कुमारी र एनसीसी बैंकको मर्जर सम्झौता पारित, एकीकृत कारोबार कहिले ?
काठमाडौं । कुमारी र एनसीसी बैंकको विशेष साधारणसभाले एक आपसमा मर्ज गर्ने सम्झौता पारित गरेका छन् । दुवै बैंकको आइतबार भएको विशेष साधारणसभाले मर्जर सम्झौता पारित गरेका हुन् । आइतबार कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जवरा राणाको अध्यक्षतामा बसेको साधारणसभा र एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा छुट्टाछुट्टै भएको साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेका हुन् । यस्तै, बैंकहरुले १ः१ को डीडीए पनि पारित गरेका छन् । यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्व १ अर्व भन्दा बढी र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । दुवै बैंकले पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छन् ।
तनहुँमा गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज
तनहुँ। तनहुँको भिमाद नगरपालिका -९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ । भिमाद नगरपालिका -९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिए । ‘मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ ।’ उनका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा पाँच सयभन्दा बढी खर्च हुन्थ्यो भने अब स्थानीय स्तरमै एक सयमै हुने भएको छ । गाउँका जनतालाई सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले बताए । स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट, अनमी, अहब, एचए र एकजना कार्यालय सहयोगी राखिएको छ । गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् । सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद–९ का श्रीमाया आलेले बताए । रासस
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त भएका छन् । अग्रवाल सर्वसाधारण समूह लगानीकर्ताहरुबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकमा २९ प्रतिशत लगानी रहेको नेपाली सेयरधनीहरुको प्रतिनिधित्व गर्दै उनी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । यसअघि सर्वसाधारणबाट प्रतिनिधित्व गरेका सञ्चालक भरत कुँवरको कार्यकाल आइतबार सकिएको छ । कुँवरको कार्यकाल सकिएपछि अग्रवाललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो । आइतबार सम्पन्न भएको बैंकको ३६ औं वार्षिक साधारण सभाले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी आगामी ४ वर्षसम्मका लागि बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।
बीमा प्राधिकरणको प्रदेश कार्यालय वीरगञ्जमा पनि, अध्यक्ष सिलवालले उद्घाटन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशको वीरगञ्जमा पनि प्रदेश कार्यालय स्थापना गरेको छ । स्थापित उक्त प्रदेश कार्यालयको उद्घाटन मंसिर २६ गते सोमबार हुँदै छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्राधिकरणबाट अध्यक्ष सिलवालसहित कार्यकारी निर्देशक राजुरमण पौडेल लगायत निर्देशक पूजन ढुंगेल (अधिकारी) को टोली वीरगञ्ज प्रस्थान भइसकेको छ । प्राधिकरणले यसअघि नै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय खोलेर सञ्चालनमा समेत ल्याइसकेको छ । चालु आवमै थप तीन स्थानमा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउने प्राधिकरणको योजना छ । उक्त योजना अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७९/८० भित्रै विराटनगर, पोखरा र बुटवलमा नयाँ शाखा विस्तार गर्ने छ । बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म पुर्याउन प्राधिकरणले प्रदेश कार्यालय खोल्ने अभियानलाई निरन्तरता दिँदै आएको हो ।
‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम पुनः सुचारु, ठगिएका गुनासा बढी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सुचारु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुचारु गरेकाे हो । आज बिहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । कार्यक्रममा मन्त्री कुँवरसंग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरूले आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए । मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्याहरू राखेका छन् । मन्त्री कुँवरसंग श्रमिकहरूले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाएका थिए । फोनमार्फत मन्त्री कुँवरलाई दुवई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरू बढी आएका छन् । एकजनाले श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका छन् । दशजना श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपुर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा ब्यक्तिका बारेमा राम्ररी बुझ्ने तथा जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यान दिनुपर्नेमा कुरा बताए । मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरूबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिएका छन् । साथै कार्यक्रममै कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध गरेका छन् ।
महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्छ : मन्त्री रेग्मी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी छिन् । आईतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्युनिकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी हुन् । उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभइ शहरी क्षेत्रमा पनि उत्तिकै भएको जानकारी दिए । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताए । उनले राजनीतिक दलहरुले पनि महिला हिंसाको बिरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरे । राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाई छ । उनले भनिन् – ‘यो समाजलाई सचेत नगरीकन महिला हिंसाको सरकारले गरेर मात्रै पनि भएन । समाजलाई पूरै सचेत गराउनको लागि अभियान गर्नुपर्यो । कानून हुँदाहुँदै पनि अपराधीले हातमा कानून लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्युनिकरण हुनसक्छ । समाज, राजनीतिक दल सबैलाई समेत गराऔँ ।’ मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनले बताइन् । उनले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन् – ‘महिला हिंसा महिलाको मात्रै समस्या होइन । त्यसरी बुझ्नु हुँदैन । महिला हिंसा भनेको मुलुकको समस्या हो । राजनीतिक दलमा महिला हिंसा छ । सबै सरोकारवाला घरभित्र चुल्हो चौकोदेखि समाजसम्म । नागरिक समाजदेखि राजनीतिक दलसम्म, राज्यसत्तासम्म, सरकारसम्म सबै लाग्न सक्यौँ भनेमात्र महिला हिंसा अन्त्य हुन्छ ।’ उनले ९५ प्रतिशत घरमा कुनै न कुनै रुपमा महिला हिंसा हुने गरेको बताइन् । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भएपनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनको भनाई छ । मन्त्री रेग्मीले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताइन् ।
२४ बैंकको खुद तरल सम्पत्ति घट्यो, लाभांशमा प्रभाव पर्ने
काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको खुद तरल सम्पत्ति (एनएलए) न्यून बिन्दुमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत एनएलए २३.५३ प्रतिशत छ । गत असारमा बैंकहरुको औसत एनएलए २५.३८ प्रतिशत थियो । तीन महिनामा वाणिज्य बैंकहरुको खुद तरल सम्पत्ति १.८५ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको भएपनि अहिले अधिकांश बैंकहरूको एनएलए सीमाको हाराहारीमै छ । अहिले बैंकहरू तरलताको समस्या भोगिरहेका छन् । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तीमा २० प्रतिशत एनएलए राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । गत असारको तुलनामा एनआइसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए बढेको छ भने अन्य २४ वटा वाणिज्य बैंकको एनएलए घटेको छ । गत असारमा २०.३० प्रतिशत रहेको एनआइसी एशिया बैंकको खुद तरल सम्पत्ति असोजमा बढेर २१.८५ प्रतिशत कायम भएको हो । यस्तै, गत असारमा २८.२४ प्रतिशत रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए असोजमा भने ३७.९८ प्रतिशत पुगेको हो । हाल सबैभन्दा कम एनएलए नेपाल बैंकको छ । यस बैंकको एनएलए २०.०६ प्रतिशत छ । ६ वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति २१ प्रतिशत, ९ वटाको २२ प्रतिशत, दुइटाको २३ प्रतिशत, तीन बैंकको २४ प्रतिशत, दुइटाको २५ प्रतिशत र दुइटाको २६ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति छ ।
माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले गरे शपथ ग्रहण
काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकको मङ्सिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्तरराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसकेका भएका डा.महतो ‘गैर आवासीय नेपाली संघ’का संस्थापक अध्यक्ष समेत छन् ।