पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजको चासो
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थलबाट नेपाली विमान कम्पनीहरू बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् । अन्तर्राष्ट्रियतर्फ कतारको जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडान भर्नेमा चासो देखाएको उनले बताए । विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।
भुवनलाई सुर्य नेपाल काठमाडौं ओपनको उपाधि
काठमाडौं । गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । भुवनले आज ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् । उपाधि सहित भुवनले १ लाख १६ हजार प्राप्त गरे । उनको यो खेल करियरको दशौं उपाधि हो । यस्तै, ६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५-अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन-पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १-अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए । पहिलो दुई दिनका लिडर रबि खड्काले ४-ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे । तेस्रो र चौंथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे । समग्रमा ५-ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६-ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७-ओभर २ सय ७९ को स्कोरमा सुर्य प्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १-ओभर ६९, कृष्णमानले ५-ओभर ७३ र सुर्यले ३-ओभर ७१ स्कोर बनाए । अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो । बिना दबाब सहजै अन्तिम दिनको खेल ४-अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे । दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए । यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे । सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानको लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो । अन्तिम दिनको खेल सुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर, शुक्रलाई चार स्ट्रोकले माथ दिदै दिनेश दोस्रो भए । दिनेशले ६-अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा नवौ होलमा एक सट गुमाए । यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४-अन्डर ३० मा पुरा गरे । प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजिटिआई) खेलिरहेको शुक्रले अपेक्षा अनुरुप खेल्न सकेनन् । अन्तिम दिन इभन-पार ६८ मा सकाए। उनले आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि ११औं, १३औं र १६औं होलमा एक-एक सट बचाए । तर १५औं र १७औं होलमा बोगी र १८औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे । प्रतियोगिताको एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते । उनले ६-ओभर ७४ सहित समग्रमा १७-ओभर २८९ स्कोर जोडे। समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
प्युठानमा बेसार प्रशोधन केन्द्र स्थापना गर्न जापान सरकारको १ करोड सहयोग
काठमाडौं । जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अन्तर्गत एक करोड रुपैयाँको वित्तीय अनुदान सहयोग गरेको हो । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको छ । प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालले हस्ताक्षर गरेका छन् । सो अवसरमा राजदूत युताकाले प्रशोधन केन्द्र र कृषि उपकरणका लागि प्रदान गरिने सहयोगमार्फत ग्रामीण कृषि उत्पादन प्रवद्र्धनमा परियोजनाले सहयोग पुग्ने भन्दै उपकरणको भविष्यमा समेत भरपुर उपयोग हुने विश्वास व्यक्त गरे । यो परियोजना उद्योग प्रवद्र्धनका लागि मात्र नभई नेपाल र जापानबीचको मैत्री सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने विश्वास छ । बेसार प्रशोधन केन्द्र निर्माण गरेर प्युठान नगरपालिका र त्यहाँका सहकारीमार्फत समुदायलाई हस्तान्तरण गरिने योजना रहेको स्वयंसेवी समूहका अध्यक्ष रिमालले बताए । परियोजनाले कृषकको आम्दानी र पेसाप्रति प्रोत्साहन गर्न सहयोग पुग्ने छ । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यवसायीकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाका लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ । परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका–८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ । बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्य आम्दानी गर्न सकिरहेका छैनन् । परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विज्ञप्तिमा उल्लेख छ । नेपालमा बेसार खेती राम्रो हुने जिल्लाहरूमा सल्यान, जाजरकोट, प्युठान, दैलेखलगायत पर्छन् । उत्पादित सामग्रीको प्रशोधन र व्यवस्थित बजारको अभावमा व्यावसायिक लाभ लिन नसकिएको जनाइएको छ । परियोजनाअन्तर्गत बेसार उत्पादनमा प्रत्यक्षरूपमा कृषकलाई संलग्न गराई बजार पहुँच विस्तार गर्ने कार्यमा पनि आवश्यक सहयोग गरिने बताइएको छ । रासस
पाँचपोखरी गाउँपालिकाको अभियान ‘पाहुना हाम्रो साथी’ होमस्टेबाट जीविकोपार्जन गर्दै स्थानीय
काठमाडौं । सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’ बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो । यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल गाउँपालिकाले होमस्टेको व्यवस्थापनका लागि कार्यविधि समेत बनाउन तर्फ लागेको छ । होमस्टेमा पाहुनालाई न्यानो सत्कार, पाहुनाको रोजाइअनुसारका अर्गानिक तरकारीसहित मिष्ठान्न भोजन खुवाइने भएकाले होमस्टेमा बस्ने पर्यटक बढेको थाङपालकोट मानेखर्ककी कान्छी तामाङले बताइन् । कान्छी तामाङका अनुसार ३२ वटा होमस्टे रहेको गाउँपालिकामा कुनै दिन ८० जनाभन्दा बढी पाहुना पुग्छन् । पर्यटकलाई स्थानीय स्तरमा उत्पादित अग्र्यानिक तरकारी तथा खाद्यान्नका मिष्ठान्न भोजन खुवाइने होमस्टे सञ्चालकहरुले गरेका छन् । विश्वभरी फैलिएको कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा लामो समय बन्द जस्तै रहेको होमस्टे व्यवसाय फेरि तङ्ग्रिन थालेको पनि तामाङले बताइन् । यस्तै, होमस्टेबाट हुने आम्दानीले परिवारको खर्च टार्न निकै सहज भएको पाँचपोखरी थाङपाल–४ मानेखर्कका मानबहादुर तामाङले बताए । विश्वको नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरी कुण्डसहित आमायाङ्ग्री, ढुक्पु, डुखाङ, हवेली, ड्रागन गुफा, नागीथामडाँडा, रैथानेश्वरी जस्ता पर्यटकीयस्थलको प्रवद्र्धनसँगै पर्यटकको रोजाइको गन्तव्य बनाउनका लागि पालिकाले विभिन्न योजना ल्याएको छ । पालिकाले ‘पाहुना हाम्रो साथी’ अभियानसँगै होमस्टेलाई प्रोत्साहन गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । गाउँपालिकाभित्र फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथनजस्ता जिल्ला तथा राष्ट्रियस्तरका खेलकुदका प्रतियोगिता आयोजना हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बाक्लिँदै गएको छ । जसकारण व्यवसायमा चहलपहल बढेको छ भने पर्यटीयस्थलको प्रचारप्रसारसँगै होमस्टे सेवाबाट स्थानीयको जीविकोपार्जन पनि राम्रो हुन थालेको छ । पालिकाले होमस्टे सञ्चालनबारे गत सोमबारदेखि बुधबारसम्म तालिम दिएपछि उत्साह बढेको स्थानीय होमस्टे सञ्चालक दोकदोक तामाङले बताए । उनी स्थानीय उत्पादनबाट धेरै परिकार बनाउन सिकेको भन्दै अब त्यसलाई व्यवहारमा पनि उर्तार्ने योजनामा छन् । गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले होमस्टेसम्बन्धी तालिम अर्को पटक पनि आयोजना गर्ने बताइन् । होमस्टे सञ्चालकलाई तालिममा सहयोग गरेको संस्था ग्रामीण समाजकल्याण संघ (आर्सो) नेपालका परियोजना संयोजक हर्क तामाङले पाँचपोखरीमा होटल र होमस्टे व्यवस्थापन प्रवद्र्धन गर्नसके आयस्रोत बढ्ने कुरालाई जोड दिए । यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा होमस्टेबाट गुणस्तरीय सेवा दिन सके पर्यटकको संख्या बढ्नुका साथै गाउँपालिको आम्दानी पनि बढ्ने गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले बताए । रासस
त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाका अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औं ग्रेस लिष्टमा समावेश भएका उक्त संख्या विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएता पनि अहिलेसम्म पुनःनिर्माणकाे काम नभएकोमा नैराश्यता थपिएको उपकुलपति बास्कोटाले बताए । समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
