विकासन्युज

विराटनगरमा किसान समूहलाई मकैको बीउ वितरण

विराटनगर । आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ । महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको थियो। बीउ र जिङ्क वितरण गर्दै महानगरप्रमुख प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गरे । उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।वडा नं १९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने अपेक्षा गरे । महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीमा वितरणका लागि एक हजार एक सय ७६ केजी मकैको बीउ र आठ हजार केजी जिङ्क उपलब्ध गराएको थियो । रासस

हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ १० कलाकार सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिरी जिल्लाका १० जना कलाकारलाई सम्मान गरिएको हो । महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष प्रचण्ड शाक्यले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनुहुने कलाकारहरुमा माटोजन्य कला विधातर्फ तहाननी भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापति, कताँ ज्या विधामा आल्को ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधामा बुङमती ललितपुरका ८० वर्षीय मुनीराज ब्रह्मचार्य, जडाउ कला विधामा काठमाडौं बौद्धकी ७७ वर्षीय भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कला विधामा ढल्को काठमाडौंका ७४ वर्षीय प्रा। स्वस्तिरत्न शाक्य छन् । यस्तै, पत्थरजन्य कला विधामा खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कला विधामा पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कला विधामा क्षेत्रपाटी काठमाडौंका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्का विधामा हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडा विधामा चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार ‘ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मान, २०७९’बाट सम्मानित भएका छन् । कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृति अनुसार सगुन दिई खादा ओढाइएको थियो । उनीहरुलाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ भने प्रतिव्यक्ति औषधिउपचार खर्चपवापत चार हजार रुपैयाँसमेत प्रदान गरिएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा शुक्रबारबाट सुरु भएको मेला मंगलबारसम्म सञ्चालन हुनेछ । मेलाबाट अन्तरराष्ट्रिय बजारमा सिधा पहुँँच पुर्याउन नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर पनि प्राप्त गरेका छन् । प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने गरेका छन् भने हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान भइरहेको छ । विदेशमा चलिरहेको रङ सम्योजन, डिजाइन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारहरुले मेलामार्फत जानकारी प्राप्त गरेका छन् ।

राजनीतिले धेरै विश्वास गुमाइसक्यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोहीपनि नजोडिने बताए । उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे । उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए ।  

नयाँदिल्लीकाे वायुको गुणस्तर अति खराब

दिल्ली । चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क एक्युआई ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलायई निर्देशन दिएको थियो । देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मङ्सिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायीरुपमा भवन निर्माण तथा भत्काउनेलगायत काममा प्रतिबन्ध घोषणा गरेको थियो । यद्यपि राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो । शून्यदेखि एक सयसम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने एक सयदेखि दुई सयसम्म मध्यम, दुई सयदेखि तीन सयसम्मलाई खराब, तीन सयदेखि चार सयसम्मलाई अति खराब तथा चार सयदेखि पाँच सयसम्म जा त्यसभन्दा माथिको स्थितिलाई गम्भीर मानिन्छ । रासस

एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तासम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका थिए । पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुङ्गा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ । गत हप्ता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति सङ्घमार्फत निःशुल्क उपचार पाए । आँखाको ज्योति गुमेका उनिहरुले नगरपालिकाको सहयोगमा मोतियाविन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएको अनूभूति गरे । योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउनका लागि अव्यवस्थित तार हटाउने कामलाई पनि अगाडि बढाएको छ । नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुण्डाइएको तारको व्यवस्थापन अघिल्लो हप्ता निर्णय गरेर यो हप्ता कार्यान्वयनमा गएको नगरप्रमुख पन्थीको भनाइ छ । माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले जन्म, विवाह र मृत्युदर्ताको काम घरघरमा पुगेर सेवा गरिरहेको छ । तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ । पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतिक्षालयको काम अगाडि बढेको छ । निजी कम्पनीलाई भाडामा दिएर रेसुङ्गाले हाटबजार सञ्चालन गरेको छ । तम्घास बजारको सडक कालोपत्र गरेर सुन्दर बनाउन पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ । सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ । रेसुङ्गा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग छलफल गरेको नगरप्रमुख पन्थीले जानकारी दिए । तम्घासको सहिद चोकको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको छ । तम्घासको खेलमैदानका रुपमा रहेको चिदिचौरलाई व्यवस्थित बनाउने काम नगरपालिकाले अगाडि बढाएको छ । जिल्लाभित्रका सबै सडक पूर्वाधारको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पोडेल, सम्बन्धित कार्यालय प्रमुख र इञ्जिनीयरसँग छलफल गरेर काम अगाडि बढेको नगरप्रमुख पन्थीले बताए । नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशको अध्यक्ष समेत रहेका पन्थीले आफूहरुले अभियानकै रुपमा काम गरिरहेको बताए । ‘हामीले अरु पालिकालाईसमेत उदाहरण दिने गरी अभियानकै रुपमा काम गर्नुछ’, उनि भन्छन्, ‘समुन्नत गुल्मीको लागि अभियानमा रेसुङ्गाबाटै काम गरेका छौँं’, उनले भने । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूलनाराका साथ नगरपालिकाले काम गरिरहेको जनाइएको छ । रासस

जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छ : सचिव अर्याल

काठमाडौं । संसदमा रिपोर्टिङ गर्ने समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज यहाँ ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले आफ्नो सेवासागै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले जनताको दैनिकी, नीति निर्माण र विकाससँग जोडिएका विषयभन्दा पनि कहिलेकाँही सामान्य विषयहरु बढी मात्रामा आउने गरेको टिप्पणी गरे । सचिव अर्यालले भने, ‘संसदमा जनप्रतिनिधिले बोलेका विषयलाई जस्ताको तस्तै दिनुपर्छ, ती विषयलाई धोरै विश्लेषणसहित आम पाठकलाई बुझाउन सक्नुपर्छ, समाचार एक पक्षीय हुनु हुँदैन ।’ राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संसदीय रिपोर्टिङ लोकतन्त्रसँग जोडिएको हुँदा संसदमा जाने समाचारदाताले कुनै पनि विचार वा आस्थाभन्दा टाढा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । महाप्रबन्धक सिद्धराज राईले कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले राससले श्रव्यदृश्य, निर्वाचन र संसदीय मामिला लगायतका समसामयिक विषयमा प्रशिक्षण दिँदै आएको जानकारी दिए । उनले समाचारको गुणस्तर र प्रशासनिक सुधार गर्दै २४ घण्टे सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताए । निर्वाचनको समयमा परिक्षणको रुपमा एक हप्तासम्म २४ घण्टे सेवा सञ्चालन गरेको थियो । गत साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य भिडियो सेवा सञ्चालनमा ल्याएको छ । समाचार सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरिएको हो । एक दिवसीय प्रशिक्षणमा इकागज अनलाईन न्यूज पोर्टलका प्रधान सम्पादक हरिबहादुर थापाले ‘संसदीय समाचार सङ्कलनमा सञ्चारकर्मीको भूमिका र चुनौती’, संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले ‘संसद सञ्चालन प्रक्रिया र प्रेस’ र एकराज पाठकले ‘संसदीय समाचार सङ्कलनःसम्पादन शाखाका अपेक्षा’ विषयमा प्रशिक्षण दिनेछन् । त्यसैगरी प्रमुख समाचारदाता उत्तम सिल्वालले ‘संसदीय समाचार सङ्कलन’ र उपप्रमुख समाचारदाता नारायण न्यौपानेले ‘संसदीय समाचार सङ्कलनः अभ्यास र अनुभव’ विषयमा प्रशिक्षण दिनेछन् । रासस

८६ स्थानीय तहले जग्गाको कित्ताकाट खोल्दै, खरिदबिक्रीमा तीव्रता आउने, अर्थतन्त्र सहज होला ?

