भैरहवामा भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो
भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शंका आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘युपी ५६ टि २७८५’लाई रोकेको थियो । ट्रकमा कुनै पनि प्रकारको लेवल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको वस्तु (डिएपी मल जस्तै देखिने) वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिए । ट्रकमा‘भूमि शक्ति’ लेखेको चार सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको उनको भनाइ छ । मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्रीवितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो । कमसल खालको मल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो । पौडेलले भने, ‘बरामद भएको समान शंकास्पद मल जस्तै देखिएको छ ।’ उनले बरामद भएको वस्तुको नमूना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिए । ‘हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ’, उनले भने, ‘प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ ।’ केही नलेखिएका सेतो रङ्गका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन’, उनले भने, ‘आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो ।’ प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो । नेपालमा ओम गङ्गा ट्रेडर्स एण्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ । प्रतिबोरा रु एक सय ५० मूल्यांकन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित २५ हजार पाँच सय ३८ राजस्व असुल गरेको छ । भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रीन च्यानलबाट जाँचपास गरेको छ । भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ । ग्रीन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताए । ‘ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ’, ढुङ्गानाले भने, ‘यस्तो अवस्थामा ट्रकमा के सामग्री छ ? र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नुपर्दैन ।’ भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी छ । उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जिकिर गरे । रासस
प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक
काठमाडौं । नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध वित्तीय उपकरणको उपयोग बढाउनु आवश्यक रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको समग्र आर्थिक अवस्था समेटिएको प्रतिवेदनमा प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा मात्रै पर्याप्त भौतिक पूर्वाधार, सडक यातायातको सहज पहुँच र अन्य सुविधाको उपलब्ध भए पनि अन्य जिल्लामा सहज अवस्था नभएको उल्लेख छ । तीन जिल्लामा मात्रै केन्द्रित सुविधालाई थप विस्तार गर्दै बैंकिङ तथा वित्तीय क्षेत्रलाई विकेन्द्रिकृत गरी वित्तीय पहुँचलाई विस्तार गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । हिमाल, पहाड र तराईसहितको प्रदेश भएकाले जटिल भौगलिक बनोटको अवस्थितिका कारण पर्याप्त लगानी भित्र्याई यस क्षेत्रमा रहेका आर्थिक सम्भावनाबाट लाभ हासिल गर्दै प्रदेशको सन्तुलित रूपमा विकास गर्नु प्रदेशको चुनौतीको रूपमा रहेको उल्लेख छ । कृषि, उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित तथ्याङ्क प्रदायक निकाय, प्रतिष्ठान तथा सङ्घ–संस्थाहरूमा सम्बन्धित सूचना तथा तथ्याङ्कको व्यवस्थित अभिलेख नहुँदा तथ्याङ्क, प्राप्तिमा कठिनाइ भएको छ । प्राप्त तथ्याङ्क, सूचना तथा विवरण पूर्णरूपमा विश्वसनीय बनाई तथ्यमा आधारित यथार्थपरक, व्यावहारिक र कार्यान्वयन योग्य नीति निर्माण गर्नु अर्को चुनौती रहेको उल्लेख छ । आन्तरिक लगानीका स्रोत तथा क्षमता सीमित रहेको सन्दर्भमा प्रदेशको समृद्धि र विकासका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु तथा सङ्घ, प्रदेश र स्थानीय सरकारका लक्ष्य र प्राथमिकताका बीचमा तादात्म्यता मिलाइ स्रोत र साधनको प्रभावकारी वितरण तथा परिचालन गर्नुपर्नेछ । आवधिक योजनाले निर्दिष्ट गरेका आर्थिक विकासको रणनीतिक लक्ष्य अनुरूप हुने गरी वार्षिक बजेटमा पर्याप्त रकम विनियोजन गर्दै क्षेत्रगत प्राथमिकतालाई निरन्तरता दिई आवधिक योजनाको लक्ष्य हासिल गर्नुलाई पनि केन्द्रीय बैंकले चुनौतीको रूपमा लिएको छ । तुलनात्मक लाभ हुन सक्ने कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको पहिचान, विकास तथा प्रवर्द्धन गरी दुई ठूला छिमेकी देशको बजारबाट लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ । आव २०७७/७८ को आधारमा आव २०७८/ ७९ मा खाद्य तथा अन्य बालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन दशमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त बालीहरूको उत्पादन शून्य दशमलव एक प्रतिशतले बढेको थियो । धान उत्पादन तीन दशमलव तीन प्रतिशत, गहुँ उत्पादन नौ दशमलव छ प्रतिशत, र कोदोको उत्पादन चार दशमलव नौ प्रतिशतले घटेको छ । प्रदेशमा मकै उत्पादन एक दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा धान उत्पादन एक दशमलव सात प्रतिशत, मकै उत्पादन तीन दशमलव पाँच प्रतिशत र कोदो उत्पादन एक दशमलव आठ प्रतिशतले बढेको थियो भने गहुँ उत्पादन यथावत् थियो । समीक्षा अवधिमा प्रदेशमा प्रमुख खाद्य तथा अन्य बालीको उत्पादनमध्ये धान उत्पादनको अंश सबैभन्दा बढी ३३ दशमलव नौ प्रतिशत, मकै उत्पादनको अंश २४ दशमलव सात प्रतिशत, गहुँ उत्पादनको अंश चार प्रतिशत, कोदो उत्पादनको अंश दुई दशमलव पाँच प्रतिशत र आलु उत्पादनको अंश २३ दशमलव दुई प्रतिशत छ । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा जिल्लागत योगदानको आधारमा सबैभन्दा बढी झापा जिल्लाको २३ दशमलव तीन प्रतिशत र सबैभन्दा कम सोलुखुम्बुको एक दशमलव आठ प्रतिशत योगदान छ । प्रतिवेदन अनुसार कूल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार छ सय ४७ हेक्टर रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा सात लाख १४ हजार तीन सय ८४ हेक्टरमा क्षेत्रफलमा खेती गरिएको छ । समीक्षा अवधिमा प्रदेश नं. १ मा रहेको कूल खेतीयोग्य क्षेत्रफलमा मोरङ जिल्लाको अंश सबैभन्दा बढी १४ एक प्रतिशत र ताप्लेजुङ जिल्लामा सबैभन्दा कम तीन दशमलब तीन प्रतिशत रहेको छ । विसं २०७९ असार मसान्तसम्म प्रदेश नं. १ को कूल तीन लाख दुई हजार आठ सय २२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ जुन कूल खेतीयोग्य क्षेत्रफलको तुलनामा ३६ दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कूल खेतीयोग्य क्षेत्रफलको ३५ दशमलव नौ प्रतिशत भागमा यस्तो सुविधा पुगेको थियो । कूल खेतीयोग्य क्षेत्रफलको तुलनामा सुनसरी जिल्लामा सबैभन्दा बढी ८५ दशमलव प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम शून्य दशमलव सात प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा प्रदेश नं. १ मा कूल सिञ्चित क्षेत्रफल दुई प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल दुई प्रतिशतले नै बढेको थियो । क्षेत्रगत कृषि कर्जा २०७९ असार मसान्तसम्ममा प्रदेश नं. १ मा प्रवाहित कूल कर्जा प्रवाह मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १० प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जाको अंश नौ दशमलव छ प्रतिशत थियो । विसं २०७८ असार मसान्तको तुलनामा गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ५४ अर्ब ५२ करोड पुगेको छ भने २०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कूल कर्जा रु ४६ अर्ब २९ करोड रहेको थियो । गत असार मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकमध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा २५ दशमलव एक प्रतिशत, पशुपालनमा २४ दशमलव पाँच प्रतिशत, अन्नबालीमा १८ दशमलव तीन प्रतिशत पन्छी पालनमा सात दशमलव सात प्रतिशत र तरकारी बाली उत्पादनमा पाँच दशमलव छ प्रतिशत कर्जा प्रवाह भएको छ । रासस
पार्टीभित्रको खबरदारी स्वभाविक : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रर्दशन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे । ‘हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो’, उनले भने, ‘ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।’ प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उनले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताए । पार्टीभित्र कोही पनि तलमाथि नभएको उल्लेख गर्दै उनले भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’ सरकारबारे नसोचेको भन्दै उनले एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको धारणा राखे।
प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध विषयक राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको सो अवसरमा जानकारी गराइयो । क्लिनिकबाट प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थालिएको छ । मञ्च र आइपास नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले प्रजनन् स्वास्थ्य अधिकारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति प्रतीक्षा नेपालले हिंसाबाट पीडित भएकाका लागि उपचार गर्न केन्द्रको सुरुआत गरिएको उनको भनाइ छ । हाल ७७ जिल्लाका ९४ स्थानका सरकारी अस्पतालबाट यो सेवा दिइएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिपा लामाले प्रजनन् स्वास्थ्यसम्बन्धी हिंसालाई पनि लैङ्गिक हिंसामा राखिनुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रममा मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठ, आइपासका माधवी बज्राचार्यलगायतले संविधानमा उल्लेख गरिएको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक काम गरिनुपर्नेमा जोड दिएका थिए । रासस
एनआईसी एशिया बैंकले ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै
काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो । बैंकले कर्जामा राखिएको धितो (सवारी) बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको हो । उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । लिलाम प्रक्रियाबाट धितोमा रहेको सवारी साधन बिक्री नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सो को नियमावली, २०५९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने बैंकले जनाएको छ । साथै ऋणी र जमानकर्ता सबैलाई कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गरिने बताएको छ । साथै उक्त सवारी साधन बैंकको नाममा दर्ता रहेको र सो सवारी साधनको स्वामित्व बैंकमा रहेकोले कसैले अनधिकृत रुपमा प्रयोग गरेका छन् भने यथासिघ्र बैंकमा बुझाउन बैंकले आग्रह गरेको छ । अन्यथा अनधिकृत रुपमा बैंकको सवारी साधन प्रयोग गरेको भेटिएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने बैंकले चेतावनी दिएको छ । बैंकले काठमाडौं महानगरपालिका १४ स्थित रहेको अर्याल फेन्सी स्टोरका सञ्चालक ऋषि प्रसाद अर्यालले धितोमा राखेको डट्सुन रेडी गो मोडलको बा २० च ७५८ नम्बरको सवारी र अर्याल फेन्सी स्टोरको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती उपर हाइपोथिकेशन बिक्री गर्नेछ । यस्तै, ऋणी मुगुमान तामाङले लिएको कर्जाको धितो हुण्डाई इओएन डीलाइटको बा २ ज ३१६५ नम्बरको सवारी सधान र वेलफेयर फर्माका प्रोप्राईटर तथा जमानीकर्ता टिकेन्द्र ओझाको हुण्डाइ क्रेटा १.६ मोडलको बा १४ च ७३७६ नम्बरको सवारी र वेलफेयर फर्माको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती हाइपोथिकेशन बिक्रीमा राखेको हो ।
बागलुङमा २३ वर्षपछि संस्कृत गुरुकुल पाठशाला ब्युँताइँदै
बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव- २०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका- ५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो। गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो। पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए। यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ। झाँकी प्रर्दशनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने महोत्सवका संयोजक सुवेदीले बताए। महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ। ‘महोत्सव सुरु हुनुभन्दा अगावै करिब रु ६५ लाख जुटिसकेको छ भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ’, उनले भने। महोत्सवबाट तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ। गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ। बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ। संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ। परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गरे। ‘अब फेरि रामकोटधाममा गुरुकुल पुनःप्रतिस्थापन गर्न सकिन्छ की भनेर यो शुभसङ्कल्प लिएका छौँ’, उनले भने,’सबैको साथ सहयोगको खाँचो छ ।’ आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उनको भनाइ छ । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताए। ‘संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ’, उनले भने,’धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवद्र्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्याउँछ।’ रासस
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड अनुदान रकम उपलबध गराइएको अस्पतालका मेसु डा सापकोटाले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने डा सापकोटाले बताउनुभयो । प्रत्यारोपण कार्य सुरु भए सातै प्रदेशका मिर्गौलाका रोगीलाई सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले बताए । यहाँ प्रत्यारोपण सेवा नहुँदा जिल्लाका मिर्गौला रोगी काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन लगायतका अस्पताल जाने गरेका छन् । रासस
आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ। गोकर्णेश्वर नगरपालिका- १ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले राससलाई जानकारी दिए। यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो। केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो। असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो। आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो। पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ। यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्। वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो। विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो। मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ। अर्बौँ रकम खर्च गरेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा मात्र पानी आउन थालेपछि राजधानीवासी काकाकुल हुनुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए। आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्याङ्कीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए। राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं. १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो। नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायीरुपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो। रासस