ग्वार्को-सातदोबाटोको ट्राफिक व्यवस्थापन डेढ वर्ष प्रभावित हुनसक्ने
काठमाडाैं । ललितपुरको ग्वार्को चोकमा शुक्रबारदेखि सुरु भएकाे फ्लाइ ओभर निर्माणले उक्त क्षेत्र डेढ वर्ष प्रभावित हुने बताइएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी वरिष्ठ उपरिक्षक) राजेन्द्रप्रसाद भट्टले फ्लाइ ओभर निर्माणले ग्वार्काे क्षेत्रकाे ट्राफिक बताएका छन् । सवारी साधन व्यवस्थापनमा अहिले नै समस्या हुने र सबै सवारी साधन सहायक लेनबाट चलाउँदा चाप अति भएर थेग्न गाह्रो हुनसक्ने उनले बताए । ‘पिलर उठाउने समयमा खाल्डा खन्नुपर्ने हुँदा मुख्य सडक पूरै अवरुद्ध हुने देखिएको छ, अबको डेढ वर्षमा यो खण्डमा प्रभाव पर्ने देखिन्छ,’ उनले भने । भट्टले निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने उनले बताए । ‘निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने अवस्थामा सर्भिस लेनबाट नै सबै सवारी साधन पठाउनुपर्ने हुनसक्छ,’ उनले भने । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १६ महिनाभित्र सक्ने लक्ष्य रहेकाे सडक विभाग अन्तर्गतकाे गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारीले बताए । । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले पाएकाे छ । ललितपुरको ग्वार्को चोकमा शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य शुरु भएकाे छ । साे क्षेत्रमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै बिहानैदेखि उक्त क्षेत्रमा ट्राफिक जाम बढेकाे छ । साे क्षेत्रमा भएकाे ट्राफिक जामले अन्य ठाउँ पनि प्रभावित बनेका छन् । आरसी, समानान्तर र रेलिग्रेले ठेक्का पाएकाे फ्लाइओभर निर्माणको काम १६ महिनाभित्र सक्ने लक्ष्य रहेकाे सडक विभाग अन्तर्गतकाे गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी साैरभ बज्रचार्यले बताए । भट्टले हालका लागि बल्खुबाट सातदोबाटो र बालकुमारीबाट सातदोबाटोसम्मको सडक खण्डमा सवारी साधनलाई विभाजन गरी चल्न दिइएको बताए । उनका अनुसार भारी सवारी साधान र दुई पाङ्ग्रे सवारी साधनलाई सहायक लेनबाट चल्न दिइने छ भने र हलुका सवारी साधन मुख्य लेनमा चल्न दिइने छ । चीन सरकारले विस्तार गरेको चक्रपथको सो खण्डको बीचमा चार लेन ‘एक्प्रेस रोड’ र छेउमा दुई/दुई लेन सहायक सडक छन् । फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।
चौलेन्द्रलाई संसद महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले आज उक्त पत्रविरूद्धको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिएको हो । ‘यसरी प्रस्तुत रिट निवेदनका सन्दर्भमा महत्वपूर्ण संवैधानिक एवं कानूनी प्रश्न उठाएको अवस्था देखिएको छ, महासचिवले आफूमा नरहेको अधिकारको प्रयोग गरी पत्राचार गरेको भन्ने पनि प्रश्न उठाइएको देखिन्छ’, आदेशमा भनिएको छ, ‘संविधानद्वारा प्रतिनिधिसभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेकोसम्बन्धी गम्भीर र महत्त्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिव देखिएन ।’ अदालतले रिट निवेदनउपरको सुनुवाई नटुङ्गिएसम्मका लागि सङ्घीय संसद सचिवालयका महासचिवद्वारा हस्ताक्षरित पत्र कार्यान्वयन नगर्नु नगराउनु भनिएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्य विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त पत्र बदर गर्न माग राख्दै रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ । गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाएको रिट निवेदनमा उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ । सङ्घीय संसद्का महासचिव डा गौतमले यही मङ्सिर २१ ग
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गर्दै बुद्ध एयर
काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरेकाे हाे । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए । ‘पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौं, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ,’ उनले भने । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा-बनारस-पोखरा, पोखरा-दिल्ली-पोखरा र पोखरा-देहरादुन-पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन-वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।