क्षेत्रको नक्साङ्कन गर्ने र सुझाव लिने काम भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
मर्जर र लाभांश प्रस्ताव पारित गर्न प्रभु बैंकले डाक्यो साधारण सभा, सेञ्चुरीलाई १:१ अनुपातमा गाभ्ने
काठमाडौं । मर्जर तथा लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते २१ औंँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । सभाले बैंकको अधिकृत पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँबाट वृद्धि गरी २४ अर्ब रुपैयाँ पुर्याइने, बोनस सेयर वितरणकाश्चात् जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । यस्तै, सञ्चालकहरुको भत्ता तथा सुविधा वृद्धि गर्न नियमावलीमा संसोधन गर्ने, प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्नेछ । प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य, संस्थाहरुको व्यवसायिक अवसर तथा भविष्यको बजार विस्तारको सम्भावना समेतका विषयहरुको आधारमा सेञ्चुरी बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्नेगरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ । सेञ्चुरी बैंकलाई प्राप्तिपश्चात् बैंकको पूँजी संरचनामा परिवर्तन हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्रका विभिन्न दफामा आवश्यक संशोधन, हरेफेर गर्ने, प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै संशोधन एवं परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिटिजन लाइफको प्रधान कार्यालय टेकुबाट थापाथली स्थानान्तरण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ । कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित एलएस भवन, थापाथलीमा स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको यसअघि प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. १२, अम्बे कम्प्लेक्स, टेकु रहेको थियो ।
सेबोनले बैंकको मुद्दतीमा लगानी गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेर ब्याज आर्जन गर्ने भएको छ । सेबोनले शुक्रबार सूचना प्रकाशन गरी बोर्डमा रहेको लगानी योग्य रकमलाई वाणिज्य बैंकहरुको मुद्दती खातामा लगानी गरेर ब्याज आम्दानी गर्ने जनाएको हो । बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने सेबोनले जनाएको छ । आफूले दिन सक्ने एक वर्षे ब्याजदर सहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले अबको ५ दिन अर्थात् मंसिर २७ गतेभित्र आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्न सेबानले आग्रह गरेको छ । प्राप्त सिलबन्दी प्रस्तावहरु पेश गर्ने अन्तिम दिनको अपरान्ह ४ः१५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने जनाएको छ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने सेबोनले बताएको छ । वाणिज्य बैंकहरुले संस्थागत मुद्दती खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।
खानेपानी मन्त्री चौधरीले वितरण केन्द्रको साँचो खोलेर मेलम्चीको पानी छोड्ने
काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोडिनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उनले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए । यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुङबाट प्रतिसेकेन्ड करिब पाँच सय लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ । उपत्यकामा क्रमशः दैनिक १७ करोड लिटर पानी वितरण गरिनेछ । काठमाडौँ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित १० करोड लिटर पानी पनि वितरण गरिनेछ । उहाँका अनुसार उपत्यकामा १० वटा ट्याङ्की निर्माण गर्नुपर्नेमा नौवटाको निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा पानी ट्याङ्की निर्माणाधीन अवस्थामा छ । आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण गरिसकिएको छ । ती ट्याङ्कीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।
माया खोला हाइड्रोको आईपीओ आजदेखि खरिद गर्न सकिने
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज (मंसिर २३ गते, शक्रबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाका ३, ४ र ५, मादी नगरपालिका ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयभित्र पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
एकैदिन उपत्यकाका ५४२ सवारी चालकलाई ट्राफिक प्रहरीले गर्यो कारवाही
काठमाडाैं । काठमाडौं उपत्यकामा बिहीबार गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन् । यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारवाही गरिएको छ । चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्युनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताएका छन् ।