सिद्धार्थ बैंकका ग्राहकलाई केएमसी हस्पिटलमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले उक्त अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् । बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सनिगाड हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ललितपुरको धोवीघाटस्थित रजिष्टर्ड कार्यालय रहेको हाइड्रोले सर्वसाधारणलाई ६७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । एक सय रुपैयाँ अकिंत दरको उक्त सेयर निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यपिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै कम्पनीले निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि सेयर निष्काशन गर्न लागेको हो । जारी पूँजी २ करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
सेल्सबेरीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा हिमालयन बैंकका ग्राहकलाई १०% नगद फिर्ता
काठमाडौं । हिमालयन बैंकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्द्धित नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा मोबाइल बैंकिङ्गबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकले एचआर्ए एमबी मोबाइल बैंकिङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपालपे क्युआर सुबिधा भएको मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा सो सुविधा पाउने भएका हुन् । क्यासब्याकको अफर नेपाल भरिका सेल्सबेरी डिपार्टमेन्ट स्टोका शाखाहरुमा मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ । देशको सबैभन्दा ठूलो रिटेल स्टोरमध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बैंकको विश्वास छ ।
‘जसले कर तिर्छ, उसैलाई सरकारले पेल्छ’ भन्ने नारासहित व्यवसायीले गरे विरोध प्रदर्शन
काठमाडौं । नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ का अध्यक्ष संजय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विराटनगर क्षेत्र लगायत प्रदेश १ मा संचालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बिहीबार एकसाथ काठमाडौंमा र विराटनगरमा संयुक्त विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो व्यानर र प्लेकार्ड बोकेर विराटनगरको महेन्द्रचोकमा शान्तिपूर्ण धर्ना दिएका थिए । विरोध प्रदर्शनमा बैकिङ क्षेत्रको सहयोग विना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भएकोले त्यसको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाहरुले ७.५ प्रतिशतको व्याजदर बढाएर १६.५ प्रतिशतसम्म पु¥याएको जानकारी दिए । मुलुकको मुख्य आर्थिक क्षेत्र उद्योगधन्दा र व्यवसाय नै धरासायी बनेको बेलामा बैकिङ क्षेत्र भने अर्बौको नाफामा रहनु दुर्भाग्यपूर्ण भएको बताए । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ का अध्यक्ष संजयकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रुपमा समीक्षा गर्नु पर्ने र संस्थागत निक्षेपको व्याज दर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नु पर्ने बताए । कार जीप र भ्यान जस्ता नीति प्रयोजनका सवारी साधनहरुको आयात खुला भए पनि एल.सी खोली ५० प्रतिशत नगर मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने । सवारी साधन आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनानसिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै उनले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनु पर्ने र ८० प्रतिशत फाइनान्सिङ बनाउनुपर्ने जस्ता माग राखेका थिए । अध्यक्ष श्रेष्ठले अटोमोबाइल्स व्यवसायीहरूले भोग्नु परेको १७/१८ प्रतिशत बैंक व्याज दरका कारण व्यवसायबाट हात धुनु पर्ने स्थिति आइलागेको कारण देशभर नाडाले ७ प्रदेशमा एकसाथ विरोध प्रदर्शन आयोजना गरेको जानकारी गराए । नाडाका केन्द्रिय उपाध्यक्ष सुवाष आचार्यले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले उद्योगी व्यवसायीहरुको विरोधलाई मत्थर पार्नका लागि मात्रै स्प्रेडदरमा सामान्य संशोधन गरिएको जानकारी गराए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै स्प्रेडदरलाई ४.