१४० प्रतिशतसम्म प्रतिफल दिएको नबिल बैंकको यस्तो छ लाभांश इतिहास
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन हालसम्म बैंकहरुले प्रस्ताव गरेको लाभांशमध्ये उच्च हो । सेयरधनी र सेयरबजारमा पनि लगानीकर्ताहरुका लागि रोजाइको बैंक बनेको नबिल बैंकसँग ३७ वर्ष लामो इतिहास जोडिएको छ । यो यात्रामा नबिलले व्यवसायिक र सेवाका आधारमा पनि एक सफल वाणिज्य बैंकका रुपमा आफुलाई चिनाएको छ । हाल बैंकको अध्यक्षको रुपमा उपेन्द्र प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेतृत्व गरिरहेका छन् । बैंकमा संस्थापक समूहको ६० प्रतिशत अर्थात् ५ करोड ५३ लाख ३६ हजार १६३ कित्ता सेयर र सर्वसाधारण समूहको ४० प्रतिशत अर्थात् २८ करोड ३६ लाख ६५ हजार २५१ कित्ता सेयर स्वामित्व रहेको छ । वाणिज्य बैंकहरुको भीडमा लगानीकर्ताले पनि सबैभन्दा बढी रुचाएको बैंकमध्येमा नबिल अग्रणी स्थानमा पर्छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएको नबिल बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरिरहेका थिए । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई ३० प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ । यो लाभांश भने अघिल्लो आवको तुलनामा कम हो । यस्तो छ बैंकको लाभांश इतिहास नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नबिल बैंकले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११.५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावत गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
जब स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नेपाली सेयरधनीले ‘गो ब्याक युओर कन्ट्री’को नारा लगाए…
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार ३६औं वार्षिक साधारण सभा आयोजना भयो । आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजेबाट सुरु भएको वार्षिक साधारणसभा करिब तीन घण्टासम्म चल्यो । बैंकहरुमा प्रायः एउटै लगानीकर्ताहरु हुन्छन् । आइतबार नै कुमारी बैंक र एनसीसी बैंकको पनि विशेष साधारण सभा भएकाले स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभामा सेयरधनीहरुको उपस्थिती खासै उत्साहजनक थिएन । कार्यक्रमको सुरुमा बैंकका अध्यक्ष जरिना दारुवालाले सञ्चालक समितिको प्रतिवेदन सार्वजनिक गरिन् । उनले आगामी वर्षमा सेयरधनीहरुलाई लाभांश बढी वितरण गर्न प्रयास भइरहेको बताइन् । हाल कायम रहेका सूचकहरु अब्बल रहेको बताउँदै अब बैंकलाई नम्बर वान बनाउने रणनीति रहेको धारणा उनले सेयरधनी समक्ष राखिन् । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालको बैधानिक संरचना र स्ट्याण्डर्ड चार्टर्ड समूहको जोखिम व्यवस्थापन सम्बन्धी सिद्धान्त र अभ्यासहरूको पालना गर्छ, बैंकका अभ्यासहरूलाई स्वस्थ जोखिम संस्कृतिमा पङ्क्तिबद्ध गर्ने र आचरणका उच्चतम मापदण्डहरूलाई अवलम्वन गर्ने कुरालाई सुनिश्चितता प्रदान गर्छ,’ उनले कार्यक्रममा भनिन् । अध्यक्ष दारुवालाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि करिब आधा दर्जन सेयरधनीले कार्यक्रममा आफ्नो धारणा राखे । बैंकको साधारणसभामा सेयरधनी गुणराज भट्ट, नरसिंह चख्खु, चन्द्र नारायण श्रेष्ठ, मेजर कुबेर श्रेष्ठ, सुदिप श्रेष्ठ, ब्रम्हदेव शाक्य र शत्रुघन श्रेष्ठले आफ्नो मन्तव्य राखे । बैंकका कम्पनी सचिव गोपी भण्डारीले नाम टिपाएका सबै सेयरधनीहरुलाई बोलाउँदै गए । सुरुमा पालो आयो सेयरधनी नरसिंह चख्खुको । कागजमा लेखेर ल्याएको मन्तव्य पढ्दै उनले भने,‘ स्ट्याण्डर्ड चार्टर्ड बैंकले काम गर्ने शैली परिवर्तन गरेर अघि बढनु पर्छ,सेयरधनीहरुलाई उच्च प्रतिफल दिने बैंकको रुपमा आफूलाई स्थापित गर्नु पर्छ, बैंक अधिकांश सूचकमा अब्बल छ, अब अग्रस्थानका लागि काम गर्न जरुरी छ ।’ ६ मिनेट १८ सेकेण्डको अंग्रेजी भाषाको मन्तव्य सकाउँदै उनी झोला भिड्दै कुमारी बैंकको साधारणसभातर्फ लागे । अर्का सेयरधनी गुणराज भट्टले सभामा नेपालीमै मन्तब्य राखे । उनले आफ्नो अधिकांश समय बैंकको प्रशंसामै बिताए । विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँ पुगेको थियो तर आजका दिनमा ४ सयको हाराहारीमा रहेको बताउँदै उनले अब सेयर मूल्य बढाउन तर्फ लाग्नु पर्ने बताए । उनले ३६ वर्षको बैंकिङ्ग इतिहास बोकेको बैंकले हालसम्म आफ्नै स्वामित्वमा भवन निर्माण गर्न नसकेकोमा गुनासो ब्यक्त गरे । एउटा घर पनि बनाउन नसक्दा ट्याण्डर्ड चार्टर्ड बैंक अब नेपालबाट भागेर जान्छ की भन्ने चिन्ता प्रकट गरे । सेयरधनी चन्द्र नारायण श्रेष्ठले क्यापिटल एडुकेसी राम्रो भएकोले बैंकले सेयरधनीहरुलाई २०र२५ प्रतिशतका दरले लाभांश वितरण गर्नुपर्ने धारणा राखे । उनले बैंकले सही तथ्याङ्क राख्नु पर्नेमा जोड दिए । खुद ब्याज आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले अझ प्रगति गर्नुपर्ने धारणा उनको थियो । यस्तै, उनले बैंकले कर्मचारीलाई ८२ करोड कर्जा प्रदान गरेको गुनासो गरे । मेजर कुबेर श्रेष्ठले जलविद्युत क्षेत्रको विकास बढ्दै गइरहेका बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने कर्जा कम प्रवाह गरेकोमा गुनासो गरे । अंग्रेजीमा आफ्नो मन्तव्य राखिरहेका उनले सम्बोधन गर्ने क्रममा उपस्थित एक जनाले नेपालीमा बोल्नु पर्यो भनेर ‘फ्लोर’बाट अवाज निकाले । उनले भने विदेशी मान्छेपनि सभामा उपस्थित भएकाले अंग्रेजी बोल्नु परेको भन्दै हिन्दीमा जवाफ फर्काए । १८ मिनेट भन्दा बढी समय मन्तव्य राखेका उनले आफ्नो भाषणको बिच(बिचमा केही शब्द नेपाली, केही शब्द हिन्दी पनि उच्चारण गर्दै सभालाई रमाइलो पनि गराइ रहे । कार्यक्रममा बोल्न नाम टिपाएका केही सेयरधनीहरु समयमा उपस्थित हुन सकेनन् भने केही सेयरधनीहरु कार्यक्रम सम्पन्न भएपछि आइपुगे । हस्याङ्फस्याङ् गर्दै अन्तिममा आइपुगे सेयरधनी शत्रुघन श्रेष्ठ । उनी सिधै मञ्चमा प्रवेश गरे । उद्घोषकले उनलाई बोलाए । उनले १० मिनेट जति आफ्नो मन्तब्य राखे । सुरुमा उनले बैंकका केही सवल र कमजोरी पक्षको चर्चा गरे । त्यसपछि उनले ३५औं साधारणभामा बैंकले गरेको गल्तिको विषय केलाए । मन्तव्यको बिचैमा उनले पोडियम ठोक्दै भने, ‘त्यो बेला कम्पनी सचिव माधव प्रसाद रेग्मी थिए, कम्पनी सचिवलाई १० चोटि फोन गर्दा पनि उठेन, म ३५ औं वार्षिक साधारण सभामा जोडिन सकेनँ, बैंकले दिएको पासवर्ड मिलेन, पछि हामीले बैंकको हेड अफिसमा गएर उफ्रिनु पर्यो ।’ यस्तै, उनले नेपाली सेयरधनीले नै बैंकमा आन्दोलन गरेको विषय पनि साधारणसभामा राखे । उनले गत वर्षको साधारणसभाको प्रशंग जोड्दै भने, ‘सेयरधनीहरुलाई झुक्याउने काम नगर्नुस किनभने तपाइँलाई ऐस गराउने गरी लगानी गर्ने हामी हो, ‘गो ब्याक स्ट्याण्डर्ड चार्टर्ड बैंक, यू गो योर कन्ट्री’ भनेर नारा पनि लगाएका थियौं, यस्तो नारा लगाउनुपर्ने श्रृजना तपाई आफैले गर्नुभयो, यस्तै भयो भने अझैँ पनि लगाउन सक्छौं,आगामी दिनमा यस्तो गल्ति नगर्नुहोस् अध्यक्ष महोदय ।’ ‘सेयरधनीहरुको हितलाई मध्यनजर गरेर हेर्नुहोस, यो पनि लगानीकर्ता हो, लगानीकर्ता भगवान हुन् भन्ने सोच्नु पर्छ, लगानीकर्तालाई सम्मान गर्नुपर्छ, यो तपाइँको मात्रै सम्पत्ति होइन, हाम्रो पनि लगानी छ,’ उनले पुनः पोडियम ठोक्दै भने । उनलाई तालि बजारएर सपोर्ट गरिरहेका थिए सभामा सुनिरहेका सेयरधनीहरु । उनीहरुले उनको भाषणमा साथ दिँदै हुटिङ गर्दै हो–हो भन्दै जोडले आवाज निकालिरहेको थिए । ‘अहिलेसम्म सीईओ कुन हो, अध्यक्ष को हो भनेर आफूले चिनेको पनि छैन, अब आउँदा हामीलाई पनि मान्यता दिनुपर्छ, हामीले राय सुझाव सल्लाह पनि दिन्छौं,’ उनले भने । आगामी वर्ष २० प्रतिशत बोनस लाभांश दिनु पर्ने भन्दै उनले मन्तव्य टुङ्ग्याए । स्टयाण्डर्ड चार्टर्ड बैंक बैंकमा स्टयाण्डर्ड चार्टर्ड बैंक, ग्रीण्डलेज अष्ट्रेलियाको ४६.८१ प्रतिशत र स्टयाण्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० प्रतिशत गरी विदेशी संस्थाको कूल ७०.२१ लगानी रहेको छ । नेपाली सेयरधनीहरुको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
श्रममन्त्रीसमक्ष श्रमिकको गुनासो : क्यानाडा लैजाने भन्दै छ लाख ठगे
