
फाइल फाेटाे ।
रामपुर । गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ । ग्रामीण भेगमा पुरानो परम्परागत रुपमा उत्पादन हुने सामग्री सहर बजारमा झट्ट बिक्दैनन् । परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–१ दारेचोकका ४६ वर्षीय जितु दर्लामीले उत्पादन गरेका परम्परागत काठजन्य सामग्रीले बजार नपाउँदा अन्यत्र जिल्लामा धाउनुपरेको छ । उनले ठेकाठेकी, मानाजस्ता परम्परागत सामग्री तयार पार्छन् तर आफूले उत्पादन गरेको सामग्री बिक्री नभएपछि उहाँ बोकेर विभिन्न जिल्लामा पुग्छन् ।
पाल्पाको रामपुरमा ठेकाठेकी, मानालगायतका काठजन्य सामग्रीको व्यापार गर्न आएका दर्लामीले बजारमा परम्परागत सामग्रीको महत्व नहुनु र उपभोक्ताले चलनचल्तीमा नल्याउँदा बिक्रीमा समस्या परेको गुनासो सुनाए । ‘ठेकाठेकी, मानाको ठाउँमा अहिले बजारमा आधुनिक प्रविधिका सामान आउन थाल्यो, पुराना चलनचल्तीमा आएका सामग्री हराउँदै जानु, बजारमा यसको महत्व र प्रयोगबारे अहिलेका पुस्तालाई जानकारी नहुँदा हामीलाई व्यापार गर्न गाउँमै पुग्नुपरेको छ’, उनको भनाइ छ ।
उनले लामो समयसम्म टिकाउ हुने साजन, दारको काठबाट सामग्री तयार पार्छन् । गाउँमा पुगेर सामान बिक्री नगरेसम्म बिहान साँझको हातमुख जोर्ने उहाँको परिवारमा अर्को उपाय छैन । अन्यत्र जिल्लामा आफ्नो र छिमेकीले उत्पादन गरेका सामानको उनले व्यापार गर्दै आएका छन् । ठेकाठेकीको मूल्य न्यूनतम मूल्य रु एक हजारदेखि बढीमा रु दश हजारसम्म पर्छ ।
‘काठका सामान आकार हेरेर मूल्य कायम गरिएको छ, एकै ठाउँमा बिक्दैन, विभिन्न जिल्लाका गाउँ बस्तीमा सामान बोकेर बेच्ने गरिरहेको छु, बजारीकरणका लागि अन्यत्र जिल्लामा जानुपर्दा निकै सास्ती परेको छ’, उनले भने ।
दर्लामीले अहिले साहाराका लागि श्रीमती गोरीमायालाई पनि साथमै लिएर व्यापारमा ठाउँ ठाउँमा पुग्ने गर्छन् । घरमा साना साना बालबच्चा छाडेर अर्काको ठाउँमा व्यापारमा निस्कदा धेरै चुनौतीको सामना गरिरहनुपरेको छ ।
अहिलेसम्म चितवनका अलवा बाग्लुङ, पर्वत, पाल्पा, म्याग्दी, तनहुँ, स्याङ्जा, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा पुगेर दर्लामीले व्यापार गर्दै आएका छन् । गाउँघरमा दुग्धजन्य पदार्थ दूध, दही, घ्यू राख्न साजन, दारका काठबाट उत्पादन गरिएको ठेकाठेकी, माना गाउँमा धेरैको रोजाइमा पर्छ ।
हरेक वर्ष साउनदेखि पुस महिनासम्म सामान बोकेर घरघरमा पुगेर व्यापार गर्ने गरेको उनले बताए । यसैबाट पाँच जना छोराछोरीको लानपालन, पठननपाठनमा सहज होस् भन्ने उनको उद्देश्य छ । स्थानीय उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाइदिन उनको अनुरोध छ । रासस