नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम (नामसहित)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । जसअनुसार प्रदेश नं १ बाट विद्या चाम्लिङ राई सिफारिस भएकी छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएका छन् । साथै बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम सिफारिस भएको छ भने लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको छ । पार्टीले कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम सिफारिस गरेको छ । सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशनसमेत गरेको छ ।
माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद (सूचीसहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेका छन् । माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो । यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो । पदाधिकारीको बैठकले टुङ्गो लगाएका नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
एमालेले छान्यो ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद (सूचीसहित)
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उनका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन्। खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहेका छन् । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी रहेका छन् । दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा रहेका छन् । मधेसी पुरुषतर्फ गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारकी रहेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सचिवालय बैठक बसेको थियो ।
घनश्याम भुसाल एमालेको साधारण सदस्य समेत नरहने गरी निस्काशित
काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार बसेकोसचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रिय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रिय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रिय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए । उनले भने ‘गएको चुनावमा पार्टीको विरुद्धमा लागेका, पार्टी परित्याग गरेका व्यक्तिहरुलाई पनि पार्टीबाट हटाउने निर्णय गरेका छौं । पार्टी स्थायी कमिटीका दुई जना सदस्यहरु घनश्याम भुसाल र प्रभु साहलाई हामीले पार्टीबाट हटाएका छौं । त्यस्तै केन्द्रिय कमिटीका सदस्यहरु उपेन्द्र साह, रौतहट, कुन्दन कुशवाह, रौतहट, रामप्रित राम सिरहा, बद्री न्यौपाने, सर्लाही, रिता साह सर्लाही, गंगा चौंधरी दाङ, टेकबहादुर बलम्पाटी महोत्तरी उहाँहरुलाई हामीले पार्टीको केन्द्रिय कमिटीबाट हटाएका छौं । वाङदे शेर्पा ताप्लेजुङ, सल्लाहकार परिषद सदस्य, खेम सुवेदी कन्चनपुर, भक्तबहादुर अधिकारी कन्चनपुर, लक्ष्मी साह कैलाली उहाँहरुलाई पनि पार्टीबाट कार्वाही गरेका छौं । र, समानुपातिक सूचिमा रहेका तर पार्टी गतिविधिमा लागेका जैतुन खातुनलाई पनि कारबाही गरिएको छ ।’ एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ ।
कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
कालीकोट । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए। ‘डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्’, उनले भने, ‘दुर्घटनामा तीन जना घाइते भएका छन् ।’ डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ । मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बुढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डिएसपी रिमालले जानकारी दिए । त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारती रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
‘आर्थिक– सामाजिक विकासका निम्ति बेल्ट एन्ड रोड इनिसिएटिभ उपयोगी’
काठमाडौं । चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई अघि बढाउन तथा उन्नत विज्ञान र प्रविधिबीच तालमेल मिलाउन चिनियाँ परियोजना फलदायी हुने विश्वास व्यक्त गरेको छ । साउदीका उद्योग तथा खनिज सम्पदामन्त्री बन्दर अल्खोरायफले सिन्ह्वासँगको अन्तर्वार्तामा अर्थतन्त्र र व्यापारका क्षेत्रमा दुई देशबीचको सहकार्य एवम् साझेदारीको महत्वमा जोड दिँदै प्रचुर मात्रामा खनिज सम्पदा भएको आफ्नो देश र नवप्रवर्तन तथा उच्च प्रविधिको विकासमा अग्रपङ्क्तिमा रहेको चीनसँगको सहकार्यबाट खनिज स्रोतको विकासमा सघाउ पुग्ने बताए । दुवै मुलुकको साझेदारीबाट खनिजको अधिकतम दोहनका साथै अर्थव्यवस्थामा विविधीकरण, अर्धतयार वस्तुको उत्पादन, प्रशोधन एवम् निर्यात बढाउन सहज हुनेमा उनले जोड दिए । चिनियाँ कम्पनीहरूको प्रभावशाली प्रदर्शन र अनुभवलाई आफ्नो देशका युवा तथा महिलामा हस्तान्तरण गर्नसके पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य बढ्नसक्ने बताए । साथै उनले द्विपक्षीय सहयोग प्रवद्र्धन अथाह सम्भावना रहेका बताए । ऊर्जा र खानी उद्योग बाहेक अनुपम भौगोलिक अवस्थिति एवम् पूर्ण पूर्वाधार भएको साउदी अरबमा फस्टाउँदै गरेको ‘स्टार्टअप’मा लगानी गरेर मध्यपूर्व र उत्तर अफ्रिकामा व्यापार विस्तार गर्ने महत्वपूर्ण केन्द्र बनाउन सकिने भन्दै उनले आफ्नो देशको रेलमार्ग, बन्दरगाह र एक्सप्रेसवे निर्माणमा सहभागी हुन आह्वान गरे । मन्त्री अल्खोरायफले भाषा शिक्षा र व्यावसायिक तालिमजस्ता जनता–जनताबीचको आदानप्रदानमा साझेदारी विस्तार गर्न दुवै पक्षलाई आग्रह गरे । चीन आर्थिक क्षेत्रमा मात्रै नभएर अन्य धेरै क्षेत्रमा पनि साउदीको महत्वपूर्ण साझेदार भएको उनले बताए । चीनले अघि सारेको विश्वको विकास प्रयासको प्रशंसा गर्दै साउदी मन्त्रीले हाल विश्वले सामना गरिरहेका धेरै चुनौतीको सामना कुनै पनि देश एक्लैले गर्न नसक्ने त्यसनिम्ति सहयोग आवश्यक पर्ने यथार्थ सुनाए । उनले एकापसका सहयोगबाटै विकासका लक्ष्य हासिल गर्न सहज हुने बताए ।