४ प्रतिशतबाट ४ प्रतिशतमा कायम गरे पनि त्यसले समस्याको समाधान दिन नसक्ने बताए । स्प्रेडदरलाई कम्तीमा पनि ३ प्रतिशत कायम गर्नु पर्ने उनको धारणा छ । त्यसैगरी, बैंकको चर्को व्याजदरकै कारण मुलुकका ३० प्रतिशत व्यवसायीहरु खराब ऋणीको सूचीमा परेको उनले जानकारी गराए । यस्तै अवस्था कायम रहे ७० प्रतिशत उद्योगी व्यवसायीहरु खराब ऋणीको सूचीमा पर्ने र मुलुकको आर्थिक क्षेत्र नै दर्दनाक बन्ने समेत दाबी गरे । अटोमोवाइल्स क्षेत्रले मुलुकमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ लाखलाई रोजगारी सिर्जना गरिरहको र अहिलेसम्म पनि जसोतसो व्यवसायलाई थेग्दै आएको र अब भने निकै अप्ठेरो पर्न सक्ने उनले बताए । सरकारले एल.सी खुलाएर व्यवसायीले सवारी साधन ल्याए पनि खरिद बिक्री हुन नसक्ने अवस्था आइसकेकोले शोरुम मै थन्क्याउनु पर्ने अवस्था आएको छ भन्नु भएको थियो । त्यसैगरी एशोसिएसनका सचिव मनोज विक्रम शाहले सरकारले गाडी आयातगर्न दिने निर्णय गरे पनि प्रतिबन्ध गर्नु भन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनु पर्ने बताए । सरकारले गाडीको आयात खुलाए पनि अहिलेकै बैंक व्याजदरमा कसैले गाडी खरिद नगर्ने उनको गुनासो छ । सचिव शाहले व्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने बताए । आयात खुल्ला भए पनि तत्काल गाडी ल्याउन सक्ने अवस्था नभएको उनले बताए । विरोध कार्यक्रममा उपस्थित व्यवसायीहरुले नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजीकर्जा मार्ग दर्शन, २०७९ तत्कालका लागि स्थगित गर्नुपर्ने, शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतितपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने, बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरावलोकन गर्नुपर्ने, बैंकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात् जारी गरिने डेलिभरी अर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ता भित्र गरिनु पर्ने, बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गरिनु पर्ने, पुनकर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिन पर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए । ‘जसले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार ब्याजदर कहिले घटछ’ जस्ता नारा सहितको प्लेकार्ड बोकेर अटोमोबाइल्स क्षेत्रका व्यवसायी, कर्मचारी र श्रमिक मजदुरहरुले विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका थिए ।
‘स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सेयर मूल्यमा नम्बर वान बनाऔं’
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले बैंकलाई पुरानै अवस्थामा फर्काउन आग्रह गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका हुन् । बैंकको आइतबार सम्पन्न ३६औं वार्षिक साधारणमा बोल्दै बैंकका सेयरधनीहरुले संचालक समिति र व्यवस्थापन समूहलाई यस्तो आग्रह गरेका हुन् । बैंकका सेयरधनी गुणराज भट्टले सेयर मूल्यका आधारमा बैंकलाई पुनः एक नम्बर बनाउन आग्रह गरे । विदेशी दूतको रुपमा काम गरिरहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत वर्षभन्दा बढी नै लाभांश वितरण गरेको भएपनि बैंकिङ्ग क्षेत्रमा नै एक नम्बर बनाउनुपर्ने उनले धारणा