घट्दै अलैँचीको मूल्य
ताप्लेजुङ । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजारका दरले अलैँचीको कारोबार भएकोमा अहिले २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन् । यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए। पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ । उनले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गरेका छन् । जसमध्ये आधा जसो २९ हजारका दरले किसानबाट लिइसकेका छन् । बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए। यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा–७ खेवाङका किसान राजकुमार भट्टराईले बताए। अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् । गत वर्ष प्रतिमन रु ४८ हजारका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।
बिजनेस आइडिया : चिसो मौसममा फाइदा हुने व्यवसाय, छोटो समयमा नै लाखौं कमाउन सकिने
एजेन्सी । यदि तपाईं जाडो मौसममा नयाँ व्यवसाय सुरु गर्ने योजनामा हुनुहुन्छ भने तपाईंले राम्रो फाइदा हुने व्यवसाय छनोट गर्न सक्नुहुनेछ । जुन व्यवसायमार्फत तपाईं हरेक महिना राम्रो कमाउन सक्नुहुन्छ। पृथ्वीको उत्तरी ध्रुवमा यतिबेला जाडो मौसम चलिरहेको छ । यस्तो अवस्थामा चिसो बढेसँगै बजारमा मसलाको माग पनि ह्वात्तै बढेको छ । यस्तो अवस्थामा यदि तपाईं यो सिजन राम्रो व्यापार विचार खोज्दै हुनुहुन्छ भने, हामी तपाईंको लागि एक उत्कृष्ट विकल्प लिएर आएका छौं। अहिले बजारमा तातो मसलाको माग निकै बढेको छ । यस्तो अवस्थामा कम लागतमा यो व्यवसाय सुरु गरेर लाखौं कमाउन सकिन्छ । तपाईंले पक्कै पनि हरेक घरको भान्छामा मसला पाउनुहुनेछ। मसला बिना खानाको स्वाद नरम हुन्छ। यस्तो अवस्थामा, तपाईं यसको व्यापार मार्फत राम्रो कमाउन सक्नुहुन्छ। मसलाको व्यवसाय सुरु गर्न तपाईंलाई कुनै पनि प्रकारको तालिम वा सीपको आवश्यकता पर्दैन। त्यस क्षेत्रको आवश्यकता अनुसार तयार गर्न सक्नुहुन्छ। यदि तपाईं पनि आफ्नो कामबाट सन्तुस्ट बनिरहनुभएको छैन भने र केहि नयाँ काम सुरु गर्ने सोंच्दै हुनुहुन्छ भने, यो व्यवसाय तपाइँको लागि धेरै लाभदायक हुन सक्छ। मसलाको व्यवसाय कसरी सुरु गर्ने ? मसलाको नयाँ व्यवसाय सुरु गर्न तपाईले यसको इकाई स्थापना गर्नुपर्नेछ। यसका लागि केही अनुसन्धान गर्नुपर्छ । तपाईं बस्नुभएको क्षेत्रमा कुन मामिलामा सबैभन्दा बढी माग रहेको छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। यसपछि मात्र तपाईंले कुन मसलाको व्यवसाय गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्न सक्नुहुन्छ। यसमा बेसार, खुर्सानी, धनिया, गरम मसला, आदि जस्ता मसलाजन्य सामग्री सबैको भान्सामा प्रयोग हुन्छ । कति लगानीमा मसलाको व्यवसाय सुरु गर्न सकिन्छ ? यदि तपाईं मसलाको व्यवसाय शुरु गर्न चाहनुहुन्छ भने त्यसको लागि कानूनअनूसार सानो उद्योग दर्ता गर्न सक्नुहुन्छ । सानो उद्योग दर्ताको सम्पूर्ण प्रकृया स्थानीय तहले नै अगाडि बढाउने गर्दछन् । उद्योग दर्ताको लागि यातायात, सिफारिस खर्च बाहेक धेरै खर्च लाग्दैन । त्यसबाहेक उद्योग स्थापनाका लागि तपाईंलाई भौतिक पूर्वाधार र यातायातको साधनको आवश्यकता पर्छ । साथै उद्योगको शुरुवातको लागि कच्चा मसलाजन्य सामग्री, प्याकेजिङ मेसिन र लेवलिङको लागि आवश्यक कामहरु अगाडि बढाउनुपर्दछ । त्यसको लागि आफ्नै भवन र सवारी साधन भएमा त्यसलाई प्रयोग गर्न सकिन्छ भने नभएमा भाडामा वा खरिद गर्न सकिन्छ । बढी पुँजी आवश्यकता परेको सन्दर्भमा व्ययवसायिक योजना र धितोसहित बैंकहरुमार्फत ऋण पनि लिन सकिन्छ ।
समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु
काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको शनिबार अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरुले प्राप्त गरेको समानुपातिक सिट सङ्ख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो । केही साना दलले समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् भने ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्ग्याएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदको सूची तयार गरेर निर्वाचन आयोगलाई बुझाइसकेको छ । लोसपाको केन्द्रीय समितिको बैठकबाट निर्णय भई शुक्रबार आयोगलाई समानुपातिक सांसदको सूची बुझाइसकेको पार्टीको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए। उनका अनुसार लोसपाका तर्फबाट मधेस प्रदेशमा रुपाकुमारी यादव (मधेसी महिला) र रमिता प्रधान (मधेसी अल्पसङ्ख्यक महिला) तथा लुम्बिनी प्रदेशमा मेमा वेल्वासे केसी (खस आर्य महिला) को नाम समानुपातिकका लागि आयोगमा पठाइएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपाले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । लोसपाले मधेस प्रदेशमा सात र समानुपातिकतर्फ दुई सिट जितेको छ भने लुम्बिनीमा एक सिट गरी प्रदेशमा कूल १० सिट पाएको छ । यस्तै जनमत र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट जितेको छ । पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको सूची आयोगलाई बुझाइएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा आठ सिट जितेको छ । यता समानुपातिक सांसदको टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार चयनका लागि बैठकमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । जसपाले प्रतिनिधिसभामा सात र समानुपातिकतर्फ पाँच गरी १२ सिट जितेको छ । त्यसैगरी प्रदेशमा सबैगरी २० सिट जितेको छ ।
म पनि युवाकालको खेलाडी हुँ, खेलप्रति रुची धेरै छ – अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेल्ने बताए । उनले आफूपनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको बताए । उनले भने, ‘मैले आफ्नो जीवनमा पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दैछु । म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुची रहेको छ । भर्खरै नेपालम नवौं राष्ट्रिय खेलको आयोजना पनि भयो । त्यसमा पनि रग्बीलाई एउटा खेलको रुपमा प्रतियोगितामा सामेल गरिएको थियो । खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ । यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेलेको हुन्छ ।’ अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने बताए । नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो । हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ । नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो । भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ ।
देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ – अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताए । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उहाँले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने आँैल्याउँदै उनले भने, ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’ चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए । उनले भने, ‘आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र सङ्कटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए । भक्तपुर क्षेत्र नं २ ९१० बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्यनगर टोल विकास समाजका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव गोविन्द चौलागाइँ, समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति बालकृष्ण न्यौपानेलगायतले यहाँका खानेपानी, सडकलगायत समस्याबारे चर्चा गरेका थिए । गायक नवीन कार्कीले कार्यक्रममा विभिन्न गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति रहेको थियो ।
इस्लिङ्टन थाइल्यान्ड र म्यानमारमा बिए कोर्ष म्यानेजमेन्ट गरी डलर आम्दानी गर्ने कलेज बन्दै
काठमाडौं । इस्लिङ्टन कलेजले थाइल्यान्ड र म्यानमारमा बिए (अनर्स) कोर्ष सञ्चालनको लागि व्यवस्थापन गर्ने भएको छ । लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) कोर्ष थाइल्यान्ड र म्यानमारमा सञ्चालन गर्नको लागि कलेजले व्यवस्थापन गर्ने भएको हो । शनिबार काठमाडौंमा भएको एक समारोहकाबीच म्यानमार र थाइल्यान्डमा इस्लिङ्टन कलेजको म्यानेजमेन्टमा बिए (अनर्स) कार्यक्रम सञ्चालन गर्ने विषयमा चारपक्षीय (लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, इस्लिङ्टन कलेज, माई सेकेन्ड टिचर र आरभिआई ग्रुप)बीच समझदारी भएको छ । नेपाली कलेजहरुको तर्फबाट विदेशी शैक्षिक कार्यक्रमलाई अन्य मुलुकमा व्यवस्थापन गर्ने व्यवसायिक जिम्मेवारी पाएको यो पहिलोपटक हो । सो समझदारीअनुसार विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले लन्डन विश्वविद्यालयको बिए कोर्ष थाइल्यान्ड र म्यानमारमा सञ्चालनको लागि भूमिका खेल्नेछ भने इस्लिङ्टन कलेजले ती कलेजमा विद्यार्थीलाई परामर्श, भर्ना, क्षमता अभिवृद्धि र परीक्षामा मूल्यांकनको भूमिका निर्वाह गर्नेछ । आइएनजी ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यो समझदारी नेपालको शैक्षिक इतिहासमा महत्वपूर्ण कार्य भएको बताएका छन् । ‘हामीले नेपालमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नको लागि पहिलोपटक विदेशी शैक्षिक कार्यक्रम भित्र्याएका थियौं भने पहिलोपटक विदेशी मुलुकमा शैक्षिक व्यवस्थापन गरेर मुलुकका लागि डलर भित्र्याउने भएका छौं’, बुढाथोकीले भने । थाइल्यान्ड र म्यानमारका कलेजमा व्यवस्थापन गरेवापत निश्चित रकम आफ्नो कलेजले प्राप्त गर्ने बताउँदै उनले कलेजहरुको सञ्चालनको जिम्मेवारी आरभिआई ग्रुपले गर्ने हुँदा कलेजले लगानी गर्नुनपर्ने बताए । बुढाथोकीका अनुसार सो समझादारी सँगै नेपालका विद्यार्थीहरुले आगामी ग्रयाजुएसन समारोहमा एकअर्का देशबीचमा गएर गर्नसक्नेछन् । समझदारीअनुसार माई सेकेन्ड टिचरले अनलाइन प्लेटफर्मको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । कलेजहरुमा माई सेकेन्ड टिचरको सहयोगमा विद्यार्थीहरुलाई पाठ्यक्रम सामग्री उपलब्ध गराइनेछ । साथै अनलाइन कक्षा सञ्चालनको लागि शिक्षकहरुको व्यवस्था पनि माई सेकेन्ड टिचरले गर्नेछ । सम्झौतापत्रमा आरभिआई ग्रुपका आर्गस एङ्ग, माई सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङ्टन कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए । विगत १२ वर्षदेखि लन्डन मेट्रोपोलिटन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको इस्लिङटन कलेजले निरन्तर रुपमा गरेको विकासलाई आधार बनाएर विश्वविद्यालयले सो जिम्मेवारीमा साझेदारी गरेको आइएनजी ग्रुपका अध्यक्ष शुलभ अग्रवालले बताएका थिए । समझदारीले दक्षिण एशियाका मुलुकहरुका विद्यार्थीलाई लन्डन मेट्रोपोलिटन विश्विद्यालयको बिजनेस पाठ्यक्रममा थप पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई
नेपालगञ्ज । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए । उपाधि विजेता खड्काले एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार पुरस्कार प्राप्त गरे । यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गरिन् । यस्तै सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । दुवैजनाले क्रमशः ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए । हरेक वर्ष मङ्सिर पाँच गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।
स्थानीय उत्पादनले बजार नपाउँदा व्यवसायीलाई समस्या
फाइल फाेटाे । रामपुर । गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ । ग्रामीण भेगमा पुरानो परम्परागत रुपमा उत्पादन हुने सामग्री सहर बजारमा झट्ट बिक्दैनन् । परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ दारेचोकका ४६ वर्षीय जितु दर्लामीले उत्पादन गरेका परम्परागत काठजन्य सामग्रीले बजार नपाउँदा अन्यत्र जिल्लामा धाउनुपरेको छ । उनले ठेकाठेकी, मानाजस्ता परम्परागत सामग्री तयार पार्छन् तर आफूले उत्पादन गरेको सामग्री बिक्री नभएपछि उहाँ बोकेर विभिन्न जिल्लामा पुग्छन् । पाल्पाको रामपुरमा ठेकाठेकी, मानालगायतका काठजन्य सामग्रीको व्यापार गर्न आएका दर्लामीले बजारमा परम्परागत सामग्रीको महत्व नहुनु र उपभोक्ताले चलनचल्तीमा नल्याउँदा बिक्रीमा समस्या परेको गुनासो सुनाए । ‘ठेकाठेकी, मानाको ठाउँमा अहिले बजारमा आधुनिक प्रविधिका सामान आउन थाल्यो, पुराना चलनचल्तीमा आएका सामग्री हराउँदै जानु, बजारमा यसको महत्व र प्रयोगबारे अहिलेका पुस्तालाई जानकारी नहुँदा हामीलाई व्यापार गर्न गाउँमै पुग्नुपरेको छ’, उनको भनाइ छ । उनले लामो समयसम्म टिकाउ हुने साजन, दारको काठबाट सामग्री तयार पार्छन् । गाउँमा पुगेर सामान बिक्री नगरेसम्म बिहान साँझको हातमुख जोर्ने उहाँको परिवारमा अर्को उपाय छैन । अन्यत्र जिल्लामा आफ्नो र छिमेकीले उत्पादन गरेका सामानको उनले व्यापार गर्दै आएका छन् । ठेकाठेकीको मूल्य न्यूनतम मूल्य रु एक हजारदेखि बढीमा रु दश हजारसम्म पर्छ । ‘काठका सामान आकार हेरेर मूल्य कायम गरिएको छ, एकै ठाउँमा बिक्दैन, विभिन्न जिल्लाका गाउँ बस्तीमा सामान बोकेर बेच्ने गरिरहेको छु, बजारीकरणका लागि अन्यत्र जिल्लामा जानुपर्दा निकै सास्ती परेको छ’, उनले भने । दर्लामीले अहिले साहाराका लागि श्रीमती गोरीमायालाई पनि साथमै लिएर व्यापारमा ठाउँ ठाउँमा पुग्ने गर्छन् । घरमा साना साना बालबच्चा छाडेर अर्काको ठाउँमा व्यापारमा निस्कदा धेरै चुनौतीको सामना गरिरहनुपरेको छ । अहिलेसम्म चितवनका अलवा बाग्लुङ, पर्वत, पाल्पा, म्याग्दी, तनहुँ, स्याङ्जा, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा पुगेर दर्लामीले व्यापार गर्दै आएका छन् । गाउँघरमा दुग्धजन्य पदार्थ दूध, दही, घ्यू राख्न साजन, दारका काठबाट उत्पादन गरिएको ठेकाठेकी, माना गाउँमा धेरैको रोजाइमा पर्छ । हरेक वर्ष साउनदेखि पुस महिनासम्म सामान बोकेर घरघरमा पुगेर व्यापार गर्ने गरेको उनले बताए । यसैबाट पाँच जना छोराछोरीको लानपालन, पठननपाठनमा सहज होस् भन्ने उनको उद्देश्य छ । स्थानीय उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाइदिन उनको अनुरोध छ । रासस