विश्वकप फुटबल : रङ्गशालाको प्यारापिटमा पत्रकारको मृत्यु
एजेन्सी । प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको त्यहाँस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको हो । अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको रोमञ्चक खेलको अतिरिक्त समयमा पत्रकार दिर्घामा ढलेका ग्रान्टलाई उनीसँगै बसेका पत्रकारहरूले सहयोगका लागि आह्वान गरेका थिए । आपतकालीन सेवाका कर्मचारीले तत्काल उनलाई अस्पताल पुर्याए पनि त्यसअघि नै उनको मृत्यु भएको सञ्चारर्मीलाई बताइएको थियो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिता आयोजक समितिले पत्रकार ग्रान्टलाई तत्काल एम्बुलेन्समा हालेर हमाद जनरल अस्पताल लगिएको तथा त्यहाँ उनको आपत्कालीन उपचार गरिएको जनाउँदै उनको परिवारको इच्छाअनुसार शव फिर्ता गर्ने प्रक्रिया सुनिश्चित गर्न अमेरिकी दूतावास र सम्बन्धित स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ । यद्यपि फिफाले उनको मृत्युको कारण सार्वजनिक गरेको छैन । गत बुधबार उनले ट्वीट गर्दै त्यो दिन आफ्नो ४८ औँ जन्मदिन मनाएको बताएका थिए । अमेरिकी फुटबल महासङ्घले एक विज्ञप्तिमा निकालेर मानव अधिकार प्रवद्र्धनलाई अगाडि बढाउन खेलकुद क्षेत्र शक्तिशाली हुनेमा उनी विश्वस्त रहेको बताउँदै फुटबल खेलाडी र प्रेमीका निम्ति उनी प्रेरणाका स्रोत थिए भनेको छ । उनको निधनबाट महासङ्घ निराश भएको वक्तव्यमा उल्लेख छ । ग्रान्ट आफ्नो खेलपत्रकारिता ‘करिअर’को आठौं विश्वकपको समाचार सङ्कलनमा व्यस्त थिए । अघिल्लो सोमबार उनले आफ्नो वेबसाइटमा अस्वस्थताका कारण चिकित्सकहाँ गएको लेखेका थिए । निद्रा नपुगेको र धेरै कामले तनाव भएको उल्लेख गर्दै उनले संयुक्त राज्य अमेरिका र नेदरल्याण्ड्सबीचको खेल भएको दिन आफ्नो छातीको माथिल्लो भागमा असहज भएको बताएका थिए । केही दिनअघि मात्र ग्रान्टलाई फिफा र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले लगातार आठटा विश्वकप खेलको समाचार सङ्कलन एवम् सम्प्रेषण गरेकामा सम्मान गरिएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उनको निधनबाट विश्वभरका खेलपत्रकार मर्माहत भएका र उनको योगदान संसारले सम्झइरहने बताएका छन् । यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ग्रान्ट वाहलको मृत्युको खबरले अमेरिकी सरकार मर्माहत भएको बताउँदै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रवक्ता प्राइसले ग्रान्टको परिवारको चाहना यथाशीघ्र पूरा गर्न कतारका वरिष्ठ अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएका छन् । पत्रकार ग्रान्टकी श्रीमती डा। सेलिन गाउन्डर न्यूयोर्क युनिभर्सिटी स्कूल अफ मेडिसिनमा अध्यापन गर्छिन । बेलेभ्यु अस्पताल केन्द्रमा चिकित्सक र सिबीएस न्युजमा पनि उनी कार्यरत छन् । उनले आफ्ना पतिको असामयिक निधनमा समवेदना एवम् सहानुभूति प्रकट गर्ने ‘फुटबल परिवार’ का साथै सबैप्रति आभार व्यक्त गर्दै आफूमाथि ठूलो बज्रपात भएको बताएकी छन् ।
समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई – प्रवक्ता महत
काठमाडौं । नेपाली काँग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताए । उनले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा राखेर नै सांसदहरुको चयन हुने बताए । उनले महिलाको एक तिहाई संख्या पु¥याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार सांसदहरु चयन गर्ने बताउनु भयो । आजको बैठकले पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने निर्णय भएको बताए । उनले भने, ‘समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि छैन । त्यसमा वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको छ । प्राथमिकता जुन निर्धारण गरिएको छ । त्यही अनुसार नै हुन्छ । महिलाको एक तिहाई संख्या पु¥याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार कति दिन दिनसकिन्छ । कतिपय ठाउँमा अल्पसंख्यक, पिछडिएको क्षेत्र, जुन निर्धारण गरिएको छ, त्यसको आधारमा केही सिटहरुका बारेमा पार्टीले बोल्नुपर्ने आवश्यक्ता थियो, त्यसमा पार्टीको कार्य सम्पादन समितिका साथीहरुका जुन मत आए, त्यसका आधारमा पार्टी सभापतिलाई पदाधिकारी तथा कार्य सम्पादन समितिका साथीहरुसँग आवश्यक पुनः परामर्श भयो । अब आवश्यकता अनुसार थप पदाधिकारी र समितिका सदस्यहरुसँग कुराकानी र सुझाव लिएर पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने कुरा भएको छ ।’ प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीहरुसँगथप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुंगो लाग्ने बताए ।