राखे । ‘अन्य बैंकले नाफा घटेर लाभांश पनि घटाएका छन् तर स्ट्यान्डर्ड चार्टर्ड बैंकले बढाएको छ, विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँ पुगेको थियो, आजका दिनमा ४ सयको हाराहारीमा छ, यसलाई फेरि एक नम्बर बनाउनु पर्छ, बैंकका कर्मचारी र संचालकहरुले प्रयास गर्नुभयो भने एक नम्बर बन्न सक्छ, शिर ठाडो पारेर स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरु भन्न पाऊँ, यो मेरो विनम्र अनुरोध छ,’ उनले भने । उनले सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गरेको दुखेसो पोखे । उनले बोनस सेयर वितरण गरेर बैंकको चुक्ता पूँजी बढाउन सुझाव दिए । ‘बैंकले बोनस सेयर वितरण गरेको भए बजारमा ४ सय रुपैयाँमा बिक्री हुन्थ्यो, नगद दिँँदा १ सय मात्रै आउँछ, राष्ट्र बैंकले बैंकहरुको चुक्ता पूँजी १६ अर्ब पुर्याउने चर्चा छ, अधिकांश बैंक मर्जर गरेर ठूलो बैंक बनिसके, यस बैंकले चुक्ता पूँजी बढाउने योजना गरेको छ की छैन ? यदि चुक्ता पूँजी बढाउन निर्देशन दिए भने बैंकको सेयर मूल्यमा असर पर्छ,’ उनले भने, ‘बोनस सेयर वितरण गर्याे भने पूँजी बढ्छ ।’ अन्य बैंकका अध्यक्ष र सीईओहरु बैठक भत्ताका लागि तछाडमछाड गर्ने गरेको बताउँदै स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीईओ र अध्यक्षले बैठक भत्ता नलिएकोमा खुसी ब्यक्त गरे । नेपाली बैंकिङ्ग क्षेत्रमा एक मात्रै महिला अध्यक्ष रहेको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेकोमा गर्व लागेको खुसी प्रकट गरे । बैंकले खराब कर्जा ०.९६ प्रतिशत रहेकोमा गत वर्ष घटाएर ०.५९ प्रतिशत कायम गरेको छ । उनले बैंकको खराब कर्जा दर शुन्यमा झार्न आग्रह गरे । बैंकको व्यवसायको लागि पूँजी प्रयाप्त छ । बैंकको पूँजी प्रयाप्तता १५.९५ प्रतिशत रहेको छ । यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको छ । जुन वाणिज्य बैंकहरुको तुलनामा धेरै कम हो । पूँजी नबढाएर व्यवसाय विस्तार गर्न कठिन हुने भएकाले बोनस सेयरमा जोड दिनुपर्ने सेयरधनी भट्टले बताए । विदेशी लगानी रहेको बैंकको नेपाली बजारमा ३६ वर्षको बैंकिङ्ग इतिहास छ । तर, बैंकले हालसम्म आफ्नै स्वामित्वमा भवन निर्माण गर्न सकेको छैन । ‘बैंकको कर्पाेरेट भवन छैन, स्ट्याण्डर्ड चार्टर्ड बैंक अब नेपालबाट भागेर जान्छ भन्ने बजारमा हल्ला छ किनभने एउटा घर पनि बनाउन सकेको छैन, ३६ वर्षको इतिहासमा किन एउटा घर नबनाउने ? बैंकले आफ्नै भवन बनाउन आवस्यक छ,’ उनले भने । यस्तै, सेयरधनी नरसिंह चख्खुले बैंकले काम गर्ने शैली परिवर्तन गरेर अघि बढ्नु पर्ने धारणा राखे । उनले सेयरधनीहरुलाई उच्च प्रतिफल दिने बैंकको रुपमा आफूलाई स्थापित गरेको बताए । बैंक अधिकांश सूचकमा अब्बल रहेकोले अब अग्रस्थानका लागि काम गर्नुपर्ने उनको भनाइ छ । सेयरधनी चन्द्र नारायण श्रेष्ठले क्यापिटल एडुकेसी राम्रो भएकोले बैंकले सेयरधनीहरुलाई २०/२५ प्रतिशतका दरले लाभांश वितरण गर्नुपर्ने धारणा राखे । उनले बैंकले सही तथ्याङ्क राख्नु पर्नेमा जोड दिए । खुद ब्याज आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले अझ प्रगति गर्नुपर्ने धारणा उनले राखे । उनले बैंकले कर्मचारीलाई ८२ करोड कर्जा प्रदान गरेको गुनासो गरे । ‘बेस रेटमा कर्मचारीलाई कर्जा दिँदा सेयरधनीले प्राप्त गर्ने प्रतिफल घट्छ, कर्मचारीलाई ८२ करोड प्रदान गरेको छ, कस्ट अफ फण्ड जोडेर कर्मचारीलाई कर्जा दिनुपर्छ, बैंकले अर्काे वर्ष ३ अर्ब नाफा कमाएर २५÷३० प्रतिशत लाभांश दिनुपर्छ,’ उनले भने । मेजर श्री कुबेर श्रेष्ठले जलविद्युत क्षेत्रमा कर्जा प्रवाहका बारेमा गुनासो गरे । उनले जलविद्युत क्षेत्रको विकास बढ्दै गइरहेका बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने कर्जा कम प्रवाह गरेकोमा गुनासो गरे । उनले बैंकको व्यवसाय बढाउनका लागि शाखा सञ्जाल बढाउँदै लैजानु पर्ने धारणा राखे । ‘अहिले लगानीका लागि जलविद्युत क्षेत्र भर्जिन छ, जलविद्युत क्षेत्रमा किन लगानी कम गरेको छ, सेयर मार्केटमा पनि लगानी छैन, बैंकले लगानीको क्षेत्र बढाउँदै जानुपर्छ, ब्यापार विस्तारमा जोड दिनुपर्छ, सेयरधनी, संचालक र कर्मचारी सबैको कल्याण हुनेगरी काम गर्नु पर्छ,’ उनले भने । सञ्चालक भरत कुँवरले आफ्नो कार्यकालमा शाखा विस्तार गर्ने लक्ष्य भएपनि पुरा हुन नसकेकोमा दुख ब्यक्त गरे । आफ्नो कार्यकाल अवधिभर शाखा विस्तार गर्न नसकेपनि आगामी वर्षमा विस्तार हुने अपेक्षा रहेको उनको भनाइ छ । ‘डिजिटल बैंकका कारण शाखा विस्तार हुन सकेन, विगत ४ वर्षमा ग्रेट ब्रिटेनमा २५ प्रतिशत (एक चौथाई) एटिएम मेसिन बन्द भए, यहि कारण शाखा विस्तारमा बैंक सकारात्मक देखिएन, गत वर्ष एउटा शाखा विस्तार गर्ने योजना थियो तर हुन सकेन, सीईओले यो वर्ष एउटा शाखा खोल्छु भन्नु भएको छ, शुभकामना,’ उनले भने, ‘आफू बैंकको सञ्चालक पदमा नियुक्त हुँदा बैंकको सेयर मूल्यका आधारमा ५ औं नम्बरमा थियो तर अहिले त्यो अवस्था रहेन, बैंकले नेपाल, लगायत विदेशका पनि कानुन मान्नुपर्ने छ, विदेशका कानुन पनि लागू गर्नै पर्ने भएकाले लगानीमा संकुचन आयो, कोरोना महामारीका कारण अधिकांश सूचकमा पुछारमा पुग्न थाल्यौं ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दास्तिदारले बैंकलाई एक बलियो बैंक बनाउने योजना रहेको बताए । बैंकको वित्तीय प्रतिवेदनलाई स्पष्ट बनाउँदै कर्जा लगानीमा विशेष जोड दिएको उनको भनाइ छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा प्रवाहमा जोड दिइरहेको उनले बताए । ‘उत्पादनशील क्षेत्रहरूमा कर्जा प्रवाहतर्फ ध्यान केन्द्रित छ, केन्द्रीय बैंकका प्राथमिकताहरूमा हामी पूर्ण रूपमा प्रतिबद्ध छौं, हामीले नवीकरणीय उर्जा र कृषि मार्फत दिगो लगानीको सम्भाव्यता साथै तोकिएका क्षेत्र कर्जा लक्ष्यहरू प्राप्तिमा सहयोग पुर्याएका छौं, हामीसँग राम्रो भविष्य निर्माण गर्ने ठूलो अवसर छ, वातावरणलाई असर नगरी र समुदायिक भावनालाई कमजोर नपारीकनै विविधता मार्फत व्यापार र समृद्धिलाई अघि बढाउने उद्देश्य छ,’ उनले भने । बैंककी अध्यक्ष जरिना दारुवाला बैंकले आगामी वर्षमा सेयरधनीहरुलाई लाभांश बढी वितरण गर्न प्रयासरत रहेको बताइन् । हाल कायम रहेका सूचकहरु अब्बल रहेको बताउँदै अब बैंकलाई नम्बर वान बनाउने रणनीति रहेको उनको भनाइ छ । बैंकको आरोई १४.२१ प्रतिशत रहेको उनले बताइन् । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालको बैधानिक संरचना र स्ट्याण्डर्ड चार्टर्ड समूहको जोखिम व्यवस्थापन सम्बन्धि सिद्धान्त र अभ्यासहरूको पालना गर्छ, बैंकका अभ्यासहरूलाई स्वस्थ जोखिम संस्कृतिमा पङ्क्तिबद्ध गर्ने र आचरणका उच्चतम मापदण्डहरूलाई अवलम्वन गर्ने कुरालाई सुनिश्चितता प्रदान गरेको छ, स्ट्याण्डर्ड चार्टर्डमा, जोखिम र आचरण दुबै हाम्रो संस्थागत जोखिम व्यवस्थापन ढाँचाको अभिन्न अंगका रुपमा रहेका छन, जसले हामीलाई समग्र जोखिमका वारेमा विचार गर्न सक्षम बनाउँदै सबै साझेदारहरूको लागि मार्गदर्शक सिद्धान्तहरू लागु गर्दछन्,’ उनले भनिन् ।
चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति
एजेन्सी । चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन– अरब समुदायबीच सहयोग सुदृढ गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । पहिलोपटक भएको उक्त शिखर सम्मेलनले जारी गरेको रियाद घोषणापत्रमा चीन–अरब राष्ट्रबीच सहयोगका क्षेत्र विस्तार गर्ने, रणनीतिक साझेदारीलाई अझ फराकिलो बनाउन सम्भावनाको खोजी गर्ने तथा चीन–अरब राष्ट्र सहयोग मञ्चको प्रारुपअन्तर्गत आपसी सहयोगलाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । एकचीन सिद्धान्तको पालना, ताइवान चीनको अविभाज्य भूभाग भएको वास्तविकताप्रति दृढ समर्थन चीनको सार्वभौमिकसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका खातिर सहयोग गर्नेमा पनि घोषणापत्रमा विशेष जोड दिइएको छ । सिरिया, लिबिया र यमनलगायत क्षेत्रीय सङ्कटको राजनीतिक समाधान अन्तर्राष्ट्रिय सम्झौता र सिद्धान्तका आधारमा गर्न क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा चीन र अरब लिगका नेताहरूले आह्वान गरेका छन् । शिखर सम्मेलनमा सहभागी नेताले युक्रेन सङ्कटको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय बडापत्रका सिद्धान्त, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका मूल्यमान्यताअनुसार शान्तिसुरक्षा कायम गर्ने वैश्विक प्रयासमा समर्थन गर्ने बताएका छन् ।
गाउँपालिका महासंघले गर्यो तलब भत्तामा मात्रै तीन करोड बढी खर्च
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग कर्मचारी तलब भत्तामा मात्र ३ करोड रुपैयाँ खर्च गरेको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंघले ५ वर्षमा कर्मचारी तलब भत्तामा ३ करोड ३४ लाख ८० हजार खर्च भएको बताएकी हुन् । कोषाध्यक्ष बुढामगरका अनुसार ५ वर्षमा कार्यालय भाडामा ३२ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, मर्मत सम्भारमा १२ लाख ५० हजार, टेलिफोन इन्टरनेटमा एक लाख ३२ हजार ५ सय, इन्धनमा १२ लाख ८० हजार, मसलन्द छपाईमा १२ लाख २५ हजार, बैठक खर्च ४२ लाख ५० हजार, वैदेशिक सम्बन्ध विस्तारमा १२ लाख २० हजार , महासंघको लोगोको तयारमा ४ लाख ५० हजार र दैनिक भ्रमण भत्तामा ६ लाख रुपैयाँ खर्च भएको छ । महासंघले ५ वर्षको लागि स्वीकृत बजेट ५ करोड २९ लाख ५० हजार रुपैयाँ छुट्टाएको थियो । जसमध्ये महासंघले ५ करोड ५९ लाख ४ हजार रुपैयाँ खर्च भएको पनि बुढामगरले बताइन् । महासंघले छुट्टाएको बजेट भन्दा ३० लाख ४६ हजार रुपैयाँ बढी खर्च गरेको छ ।
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
काठमाडौं । अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ। काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यम मार्फत् सार्वजनिक गरिने व्यवस्था मिलाइएको हो । एशोसिएशनको अगुवाईमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आइतबारबाट शुभारम्भ गरेको हो । यससँगै काठमाडौ जिल्लामा चल्ने फैजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् । कुनै कसुरको अभियुक्त भइसकेपछि आफू विरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरु केके छन्, म विरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ । संविधानले दिएको यहि अधिकारको पहुँच सरल तथा सहज रुपमा अभियुक्तका वकिल र मुद्दा सम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालाहरु सम्म पु¥याउने उद्देश्यले अभियोगपत्र अनलाइन मार्फत सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्याैपानेले बताए । अदालतलाई प्रविधिमैत्री, नमुना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइन मार्फत फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनता माझ पुगेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल) ले बताए । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अनलाइन मार्फत अभियोगपत्र सार्वजनिक गर्नुले कानुन व्यवसायी मात्रै नभई, सेवाग्राही, सरोकारवाला सबैले हेर्न सक्ने छन् । उपत्यकामा देशभरका मानिसहरुको बसोबास भएका कारण काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले लिएको निर्णयमा आमजनताको पनि चासो रहेको छ ।