
काठमाडौं । नेपाली काँग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताए । उनले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा राखेर नै सांसदहरुको चयन हुने बताए ।
उनले महिलाको एक तिहाई संख्या पु¥याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार सांसदहरु चयन गर्ने बताउनु भयो । आजको बैठकले पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि छैन । त्यसमा वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको छ । प्राथमिकता जुन निर्धारण गरिएको छ । त्यही अनुसार नै हुन्छ । महिलाको एक तिहाई संख्या पु¥याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार कति दिन दिनसकिन्छ । कतिपय ठाउँमा अल्पसंख्यक, पिछडिएको क्षेत्र, जुन निर्धारण गरिएको छ, त्यसको आधारमा केही सिटहरुका बारेमा पार्टीले बोल्नुपर्ने आवश्यक्ता थियो, त्यसमा पार्टीको कार्य सम्पादन समितिका साथीहरुका जुन मत आए, त्यसका आधारमा पार्टी सभापतिलाई पदाधिकारी तथा कार्य सम्पादन समितिका साथीहरुसँग आवश्यक पुनः परामर्श भयो । अब आवश्यकता अनुसार थप पदाधिकारी र समितिका सदस्यहरुसँग कुराकानी र सुझाव लिएर पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने कुरा भएको छ ।’
प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीहरुसँगथप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुंगो लाग्ने बताए ।