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको गुनासो मन्त्रीसमक्ष राखेका थिए । मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर सात लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको गुनासो सुनाएका थिए । संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, साउदीलगायत देशमा रोजगारीका लागि जाँदा ठगिएको उनीहरूको भनाइ छ । सुर्खेतका एक व्यक्तिले आफूलाई क्यानाडा पठाइदिने भन्दै करिब छ लाख रुपैयाँ ठगेको गुनासो मन्त्रीसमक्ष राखेका थिए । श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवासुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्नेलगायत विषयमा ध्यानु दिनुपर्नेमा जोड दिए । उनले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डलाई निर्देशन दिएका थिए । रासस
स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरीको मृत्यु
फाइल फाेटाे काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना१क १६१२ नंको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते रतेलाको उपचारका क्रममा बिहान १० बजे वयोधा अस्पताल बल्खुमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटना बिहान ८ बजेर ३५ मिनेटमा भएको थियो । बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेला सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालकलाई भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । रासस
दृष्टिविहीनहरुलाई कम्प्युटर ट्रेनिङ्ग दिँदै कामना सेवा विकास, बचत खाता समेत खोलिदिने
काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो । जसका लागि विकास बैंकले जोड इनिस्येटिभसँग मंसिर २१ गते बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ । सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै, बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ । सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।
सानिमा बैंकका ग्राहकलाई ‘दराज १२.१२’ मा १२ प्रतिशतसम्म छुट, मासिक किस्ता पनि पाउने
काठमाडौं । सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सो मात्राको विशेष छुट पाउने भएका छन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम् १ हजार २१२ रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २६ देखि पुस ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।
भाडा वृद्धिको विरोधमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी
बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटीरूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रूपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन् । कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवद्र्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यावहारिकरूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए । तालबन्दीपछि आयोजित सभामा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष हिरामणि भट्टराईले आज साङ्केतिकरूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताए । नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझाव विपरीत एकैपटक सात सय देखि आठ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षड्यन्त्रमा लागेको जनाउँदै व्यवस्थापनको मिचाहा प्रवृत्तिका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिनेतर्फ सोच बनाउनुपर्नेमा भाडा बढाएर आतङ्क सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्नसक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गरे । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको रु १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट रु ५३ करोड भाडा बापतको बक्यौता उठाउन बाँकी छ । विसं २०७५ साउनदेखि लागू हुने गरी लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा पाँच/पाँच वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ । लिमिटेडले देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रबाट यसअघि पनि अलग–अलग भाडा लिँदै आएको थियो भने वृद्धि गर्दा पनि सोहीअनुसार वृद्धि गरेको जनाएको छ । बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक रु आठ हजार तीन सय २८ भाडा लिँदै आएकामा २०७५ सालमा रु १६ हजार दुई सय भाडा निर्धारण गरिएको थियो । यो भाडावृद्धि एक सय १६ प्रतिशत हो । त्यसयता उद्योगीहरूले विभिन्न ढङ्गले भाडा घटाउन दबाब दिँदै आएका छन् ।