काठमाडौं । अघिल्लो साता काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खोल्यो । महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोग्य जग्गा शुन्य रहेको भन्दै कित्ताकाट खोलेको हो । महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि कित्ताकाट खोलेको जनाएको थियो । बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको जानकारी गराएका थिए । उनले यसअघि रोक्का रहेको जमिनको कित्ताकाट र अंशवन्डा फुक्का हुने बताएका थिए । यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले पनि कृषियोग्य र गैरकृषियोग्य जग्गा वर्गीकरण गरेर कित्तकाकाट खोलिसकेको सूचना सार्वजनिक गरिसकेको छ ।उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको बताए । ‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको आठ धुर जग्गा कित्ताकाट हुने यथावत छ, कृषि क्षेत्रको जग्गा दुई कट्ठाभन्दा कम्तीको कित्ताकाट हुँदैन,’ उनले भने । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो जसले गर्दा जग्गाको बेचबिखनसमेत रोकिएको थियो । उपमहानगरपालिकाले वर्गीकरण टुङ्ग्याएपछि केही दिन जग्गाको खरिदबिक्रीमा तीव्रता आउने बताइएको छ । यी केही प्रतिनिधि स्थानीय तह मात्रै हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत जेठ २७ गते परिपत्र गर्दै प्रत्येक स्थानीय तहले मंसिर २३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टाउनुपर्ने उल्लेख गरेको थियो । सोही परिपत्र अनुसार हालसम्म ८६ स्थानीय तहले जग्गा वर्गीकरण गरेको बताइएको छ । ७५३ स्थानीय तहमध्ये हालसम्म ८६ स्थानीय तहले मात्र भूउपयोग क्षेत्र निर्धारण गरेका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार हालसम्म ८६ वटा स्थानीय तहले ऐनले तोकेको कृषि क्षेत्र र गैर कृषि क्षेत्र छुट्याएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागका विभागका महानिर्देशक पिताम्बर घिमिरेले तोकिएको समयभित्र ८६ स्थानीय तहले मात्रै जग्गा बर्गीकरण गरेको बताए । उनका अनुसार तोकिएको समयावधि सकिएपछि अब सबै स्थानीय तहले ऐनले व्यवस्था गरेको १० क्षेत्रमा वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्नेछ । तर, विभागले स्थानीय तहलाई नीतिमा व्यवस्था भएअनुसार १० क्षेत्रमा वर्गीकरणका लागि समयावधि तोकेको छैन । यस विषयमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि नै नापी विभागले ७५३ वटै स्थानीय तहको भूउपयोग नक्सा, सोको विद्युतीय अभिलेख तथा तथ्यांक तयार पारेर सम्बन्धीत स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । उक्त नक्सा तथा डाटा प्रयोग गर्न नापी विभागले आवश्यक दक्ष प्राविधिक जनशक्तिको व्यवस्था समेत गरेको थियो । भू–उपयोग ऐनअनुसार जमिनलाई कृषि, वन, उद्योग, व्यावसायिक, खानी, नदीनाला, सार्वजनिक उपयोगसमेत गरी १० भागमा वर्गीकरण गर्नुपर्छ । यसअघि सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । त्यसपछि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लटिङ नरोक्न सरकारलाई आदेश दिएको थियो । सरकारले जारी गरेको भू–उपयोग नियमावली अनुसार घरजग्गा कित्ताकाटमा काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्युनतम ४ आना १ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफल हुनेगरी कित्ताकाट गर्न रोक लगाएको थियो । काठमाडौं उपत्यकामा कृषि क्षेत्रको रूपमा वर्गीकरण गरिएको जग्गालाई पाँच सय वर्गमिटर क्षेत्रफलभन्दा कम हुनेगरी कित्ताकाट गर्न प्रतिबन्ध लगाएको छ । तराई र भित्री मधेसको हकमा ६ सय ७५ वर्गमिटर र यी क्षेत्रबाहेकका भूभागमा एक हजार वर्गमिटर भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ । जग्गा वर्गीकरण भएका स्थानीय तहमा अब खरिदबिक्री बढ्न सक्ने अनुमान गरिएको छ । खरिदबिक्री बढेपछि अर्थतन्त्र पनि चलायमान हुन सक्ने धेरैको अपेक्षा छ । पछिल्लो समय घरजग्गा कारोबारमा कमि आइरहेको छ । जसको प्रत्यक्ष असर राजश्वमा पनि परिरहेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आवको कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार नौ सय १६ रुपैयाँ बराबर मात्रै राजस्व सङ्कलन भएको छ । विसं २०७७ कात्तिकमा तीन अर्ब छ करोड २५ लाख ६३ हजार सात सय २७ रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७८ साल कात्तिकमा ५ अर्ब ४९ करोड ५१ लाख ८३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । घरजग्गाको कित्ताकाटमा भू–उपयोग नियमावली लागू भएसँगै शहरी क्षेत्र र बाहिर जिल्लाहरुमा समेत जग्गाको कित्ताकाट घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णुकुमार महतले भू–उपयोग नियमावली अनुसार स्थानीय तहहरुले जग्गा वर्गिकरण गर्न नसक्दा कारोबार तथा कित्ताकाटमा कमी आएको बताए । उनले घरजग्गाको कारोबार र कित्ताकाट घट्दै जानुमा भू–उपयोग नियमावली लगायत बैंकिङ प्रणालीले लिएका नीतिहरु बढी प्रभाव पार्ने बताए । ‘बैंकहरुले घरजग्गा कारोबारमा गरेको कर्जाको व्यवस्था,राष्ट्र बैंकले लिएको नीति,सरकारले नयाँ शहर निर्माण गर्ने लिएका नीतिहरु र पुँजीगत खर्चको नीतिले पनि घरजग्गा कारोबारमा प्रत्यक्ष प्रभाव परेको हो,’ उनले भने ।